तुलसीप्रसाद भट्टराईपछुतो
न भेटेँ सजिलो बाटो न पाएँ स्वादिलो रस पाएँ क्षणिक आनन्द भेटिए विघ्न कल्मष भोगविलासमा लाग्दै बित्यो सुन्दर जीवन न भेटाएँ नयाँ केही न पछ्याएँ सनातन ।

तुलसीप्रसाद भट्टराई :
न हेरेँ वेदका वाणी न देखेँ लघुकौमुदी
न सुनेँ ज्ञानका चर्चा न खोलें शास्त्रका गुदी
भुलेँ संसारको मीठो ताजा सुन्दर वस्तुमा
भावीका हातले यस्तै लेखिदिएछ अस्तुमा ।
न सोचेँ बाबुको अर्ती आमाको उपदेशमा
बिताएँ जीन्दगी सारा भौतिक परिवेशमा
न टारेँ आर्तको गर्जो दुःखीमा न गरेँ हित
न ल्याएँ साथमा केही न छोडेँ अन्त्यमा पृत ।
कोरा बिचारले गर्दा चौतर्फी ज्ञान पाइनँ
म कोहुँ कसरी जानूँ चिनारी भित्र आइनँ
न चिनेँ शून्य आकाश न जानेँ यो धरातल
कताकता परेँ आफैँ जिन्दगी भर अल्मल ।
न भेटेँ सजिलो बाटो न पाएँ स्वादिलो रस
पाएँ क्षणिक आनन्द भेटिए विघ्न कल्मष
भोगविलासमा लाग्दै बित्यो सुन्दर जीवन
न भेटाएँ नयाँ केही न पछ्याएँ सनातन ।
जानिन भेद आत्माको भेटिन उसको जरा
भुलेँ बाहिरको हेर्दै सांसारिक हराभरा
न बुझेँ मूल्य आफैँले साँचो जीवन पद्धति
त्यसैले आज भोग्दैछु स्वयमेव अधोगति ।
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest








































