साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोबाइल महिमा

मोबाइलले किताब हेर्न बिर्सायो यसले परीक्षाफलमा निराशा निकाल्यो । हामीलाई सामान्य लाग्ने र ख्याल नगरिएको विषय अहिले टाउको दुखाई बनेको छ। यसैको कारणले देशको अर्थतन्त्र शिथिल बन्दै गएको छ । देशमा चोरको बिगबिगति बढेको छ ।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

मोबाइलमा ट्वाल्ल परेर हेर्दै छु । यो नवजात शिशु जस्तो भर्खर आएको छ घरमा । म आफैले यसरी एकोहोरो हेरेको देखेर घरका सबै चकित छन् आज । अरु दिन भए मैले छोरालाई टाउकोबाट पानी खन्याइ सकेको हुन्थेँ । अर्धांगिनीलाई चिर्पट सोझ्याई ढाड सेकेको हुन्थेँ । आज घर भयमुक्त छ । घरमा चाडबाडको रौनक छाएको जस्तो देखिन्छ । सबै आ-आफ्नो सुरमा बेसुर बनिरहेका देखिन्छन् । कोही खाटमा खुम्चेका छन् । कोही सोफामा तन्केका छन् । कोही कुर्सीमा उघेका भेटिन्छन् । बस्ने गालामा फोका उठे पनि कसैलाई प्रवाह छैन । कसैलाई भोक लागेको पनि देखिँदैन । कोही शौचालयमा बिसाउन गएको पनि देखिँदैन । घरभित्र भद्रगोल छ। असरल्ल छन् लुगाफाटो । कसिङ्गर क्रान्ति गरेर भुमरी खेलिरहेको छ । यो सबै हुँदा पनि कसैलाई केही असर परेको छैन किनकि घरमा मोबाइल भगवान बनेर प्रकट भएको छ । आज घर अपवादले छाएको छ । घरमा स्वतन्त्रता आएको छ ।

सारा सृष्टिको आधुनिक नारद नै रहेछ यो । संसारका कुन कुनामा बसेर कसले के योजना बनाउँदैछ सबै एकाएक गरी बताइदिन सक्ने अलौकिक वस्तु नै हो यो । यसको पछाडि लागेर कसले के कति हात पारे त्यो त मेरो मस्तिष्कले हिसाब सक्दैन तर पनि यसलाई देखाएर मान्छेले आफ्नो स्वार्थ सिद्ध गरेकै छ जसरी भए पनि । चोर हुन् कि साधु हुन् बच्चा हुन् कि बुढा हुन् । तरुनो र तन्देरीको त कुरै छोडौँ जन्तीदेखि मलामीसम्म यसैको वरिपरि मुन्टो टेकाउँदै आफूलाई कमजोर साबित गरिरहेका छन् । यसले लाससँग फोटो खिचेर सास हाल्ने आश जगाउँछ । यसका अगाडि डाक्टरको ओखति फिक्का हुन्छ । मान्छे डाक्टरको औषधि नखाए मस्त निदाउन सक्ला तर मोबाइलको सङ्गत भएन भने उसको दिनचर्या भङ्ग हुन्छ । अहिले त बिहेको निम्तो पनि मोबाइलमा आइपुग्छ । यदि कसैको मोबाइल बिग्रेर बसेको रहेछ भने उसले त्यो बिहेको स्वाद चाख्न पाउँदैन। हाम्रो सम्बन्ध सबै मोबाइलले सिध्याएको छ। सबै मान्छे हतारमा छन् अहिले । कसैले कसैसँग बोल्ने फुर्सद छैन । त्यसैले नबोली पनि सबै काम प्रस्ट्याइदिने हुनाले मोबाइलको पछाडि लाग्नेहरूको भिड बाक्लो देखिन्छ । यसमा अल्झेर मान्छेले असारको पन्ध्र बिर्सेको छ । यसले मान्छेलाई घरभित्रै थचारेको छ त्यसकारण चाडबाडहरू पनि अचेल रमाइला लाग्न छाडेका छन् । अचेलका पिलन्धरेहरूलाई यसको परिक्रमा नगरी आङमा घाम लाग्दैन । मोबाइलको सहवासमा लागेर रातभरि जागा रहने र दिनभरि मस्त निदाउने हुनाले अचेलको युवाले काम गर्ने फुर्सद नै नपाएर ऊ बेरोजगारी भएको होला । यही परिपाटी हुने हो भने मान्छे भोकले जुलुस निकालेको दिन मेलो भर्न कता जाला म तालुका कपाल झरुन्जेल सोचिरहेछु । सारा मान्छेको श्वास नली नै हो मोबाइल । घरमा बच्चाले माम खाएन भने उसकी मम्मीले उसलाई मोबाइल सुम्पिन्छे त्यसपछि त्यो बच्चालाई अघाउन नसकेर ऊ हैरान बन्छे।

काकाताली लागेर हाता परेको यो चिजलाई ओल्टाई पल्टाई गरेर हेर्दाहेर्दै म साँच्चै ट्वाल्ल नै परेछु । कसले बनाएको सोधीखोजी गर्छ कसले ? किन बनायो अनुसन्धानमा केरकार गर्छ को ? यो संसारमा आउनुको उद्देश्य के हो ? यो कतै पृथ्वी ध्वस्त पार्न आएको त होइन ? शंका गर्ने फुर्सद कसलाई।यसले मान्छेलाई जाँगरिलो बनायो कि अल्छी बनायो भनेर अनुसन्धान गराउने हो भने मान्छे अल्छेको उपल्लो सिढीमा सिरक ओडेर सुतिरहेको भेटिन्छ नभए आफ्ना छोराछोरीको परीक्षण गर्न सक्नु हुनेछ। कराइमा तरकारी फ्राइ गरेर भोजपुरी गीतमा नाच्न ट्राइ गर्नेहरू हुन् या कुकरमा सामल नहाली सिटी लगाउनेहरू सबै यसैको फन्दाका उदाहरणहरू हुन्।

विदेश जानेहरूका लागि एउटा आग्रह हुन्छ। मोबाइल ल्याइदिने एउटा नाथे मोबाइल पनि नल्याइदिने भनेर कति मान्छेहरू मुन्टो बटार्छन् । यो आमाबाबुभन्दा पनि प्रिय भएको छ । यसको हेरविचार मान्छेले आधा रातमा उठेर पनि गर्छ। यसैगरी कर्तव्यनिष्ठ भइदिने हो भने परिवार र सम्बन्ध वार पार हुने थिएन । विकसित देशहरूमा प्रविधिको अत्याधिक विकास हुनाले मान्छे प्रविधिसँग नजिक र आफन्तसँग टाढा हुँदै गएकाले पारपाचुके अत्यधिक भएको हो भन्ने मलाई लाग्दछ ।

शौचालय जानुस् यो सँगै जान्छ । भोजनालयतर्फ आँखा लगाउनु भो भने यसले परिकारको एउटा न एउटा फोटो नखिचाई छोड्दैन । चिनेको होस् वा नचिनेको होस्, न्वारानमा होस् कि चौरासीमा होस् एक एक फोटो खिचाउनै छ । मान्छे विज्ञापनको भोको छ त्यसैले उसलाई अरुभन्दा राम्रो हुनुछ । राम्रो हुने एउटै उपाय मोबाइल नै हो । हातमा मोबाइल भएपछि मान्छेले करेसाबारीको तरकारी टिपेर ल्याउने जाँगर गर्दैन । पस्केर राखिदिएको खानेकुरा सेलाएर चिसो भइसक्दा पनि मुखमा पसाउने उपाय खोजिरहेको हुन्छ ऊ । अनेकन नक्कल झक्कल गरेर एक्लै कराइरहेको हुन्छ मान्छे । मोबाइल हेर्न थालेपछि मान्छेलाई भविष्यको चिन्ता हराउँछ । सबै दुःख बिर्सेर ऊ सुखद जीवनको आरोहणमा लागिरहेको देखिन्छ । तपाईंको गोजीमा केही नभए पनि एउटा मोबाइल अवश्य छ । नयाँ भएको भए तपाईं बारम्बार त्यसलाई छामिरहनुहुन्छ नभए बेलाबेला गोजीबाट निकाल्दै हेर्दै गर्नुहुन्छ यो आदत हो कि अहङ्कार ।

मोबाइलको कारण जनता बिग्रे भनेर सरकारले युट्युब बन्द गरायो । मान्छेको स्मरण शक्ति यसले खर्लप्पै खाइदियो । यसरी स्मरण गुम्दै जाने हो भने मान्छे ढुङ्गो बन्छ । सृजनात्मकता हराउँछ, दया माया प्रेम सद्भाव सबै स्वर्गमा जान्छन्। धरती निरस हुन्छ । जनसङ्ख्या घट्दै जान्छ, धर्ती मरुभूमि हुन्छ । तपाईं आफ्नो बालापन मोबाइलमा खोज्नुहुन्छ एकछिन सम्झेर याद गर्नुस् त हृदयभित्र रहेको तपाईंको बालापन मोबाइलको भन्दा कति सुन्दर छ । मेरा हजुरबाले भर्खरै मोबाइलको चर्चा हुने गर्दा यसको परिभाषा बताएथे म पनि अहिले उनको परिभाषा सम्झेर हाँस्ने गर्छु । मेरो बाहेक कसैको नहुने भएकोले यसलाई मोबाइल भनिएको नाथे भन्दै उनी गलल्ल हाँस्थे । मलाई यो परिभाषा खास लाग्छ । अहिले म उनकै परिभाषा सम्झेर दुनियाँ हेर्छु र मुसुक्क मुस्कुराउँछु । मोबाइलले किताब हेर्न बिर्सायो यसले परीक्षाफलमा निराशा निकाल्यो । हामीलाई सामान्य लाग्ने र ख्याल नगरिएको विषय अहिले टाउको दुखाई बनेको छ। यसैको कारणले देशको अर्थतन्त्र शिथिल बन्दै गएको छ । देशमा चोरको बिगबिगति बढेको छ । मान्छेमा मानसिक समस्याले अस्पताल भिडभाड देखिन्छ । मान्छेले शान्त हुन बिर्सेको छ । यसले साँचो भन्दा झुटो बढी सिकाउँछ । असत्यको केन्द्रीय कार्यालय नै हो मोबाइल नभए एकचोटि तपाईं विचार गर्नुहोस् चित्त नबुझे मलाई सम्झनुहोस् ।

०००
काठमाडौं
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
भोट माग्न आउनेहरू

भोट माग्न आउनेहरू

भोलानाथ सुबेदी
हाम्रो लौरो खै ?

हाम्रो लौरो खै ?

भोलानाथ सुबेदी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x