छक्कै पार्याे चलचित्र ‘छक्कापञ्जा’ले
"हिरो" शब्दकै केही हदसम्म अवमूल्यन भइरहेको थियो पछिल्लो समय तर समीरले त्यो स्थान जबरजस्त रूपमा लिएका छन् । गीत, संगीतको पक्ष पनि निकै बलियो नै लाग्छ ।
अनिल पाैैडेल ‘कीर्ते’ :
रिलिज भएको दिन २४ गते छक्का पञ्जा र २७ गते १२ गाउँ हेरियो । छक्का पञ्जाले उठान गरेको विषय वास्तविकतामा आधारित हो तर प्रसङ्ग बिना आउने गीत चाहिँ नेपाली फिलिममा कहिल्यै नमिल्ने भयो ।
जसरी भएपनि विदेशै जानुपर्छ भन्ने उन्नत सोच बोकेको अहिलेको पुस्ताको देश प्रतिको विरक्ति प्रष्ट देखिन्छ चल्ने चित्रमा । यो देशमा केही हुन्न, यहाँ बसेर काम छैन भन्ने कुरा अहिलेको पुस्ताको मुल मन्त्र हो जुन कुरा नेताका लागि मादक र देशका लागि घातक छ भन्ने कुरा समेटिएको छ । देशमा इमान्दारीताको स्खलन कति अपरिहार्य भैसक्यो भन्ने कुरा उजागर गरिएको छ । तर पात्रको सिमितता, केवल एकोहोरो एकधारे कथा प्रवाह र श्रापवाला “गीत” असन्तुष्टिका विषय हुन् ।
हामीले जस्तो फिल्म बनाए पनि, जसो गरे पनि दर्शकले हेर्दिहाल्छन्, सुन्दिहाल्छन् भन्ने दिपक एण्ड कम्पनीको बुझाई प्रष्ट देखिन्छ । यही कारण होला फिल्म प्रति दर्शकको मोह २/४ दिनमै व्यापक घटोत्तरीको क्रममा छ । यसलाई यसरी भन्दा अत्युक्ति नहोला, यो “चलचित्र” केवल एकाङ्की टिभी सिरियल हो । खै दर्शकले छक्कापञ्जासँग गर्ने अपेक्षाका बारे यो टिम अनभिज्ञ भएको हो या दर्शकको अपेक्षा अलि बढि हो अथवा यो टिमको क्षमता नै यति नै हो त्यो चाहिँ दैव जाने !
छक्का एक्कादेखि दुक्की, तिर्की, चौका हुँदै पञ्जासम्म आइपुग्दा साथ दिएका जितु, बुदि्ध लगायतका कलाकारले बढी उचाई पाएको कारण सबैलाई निकालेर म नै काफी छु भन्ने भ्रम दीपाको “महानायक”लाई परेको देखिन्छ । तैपनि माग्ने बुढालाई समावेस गरिएका कारण सामान्य रमाइलो चाहिँ भएको छ ।
आफ्ना ससाना डिभाइसका स्क्रिनमा YouTube मा दयाहाङ र मिरूनाको “जारी” हेरेर रमाइरहेका दर्शकका लागि मल्टिप्लेक्सको विशालकाय पर्दा र कानेजाली तोडिने साउण्डको मिश्रणका साथ आएको यो चलचित्रले त्यस्तो अपेक्षित खुराक पिलाएर तृप्त पार्न सक्दैन ।
“छक्का पञ्जा” भन्ना साथ म लगायत दर्शकले गर्ने अपेक्षामा यो चलचित्रले हिलो छ्यापेको छ । न छक्का छ, न त पञ्जा छ । न त एकैपटक छक्कापञ्जा नै छ । हास्यरसयुक्त खुराकको अपेक्षा सहित हलसम्म पुगेका दर्शक “धत् ! यस्तो देशमा पनि बस्ने हो !” भन्ने सन्देश बोकेर बिरक्तिएर फर्किने देखिन्छ ।
बाउको लाटो राष्ट्रभक्ति र घुमाउरो शैलीमा देशमा राजाको आवश्यकता छ भन्ने देखाउन भने खोजिएको छ ।
समग्रमा दर्शकको प्रतिकृया र उपस्थितिले देखाइरहेको छ कि यो जोडीले दर्शकको अवमूल्यन गरेको छ अथवा भनौँ हेपेको छ । दर्शकका आँखा र कानको स्वाद गहनता र गाम्भीर्यता यो टिमले अण्डरमाइन गरेको छ ।
०००
अर्कातर्फ लामो समयपछि नायकबाट निर्देशक बनेर नेपाली फिलममा फर्किएका छन् बिराज भट्ट १२ गाउँ बोकेर । करिब दशक नै भैसक्यो अर्गानिक लाग्ने कथा र त्यस्तै किसिमको प्रस्तुति भरेर निर्माण गरिएका चलचित्रको दबदबा रहेको । रङ्गमञ्चबाट आएका कलाकारहरू समेटेर बनाइएका नाटक जत्तिकै मजा आउने चलचित्रहरू बनिरहेका थिए/छन् ।
पहिले एकै स्वादका फिलमहरू बन्थे, जुन हेरे पनि उस्तै जस्तो लाग्ने । १०/१५ मिनेट हेरेपछि पूरा कथा हामीले नै भन्न सक्ने । लुटपछि फिलिमको धार मात्र हैन बिँड, दाप, हतियार सबै बदलियो र फिलिम त यस्तो पनि हुँदोरहेछ त ! भन्ने भयो । अथवा कलाकारहरू निकै पाइनवाला देखिन थाले ।
फिलिममा सबैथोक “बिग” हुनपर्छ भन्ने कन्सेप्ट हरायो मात्र हैन लगभग नफर्केला जस्तै थियो । त्यसपछि दयाहाङ उदाए । खुब मजा मानेर हेरियो तर उनलाई चाख्दा, खाँदा, पिउँदा अब दर्शकको जिब्रोले अर्को आउने उनको फिलिम कस्तो हुन्छ त्यसको स्वाद थाहा पाउने भैसक्यो । मतलब एक स्वादे भैसक्यो तैपनि खुब गजब लागिरहेकै छ ।
आफ्नो बालख छोरोलाई आरनमा हालेर, गालेर निकालेर वयष्क बनाएर ल्याएछन् भट्टले १२ गाउँ मार्फत् । फिल्मको कथा त करिब ४० वर्ष अगाडि हामीले हेरेका फिलिमको भन्दा फरक छैन । पूरै फर्मुला फिलिम नै हो भन्दा फरक पर्दैन यसलाई । तर प्रस्तुति गजबको छ । फिलिम हेरेको मजा यसमा छ । हेरेर बाहिर निस्कँदै गर्दा साथीसँग भन्न सकिन्छ “बबाल रछ यार” । बेलाबेला दर्शकले गर्ने हुटिङले उहिले फिलिम हेरेको याद दिलाइदिने क्या !
कोही आलोचना गर्छन् त्यो पनि ठीकै हो, आलोचना गर्नु पनि चर्चा नै हो । पूरा प्रशंसा मात्र गर्न योग्य पनि छैन बाह्र गाउँ ।
गाँजा, भाङ, तस्करी, ठेक्दारी, अत्याचार, पाँच, छ, बदला, पाखुरा देखाउने, भारी-भारी लाग्ने डाइलोक बोल्ने यही नै हो मसला त । तर सुनसान र लाटो जस्तो भइरहेको नेपाली सिनेमा क्षेत्रमा यौटा ड्यासिङ जिनिस आएको मान्न सकिन्छ यसलाई । डान्स, एक्सन र अभिनयमा राम्रै ढङ्गले आएका छन् समीर भट्ट ।
“हिरो” शब्दकै केही हदसम्म अवमूल्यन भइरहेको थियो पछिल्लो समय तर समीरले त्यो स्थान जबरजस्त रूपमा लिएका छन् । गीत, संगीतको पक्ष पनि निकै बलियो नै लाग्छ ।
यसको कथावस्तुलाई छोड्ने हो भने अब दुईवटा विषय स्थापित देखिन्छन्… पहिलो, फिल्म भनेको फिल्म हेरेको जस्तो लाग्ने खालको हुनुपर्छ । दोश्रो, हिरो भनेपछि हिरो जस्तो देखिनै पर्छ । तर सँगसँगै अब ठूलो चुनौति पनि उभियो ।
अर्को चलचित्रमा कथामा पनि ध्यान दिने र ह्वात्तै एकैपटकमा स्थापित छोरोले आफ्नै खुट्टामा उभिएर हिँड्न सिक्ने । आफ्नो र छोराको क्षमता राम्रो नापजोख गरेकै हुनुपर्छ किनकि बिराज पनि केही समय नेपाली सिनेक्षेत्रमा थोरबहुत राज गरेकै पात्र हुन् ।
जे होस् अहिले बाह्र गाउँ, सिनेमा हेर्न जाउँ……।
०००
माेरङ
समग्र मा ६का भन्दा १२ का राम्रो छ ।हैन t???