साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छामछुम

मलाई सिंहदरबारभित्र बस्ने ठालुहरू मात्र इमानदार हुन्छन् जस्तो लागेको थियो । उक्त घटनाले पकेटमारहरू पनि गजबका इमानदार हुँदा रहेछन् भन्ने लाग्यो ।

Nepal Telecom ad

राजकुमार लामिछाने :

दिउँसो बुबा मेला जाने, आमा छिमेकीको पूजामा भेला हुने, दाइ र म पढ्न जाने भनी बेलुका हाम्रो सल्लाह सुनेका मित दाइले घरमा कोही नभएको मौका पारेर सन्दुकमा राखेको दस हजार रूपैयाँ छामछुम गरेर चौका हानेको कुरा धेरैपछि मात्र थाहा भयो ।

बेपत्ता भएका व्यक्तिका कपडा जाँतोमा हालेर उल्टो घुमाएपछि जहाँ पुगेको भए पनि फर्केर आउँछ भन्ने अन्धविश्वासलाई पत्याउँदै मेरी आमाले मित दाइको पुरानो सर्ट जाँतोमा घुमाएपछि उनी आउन त आए तर लाउरे बनेर आए । उजुरी परे पनि दसी फेला पार्न सकिएन भनेर गाउँको मुखियाले भएको एउटा खसी पनि खाए र इन्साफ लाउरेकै पक्षमा लाए ।

तारानाथ हाम्रै तेह्र दिने कुटुम्बभित्रका दाजुभाइ हुन् । एकैछिनमा झुल्किने र एकैछिनमा मिल्किने उनको नानीदेखिको बानीले गर्दा तारासँग तुलना गरेर सटकटमा सबैले उनलाई तारे भनेर बोलाउने गर्थे । आकाश पातालका गफ छाँटेर सबैलाई लठ्ठ पार्ने अचम्मको कला थियो उनीसँग ।

एकपटक तारे दाइ हाम्रो घरमा बास बस्ने गरी आएका रहेछन् । त्यति बेला गाउँघरमा बिजुली बत्तीको व्यवस्था नभएको हुँदा पाहुना आएकालाई राति बाहिर निस्कन पर्यो भने ढोकासम्म पुग्न गाह्रो हुन्थ्यो । कोही छामछुम गरेर ढोका पत्ता लगाउँथे भने कोहि राति नै ए बाबु ! भनेर बोलाउँथे । कोही बोलाउनको अप्ठ्यारोले विसर्जन गर्नुपर्ने विकार च्यापेर नै बिहानीको प्रतीक्षामा टोलाउँथे । तारे दाइ पनि मूत्रजलले च्यापेको भनी राति नै ढोका पत्ता लगाउने बहानामा छामछुम गर्दै पाहुना लाग्न आएकी अर्की दिदीकोमा पुगेछन् । दिदीले लात्तीले दनक दिएपछि रन्थनिएका तारे दाइमाथि बिहानपख हल्लँडो बज्रिएपछि पो पत्ता लाग्यो छामछुमको असली रहस्य ।

छामछुमको प्रसङ्ग कोट्याउँदा लप्सीपाखाका लाल्दाइ पनि कम चर्चित थिएनन् । उनी बिहान जुरूक्क उठेर घुरूक्क ढोका खोलेपछि ट्यारलिङको कमिज, इस्टकोट तथा कछाड बेरेर कालोटोपी ढल्काउँदै र पर्वत चुरोट सल्काउँदै हिँडेपछि एकैचोटि बेलुका घरमा आउँथे । गाउँमा भेटेसम्मका खसी, बोका एवम् कुमारी पाठीका ढाड, कम्मर, फिला र घाँटी छामछुम गरेकै भरमा यति धार्नी, यति किलो, यति बिसौली हुन्छ भनेर ट्याक्क भन्थे र सोहीअनुसार रूपैयाँ गन्थे । दस गाउँ चहारेर तिलकाने, रागेपाटे, खैरे, काले, झालेमाले जे जस्तो रङका खसीबोका भेट्थे घिसार्दै ल्याएर भोलिपल्ट बिहानै रेट्थे र मांसले हरहरिएका सबैका तिर्सना मेट्थे ।

एउटा अविस्मरणीय घटना याद आयो । अस्पतालमा मृत्युसँग मुकाबिला गरिरहेका बिरामीको एक्कासि छट्पटीको गति बन्द भयो । आफन्तहरू भावुक भएर टोलाउन र डाक्टर बोलाउन लागे । एकजना डाक्टरले शरीर छामछुम गर्दै बिरामीको आयुले वायुमण्डलमा रमाना लिएको भनी जानकारी पनि गराए । कैयौँ डाक्टरहरूले बिरामीको जिउ छामछुम गरेर व्यथा पत्ता नलगाए तापनि जेथा भने झामकुम पारेको घटना भने सुनेकै हो । त्यतिकैमा अर्का डाक्टर आए र छामछुम गर्दै डिग्री लाए । उनले के सोचे कुन्नि बिरामीको दायाँ मस्तिष्कमा एक थप्पड हिर्काए । मधौरूको नसा फुलेर आयो । हत्त-न-पत्त सो नसाबाट एउटा इन्जेक्सन लाए । बिस्तारै बिरामी बौरेर आए र नयाँ जीवन पाए ।

छामछुम गर्ने क्रममा मेरी अर्धाङ्गिनीको योगदान पनि कम महत्त्वपूणर् छैन । अघिपछि ठसक्क ठस्किए पनि तलब आएको सुइँको पाउने बितिक्कै मसक्क मस्किएर माया गरे जस्तो गर्छिन् र खोजीखोजी मेरो गोजी छामछुम पार्छिन् । अफिसबाट हजुर भोकाएर आइस्यो होला, खाजा खाइस्यो भन्दै छेउमा आएर बस्छिन् र चेपारे घस्छिन् । त्यसपछि यसरी सुरू हुन्छ उनको बजेट भाषणः

सासूमाले पनि मासु खान पाए हुन्थ्यो भनिसेको धेरै दिन भयो । हजुर पनि अफिसको कामले थाकिसेको छ । अनुहार पनि मलिन देख्छु । छोराछोरी पनि मासु मासु भनेर आँसु नै – झार्लान् झै गरिरहेका छन् । आज दिउँसो आमाबुबासँग फोनमा कुराकानी हुँदा ज्वाइँसाबलाई नभेटेको धेरै भयो, न्यास्रो लागेको – छ भन्दै होइसिन्थ्यो । दाजुभाउजू पनि हजुर भनेपछि भुतुक्कै होइसिन्छ । भाइ पनि भिनाजुलाई भेट्न मन लागेको छ भन्दै थियो । बुहारी हाम्रो भिना जस्तो कोही छैन भनेर हजुरको खुब तारिफ गर्छिन् । भोलि माइतीका सबैलाई डाकेकी छु । उही खाई सार कि लाई सार मरेपछि लम्पसार जस्तो आफूले खाएर बचेको धन पो धन । आँत मारेर हात पारेको धनको के अर्थ ?

यसो भन्दै उनी बजेट विनियोजनको खाका प्रस्तुत गर्छिन् र महिनाभरको तलब स्वाहा पार्छिन् ।

अर्को एउटा यथार्थ घटना छ । एकपटक कामका सन्दर्भमा काठमाडौं गएको थिएँ । घुमफिर गर्दा आफूसँग भएको रकम पनि सकियो । घर फर्किने खर्चसम्म नभएकोले एउटा साथीको भरोसामा थिएँ । त्यतिकैमा लोकल बस चढेर बल्खु आउँदै गर्दा सिंहदरबार अगाडि बसभित्रै पकेटमारले मेरो पर्स चेट पारेछ । मलाई पत्तै भएन । केही बेरपछि उसैले यो पर्स कसको भनेर देखायो । मलाई सिंहदरबारभित्र बस्ने ठालुहरू मात्र इमानदार हुन्छन् जस्तो लागेको थियो । उक्त घटनाले पकेटमारहरू पनि गजबका इमानदार हुँदा रहेछन् भन्ने लाग्यो । तर त्यो पर्स मेरो हो भन्ने बित्तिकै उसले यस्तो खाली पर्स किन बोकेको भन्दै मलाई नराम्रोसँग गाली गर्यो ।

म जस्ता सोझा कर्मचारीको त-न-खा भनेर दिएको महिनावारी रकम कहिल्यै महिनापारि पुग्दैन । बेलैमा राजनीतितिर लाग्न पाएको भए सरकारी ढुकुटी छामछुम पारेर गामगुम पार्न पाइने रहेछ । त्यतिबेला त्यो वुद्धि चलेन, अहिले पछुताएर पो के गर्नु ?

०००
हेटौंडा
‘बुद्धिपुराण’ (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सहमति

सहमति

राजकुमार लामिछाने
साँढे पुराण

साँढे पुराण

राजकुमार लामिछाने
खाईजात्रे बजेट भाषण

खाईजात्रे बजेट भाषण

राजकुमार लामिछाने
नाग देवताय नमोनम:

नाग देवताय नमोनम:

राजकुमार लामिछाने
उस्तै उस्तै

उस्तै उस्तै

राजकुमार लामिछाने
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x