साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वासांसि जीर्णानि यथा विहाय

बन्न किन सकिनँ ? अरूले जानेको, बुझेको र देखेको कुरा किन जान्न, बुझ्न र देख्न सकिनँ ? अरुले गरेको जस्तो गर्न किन सकिनँ ? म अरू जस्तै सक्षम किन बनिनँ ?

Nepal Telecom ad

डिल्लीराज अर्याल :

यो मेरो देश, जहाँ मेरा करीब सात दशक बितेका छन् । जहाँ मैले सदैव मातृपितृ- स्नेहको अनुभव गरिरहें, गर्न पाइरहेँ । माता र मातृभूमिबाट बराबर मातृ-वात्सल्य पाइरहेँ र पाएकै छु । आफूले अनुभव गरेको त्यो वात्सल्यको अगाडि मैले सदैव आफूलाई बिर्सन चाहेँ, आज पनि चाहेको छु ।

यही कारणले पनि अरूका ठूलाठूला स्वागत सत्कारलाई बिर्सेर, तिलाञ्जली दिएर, मैले मातृभूमि छोडेर कहीं नजाने निणर्यमा पुगेको हुँ । यो निणर्यमा पुग्दा मलाई भित्रैदेखि प्रसन्नताको अनुभूति भएको थियो तर कतिपय मान्छेले मलाई समय र परिस्थितिको ख्याल नगर्ने मान्छे भन्दै थिए । अब अहिले म त्योभन्दा अझ अर्को भनाइ खेपिरहेँछु । मान्छेहरू भन्छन्- ‘समाज अनुसार चल्न जान्दैन ।’ मान्छेहरूले जेजे भने पनि तिनी कुरा सुन्दासुन्दै पनि म आफ्नै सुरमा चलिरहेँ ।

म कहिलेकहीँ त तिनका कुराले सोचमग्न पनि हुन्छु । मभित्र अनेकौं भाव लहरहरू उर्लन थाल्छन् । जब मनमा त्यस्ता भाव लहरहरू उठ्न र उर्लन थाल्छन् त्यसबेला म असरल्ल परेको हुन्छु । म तिनलाई समेट्न भन्दा परको अर्को भावमा डुब्न पुगेको हुन्छु । झट्ट सँभालिएर तिनलाई समेट्ने कोशिसतिर लाग्छु । मनले भन्छ- म जस्तै अरू पनि त यस्तै भावमा डुबेका होलान् । भाव एउटा मात्र हुने र म मात्रै डुब्ने भन्ने छ र ?

मेरा थुप्रै मित्रहरूले मभित्र थुप्रै गुणहरू, राम्रा र असल भावनाहरू, प्रतिभा र व्यवहार- कुशलता देख्ने गरेका पनि छन् । मैले तिनको अभिव्यक्तिमा यस्तो पाएको छु, सुनेको छु । म यदाकदा तिनको अभिव्यक्तिमा घोरिन्छु, सोच्छु- मभित्र कमजोरीहरू भए जस्तै गुणहरू पनि त रहेछन् । मान्छेमा मात्र गुण वा मात्र अवगुण हुने त कहाँ हुन्छ र ? धेरैथोरै गुण- अवगुण दुवै हुन्छन् । ममा पनि अवश्य छन् । कमजोरीका बारेमा माथि नै उद्धृत भैसकेको छ- उनीहरूका अनुसार मेरो कमजोरी म समाज अनुकूल बनिनँ, मैले समय परिस्थितिको ख्याल गरिनँ, भन्ने जस्ता नै हुन् ।

मलाई अचम्म लाग्छ । म सनातन परम्परा, संस्कृतिको अनुयायी, सनातनी व्यक्ति । मेरो आदर्श गीता हुनुपर्ने हो । मैले अरु जेसुकै गरे पनि, पढे पनि गीता पढ्नु, मनन र अनुशरण गर्नुपर्ने हो, गर्न सक्नुपर्ने हो, तर कुन्नि किन ? अलमलाएँ । पढ्नै नसकेको र पढ्दै नपढेको पनि होइन । पढेको छु, मनन पनि गरेको छु, तर व्यवहारमा राम्ररी उतार्न सकेको छैन । त्यसलाई अनुशरण गर्न सकेको छैन । व्यवहारमा उतार्न त एकदमै व्यवहार कुशल हुनुपर्छ । सबैबाट त्यसो गर्न सम्भव हुन्छ र ?

म फेरि पनि एकदमसित घोरिन्छु- साँच्चै, म गीता पढेर त्यसको अनुशरण गर्न सक्ने किन बनिनँ ? मैले त्यसलाई राम्ररी बुझेर व्यवहारमा उतार्न किन सकिनँ ? अरूले त सक्छन् । अरुले सक्ने कुरा पनि मैले नसक्ने किन ? के म अरूभन्दा धेरै कमजोर छु ? के कमजोर भएकै कारण मैले बुझ्न र व्यवहारमा उतार्न नसकेको हो ?

म भन्दा अलिपर एकजना आधुनिक भनाउँदोले भाषण छाँट्दो छ- गीता भन्छ- ’योगः कर्मसु कौशलम् ।’ काममा कुशलता नै योग हो । तपाईं कुशलतापूर्वक काम गर्नुस्, अरू केही गर्नै पर्दैन। काम गरे पनि फलको आशा नगर्नू, त्यसो गर्नु हुँदैन, आदि आदि ।

कर्म गर्नैपर्ने रहेछ । गीताले पनि कर्म गर्नैपर्छ भन्दोरहेछ । कर्ममा कुशलता खोज्दोरहेछ । कर्ममा कुशलतालाई योग मान्दोरहेछ । खालि फलको आशा नगर्न भन्दोरहेछ । त्यसैले पनि कर्म गर्नु गीता मान्नु हो, गीताको भनाइको अनुशरण गर्नु रहेछ । यो बुझेका मान्छेहरू कुशलतापूर्वक कर्म गर्दारहेछन्, युगौंदेखि कर्म गरिरहेछन् । गीताको अनुशरण गरिरहेछन् ।

यसो हेर्छु । जतासुकै गीताको अनुशरण भएको देख्छु । अनुशरणको राम्रो परिणाम पनि देख्छु । धेरै मान्छे अध्ययन, मनन गर्नमा र अनुशरण गर्नेतिर लागेको पाउँछु । जो जति बढी कुशल छ त्यसले त्यत्ति बढी सफलता प्राप्त गरेको देख्छु । मलाई ‘योगः कर्मसु कौशलम्’ को बारम्बार सम्झना हुन्छ । हुनत गीताले ‘मा फलेषु कदाचन’ पनि भनेको छ, तर फल पाए पनि नलिनू त भनेको छैन नि । त्यसैले मान्छेहरू अत्यन्त सक्रिय भएर कर्ममा लागेका छन् र कर्मयोगी बनिरहेछन् ।

गीता ! गीता ! गीता ! म भावुक बनेर सोच्छु- गीताको कर्म योगबारे विचार त मैले पनि गरेको छु । कर्ममा कमी त मेरो पनि छैन । समय, कर्तव्य र अनुशासन तोड्ने प्रयास पनि गरेको छैन । धेरै मान्छे, मेरो कर्मबाट असन्तुष्ट पनि नहोलान् । केही असन्तुष्ट पनि होलान् । सबै सन्तुष्ट त कहाँ, कहिले, कसको कर्मबाट भएका छन् र ? भगवान् मानिएका राम, कृष्ण, शिव, बुद्ध… हरूबाटै असन्तुष्ट हुनेहरू पनि त थिएनन् र ? उनीहरूले पनि त सबैको चित्त बुझाउन, सबैलाई सन्तुष्ट पार्न सकेका थिएनन् नि ।

सम्पर्कमा भएका धेरैलाई सन्तुष्ट बनाउन सके पनि मलाई मेरो कर्ममा कुशलता भए जस्तो लाग्दै लागेन, अर्थात् मलाई कर्ममा कुशलता प्राप्त भए जस्तो लागेन । कर्ममा कुशलता नभएकापछि त्यो योग भएन । योग हुन त कर्ममा कुशलता हुनैपर्छ, किनकि गीताको भनाइ नै ‘योग भनेको कर्ममा कुशलता हो’ भन्ने छ । त्यही कर्ममा कुशलता नभएकाले अघि बढिएन, बढ्न पाइएन, सकिएन होला ।

कर्ममा कुशलता पाउने कोशिस छ । कर्ममा लागेकै छु । निरन्तर काम छ, थकान छ । कुशलता भने टाढै छ, पर कतै टोल्हाएर बसे जस्तो छ । कामकै लागि सबैतिर डेरा सरेको छु, दैनिकी छ, तर फल ? शून्य । त्यति भएर पनि म निराश बन्न पनि सक्दिनँ । चिन्तन मनन पनि गरेकै छु, गर्दै छु र विश्वस्त छु । मेरा सामु गीताका वाणीहरू छन्- ‘योगः कर्मसु कौशलम्’ ‘मा फलेषु कदाचन,’ ‘ईश्वरः सर्वभूतानाम् हृदेशेक्र्जुन तिष्ठति’ आदि आदि । मैले कर्म गरेको छु । फलको आशा गर्ने अधिकार ईश्वरले नै नदिएपछि के गर्ने ? या त भगवान् नमान्ने या त कर्म नछोड्ने गर्नु पर्‍यो । मैले कर्म गर्न छोडेको छैन ।

अरु धेरैले कर्म गरिरहेछन् । अहिले यतिवेला देशभर कर्मयोगीहरूको बिस्तार भैरहेछ । तिनको कर्ममा कुशलता पनि देखा परेको छ । त्यसैले उनीहरू उत्साहित पनि छन् । कर्म गर्नका लागि सहयोग पनि जुटिरहेछ । वातावरण पनि बनिरहेछ । जति वातावरण बन्यो कर्मको त्यति विस्तार, जति कर्नको विस्तार त्यत्ति कर्मयोगीहरूको बढोत्तरी !

यही सोचले, ज्ञानले फलको आशालाई टाढा हटाएर, कर्ममा जुटेको छु, तर देख्छु विना फल कर्मले कामै गर्दैन । किन काम गरेन ? गर्दैन भनेर गीतालाई सोध्नुपर्छ या समाजलाई ? मैले बुझ्न सकेको छैन । म त समाज अनुकूल बन्न नसक्नुलाई मेरो कमजोरी मान्नेहरूलाई भन्छु- ‘तिमी गीता पढ्ने गर। गीता बुझ्ने गर ।’

उनीहरूको भनाइ छ- ‘फलको आशा नराखेर कर्म गर्ने कुरा त हिजोको हो । त्यही कुरालाई आजको कुरा मान्ने मूर्ख हो । मान्छे समय सापेक्ष बन्नुपर्छ । व्यवहारमा कुशलता नै योग हो, योग नै जीवन हो, … जस्ता कुरामा विचार गर्नैपर्छ । २१औँ शताब्दिमा आइपुग्दा पनि महाभारतको कुरालाई हुबहु लागू गर्न सकिन्छ र ? त्यसलाई पनि त समय सापेक्ष बनाउनुपर्छ, त्यसै अनुरूप व्याख्या गर्नुपर्छ ।

उनीहरू यसो भनिरहन्छन् । म अलि फरक कुरा गर्छु । तर्क वितर्क चलिरहन्छन् । सोच परिवर्तन हुँदै गर्छन् । गीताका भनाइहरूमा मन गइरहेकै बेला अनायास मेरो मुखबाट गीताको एउटा टुक्रा निस्कन्छ- ‘वासांसि जीर्णानि यथा बिहाय…।’

जसरी मान्छेले पुराना कपडा फ्याँकेर नयाँ धारण गर्छ । पुराना कपडा फेर्नु मान्छेको स्वभाव हो । आत्माको स्वभाव हो। २१औं शताब्दि भन्दैमा यी स्वभावमा परिवर्तन आए ? आएका छन् ? अहँ आएका छैनन् । नेपाल, भारतको मात्र होइन, चीन, जापान, कोरिया, थाइल्याण्ड, हङकङ, बेलायत आदि देशका कपडा लाउनेहरू पनि पुरानो फेर्ने र नयाँ लाउने गर्छन् । त्यहाँका आत्माहरू पनि शरीर फेरेर अर्को अर्कोमा जाने गर्छन् !

अब गान्धीको शरीर छैन, बुद्धको शरीर छैन । माओ, लेनिन, लिङ्कन, भोल्तेयर, लिओनार्दो, मन्टेस्कु, ग्यालिलियो, बिस्मार्क, हिटलर, रेजा पहलवी, राजेन्द्रप्रसाद, विश्वेश्वरप्रसाद, पुष्पलाल, पाश्चर, राम, कृष्ण, जनक, आदिका शरीर छैनन् तर तिनका आत्मा ? आत्मा मरेको हो त ? प्रश्न चिन्ह बनेको छ । गीता भन्छ- आत्मा मर्दैन, अजर अमर छ। न हन्यते हन्यमाने शरीरे, न जायते म्रियते वा कदाचित्, न चैनम् क्लेदयन्त्यापो आदि इत्यादि । म भन्छु- खै त उपयुक्त मान्छेहरूका आत्माहरू ? मेरा यिनै प्रश्नहरूले मलाई असान्दर्भिक बनाउँछन् शायद । अरु सबैले मानेका कुरा मैले किन नमान्ने ? जब मान्दिनँ, मलाई युगानुकूल छैन भनेर किन नभन्ने ? भन्नैपर्छ र भन्छन् । म जस्ता अरूलाई पनि भन्छन्। भनेको मैले नै पनि सुनेको छु ।

मलाई युगानुकूल छैन भनेर भन्दा पहिले पहिले मलाई चोट लाग्ने गर्थ्यो तर अब म वास्तविकतासित नजिकिएको छु । मैले गीता पढ्ने गरे पनि अनुशरण गर्न नसक्नुको कारण नबुझ्नु नै रहेछ । म भ्रमित रहेंछु । मैले बुझ्नैपर्छ कि आत्मा ईश्वरको निवासस्थल हो । ‘ईश्वरः सर्वभूतानाम् हृदेशेक्र्जुन तिष्ठति’ भन्ने कुरा गीताले स्पष्ट पारेकै छ । त्यसैले सबै प्राणीका हृदयमा परिवर्तन हुनु अचम्मको कुरो होइन । शरीर फेर्ने आत्माले विचार फेर्न किन नसक्ने ? चाहना फेर्न किन नसक्ने ? त्यसैले आत्माले शरीर परिवर्तन गरिरहेछ । आज यहाँ भोलि उहाँ भैरहेछ । मान्छेले, शरीरले विचार फेरिरहेछ, व्याख्या फेरिरहेछ । कुरा फेरिरहेछ । विचार, सिद्धान्त, कुरा फेर्नु स्वाभाविकै पो रहेछ त ।

गीता भन्दै छ- ‘वासांसि जीर्णानि यथा विहाय’ ‘योगः कर्मसु कौशलम्’ अनि म ? म गीता पढिरहेँछु, कर्म गरिरहेँछु । मान्छेहरू गीता पढिरहेछन् र कुशलतापूर्वक कर्म गरिरहेछन् । जीर्ण वस्त्र फ्याँकेर नयाँ पहिरिरहेछन्। जीर्ण विचार, सिद्धान्त, दिएका वचनहरू, आश्वासनहरू बदलेर कर्ममा कुशलता देखाइरहेछन् । समाज ठाटका साथ अघि बढिरहेछ । म बुझ्नै नसक्ने बनेर, आत्मा बदलिन्छ भन्ने कुरा नबुझेर, कर्ममा कुशलता थप्न नसकेर, रनभुल्लमा छु ।

कर्ममा कुशलता देखाउन सक्नेहरूले प्रतिदिन त्यो कुशलता देखाइरहेछन् । फरक फरक रूपमा तिनको कर्म र त्यसमा कुशलता देखेर म दङ्ग छु । आफू त्यस्तो कुशल बन्न नसकेर छक्क छु । गीता पढ्न, सुन्न छोडेको छैन तर जीर्ण कुरालाई छोड्न सकेको छैन । नयाँ आत्मामा जान सकेको छैन । अर्थात् म पुरानैमा छु ।

गीताविद्हरू भनिरहेछन्- ‘वासांसि जीर्णानि यथा विहाय…,’ ‘न हन्यते हन्यमाने शरीरे…,’ ‘न जायते म्रियते वा कदाचित्…,’ ‘त्वमेव माता च पिता त्वमेव…,’ ‘त्वमादि देवः पुरुषः पुराण…’ आदि आदि।

म सुनिरहेँछु र झन् रनभुल्ल पर्दै सोचिरहेँछु- कसरी मेरो यो शरीर छोडेर यो आत्मा अर्को शरीरमा जाला ? के मेरो आत्मा पनि अमर छ ? के मेरो आत्मा पनि अजन्मा छ ? के मेरो आत्मामा पनि ईश्वर छ ? छ भने म अरु जस्तै किन बनिनँ ? बन्न किन सकिनँ ? अरूले जानेको, बुझेको र देखेको कुरा किन जान्न, बुझ्न र देख्न सकिनँ ? अरुले गरेको जस्तो गर्न किन सकिनँ ? म अरू जस्तै सक्षम किन बनिनँ ?

अझै पनि म गीता पढ्दैछु । सोच्छु- गीताको मननमा लागूँ वा कर्ममा ? गीताले भनेको खास कुरा के हो ? त्यसले उठाएको कुरो के हो ? सिकाउन, गराउन खोजेको के हो ? त्यसको चुरो मैले अझै पनि बुझ्न सकेको छैन । बुझ्ने कोशिस जारी छ। जारी रहनेछ । अध्ययन, मनन गरिरहेँछु, घत लागेकोले सम्झिरहेँछु- ‘योगः कर्मसु कौशलम्’,….., ‘वासांसि जीर्णानि यथा विहाय’ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि

फेरि पनि उस्तै …ज्ञानम्...

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
नयाँ नेपाल कन्या कपाल !

नयाँ नेपाल कन्या कपाल...

डिल्लीराज अर्याल
राय सल्लाह

राय सल्लाह

डिल्लीराज अर्याल
बाँदरले गाई दुह्याे

बाँदरले गाई दुह्याे

डिल्लीराज अर्याल
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x