घर
घर नहुनेले जग्गा जोड्यो घर बनायो घरका लागि मान्छेले के गर्न बाँकी राखेर होला र ? चोर्नेदेखि फोर्नेसम्म लुट्नेदेखि कुट्नेसम्म । अपुताली होस् वा बकौती अत्याचार होस् कि भ्रष्टाचार होस् सबै हतकण्डा अपनाएको छ गजबले ।
भोलानाथ सुवेदी :
तपाईंको घर कहाँ हो नि ? यात्रामा वा जात्रामा प्राय सोधिने प्रश्न हो यो । अपरिचितलाई परिचय गर्ने बाटो । जहाँको होस् जताको होस् ठाउँको ठाउँ परिचयको गाँठो कसिहाल्छ । फलानोको घरदेखि कता ? फलानोको छोराको बिहे भयो । तिम्रो चाहिँ जागिर के छ जस्ता प्रश्नले परिचयलाई अझ गाढा बनायो या टाढा म खासै बुझ्ने भेउ पाउँदिन। परिचय गर्ने कला पूर्वजहरूले हस्तान्तरण गरेको एउटा नासो । समस्या पर्दा मान्छेले घर सोध्छ थर सोध्छ नत्र मुन्टो बटारेर लम्किन्छ । यसका उदाहरण तपाईं र म बाहेक जान्ने को होला र अरु । घर बालापनको नाट्यशाला । दुःख बिसाउने चौतारी । थकाइमा सुस्केर हाल्ने आश्रय स्थल । देश प्रेम जगाउने र जीवन बिताउने प्रयोगशाला पनि । एक झर पानी ओत्ने र टन्टलापुर घाममा शीतलता दिने वटवृक्ष पनि ।
व्यञ्जन वणर्को घ भन्दा कैयौँ वर्षअघिदेखि घरले पृथ्वीमा खुट्टो घुमाएको हुनुपर्छ जस्तो मलाई लाग्छ । वणर्मालाको विकासक्रममा विद्वानहरूले घरको कदर गर्दै पहिलो लहरको चौथो स्थानमा यसलाई थमाइदिए । यसले विद्वानहरूको कति सेवा गर्यो होला कति चरणकमलमा पर्यो होला त्यो तपाईं हामीले अहिलेको अवस्था हेर्दा सहजै आँकलन गर्न सक्छौँ । ऊ बेलादेखि चलेको यसको रजगज एक्काइसौँ शताब्दीमा त अचाक्ली झाँगिएको छ । यसैको वरिपरि मान्छे स्वार्थको जाँतो घुमाइरहेको हुन्छ । आफू रोगी भएर होस् वा ऋणले जोगी भएर मान्छेका लागि घर फुर्तिको द्योतक बन्न पुग्दछ ।
आम्दानी र हावापानी अनुसार अहिले घरको संरचना तयार हुने गर्दछ । खरले छाएको होस् वा टिनले टल्काएको जे भए पनि भय भगाउने र आशा जगाउने माध्यम हो घर । घरलाई आमाको काख झैँ ठाने मान्छे विदेशिनु पर्दैन । एक झप्को आनन्दको निन्द्राको लागि मान्छेले घरको विशाल सपना देखेको हुन्छ । घरको लागि मान्छेले अरबमा पुर्पुरो सेकाएको छ । आफ्नो रङ बदलेर बेरङ भएर हिँडेको छ । घर छोडेदेखि निद्रा नपर्ने गुनासो गर्नेहरू सन्तोषले सास फेर्न पनि घरकै बयानमा लिप्त भएका भेटिन्छन् । तिहारमा देउसी भट्याउँदा यो घर कसको आलेको, बाहिर भित्र टालेको, भोटे कुकुर पालेको भनेर त्यत्तिकै भनिएको होइन रहेछ । आलेको भए पनि कालेको भए पनि टालेको भएपनि घरको चार सुरभित्र मान्छे सीमित हुन खोज्दछ । त्यही भित्र आफ्नो इहलीला समाप्त गर्दछ । घरले इतिहास बोल्छ । दर्शन सिकाउँछ सभ्यता उज्यालो बनाउँछ । गन्तव्य नियाल्छ । मानव विकासक्रमसँगै मान्छेले सिकेको पहिलो कला नै वास्तुकला थियो । बास मान्छेको पहिलो आवश्यकता सरकारले बासका लागि करोडौं बजेट छुट्याउँछ तर बास नभएर वर्षेनी असरल्ल छन् मान्छेहरू । बजेट जेट चढेर कता उड्छ कसैलाई पत्तो हुँदैन । सरकारको घर संरक्षण नीति नै बेघर, टुहुरो र अनाथ बन्ने गर्छ । घण्टाघर सबैलाई ब्युँझायो तर आफू कहिल्यै बिउँझिएन । शिथिल, कुरुप, थिलथिलो भएर थिग्रेको सरकारी घर घण्टाघर । यही घण्टाघर शिथिल भएकोले देशको समय शिथिल शल्यक्रिया गर्नुपर्ने जस्तो । घरको समय बिग्रँदा हामीले ज्योतिषीलाई हस्तरेखा हेराउनु परेको छ । साइत खोज्दै बस्नु परेको छ । होमादी गर्नुपरेको छ ।
आफ्नो घरभित्र मान्छेले सहजता, सरलता र अपनत्व महसुस गर्छ र त अन्यत्र एक रात निदाउन सक्दैन । एक्लै रमाउन अभ्यस्त भएको छ मान्छे । बाक्लो दाल खाने रहरले मान्छे एकल बनेको छ । त्यही कारणले कान्लै पिच्छे घरको जग खनी गौरवले नाक फुलाउँछ । भूकम्पमा बनाएका घरमा अहिले धमिराको साम्राज्य विस्तार भएको छ । अनावश्यक रूपमा राज्यको सम्पत्ति दोहन गरेर बनेका घर मागी खाने भाँडो जस्तै बनेका छन् । भूगोल अनुसार घरको जग बसालेर जीवन निर्वाहमा ध्यानी बनेको छ मान्छे । भानुभक्तको घर लेखनाथको घर, समको घर, देवकोटाको घर, बीपीको घरदेखि पुष्पलालको घरसम्म भनौ बुद्धको दरबारदेखि पृथ्वीनारायण शाहको दरबारसम्म ज्ञानीको ज्ञान र ध्यानीलाई ध्यानका लागि संरक्षण गरिएका छन् ।
घरबारे कति गीत गाइए । कति काव्य रचना भए । उखान र टुक्का बने घरसँगै कतिको इतिहास बन्यो कति गुमनाम भए। घर अभिभावक हो। घर श्वास र रक्तनली पनि भाडा खानु र झाडा खानु एकै रहेछ भन्ने मेरा मित्र शहरमा घरको तलो थप्न व्यस्त देखिन्छन् अचेल । बजेट भाषणसँगै कोठाभाडाको दर दर्बिलो बनेर उभिन्छ र भाडावाललाई झम्टेर आनन्द मानिरहेको हुन्छ । यही भाडाको पिरलो समाधान गर्न कति सङ्घ खुले कति संस्था खुले घरबेटीलाई दुत्कार्न कसैले हिम्मत गरेनन् । घरवाला र डेरावालाको मन भाड्ने सूत्र बनेर आयो बजेट भाषण । घरले मित्र मात्र होइन शत्रु पनि कमाउने रहेछ । बैंकमा ऋण गरेर जग बसालेकाहरू यसका सच्चा साक्षी हुन् ।
नागरिकतामा फोटो टाँस्नदेखि जागिरको दरखास्तमा दरिनसम्म घरको चारसुर कस्नै पर्छ । जन्मँदा होस् वा मर्दा घर ठेगाना नखुले न जन्म दर्ता हुन्छ न मृत्यु दर्ता । अस्पतालमा होस् वा अदालतमा बसमा होस् वा हवाईजहाजमा जहाँ पनि घर हाजिर हुन आइपुग्छ । कहिले यो स्थायी भएर सताउँछ त कहिले अस्थायी भएर दुःख दिन्छ ।
घर कसको हुँदैन । कमिलादेखि धमिरासम्म । कुकुरदेखि ढुकुरसम्म सबै आआफ्नै घरमा घोरिरहेका भेटिन्छन् । नाममा मात्र फरक । गुँडमा बसे पनि दरबारमा पसे पनि एक पेट खाएर सन्तोषको सास फेर्न घर नभई हुँदो रहेनछ । सानो होस् कि ठूलो होस् । झ्याले होस् कि प्वाले होस् । खरको होस् कि रडको होस् । घरभित्र पसेपछि न विषालु जीवले डस्ला भन्ने पिर न झरीले झ्याउरे पार्ला भन्दै डर । घरका विषयमा मानिसलाई भन्दा बढी पीडा अरुलाई हुँदैन । छोरी अन्माउन होस् वा बुहारी भित्र्याउन घर बिहेको पहिलो सर्त हुन्छ । अझ बाउआमालाई बुढेलबुटीदेखि छोराछोरीलाई अंश सबै घरकै भागवण्डमा अडिन्छ । सन्तानका लागि दुःख गर्नेहरू घर न घाटको भएर बेघर बाँचेका उदाहरण समाजमा प्रशस्तै भेटिन्छन् । बाउको होस् कि साहुको होस् बाजेको होस् कि बराजुको होस् घर भनेपछि मर्न आँटेकाहरूले पनि -याल चुहाउँछन् । अझ सहरमा भाडा नतिरी बस्ने घर भेटेकाको फुर्ति बेग्लै ।
घरको दलितमा पिङ खेलेकाहरू घरकै कारण दलितमा झुन्डिन्छन् । घरका लागि मान्छेले विश्वका कैयौँ देशका गल्ली डुलेको छ । मरुभूमिमा बाफिएको छ । कतार मलेसियादेखि स्पेन र टर्की पनि काटेको छ । खरको छानो फालेर टिनको छानो हाल्न मान्छेले आफैलाई बेचेको छ । घर नहुनेले जग्गा जोड्यो घर बनायो घरका लागि मान्छेले के गर्न बाँकी राखेर होला र ? चोर्नेदेखि फोर्नेसम्म लुट्नेदेखि कुट्नेसम्म । अपुताली होस् वा बकौती अत्याचार होस् कि भ्रष्टाचार होस् सबै हतकण्डा अपनाएको छ गजबले ।
घर एउटै लाम्टो चुसेर हुर्केका दाजुभाइमा बैमनस्यता ल्याउनेदेखि जन्मदै घाँटी निमोठ्न बाध्य पार्ने गरेको पनि पाइन्छ । घरले परिवारमा फाटो ल्याउने हैन सम्बन्ध सुधार गर्ने काममा सबैलाई प्रेरणा दिन सकोस् जय घर ।
०००
काठमाडौं
(९८४३०५४१६१)
Subscribe
Login
0 Comments
Oldest