साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुइँफुट्टाको खुट्टा

विचार, दर्शन र सिद्धान्तलाई समायोजन गरेर नेपाली माटो सुहाउँदो राजनीति गर्ने छ । विदेशीको भर पर्ने छैन । कसैको पाउ पर्ने छैन । म मेरै विचारमा अडिने छु । आफ्नै खुट्टामा ठडिने छु ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

उहिले मामाघर जाँदाको एउटा सन्दर्भले मलाई बेलाबखत सोंचमग्न बनायो । हजुरबा खटियामा उपरखुट्टी लाएर बस्नुभएको थियो । मैले खुट्टामा ढोँगिदिँदा उहाँले आशिक दिनुभएको थियो – “निरोगी भए । धेरै पढे । आफ्नो खुट्टामा उभिने काम गरे ।”

म त आफ्नै खुट्टामा उभिएको थिएँ । हजुरबाको खुट्टामा उभिएको थिइनँ । बुढाले दिएको त्यो आशिकको आशय उतिबेला यो भुँइफुट्टा महाशयले कसरी बुझ्नु ?

मामाघरबाट बाबाघर फर्किएपछि आमालाई सोध्दा रहस्य थाहा लाग्यो । वास्तवमा म चौबिस पच्चीस वर्षको हुँदासम्म बाबाआमाको खुट्टामा उभिएको रहेछु । यस विषयले मलाई निकै गहिरो जीवन दर्शन दिएको थियो । आँखा खुलेको थियो ।

घरमा हजुरआमाले एक दिन बिहान मुखमा चारो हाल्ने बेलामा बाबालाई भन्नुभयो – “आफ्नो त अब जाने बेला पनि हुन थाल्यो । नातिको बिहे देख्न नपाइकन गइन्छ कि जस्तो छ । यस विषयमा के भन्छौ कुन्नि ?”

बाबाले हजुरआमालाई प्रतिक्रिया दिनुभयो, “त्यो त हुन्थ्यो नि आमा ! यस्को हालत कौडी न सौडी बजारबजार दौडी भनेजस्तो छ । आम्दानी सुको कौडी छैन । कस्ले दिन्छ छोरी ? पहिले आफ्नो खुट्टामा उभियोस् अनि गरिदिउँला नि बिहे ।”

बुबाको कुराले हजुरआमामा निरासाका काला बादलहरू मडारिन थालेका थिए । यस विषयले मलाई पनि नबिझाएको कहाँ हो र ? मभन्दा एक वर्ष कान्छो सानीमाको छोराले जुम्ल्याहा सन्तान जन्माएको सात महिना कटिसकेको थियो । हजुरआमालाई मात्रै होइन आमालाई पनि नाति नातिनातिनी खेलाउने रहर जागिसकेको थियो । मात्रै बाबासँग कुरा फोर्न सक्नुभएको थिएन । नढाटी भन्ने हो भने मलाई पनि बुढीसित ससुराली जाने रहर नलागेको होइन । कानूनी तवरले पनि विवाहको उम्मेदवार हुन प्रतिबन्ध थिएन । बाँकी रह्यो खुट्टाका कुरा । मेरा आफ्ना खुट्टा थिएनन् । जुन बिहेका लागि बाधक बनेका थिए ।

आफ्ना खुट्टामा नउभिएसम्म कसैले छोरी दिने अवस्था नदेखिएपछि केटी पट्याउन धम्मरधुस लागियो । केटी पट्याउन खास अप्ठ्यारो पनि भएन । बाबालाई सताएर किनेको मोटरसाइकल र आमालाई फकाएर झारेको दामले काम गरेकै थियो । जब बिहेको कुरा हुन्थ्यो तब खुट्टाकै कुरा निस्किइहाल्थ्यो । बाबाको पेशा व्यवसायले मलाई काम नदिने देखिएपछि मलाई आफ्ना खुट्टा नखोजी सुखै भएन । तसर्थ निस्किएँ आफ्नै खुट्टाको खोजीमा ।

बेलामा किताबका पानासित संगत गरेको भए के हुन्थ्यो कुन्नि ? कलेजमा डुल्दा टेबुल र कुर्चीका खुट्टा भाँचियो गनिसाध्ये छैन । चुनावी समयमा कति लुरेलाङ्ग्रेका खुट्टा भाँचियो भनिसाध्ये छैन । आज जागिरका लागि खुट्टा भाँचिने गरी डुल्दा हात लाग्यो शून्य ।

“नाथे खुट्टाका लागि त्यत्रो टन्टा ? त्यो पनि नेताका सन्तानलाई ?” साथीभाइलाई गुनासो गर्दा आएका प्रतिक्रिया हुन् यी । भन्नेलाई सजिलो छ । प्याच्च भनिदिए भयो । नेताको सन्तान हुनुको पीडा भोग्नेलाई मात्रै थाहा होला ! समाजमा एक्लै दुक्लै हिड्न कम्ती गाह्रो छ ? अस्ति एउटाले गीत गाएझैं गरेर झटारो हान्यो –

तिम्रा लागि नागरिक खसी बोका भेडा
हिजोसम्म आलु खाने खान थाल्यौ पेंडा

गरिबका घर छैन एक चिम्टी नुन
खाँदै हिड्छ सलहले मुरी मुरी सुन ।

सहकारी तिम्रा लागि जर्सी जस्तै भए
जन्ता चुस्ने लुते नेता फर्सी जस्तै भए ।

आमा नेता बाउ मन्त्री छोरो ठेकेदार
कालो धन सेतो पार्न खोज्छ रोजगार ।

फित्कौलीको मट्याङ्ग्राले हानेको दुख्दैन होला । यसरी वचनको मट्याङ्रगाले हानेको बढ्ता दुख्दो रहेछ । पहिले आशले वा त्रासले चाकडी गर्नेहरू आजभोलि धारे हात लाउदै हिँड्न थालेका छन् । जता गयो त्यतै गालीको भिषण वर्षा भएपछि गर्नु के ? जाने कहाँ ? यसैले पनि जागिर खानै पर्ने थियो । आफ्नै खुट्टामा उभिनु थियो । बिहे गर्नु थियो । घरजम गर्नु थियो ।

कतिपय ठाउँमा पारिवारिक पृष्ठभूमि सोधियो । बाबा नेता हुनुहुन्छ भनेपछि फाइल छोडेर जानुहोस् छनोटमा पर्नुभयो भने हामी नै फोन गर्छौँ भनियो । फोन कहिल्यै आएन । नेताकै छोरो भएका कारण अवसर नपाएको भन्ने बुझ्न गाह्रो भएन । कुरा बुझ्यो कुलेले भातै खाएन भनेझैँ मेरो पनि आफ्नो खुट्टामा उभिने रहर पूरा भएन ।

चिन्ताले मानिसलाई चितामा पुर्‍याउँछ भन्थे । हो रहेछ । कहीँ कतैबाट मेरो चाहना पूरा हुने देखिएन । तनावग्रस्त भएपछि मनलाई शान्त बनाउन धार्मिक प्रवचन भएको ठाउँमा गएँ । प्रवचनकर्ताले भने, “मानिसको शिर ब्रह्मण हाे । हातपाखुरा क्षेत्रीय  । पेट  वैश्य । खुट्टाहरू शुद्र । खुट्टाको काम सेवा गर्नु हो तर यहीँ उपेक्षित छ । “प्रवचनका कुराले मनमा तर्कनाहरूले डेरा जमाउनुका साथै घेरा पनि हाले । प्रवचनका कुरा सही हो कि जस्तो लाग्यो । दौड, फुटबल वा अन्य यस्तै कैयौँ खेलकुद प्रतियोगितामा खुट्टाले जिताउँछ । निधारले टीका थाप्छ । मन्टाले माला लगाउँछ । हातले प्रमाणपत्र थाप्छ । जिताउने खुट्टाले सम्मान कहिले पाउँछ ? थकाइले विचरो खुट्ट केवल थरथर काप्छ ।

कुनै जमाना थियो खुट्टाको । त्यो पनि एकादेशको कथा भयो । बाबुआमा वा मान्यजनका खुट्टाले ढोग प्राप्त गर्दथे । त्यो पनि आजकल हाततिर सरेको छ । खुट्टाका भागमा केवल जुत्ता मात्रै परेको छ । खोला तर्नु परे जुत्तालाई हाततिरै सारिदिनु पर्छ । नाङ्गा खुट्टाले सिङ्गो ज्यानलाई खोला तारिदिनु पर्छ । भोज भतेरहरूमा खुट्टाले नै पुर्‍याइदिनु पर्छ । जिब्रोले स्वाद फेर्छ । भुँडीले भकारी भर्छ । आखिर सबैको भार खुट्टामाथि नै पर्छ ।

एकदिन अति नै भएपछि मन मिल्ने साथीलाई भनेँ – “कुकुरसरि डुलियो । डुल्दा डुल्दा भोक, प्यास र निद्रा पनि भुलियो । केही गरी चार पैसा कमाउने पेसा मिलेन । आफ्नो खुट्टामा उभिनु पर्छ भन्ने सुझाव पाइयो । मेरा खुट्टा टेकाउने टेको कतै मिलेन के गर्ने होला त यार ?”

यारले निकै प्यारसित सुझाव दिए – “मैले भनेको मान्छौ भने धेरै प्यारप्यार नगर । विदेश जानलाई खुट्टा सार । यहाँ अगाडि बढ्न कसैले दिँदैनन् । बढी हाले खुट्टा काट्ने धेरै हुन्छन् । केही गरी विदेश जाऊ । टन्न दाम कमाऊ । तिम्रा खुट्टा मोल्न तिनै आइपर्छन् । जब तिमी आफ्नो खुट्टामा उभिन सक्छौ ।”

घरै पिँडालु वनै पिँडालु ससुराली जाँदा बाह्र हातको पिँडालु भनेजस्तै आफ्नो खुट्टामा उभिनु पर्छ भन्नेहरू धेरै भए । आफ्नो खुट्टामा उभिने वातावरण दिने कोही भएनन् ।

साथीले भनेजस्तै विदेश नगई सुखै भएन । बर्मा गयो कर्म सँगै भनेको त्यसै रहेनछ । स्वदेशमा रहे पनि विदेशमा गए पनि दुःख खेप्ने खुट्टाले नै रहेछ । विदेशमा गएर पनि खुट्टालाई नै दुःख दिनु परेको छ । सेक्युरिटी गार्डका बाहनामा घन्टौसम्म खुट्टालाई नै उभ्याउनु परेको छ । आफ्नै खुट्टमा उभिने रहरले आज आफैलाई ठहरै पारेको छ ।

बाबाले एकदिन फोनमा भन्नुभयो “बाबु भुइफुट्टा ! तँ त नेताको पो छोरो होस् त । स्वदेशमा फर्की बाबै । बाबाकै पार्टीमा बस्नु पर्छ भन्ने छैन । नयाँ पार्टी खोल् । चर्का कुरा बोल् । अरूका आँखामा खुर्सानी छर् । तैले मेरो विरोध गर् । मैले तेरो विरोध गर्छु । यति भएपछि युवा पुस्ता तेरो पक्षमा लाग्छ । बाउकै विरोध गरेको देखेपछि तेरै कुरामा विश्वास लाग्छ । जनमत तेरो पक्षमा भएपछि भित्रभित्रै सेटिङ मिलाउदै जानू । पत्रकारलाई दारू पिलाउँदै जानू । साथीभाइका थुतुना सिलाउँदै जानू । मेरो कुरा मानिस् भने यति कुरा जानिस् भने तँलाई दुःख हुँदैन । अभावले कहिल्यै छुँदैन । अकुत सम्पत्ति कुम्ल्याइस् भने दुईचार बिटाले हान्दिएपछि अदालत, अख्तियारले केही नाप्दैन । अलिअलि भुक्नेहरू भुक्दा भुक्दै थाक्न थाल्छन् । तेरो शक्तिको अन्दाज लगाएपछि जयगान गाउन थाल्छन् । खुट्टा समाउन थाल्छन् । तेल लगाउन थाल्छन् । त्यसैले मेरा कुरा मानिदे । यति कुरा जानिदे ।”

बाबाको कुराले मेरो मन परिवर्तन अवश्य गरेको छ । बाबाले मलाई आफ्नै खुट्टामा उभिने उपाय बताउनु भएकै हो । बाबाले भनेजस्तो मिलिभगतमा होइन । यथार्थमै चुनौती दिने गरी स्वेदश फर्किने तयारीमा छु । अब भुँइफुट्टाले आफ्नो मात्रै खुट्टा हेर्ने छैन । देशवासीको खुट्टालाई समेत ख्याल गर्ने छ । कसैलाई पनि विदेश जान बाध्य बनाउने छैन । आफ्नो बाबाजस्तो राजनीतिमा गनाउने छैन । देशको मुहार फेर्ने छ । महेन्द्र मल्ल राजालेझैं देश दुनियाँको घरको धुरी हेर्ने छ । राम शाहको न्याय दिलाउनेछ । पृथ्वीनारायण शाहको दिव्योपदेशको नीति अपनाउनेछ । वि. पी, पुष्पलाल, मदन भण्डारी, गणेशमान, कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाको विचार, दर्शन र सिद्धान्तलाई समायोजन गरेर नेपाली माटो सुहाउँदो राजनीति गर्ने छ । विदेशीको भर पर्ने छैन । कसैको पाउ पर्ने छैन । म मेरै विचारमा अडिने छु । आफ्नै खुट्टामा ठडिने छु ।”

बिहानपख रूम पार्टनरले आँखा तर्दै हप्क्यायो – “हैन हो भुँइफुट्टा ! रातभर बर्बराएर सुत्नै दिएनौ । निद्रामा त निकै गुड्डी हाँक्यौ क्यारे ! आज जाने होइन त ड्युटीमा ?”

साथीको कुराले झसङ्ग भएको भुँइफुट्टा हस्याङ्फस्याङ् गर्दै डिउटी पुग्यो । राति देखेको सपनाले यो भुँइफुट्टालाई बिलखबन्दमा पारेको छ । विगतमा विपनाहरूले धोका दिएको कुरा कसैगरी भुल्न सकेको छैन । सपनाले धेरैबेर लोभ्याउन सकेन । यथार्थमा जिउनु थियो । आफ्नै खुट्टामा उभिनु थियो । यसका लागि अरु केही वर्ष विदेशी भूमिमा ठिङ्ग उभिनु थियो ।

०००
रेसुङ्गा न पा २ गुल्मी

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
लाम लागे पनि जाम पारेपनि युगल बसेल
लाम लागे पनि जाम पारेपनि युगल बसेल
1 year ago

बेस ! मुख बाहुन,हात क्षत्री ,तिघ्रा वैश्य पैताला शुद्र हो कि ?

Ramprasad panthi
Ramprasad panthi
1 year ago

धन्यवाद सर । केही संशोधन भएकाे छ

साने
साने
1 year ago

पृथक् अनि रमाइलो ।

Ramprasad panthi
Ramprasad panthi
1 year ago
Reply to  साने

धन्यवाद साने

Nepal Telecom ad
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
4
0
Would love your thoughts, please comment.x
()
x