साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बहुमुखी म !

सबै वाद हाफेर मवादको रन्कोमा थन्को लाग्न रूचाउने मेरो साहस, सङ्गठन गर्ने मेधा र प्रत्युत्पन्न मति एवं गति देखेर विश्व नै चकित छ । एकैछिनमा एकता र छिनभरमै अनेकता बनाइदिने मेरो औकातलाई देखेर कुवाको भ्यागुतो मित लाउँछु भनेर पो ट्वार-ट्वार गर्छ बा ?

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

आज म हजुरहरूसामु ‘बहुमुखी म, राम्रो म’ शब्दको चर्चा, विग्रह, शल्यक्रिया, अप्रेसन वा आयुर्वेदी भाषामा भन्नुपर्दा तेश्रो उपचार पद्धति अर्थात् चिरफार गर्न कम्मर कस्दैछु । हुन त म औपचारिक शिक्षाको डिग्रीमा लगभग शून्य जिब्रीकै भए पनि मेरो सात दशकको दीर्घ अनुभव, बाउन्न थप्पड त्रिपन्न घुस्साको ठक्कर, पढेरभन्दा परेर थाहा भएको भुक्तभोगी हुँदा अक्करमा पनि सख्खर खानसक्ने पौरखी खाले मनुवालाई यस्ता मामलामा किञ्चित फिक्री छैन । वरिष्ठ सर्जक स्व. जगदीश घिमिरले आफ्नो अन्तरमनको यात्रामा सन्दर्भ पारेर भनेका रहेछन्- ‘डिग्री भनेको नक्कली दाँत हो, जो भएमा राम्रै हुन्छ, वास्तवमा मान्छे शिक्षित र दीक्षित त जीवनको पाठशालाबाट मात्र हुन्छ ।’ यो भनाइ ‘राम्रो म, बहुमुखी म’ भनेर अभिमान बजार्ने मजस्ता पढ्न अल्छी गर्ने हरिलठ्ठक तर समाजमा हिरो पल्टन पर्ने प्राणीलाई गजबको गुरुवाणी भएको छ ।

हामीले कखरा खार्ने क्रममा कुनैलाई खैरे ख, कुनैलाई गाईगोडे, छाते, गोरुसिङ्गे, घोडामुखे, दैले, निउरीमुन्टे, तर्साउने भनेर एकलख लगाउँदै कतिपय वणर्मा जुगुप्सा छेप्ने र अपमान गर्‍यो । सायद यो मनोविनोदात्मक मजाक दिएर भुराभुरीलाई पढाइमा आकर्षण गराई जुरा हाल्दिने मनोवैज्ञानिक शिक्षण उपागम पनि हुन सक्छ । ‘म’ लाई चै ‘नराम्रो में नभनेर ‘राम्रो म’ भनी चिनेकैले मैमत्ता हुने सुविधा प्राप्त भएर होला मजति जान्ने र ठूलो त अरु नाथे छँदै छैनन् भन्ने दर्पको सर्प मनमगजभरि टन्न-लमतन्न भएर फैलिएको छ अचेल हरेकमा । सबै वादलाई हापेर अहंवादको हुङ्कारमा डुग्रने बहरवादकै रहर छ उम्मेदेखि खुम्रेसम्मका लागि । कामधेनु तन्त्रले पनि ‘म’-लाई केन्द्रबिन्दु बनाएर भनेको रहेछ- ‘मकारं श्रृणु चार्वङ्गि । स्वयं परमकुण्डली । तरूणादित्यसङ्काशं, चतुर्वर्गप्रदायकम् ॥ पञ्चदेवमयं वणर् पञ्चप्राणमय सदा ॥’ अर्थात् (सुन्दर अङ्ग भएको राम्रो म’ परम कुण्डली बनेर धर्म, अर्थ काम र मोक्षजस्ता चारवर्गका फल दिने तागत राख्दछ, यो गणेश, सूर्य, देवी, शिव र विष्णुजस्तै पाञ्चायन रूपमा रही पञ्चप्राणझै (प्राण, अपान, समान, उदान, र व्यान) गरिमामय बनेर कसैलाई नपुछी बसेको छ । ओठ र नाकबाट उच्चारण हुने स्पर्शसंज्ञक अनुनासिक वणर् ‘म’ लाई पूर्वेली व्याकरणकारले उत्तम पुरुष र पश्चिमेलीहरूले फस पर्सनमा राखेर अरूलाई भने सेकेण्ड थर्ड बनाएर पक्षपातको चुलीमा चुरीफुरी गरेकै रहेछन् क्या र हिजैदेखि ?

अब अर्को शब्द ‘मुख’-तिर जाऊँ, सामान्यतया ‘मुख’ नाम शब्दका पछाडि ई फुर्को वा कुँदा झुन्ड्याएर अगाडि बहु भन्ने पदवर्ग गाँसिदिए पछि सर्लक्क बहुमुखी’ अनुहारको विशेषण शब्द बन्दछ । बहुमुखीको अर्थ कोशशास्त्रमा धेरै लक्ष्य भएको, विभिन्न किसिमका विशेषताहरूले युक्त भएको, हातमा लगाउने एक किसिमको बाला, अधिकतम क्षेत्रमा दखल र दक्ष बहुविद् व्यक्तित्व भनी चिनिन्छ । नेपालको सन्दर्भमा देवकोटा, लैनसिंह बाङ्देल, सम, बीपी कोइराला आदिलाई बहुमुखी भनेर कतिपयले सम्बोधन गर्दछन् तर हुन् होइनन् भन्नेहरू नै जानून् । हरेक म ले आफूलाई साँच्चैको बहुमुखी ‘म’ ठान्ने रहेछ । म आध्यात्मिक, आधिदैविक र आधिभौतिक सबै कुरामा पोख्त छु । कूटनीतिक कुरामा चाणक्य, कौटिल्य, मैकियाभेली, अल्फ्रेड द ग्रेट, हेनरी किसिन्जर, यदुनाथ खनालहरूलाई पनि माथ गर्ने क्षमता छ भने राजनीति चिन्तनमा मनु, कामन्दक, शुक्राचार्य, प्लेटो, अरस्तु र स्वयं मार्क्सप्रभृति पनि वाल्ल पार्ने तागत राख्छु । इतिहासको कुरा गर्नुहुन्छ भने हिरोडोटस, नेहरू, बाबुराम आचार्य, नयराज पन्तहरूलाई नाम्चे बजारको फेदीमा छोडेर म सगरमाथाको टुप्पामा झण्डा गाडिरहेको हुन्छु । चिकित्साशास्त्रको कुरा गर्नुहुन्छ भने चरक, सुश्रुत, धन्वन्तरि, सन्दुक रुइतहरूकै हारमा लर्कन लाग्नसक्ने अद्भूत क्षमता छ । खोज्दै जानुहुन्छ भने राष्ट्रवादी, अन्तर्राष्ट्रवादी, क्षेत्रवादी, नश्लवादी हरेकलाई ट्वाँ पार्ने विराट् व्यक्तित्वकै पुञ्ज पो छु त ।

मानौं चलचित्रको पराक्रमी नायकजस्तो । मान्धाता, अम्बरीष, दिलीप, रघु लगायतका पौराणिक राजादेखि लेलिन, लिङ्कन, माओ, ताओ, जङ्गबहादुरजस्ता ऐतिहासिक चरित्रलाई पनि छायामा पार्ने मेरो बहुमुखी पर्नालिटिले ’राम्रो म’ लाई सहजै पुष्टि गर्छ । यसरी वातावरणविज्ञानदेखि अभिज्ञान शाकुन्तलसम्मका, वाल्मीकि, चौसर, शेक्सपियर र दाँते एलिघरिदेखि भूपीतकका लेखनवृत्तिसित परिचित मेरो बहुमुखी प्रतिभा तमाम मनुवाको शोधको विषय हुनेछ भन्ने कुरामा पूणर् विश्वस्त छु । काटीकुटी राम, कृष्ण, हिटलरजस्ता सबै हिरोहरू जिरो पार्ने मेरो छविभित्र कवि, गीतकार, वैज्ञानिक शोधक, प्रवाचक, तर्कशास्त्री, न्यायशास्त्री, चिन्तक, सुशासकमात्र नभएर रत्नाकरका सुवासना र कुवासना मनग्गे भेट्टाउनु हुन्छ । यसरी सबै वाद हाफेर मवादको रन्कोमा थन्को लाग्न रूचाउने मेरो साहस, सङ्गठन गर्ने मेधा र प्रत्युत्पन्न मति एवं गति देखेर विश्व नै चकित छ । एकैछिनमा एकता र छिनभरमै अनेकता बनाइदिने मेरो औकातलाई देखेर कुवाको भ्यागुतो मित लाउँछु भनेर पो ट्वार-ट्वार गर्छ बा ? दुप्पीदेखि माथि रौ छैन गुर्जादेखि माथि गाउँ छैन भनेझै जोसुकैले जेसुकै भनून् म छाती ठटाएर भन्छु- ‘बहुमुखी म, राम्रो म कसैले तपाईं भनोस् नभनोस् आफै मपाईं गर्ने जिद्दीवादी, ढिपीतन्त्री, घाघडान अडानमा मचान जमाउँने राम्रो म, सास छउन्जेल कुर्लेर गर्जिरहन्छु ‘असत्यमेव जयते किनकि ‘ब्रह्म सत्यं जगत् मिथ्या अर्थात् ब्रह्म (नित्य निर्विकार र महान् चेतन तत्त्व, सच्चिदानन्द)-मात्र सत्य हो जगत् त मिथ्या भनेकै छ । त्यसैले त म सधैँ अहंवादकै पेरिफेरिमा रमण र भ्रमण गर्दै भन्छुः मवाद, ममवाद जिन्दावाद । हामी र हामीहरू वाद-ः मुर्दावाद । जय म । बहुवचनलाई निमोठेर पक्कासित भन्छु जय म, जिन्दावाद-म । राम्रो म !!!

०००
धादिङ
‘माला-चिन्तन’ (२०७७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x