साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पशु जिन्दगी पो जिन्दगी

मान्छेले जस्तो भाषा, धर्म, संस्कृति र परम्पराका नाममा राजनीति गर्दैन कसैले यहाँ । कसैको उक्साहटमा लाग्दैन कोही । जे छ त्यसमै सन्तोष छ । कसैप्रति आहारिस र डाह छैन । धन दौलतको कुनै चाह छैन ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

महाकवि लक्ष्मीप्रसाद देवकोटालाई देश दुनियाँले पागल बनायो । देवकोटाले आफू पागल नै भएको स्विकार गर्दै स्वघोषित सभ्य समाजलाई पागल बनाए । मान्छेको जुनीबाट मिच्छिएर हो कि ? भगवानसँग पुकारा गरे – “प्रभु मलाई भेडो बनाऊ ।” देवकोटाले मान्छेमा निस्सारता भेडामा जीवनको सार देखे । त्यसैले त प्रभुलाई निवेदन लेखेर भेडो बनाउन आग्रह गरे । देवकोटाको यस आग्रहप्रति मेरो पूर्ण समर्थन छ । समर्थन मात्रै होइन सोही विचार अनुसरण गर्ने विचारमा छु । फरक यत्ति हो देवकोटाको माग एकसूत्रीय खालको थियो । मेरो फरक छ ।

प्रभु ! मलाई भेडो नै बनाऊ भन्दिनँ । सजीव या निर्जीव जे बनाए पनि हुन्छ । स्थलचर नै हुनुपर्छ भन्ने छैन । जलचर या उभचर बनाए पनि हुन्छ । चौरासी लाख जुनीमध्ये मान्छे बाहेक जे बनाए पनि हुन्छ । कुनै आपत्ति रहने छैन । गुनासो गर्ने छैन ।

प्रभुहरूले चाहेपछि नहुने केही छैन । प्रभुहरू विभिन्न समयमा विभिन्न अवतारमा अवतरित भएका धेरै कथाहरू सुनेको छु । प्रभु केवल मनुष्य रूपमा मात्रै प्रकट हुनुभएको त थिएन नि ? मत्स्य, वराह, कुर्म, नरसिंह आदि अनेक रूपमा प्रकट हुनुभएको थियो ।

प्रभु ! कलीको प्रभावले हो या ज्ञानको अभावले ममा वैराग्य उत्पन्न भएको छ । म सत्यलाई असत्य भन्न सक्दिनँ । असत्यको समर्थन गर्न सक्दिन । जस्तो देख्छु त्यस्तै लेख्छु । कसैले घोषणा गर्दैमा गाईलाई गधा र गधालाई गाई मान्न तयार छैन । काला छन् भन्दैमा काग र कोइली एउटै हुन् भन्न मेरो बुद्धिले दिँदैन ।

प्रभु ! यो संसार केवल ठगहरूको कब्जामा छ । ठगिएकाहरूलाई आफू ठगिएको समेत पत्तो छैन । विभिन्न वर्ग र रङ्गका ठग सम्प्रदायको इन्द्रजालमा परेपछि कसले उन्मुक्ति पाउन सक्थ्यो र ? चक्रव्यूहमा फसेका अभिमन्यूको नियती बाँचिरहेछन् यहाँ निमुखाहरू । यहाँ को मात्रै ठगिएको छैन ? ठगहरू नै एक आपसमा ठगिएका छन् भने अरूको के कुरा ? पाउडर घँसेर ठग्नेहरू यही छन् । खरानी घसेर ठग्नेहरू छन् । गेरू बस्त्र लगाएर ठग्नेहरू यहाँ छन् । बस्त्र नै नलगाई ठग्नेहरू पनि छन् । छोराछोरीले बाआमालाई पतिले पत्नीलाई, पत्नीले पतिलाई, दाइले भाइलाई, भाइले दाइलाई, दिदीले बहिनीलाई, बहिनीले दिदीलाई जसले सक्छ ठगेकै छ । लुटेकै छ । परिवारभित्रै ठगिएको छ भने बाहिर बाँकी रहन्छ ?

कुनै बेलाको कुरा सुनाउँछु प्रभु ! जुन समयमा सत्य, न्याय र अहिंसाको चर्चा हुन्थ्यो । त्यसताका एउटा गुरु आश्रममा धेरै चेलाहरू थिए । चेलाहरूमध्ये एउटा अलिक चतुर स्वभावको थियो । गुरूप्रति ओठेभक्ति देखाउन अत्यन्तै सिपालु । गुरूको सेवामा हरपल लागिरहन्थ्यो । अरूको विषयमा खास चासो राख्दैनथ्यो । जीवनको अन्त्यकालमा गुरूले आफ्नो विरासत कायम राख्ने गरि उसलाई जिम्मेवारी प्रदान गर्न खाेजे । उसले गुरूआज्ञा पालना गर्ने प्रतिबद्धता जनायो । गुरु परमधाम गए । उसले आश्रम चलाउन थाल्यो । दिनहरू बित्दै जाँदा आफूलाई गुरूकृपा रहेको र ध्यानमा रहँदा गुरूआज्ञा प्राप्त भएको भनी आफ्ना साथी, शिष्य, चेलाचपेटा र भक्तजनहरूमा अत्यन्तै गहिरो प्रभाव पार्‍या । जसका कारण सबैजना सबथोक सुम्पिन तयार भए । तन, मन, धन गुरूमाथि अर्पण गर्नुमा कुनै सन्देह कसैमा रहेन ।

दिनहरू बित्दै जाँदा साधु समाजले धर्म सापेक्ष राष्ट्र घोषणाको आन्दोलन छेड्यो । आन्दोलन उत्कर्षमा पुग्दै गर्दा नेतृत्वलाई आरोप लाग्यो – “आफ्नै गुरूलाई मन्द विषको प्रयोग गरी परमधाम पुर्‍याउने नेतृत्व स्वीकार्य छैन । धर्मको खोल ओढेर धन कुम्ल्याउनेदेखि सावधान । एक नारी ब्रह्मचारी भन्दै घरकीलाई थारी र बाहिरकीलाई भारी बनाउने व्यभिचारी ठग महाराजलाई कालो मोसो नदली कहाँ छोडिन्छ र ?”

राम ! राम ! राम ! यस्तो सुन्नुपूर्व किन बहिरा नभएका यी कान ? साधु सन्त जागेपछि रामराज्य बन्ला भन्ने आशा थियो । त्यो पनि हरायो । त्यसैले त होला बुढापाकाले, “जुन जोगी आए पनि कानै चिरेका” भनेको । आजभोलि सुन्छु यस्तै केही बाबा महाराज र माता महारानीहरूका कारण धर्मप्रति सर्वसाधारणको विश्वास टुट्दै गएको छ । यहीँ बाहनामा विधर्मीले ठग्दै गएको छ । लुट्दै गएको छ ।

प्रभु ! अलिकति धर्मको डर थियो मान्छेमा । त्यो पनि समाप्त भयो । शिष्टाचारमाथि पापाचार भारी भयो । यहाँ त खान्न खान्न लोकाचार खान थालेपछि डोकाचार भयो । समाजकल्याण र मानवकल्याणका नाममा चन्दा र दान झ्वाम् कि झ्वाम् भयो । यी सब टुलुटुलु हेरर बस्नु भन्दा पशु भएर घाँसमा चर्नु जाती । अरू कसैको आहारा भएर मर्नु जाती । अर्को जन्म हुन्छ हुँदैन थाहा छैन प्रभु ! यसै जन्ममा पशु बनाऊ । भो भैगो पुग्यो अब मान्छे नबनाऊ ।

आहा ,क्या आनन्द छ प्रभु ! पशु हुनुमा । कोटी कोटी प्रणाम छ प्रभु यहाँलाई । मलाई पशु बनाएकोमा । मेरो पुकारा सुनेकोमा ।

सुन ए मान्छे ! म पनि तिमी जस्तै पहिले मान्छे थिएँ । प्रभु कृपाले आज पशु भएँ । गर्व छ मलाई पशु भएकोमा । हाम्रो पशु समाजमा हिंस्रक पशुहरू मान्छे जस्तो हिंस्रक छैनन् । आततायी, क्रुर र निच छैनन् । आहाराका लागि सिकार गरे पनि सङ्ग्रह गरेर भोलिलाई साँच्दैनन् । बिना प्रयोजन कसैमाथि प्रहार गर्दैनन् । सबैले प्रकृतिलाई माता मानेका छन् । आकाशलाई छानो ठानेका छन् । धरतीलाई घर जानेका छन् । यहाँ कसैले गोली हान्दैन आफन्तमाथि । बम पड्काउदैन आक्रोशमा । सबै आफ्नो सीमामा रहेका छन् । उल्लङ्घन गर्दैन कसैले मर्यादा । मान्छेले जस्तो भाषा, धर्म, संस्कृति र परम्पराका नाममा राजनीति गर्दैन कसैले यहाँ । कसैको उक्साहटमा लाग्दैन कोही । जे छ त्यसमै सन्तोष छ । कसैप्रति आहारिस र डाह छैन । धन दौलतको कुनै चाह छैन । रोजगारी या बेरोजगारीको चिन्ता छैन । नागरिक वा अनागरिकको ताप छैन । राहदानीको भुटो छैन । न कुर्चीको टन्टा छ । न पदको सूर्ता छ । हाम्रो पशुसमाजमा सबै वर्ग फुक्काफाल छ । स्वतन्त्र छ । गणतन्त्र यहाँ पनि छ । जसका लागि कुनै आन्दोलन, क्रान्ति वा विद्रोहको आवश्यकता कहिल्यै परेन । यहाँ पनि गाँस छ । बास छ । अनि सहबास छ । मैथुन चलेको छ । घरजम बसेको छ । जबर्जस्ती करणीको मुद्दा कसैले खेप्नु परेको छैन । सम्बन्धविच्छेद सुन्नु परेको छैन । न घर महलको लिप्सा छ । न गाडी, साधनको आवश्यकता । यहाँ सत्ता दाउपेचको हानथाप पनि छैन । यहाँ त प्रकृति प्रदत्त संविधानलाई सबैले पालना गरेका छन् । जुन लिखित पनि छैन । संशोधनीय पनि हैन । आहा ! यस्तो पो जिन्दगी ।

प्रभु ! पशु भएपछि मलाई कुनै चिन्ता छैन । तनाव छैन । डिप्रेशनको गोली खानु परेको छैन । थाइराइड, ग्याष्ट्रिक, प्रेसर र सुगरले सताएको छैन । कसैप्रति आश छैन । निराशा पनि छैन । म जे छु ठीकै छु । पशु हुनुमै आनन्द छ । पशु भएपछि लाग्न थालेको छ; पशु जिन्दगी पो जिन्दगी ! थुक्क मान्छे तेरो के जिन्दगी ?

०००
२०८१ भाद्र २२
रेसुङ्गा न पा २, गुल्मी

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
युगल बसेल
युगल बसेल
1 year ago

घरकीलाई थारी अन्तकीलाई भारी बनाएको होइन कि बेत बसेकीलाई थारी, पट्ठीलाई भारी बनाएको होला।😉

Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
1
0
Would love your thoughts, please comment.x
()
x