कृष्णप्रसाद गाैतमकसरी पत्याउँ ?
तिम्रो आत्ममाहात्य तिमी गाइरहेछौ, म सुनिरहेछु । भन्छौ- मुलुकलाई स्वीटजरल्यान्ड बनाउँछु के यस्तै छ स्वीटजरल्यान्ड ? अझै भन्छौ- नेपाललाई स्वर्ग बनाउँछु ।

कृष्णप्रसाद गौतम :
तिमी भनेका भन्यै छौ
म सुनेको सुन्यौ छु ।
विकासको बाढी ल्याउँछु भन्थ्यौ
भ्रष्टाचार सून्य बनाउँछु भन्थ्यौ
भ्रष्ट पम्फालाई नङ्ग्याउँछु भन्थ्यौ
स्वीस बैङ्कमा लुकाएको धन
स्वदेश भित्र्याउँछु भन्थ्यौ
गरिबी हटाउछु
समाजवाद ल्याउँछु भन्थ्यौ
गोर्खा भर्ती धोका हो
युवा बेच्न पाइन्न भन्थ्यौ
नेपालमै उद्योग खोल्ने
खानी निकाल्ने
वैज्ञानिक खेती गर्ने
स्वदेशमै रोजगारी दिने कुरा गर्थ्यौ
मुलुकलाई आत्मनिर्भर बनाउँछु भन्थ्यौ
भ्रष्टलाई थान्को लगाउँछु
भ्रष्टाचार शून्य गराउँछु भन्थ्यौ
नेपाललाई स्वीट्जरल्यान्ड बनाउँछु भन्थ्यौ
अझै त्यही भन्छौ, भनिरहन्छौ
म सुनेको सुन्यै छु ।
असारे विकासको चकचकी छ
विकास खर्च अन्ठाउन्न प्रतिशत !
बाँकी विकास कति प्रतिशत ?
बजेट तन्किन्छ
विकास खुम्चिन्छ
के ठाउँ नपाएर हो ?
को थिइन् पम्फा,
कहाँ गयो स्वीस बैङ्कको धनराशी ?
कहिले बन्द गर्ने गोर्खा भर्ती ?
कहिले बन्द गर्ने हो-
अमेरिका, युरोप र खाडी भर्ती ?
नेपालीहरू भुटानी बनाईए
अमेरिका पठाइए
अस्ट्रेलिया पठाइए
अलपत्र शरणार्थी के भए
कता गए ?
यहाँ
हजारौँ राई माइलाहरूले
गाउँ छाडेका छाड्यै छन्
वृद्ध बाआमाहरू साहाराबिहीन हुँदै छन्
बन्दैछ नेपाल अशक्तहरूको देश
कहिले खोल्ने हो स्वदेशमै युवा भर्ती ?
कहिले बनाउने हो नेपाललाई
सशक्तहरूको देश ?
तर यहाँ
सधैँ चलिरहन्छ जोड र घटाउ सत्ताको
मुलुक अल्झिरहेछ सत्ताको पासामा
हामीलाई भुलाइरहेछौ अझै।
बाढीले बस्ती पखाल्यो
बागमतीले बगर पखाल्यो
तर तिम्रो बेशुद्धी पखालेन ।
भोक र रोगले आक्रान्त झुपडीहरू
अझै चिच्याइरहेछन्
बलात्कृत निर्मलाहरूका आत्माले
मुक्ति खोजिरहेछन्
बाआमाहरू सन्तानका काखमा
मर्न चाहन्छन्
महाशय !
तर यहाँ मुलुकलाई राखिन्छ
सत्ताको दाउमा
समय बिताइन्छ मात्र सत्ताखेलमा ।
तैपनि
तिम्रो आत्ममाहात्य
तिमी गाइरहेछौ, म सुनिरहेछु ।
भन्छौ- मुलुकलाई स्वीटजरल्यान्ड बनाउँछु
के यस्तै छ स्वीटजरल्यान्ड ?
अझै भन्छौ- नेपाललाई स्वर्ग बनाउँछु
बताऊ,
यस्तै छ तिम्रो स्वर्ग ?
अब, कसरी
कुन आधारमा पत्याउँ
म तिम्रा कुरा ?
०००
इटहरी, सुनसरी ।
Subscribe
Login
0 Comments
Oldest








































