शेषराज भट्टराईआफ्नो टाउको फुटे मितको टाउको बेलै समान
कतिपय हिम्मतिला सुत्केरी, असक्त, तरुनी, तन्नेरी, अधिक सन्तानले बेष्ठित भएकाहरूले तन, मन बहलाउने मेलो मेसो नपाएर आत्महत्या रोज्दै आफ्नो टाउको सुरक्षित राखेको भानमा परे ।
शेषराज भट्टराई :
आफ्नो शिर नै सुरक्षित छैन भने मितज्यूका टाउकाको के हिसाब, के चिन्ता ? आफ्नो टाउको फुटेर चकनाचुर भएपछि मितको टाउकाको सुरक्षा गौण बन्न पुग्छ । आफ्नो माथ रहँदैन भने मितको साथको के काम । नरहे बाँस नबजे बाँसुरी । मितको माथ पनि फुटोस । त्यसैले नेपालीमा यो उखान प्रचलित छ “आफ्नो टाउको फुटे मितको टाउको बेलैसमान” । बेलै समान भन्नाले बेलको फल वा दानुलाई बुझाउँछ ।
मान्छेको स्वभाव नै आफू सुरक्षित हुन पाए अरू जेसुकै हुन् भन्ने हुन्छ । माया नगर्ने होइन मान्छेले मान्छेलाई उधुम प्यार गर्छ । दिन दहाडै गाला टोकेर छाला उधारेका पनि छन् र काखैमा राखेर उफारेका पनि छन् । उधुम उफ्रदै फुर्तीका साथ अधरपान गरेको पनि यी फुटेका आँखाले देखेका पनि छन् । मान्छेलाई आमा, बाबु, छोरा, छोरी, नाति, नातिनी, बा, हजुरबा, हजुरआमा, भदाहा, भदैनी, फुपु फुपाजु, देवर, जेठाजु, जेठानी, देउरानी, नन्द अमाजू, मामा, माइजू, दाजु भाउजू, भाइ, बुहारी, छोरा, बुहारी, ज्वाइ, छोरी, घर छिमेकी आदि अनेक नातागोताले नपुगेर अझ थप मित मितिनी पनि त्यही मान्छेलाई नभइ हुँदैन ।
पशु, चराचुरुङ्गी, अरु कुनै पनि प्राणीलाई मितको खाँचो पर्दैन तर सज्जन मान्छेलाई भात नभए पनि मित चाहिँ चाहिन्छ । मितसँग धित मरुन्जेल गफ चुट्नुपर्छ र मात्र साथ छोडेर उठ्नुपर्छ । लाग्छ नाता मध्येको अन्तिम साइनु नै मित हो । जुन एकले अर्कालाई उपद्रै माया गरेका हुन्छन् । यति हुँदा पनि उखानले चाहिँ कण्डो फर्काइदिएको देख्दा उदेक आश्चर्य लागेर आउँछ । के आफ्नो बर्बादीका अगाडि मितको टाउकाको टेको आड भरोसा केही हुँदैन त ? मितको माथलाई अपमानित गर्ने पनि मितै होला ।
यसै हो भने आउँदा पुस्तामा मित मासिने नासिने र बिच्किने सम्भावना बढेर जान्छ र मित मितिनी प्रतिको माया ममता काम कर्तव्य मासिन पनि सक्छ । तर त्यसो होइन मित मितिनी भनेको सारो गाह्रो अप्ठ्यारो फुकाउने अन्तिम अस्त्र हुन् । जस्तो कसैका छोरालाई नै खुवाउनु दिनु पर्ने तर छोरा भएन भने मित छोरालाई खुवाउनु भन्ने त स्वस्थानी कथामा नै वर्णित छ । अनि हामीले मितज्यूको यत्रो कामको टाउकोलाई बेलै समान भन्नु न्यायसङ्गत भयो त ?
एउटा पोखरीमा दुई जना डुब्न लागे भने दुबै जनाले आआफ्नो प्राण जोगाउने प्रयास गर्छन् । एकले अर्काको टाउकामा टेकेर भए पनि बाहिर निस्कने बाँच्ने प्रयास गरिरहेका हुन्छन् । लडाइका सिपाहीहरू प्रतिपक्ष मितको टाउका फुटाउन मै आनन्द मान्छन् । मितको टाउकामा बारुद बालेर आफू सुरक्षित घर फर्किन पाए हुन्थ्यो भन्छन् । आफ्नो सीमाको रक्षा गर्नुपर्यो भने पराइ भूमिका मितको टाउको छेदन गर्न पाए हुन्थ्यो भन्छन् । जसरी हुन्छ आफ्नो टाउको सुरक्षित राख्नमा हरेक व्यक्ति मुन्टाले टेकेर लागि परेका हुन्छन् । निजी अस्पतालहरूले ज्वरो आएका बिरामीलाई छुँदै नछुने हेर्दै नहेर्ने गरेर दुनियाँले जिब्रो टोकिरहेका छन् । स्वार्थी भावना जागृत हुँदाखेरि नै मितको टाउको बेलसमान बन्न पुगिरहेको छ ।
यस किसिमको स्वभाव र चरित्र हरेक देशका नागरिकमा सुरक्षित र नचाहेर पनि वरण गरिरहेका हुन्छन् । अतः मितको टाउको बेलै समान हर काम र व्यवहारमा देख्नु पर्दा मन मुटु उद्वेदित भएर आम्छ । किनकि आफू पनि कसै कसैको मितै हौँला र मेरो मितले पनि मेरो टाउको बेलैसमान भनिरहेको होला । यस्तो बेलामा सज्जनको मनले आनन्द मान्छ त ?
कोभिड महामारीमा पनि आफूलाई कोरोना नलागोस् अरूलाई जेसुकै होस् भन्नेहरू धेरै छन् । समय परिस्थिति आफू अनुकूल भयो भने अरूको कत्ति पनि चिन्ता नलिने समयको विकास भइरहेको छ । पलाँस जस्ता सुवास रहित रुखा, कठोर काँडा जस्ता मानवबाट सर्पले सर्पै पाउँछ भने जस्तै उत्पादन भइरहेको छ । नास्तिक, अधर्मी, पापी, अपराधीको बजार बाक्लो फस्टाउँदो समय हावी भइरहेको बेलामा मितको टाउको सुरक्षित होस् भनेर कुन मुर्खले भन्ला र ?
विश्वभरिका सरकारहरूले महामारीका बखतमा जनताको ज्यान बचाउन मुख नाक छोप्ने लगायत भिडभाड हुने बजार क्षेत्र पूर्णरूपले बन्द गरायो । अर्थात् गरिब, दुःखी निम्न आय स्रोत भएका मानवको हात मुख जोड्ने रोजी रोटी बन्द गरायो । यो क्रम छ महिनासम्म जारी रह्यो । जनतालाई माइत, मावल, ससुराली, जान त परै जाओस् सालीसँग भेट्न पनि दिएन । जुवा तास खेल्न पनि दिएन । स्वास्नीसँग सँगै घुम्न फिर्न पनि दिएन । महामारीबाट बचाउने बाहनामा जनता कमाइ न धमाई बेफ्वाँकमा नजर बन्दमा परे । कोही मरे भने कसैले आँखा मात्रै तरे । राहतका नाममा केही मुठी सतबिज छरे ।
फलतः त्यसको नराम्रो असर सरकारका सरहरूलाई पनि पर्यो । देशको आम्दानी चौपट र ध्वस्त भयो । जनताले कर बुझाउन सकेनन् । घर चलाउन चुलो बलाउन सकेनन् । सरकारले पनि कर्मचारीको तलब सुविधाले समयमै गोजी र गोजेरो भर्न सकेन र सिउर निहुरियो । जनवर्गीय सरकार यसै बखत आगो बन्दै आवेशमा आयो र भन्यो ‘तिनदिनभित्र कर बुझाउनु नत्र जरिवाना थपिन्छ’ अनि जनताले मितको टाउको बेलझै फुटाउन खोजे । यस स्थितिमा सरकारको साख र टाउको के बाँकी रह्यो होला र ? त्यसैले जनताको टाउकोलाई बेल समान ठान्दै अप्ठ्यारो थुनिएका अवस्थामा पनि करका लागि कर कर गर्यो । मितको टाउको बेलै समान जसरी निर्दयी पाराले सरकारले जनताप्रति हेयदृष्टिले हेर्न र व्यवहार गर्न थाल्यो । जब सरकारले जनताको मर्का बुझ्दैन, जनता जेसुकै हुन् भन्छ भने मितको टाउको बेलै समान भयो कि भएन ?
कोरोना महामारीमा सरकार लगायत पत्रपत्रिकाहरू पनि टिभी, क्षयरोग, लागे जस्तै गरी दुब्लाए । अठार बीस पेजसम्म निकाल्नेहरू पनि आठ पेजमा डल्लो परे । यिनले पनि चारो चर्ने टिप्ने ठाउँ बन्द भए होलान् । महामारीको मार सबैलाई पर्यो । सबै दुब्लाए सबै खिइए । समयले सिर्जना गरेको यस समयमा हर मानव अभावै अभावमा जिउन पिउन बाध्य छ । कतिपय हिम्मतिला सुत्केरी, असक्त, तरुनी, तन्नेरी, अधिक सन्तानले वेष्ठित भएकाहरूले तन, मन बहलाउने मेलो मेसो नपाएर आत्महत्या रोज्दै आफ्नो टाउको सुरक्षित राखेको भानमा परे ।
मितले टाउको बेलझै फुटाइ देला झै लागेर हो क्यार इहलोक त्यागे । चोर चण्डाल, तिघ्रेहरूले भ्रष्टाचारहरूमा विसङ्गतिमा रमाउँदै आम सोझा सिदा निरीह रोगी निम्सरा वर्गको ढाड सेकाएर अप्ठ्यारो अवस्थाको फायदा लुट्दै आफू जसरी तसरी माथि पर्ने र अरूको सारो गारो अप्ठ्यारोलाई प्रवाह नगर्ने परिपाटीको विकास तिव्र गतिले भइरहेको अवस्थामा मितको टाउको बेल समान नहुने त कुरै भएन नि ! कि कसो हो ?
०००
फूलबारी, पोखरा








































गजबको व्यङ्ग्य ।