कृष्णप्रसाद गाैतमआमा अझै सुरक्षित छैनन्
गर्भैदेखि विभेद भोग्न यसरी छन् बाध्य आमाहरू बन्ला सौम्य समाज यै तरहले विश्वास केले गरूँ । मान्छेका मनमा विवेक नहुँदा दुष्कर्म गर्दै रहे छैनन् मातृ अझै सुरक्षित कठै ! धोका अनेकौँ भए ।

कृष्णप्रसाद गौतम :
आमा हुन् नित पूज्य प्राण जनमा द्यौताहरूमा पनि
आमा हुन् ममता र दिव्य मनकी खानी जगत् कै धनी ।
आमा हुन् तनया समस्त भवकी सौन्दर्य सौदामिनी
आमा शब्द अहो ! सुमन्त्रसरिको आनन्द सुन्दै पनि ।
गर्छिन् सृष्टि सदैव यो भुवनमा राख्छिन् धरा सुन्दर
आमातुल्य पियारदातृ भवमा नाता अरू को छ र !
तिम्रो शक्ति र धैर्यको सहनको पाइन्न पत्तो कवै
द्यौता मानिस विज्ञ सन्ततिहरू आश्चर्य मान्छन् सबै ।
यस्ता सिर्जनका दया र ममता माया र सद्भावका
देवी कष्ट व्यथा सहेर जिउँछन् हुन् पात्र सम्मानका ।
खेप्छन् मार बजार घाट पथमा आमाहरू तड्पिँदै
हिँड्दैछन् बबुरा भई डर लिई आफन्तका माझमै ।
जाँच्छन् भ्रूण छ पुत्र वा छ तनया निर्क्योल गर्नै पिता
गर्छन् भेद कतै दुईबिच अझै चाहिन्छ छोरै यता ।
यस्ता दुर्दिन खप्न बाध्य अझ छन् आमाहरू तापनि
गर्छिन् पालन लालबाल सबको झञ्झा सहेरै पनि ।
छोड्छन् आश्रममा र मन्दिरतिरै ती जन्मदात्री मुमा
बस्छन् यौवन टार्दछन् युगल ती जोडी रमाई मन ।
बिर्सन्छन् सब वृद्ध बन्छ, भवमा मर्नै छ पक्का भनी
त्यो बेला छ सहायता अति ठुलो चाहिन्छ भन्ने पनि ।
गर्भैदेखि विभेद भोग्न यसरी छन् बाध्य आमाहरू
बन्ला सौम्य समाज यै तरहले विश्वास केले गरूँ ।
मान्छेका मनमा विवेक नहुँदा दुष्कर्म गर्दै रहे
छैनन् मातृ अझै सुरक्षित कठै ! धोका अनेकौँ भए ।
शिक्षा शिल्प विकास भो प्रविधिले आकाश चुम्दै गयो
विज्ञानी अनि ज्ञानका उदयले संसार सानो भयो ।
मान्छेको मन चाहिँ खुम्चिन गयो आचार भुल्दै गयो
छोरी हुन् बहिनी दिदी र जननी भन्ने नचिन्ने भयो ।
०००
चैनपुर, सङ्खुवासभा
हाल
इटहरी, सुनसरी ।
Subscribe
Login
0 Comments
Oldest







































