साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छामछुम

मलाई सिंहदरबारभित्र बस्ने ठालुहरू मात्र इमानदार हुन्छन् जस्तो लागेको थियो । उक्त घटनाले पकेटमारहरू पनि गजबका इमानदार हुँदा रहेछन् भन्ने लाग्यो ।

Nepal Telecom ad

राजकुमार लामिछाने :

दिउँसो बुबा मेला जाने, आमा छिमेकीको पूजामा भेला हुने, दाइ र म पढ्न जाने भनी बेलुका हाम्रो सल्लाह सुनेका मित दाइले घरमा कोही नभएको मौका पारेर सन्दुकमा राखेको दस हजार रूपैयाँ छामछुम गरेर चौका हानेको कुरा धेरैपछि मात्र थाहा भयो ।

बेपत्ता भएका व्यक्तिका कपडा जाँतोमा हालेर उल्टो घुमाएपछि जहाँ पुगेको भए पनि फर्केर आउँछ भन्ने अन्धविश्वासलाई पत्याउँदै मेरी आमाले मित दाइको पुरानो सर्ट जाँतोमा घुमाएपछि उनी आउन त आए तर लाउरे बनेर आए । उजुरी परे पनि दसी फेला पार्न सकिएन भनेर गाउँको मुखियाले भएको एउटा खसी पनि खाए र इन्साफ लाउरेकै पक्षमा लाए ।

तारानाथ हाम्रै तेह्र दिने कुटुम्बभित्रका दाजुभाइ हुन् । एकैछिनमा झुल्किने र एकैछिनमा मिल्किने उनको नानीदेखिको बानीले गर्दा तारासँग तुलना गरेर सटकटमा सबैले उनलाई तारे भनेर बोलाउने गर्थे । आकाश पातालका गफ छाँटेर सबैलाई लठ्ठ पार्ने अचम्मको कला थियो उनीसँग ।

एकपटक तारे दाइ हाम्रो घरमा बास बस्ने गरी आएका रहेछन् । त्यति बेला गाउँघरमा बिजुली बत्तीको व्यवस्था नभएको हुँदा पाहुना आएकालाई राति बाहिर निस्कन पर्यो भने ढोकासम्म पुग्न गाह्रो हुन्थ्यो । कोही छामछुम गरेर ढोका पत्ता लगाउँथे भने कोहि राति नै ए बाबु ! भनेर बोलाउँथे । कोही बोलाउनको अप्ठ्यारोले विसर्जन गर्नुपर्ने विकार च्यापेर नै बिहानीको प्रतीक्षामा टोलाउँथे । तारे दाइ पनि मूत्रजलले च्यापेको भनी राति नै ढोका पत्ता लगाउने बहानामा छामछुम गर्दै पाहुना लाग्न आएकी अर्की दिदीकोमा पुगेछन् । दिदीले लात्तीले दनक दिएपछि रन्थनिएका तारे दाइमाथि बिहानपख हल्लँडो बज्रिएपछि पो पत्ता लाग्यो छामछुमको असली रहस्य ।

छामछुमको प्रसङ्ग कोट्याउँदा लप्सीपाखाका लाल्दाइ पनि कम चर्चित थिएनन् । उनी बिहान जुरूक्क उठेर घुरूक्क ढोका खोलेपछि ट्यारलिङको कमिज, इस्टकोट तथा कछाड बेरेर कालोटोपी ढल्काउँदै र पर्वत चुरोट सल्काउँदै हिँडेपछि एकैचोटि बेलुका घरमा आउँथे । गाउँमा भेटेसम्मका खसी, बोका एवम् कुमारी पाठीका ढाड, कम्मर, फिला र घाँटी छामछुम गरेकै भरमा यति धार्नी, यति किलो, यति बिसौली हुन्छ भनेर ट्याक्क भन्थे र सोहीअनुसार रूपैयाँ गन्थे । दस गाउँ चहारेर तिलकाने, रागेपाटे, खैरे, काले, झालेमाले जे जस्तो रङका खसीबोका भेट्थे घिसार्दै ल्याएर भोलिपल्ट बिहानै रेट्थे र मांसले हरहरिएका सबैका तिर्सना मेट्थे ।

एउटा अविस्मरणीय घटना याद आयो । अस्पतालमा मृत्युसँग मुकाबिला गरिरहेका बिरामीको एक्कासि छट्पटीको गति बन्द भयो । आफन्तहरू भावुक भएर टोलाउन र डाक्टर बोलाउन लागे । एकजना डाक्टरले शरीर छामछुम गर्दै बिरामीको आयुले वायुमण्डलमा रमाना लिएको भनी जानकारी पनि गराए । कैयौँ डाक्टरहरूले बिरामीको जिउ छामछुम गरेर व्यथा पत्ता नलगाए तापनि जेथा भने झामकुम पारेको घटना भने सुनेकै हो । त्यतिकैमा अर्का डाक्टर आए र छामछुम गर्दै डिग्री लाए । उनले के सोचे कुन्नि बिरामीको दायाँ मस्तिष्कमा एक थप्पड हिर्काए । मधौरूको नसा फुलेर आयो । हत्त-न-पत्त सो नसाबाट एउटा इन्जेक्सन लाए । बिस्तारै बिरामी बौरेर आए र नयाँ जीवन पाए ।

छामछुम गर्ने क्रममा मेरी अर्धाङ्गिनीको योगदान पनि कम महत्त्वपूणर् छैन । अघिपछि ठसक्क ठस्किए पनि तलब आएको सुइँको पाउने बितिक्कै मसक्क मस्किएर माया गरे जस्तो गर्छिन् र खोजीखोजी मेरो गोजी छामछुम पार्छिन् । अफिसबाट हजुर भोकाएर आइस्यो होला, खाजा खाइस्यो भन्दै छेउमा आएर बस्छिन् र चेपारे घस्छिन् । त्यसपछि यसरी सुरू हुन्छ उनको बजेट भाषणः

सासूमाले पनि मासु खान पाए हुन्थ्यो भनिसेको धेरै दिन भयो । हजुर पनि अफिसको कामले थाकिसेको छ । अनुहार पनि मलिन देख्छु । छोराछोरी पनि मासु मासु भनेर आँसु नै – झार्लान् झै गरिरहेका छन् । आज दिउँसो आमाबुबासँग फोनमा कुराकानी हुँदा ज्वाइँसाबलाई नभेटेको धेरै भयो, न्यास्रो लागेको – छ भन्दै होइसिन्थ्यो । दाजुभाउजू पनि हजुर भनेपछि भुतुक्कै होइसिन्छ । भाइ पनि भिनाजुलाई भेट्न मन लागेको छ भन्दै थियो । बुहारी हाम्रो भिना जस्तो कोही छैन भनेर हजुरको खुब तारिफ गर्छिन् । भोलि माइतीका सबैलाई डाकेकी छु । उही खाई सार कि लाई सार मरेपछि लम्पसार जस्तो आफूले खाएर बचेको धन पो धन । आँत मारेर हात पारेको धनको के अर्थ ?

यसो भन्दै उनी बजेट विनियोजनको खाका प्रस्तुत गर्छिन् र महिनाभरको तलब स्वाहा पार्छिन् ।

अर्को एउटा यथार्थ घटना छ । एकपटक कामका सन्दर्भमा काठमाडौं गएको थिएँ । घुमफिर गर्दा आफूसँग भएको रकम पनि सकियो । घर फर्किने खर्चसम्म नभएकोले एउटा साथीको भरोसामा थिएँ । त्यतिकैमा लोकल बस चढेर बल्खु आउँदै गर्दा सिंहदरबार अगाडि बसभित्रै पकेटमारले मेरो पर्स चेट पारेछ । मलाई पत्तै भएन । केही बेरपछि उसैले यो पर्स कसको भनेर देखायो । मलाई सिंहदरबारभित्र बस्ने ठालुहरू मात्र इमानदार हुन्छन् जस्तो लागेको थियो । उक्त घटनाले पकेटमारहरू पनि गजबका इमानदार हुँदा रहेछन् भन्ने लाग्यो । तर त्यो पर्स मेरो हो भन्ने बित्तिकै उसले यस्तो खाली पर्स किन बोकेको भन्दै मलाई नराम्रोसँग गाली गर्यो ।

म जस्ता सोझा कर्मचारीको त-न-खा भनेर दिएको महिनावारी रकम कहिल्यै महिनापारि पुग्दैन । बेलैमा राजनीतितिर लाग्न पाएको भए सरकारी ढुकुटी छामछुम पारेर गामगुम पार्न पाइने रहेछ । त्यतिबेला त्यो वुद्धि चलेन, अहिले पछुताएर पो के गर्नु ?

०००
हेटौंडा
‘बुद्धिपुराण’ (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सहमति

सहमति

राजकुमार लामिछाने
साँढे पुराण

साँढे पुराण

राजकुमार लामिछाने
खाईजात्रे बजेट भाषण

खाईजात्रे बजेट भाषण

राजकुमार लामिछाने
नाग देवताय नमोनम:

नाग देवताय नमोनम:

राजकुमार लामिछाने
उस्तै उस्तै

उस्तै उस्तै

राजकुमार लामिछाने
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

प्रविण टण्डन ’वसन्तप्रवीण’
0
Would love your thoughts, please comment.x
()
x