शम्भु गजुरेलमस्तिष्कको धुलाई
वैतरणी र कुम्भिपाकले चस्कायो मलाई, यातनाको अग्निकुण्ड र प्रताडनाको कराहीले तर्साएर खाली भएको मेरो दिमागमा वैकुण्ठ र स्वर्गको अलौकिक भोग विलास प्राप्तिको अवसर कतिबेला टाँस्यो उसले थाहै भएन ।

शम्भु गजुरेल :
‘एकपल्ट पनि नगएको मान्छे जान हुँदैन अपशकुन हुन्छ’ बुबाको मुखबाट निस्केको यो आवाजले मेरो बालसुलभ मस्तिष्कमा उठेको उत्सुकताको ज्वालालाई निभायो दर्कने झरीले डढेलो निभाए जस्तै । मेरो चाहनाको पिप्लामेठ मुखबाट खसेर भुइँमा पग्ले जस्तो भयो । कुरा त्यतिबेलाको हो जतिबेला मेरा चाहनाका चौरमा आकाङ्क्षाको दिउलबाट पलपल कल्पनाको टुसा उम्रन्थ्यो । बाल्यकाल त्यागेर किशोरवयमा उक्लिने जमर्को गर्दै थिए मेरा उमेरका पैतालाले । तारुकाको गोरुपर्व हेर्ने इच्छालाई बालहठको लबेदा ओढाएर ढिपीको प्रस्तुतीकरण गर्दा बुबाको गलाबाट ओर्लेका वाणी मेरा लागि बज्र जस्तै भए त्यो बेला । हुन त धर्म र विश्वासको मन्त्रले अभिमन्त्रणा गरिएको शब्दको पञ्चकव्य पिएको मेरो दिमागमा धर्मको घोलले छिट्टै प्रभाव पार्न सक्थ्यो, भयो पनि त्यस्तै र म पहिलोपल्ट नगैकन आफ्नो दोस्रो यात्राको प्रतीक्षा गर्न थाले ! जब बुबाको चातूर्यताको अनुभव भयो तब म आफै बा बनिसकेको थिएँ ।
एक रात केही थान मान्छेहरू बाख्रेको फेदबाट ओदालेको थाप्लोमा उक्लेछन् अनि कानेखुसीको स्वरूपमा हल्ला चलाएछन् सोही हल्लाको चपेटामा चेपिएर म पनि पुगेँ ओदाले । देवताको अस्तित्व नकार्ने देखि पुरेतको सिदा र संस्कृतको ऋचाको खोइरो खने ती मान्छेले । सूर्यको उज्यालो ढाकेर अँध्यारो देखाउनेदेखि पानीले दिने प्राण लुकाएर बाढीको खतरा सम्म देखाए कुराको वर्षा गरेर । जब जम्मा भएका मान्छेको मस्तिष्कमा रहेका आस्था र भरोसाको जग हल्लिन थाल्यो तब आशाको उज्यालोमा मुक्तिको नशा घोलेर मन्द मन्द प्रवाहित गराए । हरेक साप्ताहिक रात नियमित हुने मुक्ति भागवतले श्रीमद्भागवत जलाउने सम्मको प्रोग्राम पेस्ट गर्न सफल भयो त्यो जमात। जब म मा म आफैँ नभएको अनुभव गर्न थालेँ तब मेरो काधमा बन्दुक थियो त्यो आगन्तुक सँग सन्दुक थियो । हरेक रात मैले मानव रक्तले आफूलाई अभिषेक गरेर आमूल परिवर्तन ल्याएँ तर त्यो बेला परिवर्तनको अमृतकुण्डमा नव निरो र किलिओ पेट्राहरू मादक मुस्कान सहित नग्न नृत्य गर्ने भएछन् ! मेरो मस्तिष्कले त्यो चालबाजी खुट्याउदा मेरो अङ्गमा हात थिएन, एउटा आँखा थिएन, मेरा लागि सम्बोधन गर्ने जिउँदा मुर्ति थिएनन् बल्ल मैले थाहा पाएँ त्यो रात आउनेहरू लाल मान्छे रहेछन् ।
कपालले आफ्नो रङ छोडेर तिल्चौडे हुँदै थियो, दाँतका जरालाई काम्ने व्यथा थियो, आँखा घुमाइलो र पिँडौला लक्पकाउँदै थिए । सहाराको सिन्को खोज्दै थियो मनले तब आयो एउटा कुटिल वैरागी ! उसका तुम्बामा यो लोकदेखि परलोक यात्राका साइकलदेखि मोटरसम्म जहाजदेखि रकेटसम्म सबै थिए । धोत्रो पसेको ज्यान र खोक्रो भएको गिदिमा निकट आउँदै गरेको मृत्युको भयले झस्कायो मलाई । वैतरणी र कुम्भिपाकले चस्कायो मलाई, यातनाको अग्निकुण्ड र प्रताडनाको कराहीले तर्साएर खाली भएको मेरो दिमागमा वैकुण्ठ र स्वर्गको अलौकिक भोग विलास प्राप्तिको अवसर कतिबेला टाँस्यो उसले थाहै भएन । शब्दको सन्धान र भक्तिको गर्भाधान कहिले भयो हेक्कै रहेन जब म त्यो नशामा चुर्लुम्म डुबेँ तब मेरो आँगनमा बाबाको दरबार थियो म दरबारको पेटीमा ।
मेरो मस्तिष्क समय अनुसार फरक खड्कुलोमा उमालेर धोइयो पटकपटक अनि भरियो आफू अनुरूपको भावना । मेरो अबोधपनाले मलाई के बनायो त्यो मलाई थाहा छैन तर कहिल्यै नफाट्ने मेरो ब्रेन धेरै पटक वाश गरेकोले हो वा पटकपटक फर्म्याट भएर पुनः नयाँ फाइल लोड गरेकोले हो आकस्मिक रूपमा बन्द हुन थालेको छ हिजोआज । सोच्दैछु अब फेरि जीवनको सायंकालमा मेरो मस्तिष्क धुन को आउला !
०००
नुवाकोट, हाल काठमाडाैं








































गहन सिर्जना ।