साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुसाको देशमा

देखे रात विरात साथ उसको सेना र मेना सँगै खायो अन्न र पात खेत भरिको नेता भयो ऊ सँगे हान्यो जाल अनेक चाल उसले चाल्दैछ चाल्नो सरी अर्काको भरमा मुसा छ बलियो बन्दैछ नेता सरी ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

मुसाका बारेमा कति लेखौ जति लेखे पनि नटेर्ने थेत्तरो मुसाले हाम्रो सम्पतिमा युगौदेखि रजाई गरिरहेको छ । तर पनि हामी सहनशील भएर गतिशील भइरहेका छौँ । हर प्रकारको पीडा वा दुःखमा सहने बानी परेको हामी जाबाे मुसाले दिएको दुःखका बारेमा के चिन्ता लिनु भन्नु होला तर चिन्ताले चिन्तन नै परिवर्तन गरिदिएको छ । मलाई त के लाग्छ भने यो देश नै मुसाहरूको हो जस्तो लाग्छ । मुसा साना हुन वा ठूला सबै देशमा प्वाल पार्ने मात्र छन् । मुसाले पारेको प्वाल टाल्दा टाल्दा हामी जनता हैरान भएका छौँ । बाह्रै महिना बाह्रै काल मुसाको तमासा हेर्दै बस्दै गर्नु पर्ने अवस्था छ ।

मुसाहरूको सपना साकार पार्न तम्सिने हामी जनताले आफ्नो सपना भने कहिल्यै सफल पार्न सकेनौँ । अर्काको सपनामा सारा जीवनलाई होमाउन सक्ने हामी आफ्नो लागि भने केही गर्न सक्दैनौँ । आफ्नो लागि गरेको पनि मुसाहरूले खनेर, खोस्रेर, काटेर, दारेर, चिथोरेर सबै स्वाहा पार्छन । नेपाल साँच्चै भन्ने हो भने मुसाहरूको देश रहेछ भन्ने कुराको प्रमाण हामी सबैसँग सुरक्षित छ । अब लोकसेवा आयोगले विश्वमा सबैभन्दा बढी मुसाहरू भएको देश कुन हो ? भनेर प्रश्न तयार पार्ने बेला भएको छ । घरमा बस्ने दुई खुट्टे मुसा, वनमा बस्ने पनि दुई खुट्टे, खेतबारीतिर बस्ने पनि दुई खुट्टे नै भएकोले हातको हिसाब किताब गर्दा सबै मुसाहरू चार पाउ टेक्ने छैनन् तर दुई खुट्टे मुसाले पनि चार पाउ टेकेर मुसा बनेको प्रमाणहरू फेला नपरेको भने होइन ।

नेपालमा पाइने क्रान्तिकारी भनाैँ वा युगान्तकारी के भनौँ यी मुसाहरूले आफ्नो सामाजिक प्रतिष्ठा नै स्वाहा पारेर समाजमा मुख देखाउन नहुने अवस्थामा पुगेका छन् । त्यही भएर होला सायद मुसाहरू मान्छे देख्ने बित्तिकै कुन दुलामा पस्छन् कसैलाई जानकारी हुँदैन । यस्ता भगौडा मुसालाई पनि गणेशको बाहन अङ्ग रक्षक भनेर हामी पूजा गरेर प्रसाद चढाउँछौँ । हाम्रो बुद्धिले काम नगरेको हो वा धेरै जान्ने बुझ्ने भएर हो हामी गणेशको भक्त भएर मुसालाई पोषी रहेका छौँ । खान हुने पनि खान्छ खान नहुने पनि खान्छ । लाउने पनि खान्छ नलाउने पनि खान्छ । नजाने ठाउँमा पनि जान्छ, श्रीमान श्रीमतीको गोप्य वार्ता वा धर्म होस् वा नेताको बोली सबै सुन्छ र ध्यान भताभुङ्ग पार्छ । भनौँ मुसालाई जुनसुकै बेला जहाँ पनि पुग्न गणेशजीले इजाजत दिएका छन् ।

तर मलाई एउटा कुरा के अचम्म लाग्छ भने मुसालाई मनपरी तरिकाले स्वास्नी बटुल्न गणेशजीले कसरी इजाजत दिए ? स्वास्नी बटुल्यो जहाँ पायो त्यही छाड्यो हिँड्यो मुसाको यो मनपरीले अरुलाई समेत असर र प्रभाव पारेको छ । मुसाले यसरी स्वास्नी बटुल्दा र बग्रेल्ती छोराछोरी पाएर छाडेर हिँड्दा गणेशजीको सिको गरेको हो कि जस्तो पनि लाग्छ कुनै बेला । यता हेर्‍यो मुसा उता हेर्‍यो मुसा दशैँ दिशा मुसा मात्र देख्दा त मलाई यो देश नै मुसाको कब्जामा भए जस्तो लाग्छ । जता हेर्‍यो मुसाकै सन्तान । यो सिको मानवले सिकेर होला जहाँ गयो त्यही स्वास्नी बनाउने र छोराछोरी भएपछि छाडेर भाग्ने मुसे प्रवृतिले बढावा पाएको छ । सबैतिर चाँचाँ र चुँचुँको आवाज मात्र सुनिन्छ । मंसिरको महिनामा त अझ मुसाको मुख्य महिना रहेछ । बिहे गर्ने सन्तान उत्पादन गर्ने र दिनहुँ जसो भोज भतेर खाने । फेरि एउटा मुसोले दिनमा कतिवटी मुसीसँग बिहे गर्छ थाहा हुँदैन । एकछिन एउटी मुसीसँग हुन्छ, फेरि केहीबेरमा अर्को मुसीसँग, फेरि अर्को केही बेरमा अर्को मुसीसँग बेसारे मुसाको बयान गरिसाध्य नै छैन ।

फेरि मुसा पनि कस्ताकस्ता छन भने कोही जुँगा भएका, कोही पुच्छर नभएका लिँडे, कोही लामो पुच्छर भएका, कोही जुँगा नै नभएका कोही काला, कोही गोरा, कोही खैरा, कोही कौडे, कोही ध्वाँसे । यो पक्का मुसाको देश नै रहेछ भन्ने कुरा छुट्याउन कुुनै गाह्रो भएन मलाई । मुसा र मुसीहरूको तमासा देखेर खेतबारीमा काम गर्ने किसानहरू समेत तीनछक्क परेको अवस्थामा म आफैँ छक्क परेको छु । गणेशजीको लापर्वाहीले बेथितिले मुसाहरू मात्तिएको हो जस्तो लाग्छ मलाई । मुसाहरूकालागि कुनै आचारसंहिता, विधान वा नियम कानुन नीति निर्देशन वा कार्यविधि केही नबनाउनु भनेको गणेशजीको लापर्वाही नै हो भन्ने मेरो चाहिँ बुझाई रहेको छ । अरुले बनाएको नियम कानुनका ठेली काट्नलाई छुट दिने तर उनीहरूका लागि नियम कानुन नबनाउने गणेशजीको नियतमाथि नै शङ्का गर्ने ठाउँ छ भन्दा सत्रै आना मनासिव ठहरिन्छ ।

मान्छेका अगाडि देखा नपरी लुकेर उपद्रो गर्नु भनेर अह्राएर नै मुसाले त्यस्तो उपद्रो र समाजमा नपच्ने काम गरेको हो कि भन्ने गाँइगुँई पहिलेदेखि चलेको हो । तर प्रमाणित हुन बाँकी थियो अहिले आएर प्रमाणित नै भएको छ । मुसा जाबोले त यसरी राजनीति गर्छ भने झन अहिलेको मान्छे न हुन मुसालाई पनि मात खुवाउने राजनीति गर्न झन सिपालु भएका छन् । मैले त्यसै यो देशलाई मुसाको देश भनेको होइन । हरेक कोणबाट नियाल्दा मुसाहरू नै हावी भएका छन् । गुरु नै गणेशजी भएपछि मुसाको उत्पात नहुनू पनि कसरी । जाबाे मुसालाई ज्यू भन्न थालेपछि निहुँ खोज्नु स्वभाविकै हो ।

हाक्यो देश मुसा मिलेर युगमा धेरै भए प्वाल जो
खेती धान थियो लुटे मिलिजुली रित्तो भकारी छ यो
खैरा जात मुसा सबै घरभरी खाए भकारी पसी
रित्तो भो मुलुकै रहेन कनिका हिंडौँ खरानी घसी ।

मुसा महाशयहरू सामाजिक मर्यादामा बस्ने प्राणीका रूपमा सबैले स्वीकार नगर्दा मात्तिएका हुन् कि भन्ने कुरा पनि चर्चामा छ । तर मानवका कारण भनौँ वा मानवले छाडा प्रवृतिलाई समाजमा देखाउँदा नै मुसाहरू मानवीय सिको सिकेर छाडा भएका हुन भन्दा कुनै फरक पर्दैन । यदि मानव सभ्य र सद्दे भएर समाजमा व्यवहार गर्ने हो भने विश्वको सबैभन्दा बुद्धिमानी प्राणी मानव नेपालका सन्दर्भमा पछि पर्ने थिएन होला । हामीले यसो विचार गर्दा सम्माननीय, माननीय वा श्रीमान भनेर सम्बोधन गरिरहँदाका अवस्थामा मुसाहरूलाई पो यसरी सम्बोधन गरेर सगरमाथाको शिखरमा पुर्‍याएका रहेछौँ ।

यसो विचार गर्दा त यो देश साँच्चै नै मुसाहरूको रहेछ र उनीहरूले नै चलाएका रहेछन् जस्तो लाग्न थालेको छ । मलाई के लाग्छ भने यदि यो विश्वमा मुसाहरू नभएको भए मानव अस्तित्वले विश्वमा ठाउँ पाउँदैन थ्यो होला । एकातिर मुसाको सिको सिकेर मानवले आफ्नो स्वभाव परिवर्तन गरेको छ भने मुसाले पनि मानवीय सिको सिकेर समाजमा उपद्रो मच्चाएको कुरा हामी सबैमा जगजाहेरै छ । भनौँ मुसा नेता भएपछि मानव नेतालाई तर्साउन थालेको छ । मानव नेतादेखि मुसे नेता तर्सिन थालेकाछन् । साँच्चै भन्ने हो भने मानव र मुसा विच एकापसमा आतङ्क मच्चाउने काम भइरहेको छ ।

मुसे नेताहरू समाजमा छरप्रष्ट छन् । अब त झन नेताको खेती फस्टाउन राज्यले नै सङ्घीयता कार्यान्वयन गरेर तीन तहको सरकारको संरचना कार्यान्वयनमा ल्याएपछि मुसे नेताहरूको अवस्था वर्षापछि धमिरोको दिउलमा जन्मिएका छिचिमिरा झैँ भएको छ । यो क्रमले निरन्तरता पाएको छ । एउटा ब्याचको छिचिमिरा आउँछ र क्षणिक रूपमा रमाउँदै जीवनलीला समाप्त पार्छ र फेरि त्यसैगरी अर्को ब्याचको आएर क्षणिक रुपमा रमाएर जीवन लिला त्यही समाप्त पार्छ । ठीक यसरी नै मुसे नेता र मानव नेताले पनि आफ्नो जीवन लीलालाई समाप्त पारेको पाइन्छ ।

मुसाको देशमा नेपाली राजनीतिलाई मुसाकै शासन व्यवस्था र प्रणालीमा गाभेपछि केही समस्याहरू समाजमा देखा परे तर ति विकृतिका रूपमा देखिएको पाइन्छ । नेपाली राजनीतिमा मुसे नेताहरूको योगदानको कुरा गर्ने हो भने संगत गर्न अयोग्य भनेर चिनाएका छन् । मानवीय विकृतिको श्रृङ्खलालाई मुसे राजनीतिले पनि पछ्याएको कुरा भुरादेखि सुरासम्मलाई र घरबारदेखि दरबारसम्मलाई जानकारी छ । राजनीति न हो आखिरी मानव र अन्य प्राणीले पनि फरक तरिकाले गरेका हुन्छन । त्यसमा मानवीय राजनीति विकृति र बढी प्रभावकारी भएको छ । अन्य प्राणीको राजनीति मानवले बुझ्दैन । केवल पशुपंक्षीको भाषागत कुरामा आधारित हुने भएकोले पशु वाक्यका कुरामा जानकार हुनेले बुझ्लान तर पशुवाक्य वा भाषा विज्ञ सरकारले दरबन्दी नै सिर्जना नगरेकोले बुझ्न समस्या भएको हुन सक्छ ।

राजनीतिका नाममा हुने सबै खाले नीतिमा मुसे राजनीति घुसाएपछि वा पसाएपछि त्यो राजनीतिको शरीरमा सबैतिर प्वाल परेको हुन्छ । किनभने मुसाले आफ्नो जात जनाउन पनि कुनै पनि सद्दे कुरालाई विटुलो पारि दिन्छ । तपाईं नयाँ कपडा कुनै ठाउँमा राख्नोस् दुई दिन पछि हेर्दा तपाईको कपडामा मुसे राजनीतिले प्रभाव जमाएको हुन्छ ।

देखे रात विरात साथ उसको सेना र मेना सँगै
खायो अन्न र पात खेत भरिको नेता भयो ऊ सँगे
हान्यो जाल अनेक चाल उसले चाल्दैछ चाल्नो सरी
अर्काको भरमा मुसा छ बलियो बन्दैछ नेता सरी ।

भनौँ यो राज्य मुसाको हो । मुसाकै आदेश पालना गरेर यहाँको राजनीतिले सरकारी काम गरिरहेको हुन्छ । सरकारले पनि राजनतिको आज्ञा पालक भएर मुसे प्रशासन चलाउन पछि परेको छैन । मुसे प्रशासन विगतदेखि वर्तमानसम्म हावी भएको छ तर यसमा सुधार तथा माग अनुसारको परिवर्तन वा संशोधन हुन नसक्नु मुसे राजनीतिको प्रभाव हो भन्दा कुनै फरक पर्दैन ।

मुसाको देशमा मुसक प्रभाव र राजनीति हुनु स्वभाविकै हो । संघीयता लादिएपछि यो प्रवृतिले बाहिरिने अपेक्षा गरिएको भए पनि अझ भित्तोमै झुण्डिएर, कुर्सीमा टाँसिएर समाजमा जरा गाडेर बसेको अवस्था भएकोले मुसक राजनीतिको अन्त्य नहुँदासम्म नेपाली राजनीति मुसाहरूको दवदवामा चलिरहन्छ भन्ने कुरा बिर्सन सकिन्न ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x