भोलानाथ सुबेदीदर
समय तिजको नाममा निकालिएका गीतले नै जवाफ दिन्छन् । किन हुन्छ अपहेलना ? किन लुटिन्छन् दिदी बहिनीहरू ? किन लागेन नारा अबलाको हकमा ?

भोलानाथ सुबेदी :
स्वास्नीको तितो गाली पोइले सहजै पचायो । पचाउनु बाध्यता पनि उसको । लामो बिलको सामान खोज्नमा व्यस्त छे ऊ । सामान्य सोधपुछमा पनि झर्को मान्छे उसले ।
बोली साध्य छैन आज चेलीमाहरूसँग । दर खाएर दरिने दिन हो आज । कोही कुदिरहेछन्, कोही पिरोल्ली रहेछन्, कोही दौडिरहेछन्, कोही फर्किरहेछन् । सबैलाई हतारोमा देखेपछि कसरी मन थाम्न सक्छे उसले । उसको माइत जाने चटारो पसलको गुहे धन्दाले अल्झाइदियो । कसैले दर घरमै हो भनेर सोधे ऊ झट्टी उज्याउँछे । अगाडि पछाडि आआफ्ना बाच्छाबाछी च्यापेर दौडेका छन् आमाहरू । पुलुक्क बाटोतिर नजर लगाउँदै सामान रुजु गर्ने हतारोमा छे ऊ । घरका लक्ष्मीहरू भए भरका गहना पोको पारेर दरका लागि दौडी रहेछन् रिले दौड । सिँगारिनु पर्ने छ भोलि । को भन्दा को कम राताम्य छ सडक एउटा विजयोत्सव जस्तो । बजारमा मान्छेको खचाखच र तँछाडमछाड । चप्पलदेखि चुरासम्म आफूदेखि भुरासम्म सबै चट्ट पर्नु नै छ । खुट्टो हाल्ने ठाउँ छैन कतै । बसमा चढ्नेहरूले खलासीको करकर सुन्ने कि दरले ढाडिएकाहरूको बकबक । वाक्कै लाग्दो यात्रा तपाईंले नि भोग्नु भएकै होला यो अवधिमा । पठाओ हो कि पु-याओको मनोमानी कमाउने जोग जुरेको छ । पुच्छर घरे अन्तरेको छोरो यसै असारमा घरजम गरेकी मामाकी छोरीलाई लोकेशन बताउँदै चोकमा मुर्मुरी रहेको छ । च्याउ कान्छाकी छोरीले आफ्नो देवरलाई पनि सँगै ल्याएको थाहा पाएर उसको भदा घोसे मुन्टो लगाइ अगेनोको डिल भत्काउँदै छ । माथ्लो घरमा चर्को आवाजमा टोलै थर्काएर नाचेका दिदीहरू देखेर भोकभोकै रोइरहेका केटाकेटी पनि रुन्चे नाच नाचिरहेका छन् । यो बेला अत्तरले मगमगाएका छन् कोठा र चोटाहरू । दरको डकार तल माथि दुवैतिरबाट छोड्दै निम्तालु बन्न सवारी छन् नारीसँगै नरहरू ।
सबै दृश्यहरू आँखाले कैद गरी रहेकी छे उसले । घरी चिनी घरी साबुन, बिस्कुट, पिठो, चामल जोख्दा जोग्दै आजित भइसकेकी छे ऊ । पोइले मोबाइल माग्यो ऊ रन्की । पसलमा घुइँचो उकुसमुकुस थियो । तेरो ठाडो तै राख् । मोबाइल झट्टी हानेर ऊ दौडी रिसको रन्कोमा । रिस स्वभाविक ठान्यो पोइले । नबोल्नु नै बेस ठानेर ऊ मौन रह्यो ।
पर्वको चर्चाले पिरोल्छ कतिलाई । पसलको भित्तामा टाँसेको मूल्य सूचीको पर्चाले पिरोल्छ मन । बजारमा सामान छोइसक्नु छैन । घरमा चेलीबेटी नबोलाए पुस्तौसम्म गुनासो सुन्न पर्छ । दिदी, फुपू भिनाजु, भान्जाभान्जी यसका उसका त्यसका सबैका नाता बटुल्दा एक दुई महिनाको रासन खर्च उम्कन्छ । कोही यसै भन्दै थियो भिडमा ।
एक महिना अघिदेखि दरिने चलन छ सहरमा । नारीवादी संस्कार विकृत हुँदैछ । चेतनासँगै अचेत बनेको छ व्यवहार । कतै दमन कतै सम्मान । कोही भोकमा गजो भर्लान्, कोही भोकभोकै पर्लान्, कोही तङ्ग्रिने कोही खङ्ग्रिने पर्व हो दर पर्व । ससुरालीमा पुगेर सुकुलमा बसी सुकुटी तान्दै तीजको शुभकामना प्रदान गर्ने ज्वाईं होस् वा बुहारीका माइत जाने सासू लाजको पसारोका उम्दा उदाहरण हुन् । दरमा बिना डर कोही सुतेर, कोही उठेर, कोही शौचालय धाउँदै, कोही जागिर पकाउँदै, कोही कोसेली किन्न हात कमाउँदै जिउ फुकाएर ज्यान उछिट्याएर आमाशय भर्न उद्धत छन् । पतिको दीर्घायु परिवारको सुख राम्रो पति पाउने कामना ।
खानाका अनेकौं परिकारमा पौडेर सन्चो बिगार्दै छन् कति । दर खानाका परिकारको चौरासी व्यञ्जन प्रदर्शन हुने पाक केन्द्र पनि । सबैका सामु वरिपरि घेराफेरा लगाएर खाँदाको इज्जत र फुर्ती कहाँ हो कहाँ ।
यो दिन महिला स्वतन्त्रता दिवसजस्तो लाग्छ मलाई । कुनै बन्देज रोकावट नभएको दिन । भगवानका पालादेखि मानी आएको पर्व यो । भगवान शिवको आराधना गर्न लगाएको हुनाले तपाईं, हामी सबैको दुःख सुख साट्ने उत्सव पनि यो । भक्तहरूले भरिभराउछन् शिवालयहरू । तीज न हो कसले छोड्ने ? किन छोड्ने ? महिलाहरूले पुरूषको दमनलाई सिर्जना मार्फत उछितो काड्ने दिनका लागि खाँदै छन् तर सहितको दर । आजको जमानामा सत्तो सराप गर्ने चलन सुधारिएर चेतना फैलाउने, विकृति विसङ्गतिको पर्दाफास गर्ने, संस्कार पनि लैबरीसँगै विकास भएको पाइन्छ ।
सत्तोसराप पनि छ कतै पुरुषको सासूको नन्दको देवरको । आफूलाई बिर्सेर सासू भएको, बुहारी भएको आमा भएको गाली गर्छन् आफैलाई ।कहिले सङग्लो हुन्छ मन र सुध्रिन्छ व्यवहार । भान्सेले पकाएको भात स्यालचारो पारेर कार्यालयमा समानताको कुरा उकाली रहेछन् कति । चिल्लो खाएर चिप्ला कुरा गर्नेले चेलीहरूलाई चिप्ल्याउँछन् । कतिलाई समभाव र समसत्ताको लागि कम्मर हल्लाई हल्लाई नाच्ने रहर छ । खर्चिलो तीजको दर सहरका चेलीहरूको ढर्राको कारण महँगीले किल्किले समाएको छ । रुपैयाँको अवमूल्यन दिनका दिन। सडक पेटीमा पसल राखेर पेट भर्नेको बाक्लो जमात छ । सहरमा त्यही पेशाले बाँच्न हम्मेहम्मे पनि । के हो तीज ? के हो दरपर्व ? सडकमा अनौठो मेला चलिरहन्छ दिनै आफ्ना भाषामा आफ्नै लबजमा मग्न छ दुनिया, मग्न छन् देवालय । चुराका कुरा हातभरि हरिया राता नीला पँहेलाले हातै फतक्क गल्यो । अनौठो गतिले चलेको देखिन्छ समय । शिरदेखि पाउसम्म सोह्र श्रृङ्गारले छपक्कै छ आधा आकाश । कटकट खायो हातखुट्टा ढाड अररियो । दिनभरिको निराहारले । सुनका कुरा चोलीका कुरा रातामै छन् शिवालयहरू । टेलिभिजन रेडियोमा प्रत्यक्ष प्रसारण दिनभर । महिला स्वतन्त्रता दिवस आज किन आफूलाई बोक्सी बनाएर मार्छ समाजले ? किन बलात्कार हुन्छ ? दिनदिनै हिंसा बढ्दो छ किन ? खोजी छैन खासै । निरीह चेतना जस्तो अभ्यस्त व्यवहार जस्तो ।
वर्षेनी फरकफरक ढर्रामा मनाइन्छ तीज । शैली फरक पर्दा हुने खाने र हुँदा खानेको चेपमा रगडिएको छ तीजको अस्तित्व । महंगा होटल रिसोर्टमा विभिन्न क्लव, सहकारी, आमा समूह, छोरी बुहारी समूह, बौद्धिक मञ्च सबैले खान्छन् र खुवाउँछन् दर । दर सँगै खोसिन्छ तीजको संस्कार मान्यता र मूल्य । छाडा संस्कार मौलाएर आयो । हिन्दी गीत, र्याप, डिस्कोमा ज्यान दुखाइ रहेछन् नृत्याङ्गनाहरू । हजुर आमा र आमाहरूले जोगाएको परम्परा छोरी र बुहारीहरूले माटो मै मिलाए भन्ने गर्दछन् कति । यसको उदाहरण पछिल्लो समय तिजको नाममा निकालिएका गीतले नै जवाफ दिन्छन् । किन हुन्छ अपहेलना ? किन लुटिन्छन् दिदी बहिनीहरू ? किन लागेन नारा अबलाको हकमा ? यी सबै प्रश्नको जवाफ पाए मात्र दर खाएको सार्थक हुन्थ्यो कि ?
०००
काठमाडौं
(९८४३०५४१६१)
Subscribe
Login
0 Comments
Oldest







































