साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लबस्तरा र थेत्तरा विरुद्ध ‘पाक्कपुक्क’

समग्रतामा नेउपानेले कवितामा चार विद्या चौध चतुर्‍याइँ देखाउन खोजेका छन् भने समकालीन राजनीतिलाई अँध्याराको काम खोलाको गीत जस्तै देखेका छन् ।

Nepal Telecom ad

दीपक सुवेदी :

दरबारमा नजन्मिएका तर समाजमा सबै राजा भएको देख्दा एउटा स्रष्टाले लज्जित र अपमानित भएको महशुस गर्दोरहेछ । जब चन्डालले रुद्राक्षको माला लगाएको स्रष्टाले देखेपछि मनको हलचललाई संयमका साथ हास्य रसमा मिलाएर लिपिबद्ध गर्दछ तब व्यङ्ग्य रचनाको सृष्टि हुने गर्छ । सामान्यतः चेतनाको उज्यालोलाई आधुनिकताका हत्केलाहरूले छेक्दा यसको विजारोपण हुन्छ अनि उज्यालोको अतिक्रमणको अनुभूतिबाट यसको शिखरतर्फको आरोहण सुरु हुन्छ ।

यही अतिक्रमण, समय र समाजकोे अग्लो होचोलाई थाक्दै नथाकी व्यङ्ग्य कविताको माध्यमबाट सम्याउन तम्सिएर मट्याङ्ग्रा (२०७६) बजरमा ल्याइसकेका कवि खगेन्द्र नेउपानेको पाक्कपुक्क (२०८१) अर्को व्यङ्ग्य कवितासङ्ग्रह फित्कौली अनलाइन मिडियाले बजारमा ल्याएको छ ।

साँच्चै, हामी मन खोलेर हाँस्न त कहाँ सकेका छौँ र ! हाम्रो हाँसो ओइलाएको डुकुको पातजस्तै भइसकेको छ । हामी जसो जसो बाहुन्, उसै उसै स्वाहा गर्दैछौँ । मादल जसरी बज्छ, त्यसरी नै नाच्दैछौँ । समयले नचाइरहेछ । चिप्लो मुख र धमिलो पेट भएको समाजको प्रवृत्तिले हामीलाई नै उफारिरहेछ ।

यसमा सङ्ग्रहमा अनेक विषयका कविता छन् । मानवीय संवेदनका हरेक पक्षको चित्रण समसामयिकतासँग तुलना गरिएको छ । अर्थात् समसामयिक प्रतीक वा बिम्ब चित्रणमा रहेर कविताहरू सिर्जना गरिएका छन् । हाम्रो लडाइँ भ्रष्टाचार विरुद्ध (पृ. ३३) भइरहेका बेला भव्य कार्यक्रम (पृ. २५) मा माला, मञ्च र माइक (पृ. २२) का साथमा बूढो नेताको भाषण (पृ. ४४) मा परिवर्तन (पृ. ११६) का कुरा, नेपाली समाज र सामाजिक जीवनप्रति हे सरकार ! (पृ. १०६) कवि चिन्तित देखिन्छन् । कविका यी आजको कविता (पृ. ९९) मा समकालीन चिन्तनका कुराहरू प्रशस्त आएकाछन् । सर्वसाधरण जनताका लागि जति जे गरे पनि थुुइक्क ! (पृ. ९३) भुस्याहाको भाषण (पृ. ७५) अर्थात् साला भाषण (पृ. १०८), मा ल्याथ्रो साँडे (पृ. ९५) वा भाइरस (पृ. ५३) मात्र फेला पर्छ ।

कवितामा बौद्धिकता, जीवनका जटिल अनुभव र अनुभूति अभिव्यक्ति गरिएको छ । मान्छेका वैयक्तिक दुर्बलता, आधुनिकताका नाममा देखापरेका उत्ताउला प्रवृत्ति, जागिरमा नातावाद-कृपावाद, घुसको बिगबिगीमा देखापर्न थालेको उभिन्डो र बिब्ल्याँटो चलन, युवायुवतीमा आएको उच्श्रृङ्खल प्रवृत्तिका बारेमा कविताहरू केन्द्रित छन् । सामाजिक अन्धविश्वास, सेवामुखीभन्दा सुविधा र पैसामुखी, लबस्तरा, रमाइलोका नाममा रक्सीको खोला बगाउने र होहल्ला गर्ने प्रचलनलाई व्यङ्ग्यको विषय बनाइएको छ ।

व्यङ्ग्य कविता भनेको मनको जालीले समाजमा रहेका लहडी माछा मार्ने कला पनि हो । हास्य र व्यङ्ग्यको मूल स्रोत एउटै भए पनि दुवैको छुट्टा छुट्टै प्रभाव हुन्छ । हेर्दा एकनासै लागे पनि व्यङ्ग्यले हँसाउने मात्रै काम नगरेर सोचाउँछ पनि । कवि नेउपानेका कविताले सरोकारवालालाई घोच्छन् पनि । हास्यले शुद्ध मनोरञ्जन प्रदान गर्दछ तर हास्यसँगै ब्यङ्ग्य जोडिएपछि यसले हास्य रसका साथै चिन्तनको एउटा मेलो प्रदान गरेको हुन्छ । हास्य जब स्थूलताबाट टाढिदै सूक्ष्मतातर्फ जान्छ, तब यो बिस्तारै व्यङ्ग्यमा परिवर्तित हुन्छ । व्यङ्ग्य रचनाले समाजका विसङ्गतिलाई छर्लङ्ग पार्छ, तर मार्जित रूपमा । यसको आफ्नै स्तर हुन्छ । आफ्नै मूल्य अनि आफ्नै मानवीयता हुन्छ ।
बा !
तपाईँ भन्नुहुन्थ्यो
मास्टर न खा छोरा !
तर मैले
मास्टर खाएँ बा !

कहिले हाकिम खा भन्नुहुन्थ्यो
कहिले ठेकेदार खा भन्नुहुन्थ्यो
स्रेस्ताका कुरा हेर भन्नुहुन्थ्यो
स्कूलका भुरा नहेर भन्नुहुन्थ्यो
बरु अम्रिका जा
गोराको नोकरी खा
सबैभन्दा हेपिएको
राजनीतिमा चेपिएको
सबैले दोष भरेको
मास्टरी नखा भन्नुहुन्थ्यो
तर मैले
मास्टर खाएँ बा !
(मैले मास्टरी खाएँ बा !, पृ. ६७)

यसरी नेउपानेका कविता पढ्दा नेताले खाएको धन र आगोले खाएको वन उस्तै उस्तै लाग्छ । अनि कविता पढेपछि पाठकलाई साँच्चै लाग्छ- ढिकीले स्वर्ग गएपनि धानै कुट्दो रहेछ । व्यङ्ग्य कविताहरू मान्छेको अपमान होइन रहेछन्, बरु अपमानित मान्छेको अभिव्यक्ति चाहिँ रहेछन् ।

कवि खगेन्द्र नेउपानेका कविता पढ्दा पाठकलाई एक किसिमको धूर्त सिल्ली ठिटो जस्तै लाग्छ । जसका माध्यमबाट नेउपानेले वर्तमान समयको झाँक्को झारेका छन् । चिनीको नाम जपेर मुख गुलियो हुँदैन तर पनि पात्तिएको आधुनिकता, मकाएको परम्परा, लबस्तरा र थेत्तरालाई सिस्नु पानी लगाएकाछन् । जति कविता सुम्सुम्यायो त्यति दाँता बाधिन्छन् ।

कविलाई जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन भन्ने थाहा छ तर पनि कविले विसङ्गतिहरू औँल्याएर तेजाबी सुनी समाजलाई कसी लगाउन चाहेका छन् । कवि नेउपानेका कविताको मूल उद्देश्य सर्वजनिक जीवनभित्रका रहस्यहरू नङ्ग्राउनु पनि हो ।

व्यङ्ग्यमा शिल्प सशक्तता पनि उत्तिकै अपेक्षित रहन्छ । प्रजातान्त्रिक मुलुकमा जस्तै कवितामा पनि आफ्नै निजी र बैयक्तिक चरित्रहरूको स्वतन्त्र अभ्यास हुन्छ । स्थानिक बुनोटयुक्त तार्तिक संरचना मानिने कवितामा बुनोट तथा बनोट दुवै अपरिहार्य नै हुन्छन् । यिनैको संयोजनबाट कविताले स्वतन्त्र अस्तित्व प्राप्त गर्छ । समग्रतामा नेउपानेले कवितामा चार विद्या चौध चतुर्‍याइँ देखाउन खोजेका छन् भने समकालीन राजनीतिलाई अँध्याराको काम खोलाको गीत जस्तै देखेका छन् ।

कवितामा थालनी, बिचको प्रवाह, आरोह र अवरोहको अन्तर सम्बन्धमा तादत्म्यता स्थापित गर्न नसके गद्य कविताले एउटा बग्दो नदीले झैँ आन्तरिक लयात्मक ध्वनिहरूको सङ्गीत उत्पादन गर्न सक्दैन । जसले गर्दा कविताको लय समाउन पाठकलाई हम्मे हम्मे हुन्छ । जुन राम्रो होइन कवितामा ।

रोबर्ट फ्रस्टले भने जस्तै कविता जोसुकैका लागि गहन हुनुपर्छ । त्यसलाई सस्तो रूपमा लिइनु हुन्न । कसले कति लेख्यो भन्दा पनि कति मिहिनेत गरेर लेख्यो हेरिनु पर्छ । कविताको विषय, शिल्प, रूप, भाषा, भाव तथा यस्ता सम्पूर्ण औजारहरूले खनेको बाटो भनेको कवि खगेन्द्र नेउपानेको यही काव्यिक सरलता हो ।

यो पुस्तक प्रकाशन नगरेको भए पुस्तकप्रति सायद प्रज्ञा नेपाली बृहत् शब्दकोश बैरी हुँदैन थियो । यसमा बैरी हुनुका केही कारण पनि छन् । पुस्तकको प्रकाशक्यौलीमा वाणि, सधैं, मेरूदण्ड, प्रयत्न समेत र भूमिक्यौलीमा गौरिगन्ज, रुप, शुरू, आफैं, मर्मस्पर्शी, विरूद्ध, साँस्कृतिक, जगत, तपाईं, महत्वपूर्ण, प्रयोग मार्फत्, कविता सङ्ग्रह, राजनीति भन्दा, साथै लेखक्यौलीमा गहिराई, कोशिस, समयानुकुल, स्वरुप, रुप, महत्व, छरपष्ट, महत्वपूर्ण, अपुरणीय, कञ्जुस्याईं, यस भित्र, लगायतका शब्दहरूको हिज्जे लेखन र पदयोग र पदवियोगमा समस्या छन् । त्यस्तै काईते (पृ. २१), पठाई (पृ. २३), सफाई (पृ. २४), डाइमण्ड (पृ. २६), पुुरा होस् (पृ. २८), पाईन, राजश्व (पृ. ३२), डि पि, चौथाई, त्रिसूली (पृ. ३४), हामी सँगै, स्कूलहरु (पृ. ३६), रुपैँया, बाटो भन्दा (पृ. ३८), सवै, बैंक वचत (पृ. ४०), टेलीभिजन, काठमाडौं (पृ. ४३), झुुण्ड्याएर, धूूनी, बगैंचा (पृ. ४७), कमिशन (पृ. ६२), सम्पति (पृ. ८७), बुकुर्सिन्छन (पृ. ९९), शहरिया (पृ. ९०), सँङ्लिन (पृ. ९२), घ्वाङ्ग् (पृ. ९३), आउँनोस भन्दा, आ ना (पृ. ९७), चण्डिपाठ (पृ. ९९), इटा, मत पत्र, आ नूू (पृ. १०३), सधैं (पृ. १०७), गित (पृ. १११) लगायत शब्दका हिज्जे, पदयोग र पदवियोगमा पनि समस्या छन् । त्यस्तै कतिपय कवितामा उही भावका शब्दहरू दोहोरिएर आएका पाइन्छन्, एउटै सङ्ग्रहका कविताहरूमा यस्तो पाइनु कृतिको सबल पक्ष पनि होइन । कवितासङ्ग्रहभरि ४० पटकभन्दा बढी ‘भ्रष्टाचार’ (भूमिक्यौली, गाम्नागे) शब्द एउटै सन्दर्भमा पुनरावृत्ति भएकाले कविताहरूले अर्थ दोषको भार बोक्नुपर्छ ।

जे होस्, पुस्तक भन्सारको हाकिम जस्तो छैन । अड्डाको पियन जस्तो पनि छैन । छ त केवल हुलाकी हलकारा जस्तो । थैली बलियो भए पुस्तकको कभरसहित १२० पृष्ठका लागि दुई सय ५० रुपैयाँ मूल्य राखिएको छ । चाडपर्वका मारले हिर्काउन लागेको बेला भए पनि बजारशास्त्रको दृष्टिले पाठकलाई ‘पाक्कपुुक्क’ घाटाको सौदा नलाग्न सक्छ । पानीमा बसेर गोहीसँग दुस्मनी गर्ने आँट भएका व्यङ्ग्य कवि खगेन्द्र नेउपाने हात्ती चढिसकेको मान्छे, गधा कहिलै चढ्नु नपरोस्, शुुभकामना ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x