दीपक सुवेदीअसमका हास्यव्यङ्ग्यकार अर्जुन निरौलासँग फित्कौली वार्ता
व्यङ्ग्ग्य साहित्यले डायोग्नोसिसको काम गर्दछ । समग्रमा भन्नुपर्दा नेपाली हास्यव्यङ्ग्य साहित्यमा असमले केही योगदान गरेकै छ र भविष्यको बाटो पनि फराकिलो नै देखिन्छ : अर्जुन निरौला

असमको विश्वनाथ जिल्ला पानीभण्डार (कमलीया) निवासी नन्दलाल निरौला र आमा पवित्रा निरौलाका चौथो पत्ररत्नका रूपमा १८ अक्टोवर, सन् १९६९ मा जन्म भएको थियो अर्जुन निरौलाको । निरौलाका हजुरबाको अनुहार र पेन्सन (कविता र गजल सङ्ग्रह, सन् २०१६), चित्रगुप्तको गुप्तचित्र (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह, सन् (२०१७) र केही साझा सङ्कलनहरू प्रकाशित छन् । निरौला पूर्वोत्तर हिन्दी साहित्य अकादमीबाट साहित्य सृजन सम्मान (२०१८) असम नेपाली साहित्य सभा, विश्वनाथ जिल्ला समितिद्वारा सम्मानित, दमक साहित्य कला महोत्सव (वि.सं. २०७५) मा सम्मानित, नेपाली समन्वय समिति, विश्वनाथ नगरद्वारा सम्मानित, अखिल असम गोर्खा छात्र सङ्घ, विश्नाथद्वारा सम्मानित समेत भइसकेका छन् ।
निरौलाले स्मारिका ‘मीत’ (असम-नेपाल साहित्यिक मितेरी समारोह, सन् २०१३), स्मारिका ’कलश’ (राष्ट्र जागरण एवम् संस्कृति सङ्गम, सन् २०१५), लोकाञ्जली (सहयोगी सम्पादक, डाः लोकनाथ शर्मा स्मृतिग्रन्थ सन् २०१७), ‘गजल यात्रा’ (असमका वर्तमान गजलकारहरूको गजल सङ्कलन सन् २०१९), ‘उमाटुमनि’ (स्मारिका, असम नेपाली साहित्य सभाको केन्द्रिय महाधिवेशन सन् २०२१, ‘चन्द्रकुमार शर्मा रचनावली’, सन् २०२१ आदिमा समेत काम गरिसकेका अर्जुन निरौलासँग फित्कौलीका लागि दीपक सुवेदीले गरेको कुराकानी ।
हास्यव्यङ्ग्यमा त्यस्तो के छ जसले तपाईँलाई हास्यव्यङ्ग्य लेख्न हुटहुटी चलायो ?
पुस्तकालयका पुस्तक पढ्ने क्रममा एकिदन सब् डिविजन पुस्तकालयबाट दुइटा पुस्तक यसै लिएर आएँ । त्यसमा एउटाचाहिँ रवीन्द्रनाथ त्यागीको हास्यव्यङ्ग्य हिन्दी पुस्तक रहेछ । त्यो पुस्तकको हास्य र व्यङ्ग्य़को मिश्रणले मेरो शब्दहरू सजाएर हास्य सृष्टि गर्ने चकचके बानीलाई गहिरो प्रभावित गरेर एउटा दिशा दियो । हास्यव्यङ्ग्य क्षेत्र रुचाउनुको अर्को कारण के हो भने व्यङ्ग्य साहित्यले समाजका विसङ्गतिहरूलाई रोचक तर प्रभावी ढङ्गले उजागर गर्न सक्छ । रोगको उपचारका निम्ति पहिला रोग निणर्यको आवश्यकता हुन्छ र व्यङ्ग्य साहित्यले यो डायोग्नोसिसको काम बढो निष्ठापूर्वक गर्दछ ।
असमेली नेपाली हास्यव्यङ्ग्य साहित्यको अवस्था कस्तो छ ?
अन्तर्राष्ट्रिय नेपाली हास्यव्यङ्ग्य साहित्यसँग तुलना गरेर हेर्दा असमेली नेपाली हास्यव्यङ्ग्य साहित्य त्यति फस्टाउन नसकेकै अनुभव हुन्छ । यहाँ अतीतदेखि नै हास्यव्यङ्ग्य साहित्य सृष्टि गर्ने साहित्यिक सीमित सङ्ख्यामा मात्रै पाइएको हो । नित्यानन्द उपाध्याय, चन्द्रकुमार शर्मा आदि हास्यव्यङ्ग्य साहित्यकार बितेर गएपछि र पद्म ढकालज्यूलाई उमेरले प्रभावित पारेपछि अहिले ब्रिजलाल शर्मा, अर्जुन निरौला आदि स्रष्टाले केही हास्यव्यङ्ग्य साहित्य सिर्जना गर्दै आएका छन् । हास्यव्यङ्ग्य कृतिका रूपमा पनि ब्रिजलाल शर्माका ‘पोलखोल’, ‘बक्रदृष्टि’ हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह र अर्जुन निरौलाका ‘चित्रगुप्तको गुप्तचित्र (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह) र ‘हजुरबाको अनुहार र पेन्सन’ (कविता)को व्यङ्ग्य खण्डलाई औंल्याउन सकिन्छ । अवश्य, हास्यरसको न्यूनतम प्रयोग गर्दै रुद्र बराल, रोहित गौतम, बोगीराम गोर्खा भण्डारी आदि स्रष्टाले केही रचनामा व्यङ्ग्यभाव पोखेको पाइन्छ । अरू केही सर्जकहरूले विशेषगरी कवितामा शुद्ध हास्य मात्रै प्रयोग गरेको पनि पाइन्छ । प्रशस्त मात्रामा हास्यव्यङ्ग्य साहित्य सृष्टि नभएको कारण के पनि हुन सक्छ भने- हास्यसृष्टिमा स्रष्टाहरूको केही सीमावद्धता छ । एउटै गीत अनेकबार सुनेर आनन्द लिन सकिन्छ, तर एउटै हँस्यौली बारम्बार सुनेर रमाउन सकिँदैन । समग्रमा भन्नुपर्दा नेपाली हास्यव्यङ्ग्य साहित्यमा असमले केही योगदान गरेकै छ र भविष्यको बाटो पनि फराकिलो नै देखिन्छ ।
समकालीन हास्यव्यङ्ग्य लेखनलाई कसरी हेर्नु भएको हुन्छ ?
नेपाली साहित्यमा अतीतदेखि नै हास्यव्यङ्ग्य लेखक र लेखन अरू अरू विधा (कथा, कविता आदि) का तुलनामा सीमित भएको परम्परा आज पनि कायम छ । अवश्य नेपालमा अहिले हास्यव्यङ्ग्य साहित्यको अवस्था आशाप्रद नै देखिन्छ । चट्याङ मास्टर, लक्ष्मण गाम्नागे, मनोज गजुरेल, नरनाथ लुइँटेल, अर्जुन पराजुली, विश्व शाक्य, नरेन्द्रराज पौडेल, प्रेम ओली, होम सुवेदी आदि जस्ता केही शक्तिशाली सर्जकहरूले यसलाई बलियो गरी उभ्याइरहेका छन् । नेपाल राष्ट्रव्यापी नै सबैले नेपाली भाषा बुझ्ने हुनाले, सञ्चार माध्यमहरूले पनि अहिले अहम् भूमिका खेल्ने हुनाले र प्रतिभाशाली सर्जकहरूको प्रयासले नेपालमा यो सम्भव भएको हो । तर यता असमतिर त्यत्तिको हुन सकिरहेको छैन । यता सीमित मात्रामा मात्रै हास्यव्यङ्ग्य रचनाहरू सिर्जित भइरहेका छन् । अहिले केही कविहरूले हास्य कविता रचना गर्ने प्रयास गरेको देखिन्छ, तर हास्य र व्यङ्ग्यका बिचको फरकमा ध्यान नदिएर होला शुद्ध हास्य कवितालाई व्यङ्ग्य कविता भनी लेखिदिनाले पाठक अल्मलिएको पनि पाइन्छ । समग्रका कुरा गर्दा, समकालीन हास्यव्यङ्ग्य साहित्यका विषयवस्तु धेरजसो राजनैतिक छन्, थोरै मात्रामा सामाजिक र पारिवारिक विसङ्गतिहरू पनि छन् । व्यङ्ग्य स्रष्टाहरू निर्भीक र स्पष्टवादी देखिन्छन् ।
असमेली नेपाली साहित्यको चाहिँ अवस्था कस्तो छ ?
असमेली नेपाली साहित्यको अवस्था विश्वस्तरीय भन्न त मिल्दैन, तर वर्तमान सन्तोषजनक नै छ भन्नचाहिँ सकिन्छ । बजार र पाठकसङ्ख्याको परवाह नगरी स्रष्टाहरूले निरन्तर साहित्य सिर्जना गरिरहेकै छन, प्राय सबैजस्तो विधामै रचनाहरू प्रकाशित भइरहेका छन्, कृतिहरू आइरहेका छन्, त्यसमा स्तरीय कृतिहरू पनि धेरै छन् । कयौं सर्जकहरू साहित्य अकादमी जस्तो राष्ट्रिय पुरस्कारले पुरस्कृत भई आएका छन् भने केही साहित्यकार अन्तर्राष्ट्रिय स्तरमा पनि सम्मानित भएका छन् । लीलबहादुर क्षत्री, छविलाल उपाध्याय आदिजस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त साहिहत्यकारहरूले प्रतिनिधित्व गर्दै उँचाई प्रदान गरेको असमेली नेपाली साहित्यलाई देशवार्ता, हाम्रो प्रजाशक्ति, विन्दु आदि पत्र-पत्रिकाहरूले निरन्तर मलजल गरिआएका छन् । अहिले नवीन असमेली सर्जकहरू साहित्यका आधुनिक प्रयोगहरू गर्न पनि हिचकिचाएका छैनन् र असमेली नेपाली साहित्यको अवस्था आशालाग्दो नै देखिन्छ ।
असमेली नेपाली साहित्यका सम्भावना केकस्ता छन् ?
सामग्रिक नेपाली साहित्यको स्तरसम्म असमेली नेपाली साहित्यकारहरू थोरै मात्रामा पुगे पनि आगामी दिनहरूमा उज्यालो सम्भावना देखिन्छ । अहिले नयाँ सर्जकहरू उत्साहका साथ पुरानाका साथै आधुनिक विधाहरू अँगालेर सिर्जनामा समर्पित भएका छन् । परिस्थितिको आह्वानले केही लेखकहरू इतिहास सम्बन्धी र अनुसन्धानमूलक लेखनमा लागिपरे पनि सृजनशील रचनाहरू पनि उत्तिकै लेखिँदै छन् असममा । कथा, कविता, निबन्धहरूका साथै विशेषगरी गजल, मुक्तक, हाइकु आदि विधालाई नयाँ पुस्ताले औधि रुचाएको पाइन्छ । केही प्रवीण सर्जकहरूको पनि यी नयाँ विधाहरूमा वर्तमान प्रशस्त सहभागिता रहेको छ । इलेक्ट्रोनिक माध्यम, नवीन-प्रवीण सर्जकहरूबीच सद्भाव र साहित्यिक सङ्गठनहरूको तालमेलले गर्दा असमेली नेपाली साहित्यमा प्रचुर सम्भावना देखिन्छ ।
चुनौतीहरू चाहिँ के के छन् ?
यहाँ चुनौतीहरू पनि नभएका होइनन् । बजार अथवा बिक्री-वितरण सुव्यस्थित नहुनु, पाठकसङ्ख्याको अपर्याप्तता आदि मुख्य चुनौती भए पनि विश्वस्तरीय साहित्य यहाँ अति सीमित मात्रामा मात्रै सृष्टि हुनु पनि चुनौती नै होला । फेरि यहाँ नानीहरूले सानैदेखि नेपाली भाषा बोल्न जाने तापनि लेख्न र पढ्न भने निकै ठूला भएपछि मात्रै जान्दछन्, धेरैले नेपाली लेख्न-पढ्न गाह्रो मान्दछन् । शिक्षाको माध्यम असमीया अथवा अङ्ग्र्रेजी भएकाले पनि असममा यो समस्या आएको हो । अब उप्रान्त पाँचौं कक्षासम्म नानीहरूले मातृभाषामा पढ्नु पर्ने सरकारको योजना कार्यान्वयन भएमा यो समस्या केही समाधान हुने सम्भावना देखिन्छ । भारतमा सरकारी मान्यता पाएका अथवा नपाएका अनेकौं भाषाको प्रचलन रहेकाले यहाँ भाषिक प्रतिस्पर्धा स्वाभाविक हो र यो पनि एउटा चुनौती नै हो । तर यहाँका सर्जकहरूका लागि योगात्मक के कुरा छ भने उनीहरू एकाधिक भाषा बोल्न-पढ्न-लेख्न सक्षम हुनाले अरू अरू भाषाको पनि साहित्य चर्चा गर्दै खारिने अवसर छ ।
यी चुनौतीहरूलाई समाधान गर्न कसले के गर्नु पर्छ जस्तो लाग्छ ?
असममा भाषिक दृष्टिले अल्पसङ्ख्याक नेपालीभाषीहरूको साहित्यक्षेत्रमा देखापरेका चुनौतीहरूको समाधानका लागि दीर्घम्यादी परिकल्पनाको आवश्यकता छ । पाठकसङ्ख्याको बढोत्तरी र सिर्जनाहरूको वितरण-प्रसारलाई मुख्य उद्देश्य लिएर साहित्य सङ्गठनहरू अघि बढ्नुका साथै विभिन्न साहित्य कर्मशाला, सङ्गोष्ठी आदिको सघन आयोजन गरेर जनतालाई साहित्यक्षेत्रप्रति आकर्षित गराउनु पर्दछ । यसमा शुद्धलेखनको कार्यशालाले नयाँ सर्जकहरूको आत्मविश्वास धेरै बढाउन सक्छ । स्रष्टाहरूले पनि कृतिको सङ्ख्याभन्दा गुणवत्तामा अधिक ध्यान दिएमा पाठकहरूले पनि रुचाएर पढ्ने सामग्री पाउने थिए र साहित्यप्रति अधिक आकर्षित हुने थिए । संस्था-सङ्गठनहरूले सरकारसँग पनि उत्तिकै तालमेल राखेर सरकारका भाषिक-साहित्यिक योजनाहरूमा दर्बिलो प्रवेश गर्ने निरन्तर प्रयास गर्नु पर्नेछ ।
नेपालभित्रको साहित्य र भारतीय नेपाली साहित्यलाई चाहिँ कसरी हेर्नु हुन्छ ?
कुनै बृहत् क्षेत्रको भाषिक संरचना कुनै भाषाको साहित्यको उत्थान र प्रसारमा निश्चय प्रभावकारी कारक बन्दछ । राष्ट्रव्यापी बोलिने, सरकारी तवरमा उपयोग गरिने अथवा शिक्षाको माध्यम बनेको भाषाको साहित्यले त्यहाँ स्वतः अनुकुलता पाउँछ । नेपालको साहित्य र भारतको नेपाली साहित्यको स्तर र विकासमा पनि उपरोक्त कुराले सामान्य फरक त ल्याउँछ नै । नेपालको साहित्यको स्तर भारतीय नेपाली साहित्यकोभन्दा निसन्देह सामान्य माथि छ । तर वर्तमान समयमा दुवैपटिका स्रष्टाहरूको तालमेल र आदान-प्रदानले स्तरको उँचाइको व्यवधान घटाउँदै बराबरीतर्फ डोर्याउँदै गरेको अनुभव हुन्छ । आधुनिक उपकरणहरूको योगदानले पनि यसमा निकै सहयोग पुर्याएको छ । भारतीय नेपाली साहित्यमा एउटा समस्या के छ भने भारतका विभिन्न प्रदेशका स्थानीय तथा सरकारी भाषा भिन्न रहेकाले साहित्यमा प्राय त्यो स्थानीय भाषाको सामान्य प्रभाव रहेको पाइन्छ र भाषिक एकरूपतामा केही फरक परेको हुन्छ । वर्तमान स्रष्टाहरू यस विषयमा अधिक सजग देखिँदैछन् र बिस्तारै एकरूपता आउँदै गएको पनि अनुभव हुँदैछ ।
साहित्यकारहरूको दायित्व के कस्तो हुनु पर्दछ जस्तो लाग्छ ?
साहित्यलाई समाजको दर्पण भनिएको छ । यसर्थ साहित्यकारहरूको दायित्व बन्दछ कि साहित्यले समाजलाई प्रतिफलित गर्दै सठिक दिशानिर्देश दियोस् । अवश्य, साहित्यको आदि तत्व र उद्देश्य त रस आस्वादन अथवा मनोरञ्जन नै हो । ज्ञानार्जनमा पनि मनोरञ्जन निहित छ । त्यसकारण मनोग्राही साहित्य सृष्टि गर्नु पनि साहित्यकारहरूको उत्तिकै दायित्व हो । मेडिकेल, ऐन, अभियान्त्रिक आदिका छात्रहरूका निम्ति लेखिएका पाठ्यसामग्री र साहित्यिक कृतिहरूबिचको फरक साहित्यकारले अवश्य मनन् गर्नु पर्दछ । भाषाको विकास-विस्तार पनि साहित्यद्वारा नै हुनाले रुचिसम्मत, शिष्ट र शुद्ध भाषाको प्रयोग गर्नु साहित्यकारहरूको दायित्व बन्दछ । साथै सर्जकहरूले प्रचुर अध्ययन गरी विश्वसाहित्यको फन्को मार्दै आफ्नो भाषा-साहित्यलाई त्यही स्तरसम्म पुर्याउने अथवा त्योभन्दा माथि लाने निरन्तर प्रयत्नशील रहनु पर्छ । सर्जक, पाठक, वितरक धेरै मान्छेबिना एक्लो मान्छेद्वारा साहित्य हुँदैन । त्यसकारण नवीन-प्रवीण सबै सर्जकहरूसँग हातेमालो गर्दै, पुरस्कार-सम्मान-ख्यातिको मोह नगरी साहित्यकारहरूले भाषा-साहित्यको सेवाभावनालाई अग्रस्थान दिएर निष्ठासहित सिर्जना गर्नु नै उनीहरूको कर्तव्य हो । साहित्यकारले साहित्यको मात्रै सृष्टि नगरेर साहित्यिकको पनि सृष्टि गर्न सक्नु पर्दछ ।
स्रष्टाहरूको प्रोत्साहनका लागि राज्यले के कस्तो भूमिका खेल्नु पर्दछ ?
साहित्यको एउटा अनुकुल माहौल भए मात्र स्रष्टाहरूले सृष्टिकर्ममा उत्साह पाउने हुँदा राज्यले माहौल सृष्टिका लागि अहम भूमिका खेल्नुपर्ने हुन्छ । प्रकाशन-वितरण-बजार व्यवस्था, आर्थिक सहयोग, सरकारी तवरमा साहित्यिक कार्यक्रमहरूको आयोजन आदिले स्रष्टाहरूलाई धेरै प्रोत्साहित गर्न सक्छ । राज्यले मातृभाषाको उत्थान-विकासका लागि पाइला चाल्नुका साथै साहित्यसृष्टिलाई पेशागत रूपमा पनि लिन नडराउने परिवेश निर्माण गर्न सक्नु त अझ उत्तम कार्य हुनेछ । सरकारी सहुलियतमा पुस्तकालय खोलिनु, भएकाहरूलाई पनि अझ सहुलियत प्रदान गर्नु र पुस्तकालयका लागि सरकारी खर्चमा स्रष्टाका पुस्तकहरू किनिने व्यवस्थाको फराकिलो प्रयोग हुनु भने स्रष्टाहरूमा नयाँ जाँगर आउँनेछ र यसमा राज्यले ठूलो भूमिका खेल्न सक्छ ।
साहित्यको समकालीन बजारलाई कसरी हेर्नु हुन्छ ?
साहित्यको वर्तमान बजार त्यति सन्तोषजनक नभएको देखिन्छ । अघि अघि प्राय पुस्तककै पहिलो संस्करणमा सजिलै पाँचहजार दसहजार प्रति छापिन्थे भने अहिले त्यही स्तरका स्रष्टाहरूले एकहजार प्रति छाप्न पनि डराउनुपर्ने भएको छ । अहिलेको समयमा शुद्ध पाठक थोरै मात्रामा मात्रै छन् । धेरजसो पाठक भनेको लेखकहरू नै हुन्छन् (पाठ्यक्रमका पुस्तकहरूलाई छोडेर) । त्यसैकारण यतातिर पुस्तक किन-बेचभन्दा धेर साटासाट हुने गर्छन् । हुनत पुस्तकको अघिको जस्तो बजार नहुनु स्वाभाविक नै पनि होला । अतीतमा ज्ञानार्जन, रसास्वादन र मनोरञ्जनको साधन पुस्तक नै एकमात्र हुनाले यसको बजार पनि थियो । अहिले सजिलोहरूले मान्छेलाई सजिलै आकर्षित गर्ने हुँदा, प्रविधिले जीवनशैलीलाई प्रभावित पारेको हुँदा पि.सि.ओ., चलचित्र गृह, फोटो स्टुडिओ आदिको जस्तै पुस्तकको बजारमा पनि असर परेको छ । साहित्यसँग प्रविधि जोडिँदै गएको हुँदा क्रमशः परिवर्तित संरचनाको बजारमा कागजको उपस्थिति घट्दै गएको छ र नयाँ प्रविधिमा अनभ्यस्त प्रवीण सर्जकहरू केही अलमल्ल परेका छन् ।
अहिलेसम्मका नबिर्सने क्षण कुन हुन् र किन ?
जीवनमा नबिर्सिने क्षणहरू त धेरै हुन्छन्, साहित्यक्षेत्रमा चाहिँ मेरा लागि नबिर्सिने क्षण एउटा हो- दिग्गज साहित्यकार प्रयात हरि गजुरेलज्यूले मेरो पहिलो प्रकाशित हास्यव्यङ्ग्य कविता पढेपछि मलाई व्यक्तिगत भेटेर उत्साहित गरेको क्षण । त्यसरी नै विदेशमा पहिलोपटक साहित्यिक कार्यक्रममा सहभागिता गर्दै रचना वाचन गरेको क्षण पनि नबिर्सिने क्षण हो । त्यो दमक साहित्य कला महोत्सवको अवसर थियो ।
जीवनलाई परिभाषित गर्नु पर्यो भने के भन्नु हुन्छ ?
प्रत्येक मान्छेको नै भिन्नभिन्न जीवन दर्शन हुनाले जीवन अनेक प्रकारले परिभाषित हुने गर्दछ । आफ्नो पाराले भन्नु पर्दा शरीरको सञ्चालनका साथै मन र मस्तिष्कको द्वन्द र कम्प्रोमाइजले गराएको यात्रा नै हो जीवन ।
उहिले र अहिलेको लेखक अनि लेखनमा के के भिन्नता पाउनु हुन्छ ?
उहिले र अहिलेका लेखकमा मुख्यतः परिवर्तित युगसापेक्ष सोचमा भिन्नता पाइए पनि लेखनमा भने अधिक व्यापक रूपमा त्यसको बहिर्प्रकाश देख्न पाइन्छ । उहिले सोचहरू प्रकाश गर्ने तरिका अधिक काव्यमय थियो भने अहिलेका धेरजसो लेखनको मुख्य उद्देश्य भावप्रकाश हुन्छ, काव्यमयता अलिक गौण रहेको देखिन्छ । अहिलेका लेखकहरू साहित्यको उत्तरआधुनिक कालसम्म आइपुगेपछि नयाँ नयाँ विधाहरू अँगालेर साहित्यसिर्जना गर्न थालेका छन् । उहिलेका लेखकहरूका तुलनामा अहिले केही लेखकहरू अधिक आक्रामक छन् साथै स्पष्टवादी र निर्भीक पनि छन् । शासकपक्षको प्रभाव उहिलेका लेखकभन्दा अहिलेका लेखकमा कम्ति परेको अनुभव हुन्छ । उतिबेला लेखकको सङ्ख्या कम थियो र नै होला लगभग एक्लै एक्लै नै लेखकहरूले एउटा धारा अथवा गुटको प्रतिनिधित्व गर्दथे भने अहिले गुटबन्दी जस्तो अवस्था पनि कताकता देखिन्छ । तर लेखकको मौलिक प्रवृत्ति अथवा मूल तत्वका क्षेत्रमा उहिले र अहिलेकामा खासै फरक छैन ।
नेपाली साहित्यको स्तरीकरण र विश्वव्यापीकरणका लागि ककसले के के गर्नुपर्ला ?
यसमा त मुख्यतः सर्जकहरूकै जिम्मेवारी छ । विश्वसाहित्यको दाँजोमा आफूलाई उभ्याउनका लागि सर्जकहरूले प्रचुर अध्ययन गर्दै स्वयमलाई तिखार्नु र परिपक्क बनाउनु अति आवश्यक छ । शासक पक्षले पनि नेपाली साहित्यको सहुलियतमा सहभागिता गर्नु जरुरी बन्दछ । विश्वका विभिन्न साहित्य संस्था र सर्जकहरूसँग सम्पर्क र आदान-प्रदानमा पनि उत्तिकै ध्यान दिए नेपाली साहित्यको विश्वव्यापीकरणको पथ प्रशस्त हुन्छ । आदान-प्रदानको अन्यतम साधन अनुवाद साहित्य हो । आफ्नोबाट अरू भाषामा र अरूबाट आफ्नो भाषामा अधिक मात्रामा कृतिहरू उल्था हुनु पर्दछ ।
बिगतदेखि बर्तमानसम्म आइपुग्दा शासक र सर्जकका बिचको सम्बन्धलाई कुन रूपमा हेरिरहनुभएको छ ?
अतीतदेखि नै शासकवर्गले सर्जकहरूलाई आफ्नो प्रभावमा राख्न खोजेको चलनमा अहिले केही शिथिलता आए पनि त्यो प्रयास शून्य भएको छैन । उहिले स्रष्टाहरूलाई दरबारमै राखेर शासकको जयगान रचाउने इतिहास पनि थियो भने अहिलेका सर्जक धेरै मुक्त छन् । तर विशेषगरी भारतमा भने अति वर्तमान केही सर्जकहरू राजनीतिसँग मुछिन थालेको जस्तो देखिन्छ र चुनाउ प्रचारका लागिसम्म पनि फुटकर लेखेको पाइन्छ । हुनत जहाँ पनि केही स्तावकहरू त पाइन्छन् नै । अवश्य स्रष्टाको पनि आ-आफ्नो राजनैतिक दर्शन हुनु स्वाभाविक हो । यस बाहेक अरू प्रकारले पनि शासक र स्रष्टाको सम्बन्ध रहेको पाइन्छ । कयौं विश्वख्यात पुस्तकहरूले ठूलो वैप्लविक परिवर्तन ल्याएर शासनको उत्थान अथवा पतनको कारण बनेका इतिहास पनि छन् । अझ शासनको ढाँचा नै परिवर्तन गराउन सक्षम भएका पुस्तकहरू पनि नलेखिएका होइनन् ।
नयाँ लेख्ने अथवा नवोदित स्रष्टाहरूलाई के सल्लाह र सुझाव दिनु हुन्छ ?
म आफू पनि प्राय नवीन सर्जक नै हुनाले आफूभन्दा नयाँ स्रष्टालाई मात्रै के भन्न चाहन्छु भने- कस्तै प्रकारका पनि आलोचना-समालोचनामा नआत्तिइकन त्यसबाट शिक्षा लिँदै मनका भावहरू आफूले रुचाएको विधामा पोख्तै जानुपर्छ । प्रचुर अध्ययन गर्नुपर्छ, सामयिक साहित्यको गति ठम्याउनुपर्छ र त्यही गतिमा यात्रा गर्ने प्रयास गर्नुपर्छ । कुनै पनि प्राप्तिलाई चरम ठान्नु भएन, मनमा अहङ्कार पाल्नु भएन र पुरस्कार-सम्मानलाई टार्गेट बनाउनु हुँदै हुँदैन । प्रतिस्पर्धात्मक भावना लिनु हुँदैन, तर आत्मविश्वास पनि हराउनु हुँदैन । सिर्जनाको सङ्ख्याा बढाउनका लागि मात्रै जेसुकै नलेखेर मनका भावहरूले भित्रैबाट चाप दिएपछिमात्र लेख्ता सङ्ख्याामा थोर भए पनि स्तरीय बन्दछन् ।
तपाईंको लेखनको दृष्टिले पहिलो विधा र रचना कुन हो ?
छात्र अवस्थामै लेखिएको असमीया भाषामा ‘हे सूर्य’ कविता हो ।
प्रकाशनका दृष्टिले चाहिँ पहिलो कुन रचना हो ?
उपरोक्त ‘हे सूर्य’ कविता नै विद्यालय वार्षिक पत्रिका ‘जागरण’ मा प्रकाशित भएको थियो ।
जीवनको भोगाइ, प्राप्ति र पीडाका बिम्बमिश्रित बाल्यवस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ ? कहाँ र कसरी बित्यो बाल्यवस्था ?
असमको विश्वनाथ जिल्लाको कमलीया गाउँमै बाल्यावस्था बितेको हो । कल्पनामा जिउनसक्ने बालककाल रमाइलो थियो । उसबेला मनोरञ्जन भनेको दौंतरी-साथीहरूसित खेल्नु मात्रै थियो र पनि त्यही नै पर्याप्त थियो । भविष्यको परिकल्पना केही थिएन । सपना भनेको राति निदाएका बेला देखिएकालाई मात्रै जानिन्थ्यो । त्यसमा पनि प्राय नै ऐँठन हुन्थ्यो । तर अपरिकल्पित मिठा कल्पनाहरूमा उड्ने गर्नु पनि मनोरञ्जनको एउटा ठूलो साधन थियो । अध्ययनमा रुचि थियो, पाठ्यपुस्तक छाडेर अरू बाहिरी सबै पुस्तकले तान्दथे । नभोगेको जीवनप्रति इष्र्या थियो । ठूला-बडाहरूले पाठ्यपुस्तक पढ्नु नपरेको र परीक्षा दिनु नपरेको देख्ता जलन हुन्थ्य़ो । ठूलाहरूका पीर-मर्का-तनावबारे अनभिज्ञ बालक मनमा हठात् ठूलो भइहाल्ने खट्पटि थयो ।
साहित्यमा प्रवेश गर्दाको शुरुका दिनलाई कसरी सम्झनु हुन्छ ?
ठ्याक्क यहीँबाट नै लेखन यात्रा आरम्भ भयो भन्न अलिक गाह्रै पर्छ । पहिलो कविता छापिएका धेरै अन्तरालपछिमात्रै अरू रचनाहरू रचिएका हुन् । शब्दहरूले सानैदेखि आकर्षित गर्ने र शब्दसँग खेलेर रमाइलो लाग्ने हुनाले लोकप्रिय गीत र कविताका शब्दहरूलाई आफ्नै तरिकाले सजाएर उपद्रो गर्ने बानी थियो । त्यस्तैमा पनि वाहवाही पाउँदा मौलिक लेखनमा उत्साहित भइयो सायद ।
प्रेरणा के कहाँबाट मिल्यो ?
त्यसबेला खेल्नुदेखि बाहेक मनोरञ्जन भनेकै बाहिरी पुस्तक पढ्नु हुनाले हिन्दी, असमीया, बङ्गाली, नेपाली आदि कथा उपन्यासहरू धेरै पढियो र बिस्तारै आफ्ना भावहरू पनि पोख्न थालियो । त्यसमा प्रसिद्ध पत्रकार, लेखक प्रयात किशोर किराँत दाइको धेरै प्रेरणा रहेको छ ।
अहिले साहित्यमा लागेर के पाए र के गुमाए जस्तो लाग्छ ?
भाषा-साहित्यको केही सेवा गर्न सकेकोमा सन्तुष्टि पाएको छु, धेरै ज्ञानी-गुणी-विद्वानजनको सान्निध्य पाएको छु, केही सम्मान पनि पाएकै छु । उता सायद परिवारसँग बिताउने समय थोरै मात्रामा गुमाएको छु, केही सुन्दर पारिवारिक मूहुर्तहरू गुमाएको छु ।
-वार्ता प्रस्तोता :: दीपक सुवेदी
Subscribe
Login
0 Comments
Oldest









































