लोग्नेमान्छे हरायो !
हेर्नुस्, कत्रो अन्तर ! आइमाईको त्यो रूप र यो रूपमा । अनि, निन्द्रा लागोस् पनि कसरी ? दाँजें अर्काकी बूढी र आफ्नी बूढीलाई । कहाँको आदेश कहाँको अनुरोध । मनमनै माया लागेर आयो ।
पिँडालु पण्डित :
बेलुकै ठुस्स परेर सुतेकी श्रीमतीजीले बिहान उठेर टुस्स बस्नेबित्तिकै खुस्स गनगन सुरु गरिहालिन् । यसले हाम्रा कुरा कसरी थाहा पायो भन्नुहोला ! यो मेरै घरको कुरा हो, तपाईंको होइन ।
‘होइन । आज पनि नजाने ?’ उनले सोधिन् ।
मन नपरेपछि नथा’पा’को जस्तो गर्ने बानी तपाईंले आफ्नो मात्र छ भन्ठानु भएको होला । होइन। सबैको ताल त्यस्तै हो ।
मैले पनि थाहा नपाएझैं गरी सोधें- ‘कहाँ जाने ?’
‘नवरात्र सुरु भएको’नि सात दिन बितिसक्यो । एकदिन यसो शक्तिपीठको दर्शन गर्न जाऊँ, पूजाआजा गरौं भनेको कहिल्यै साइत जुरेन । आज त जानै पर्छ।’ उनले हठ गर्दै भनिन्, वर्ष दिनमा आउने एकदुइटा चाडमा पनि फुर्सद निकाल्न नसक्ने । आफूले गरेको धर्मकर्म आफैलाई हो क्या र। स्वास्नी मान्छेको जात एक्लै के हिंड्नु भनेर पो हजुरलाई गुहारेको, होइन भने म उहिल्यै गएर दर्शन गरिसक्थें ।’ उनले एकै सासमा कुरो बिसाइन् ।
अर्काका कुरा सकेसम्म नसुन्ने, केही गरी सुन्नै परे सहन नसक्ने मानवीय चरित्र मबाट झन्डै व्यक्तिन लाग्या’थ्यो, हत्त न पत्त धैर्य गरें। नयाँ सडकमा निस्केको जुलुसलाई पुलिसले हल्का लाठीचार्ज गरेर शान्तिपूर्ण रूपमा प्रदर्शनकारीहरूको करङ कऱ्याक-कुरुक् पाऱ्या’स्तो पार्न सक्ने क्षमता पनि मसँग थियो, त्यसलाई पनि ‘कुन्नि’ के कारणले हो मैले आज रोक्न पुगेछु। अचम्म ! ममा यत्रो परिवर्तन ॥ आफूमा आएको यो परिवर्तनलाई के नाम दिने ? मैले भवाट्ट सोच्न सकिनँ ।
हुन त रातभर निन्द्रा पनि कहाँ राम्रोसँग लाग्यो र ? छ्वास्स आँखा लाग्न खोज्छ – झल्याँस्स । फेरि निदाउन खोज्छु, फेरि झल्याँस्स । सातो गएको केटाकेटी जस्तो । रातभर यस्तै-यस्तै । सधैं अँगालोमा अँगालिएर खोकिलामा फुसफुस निदाइरहने श्रीमतीलाई आज म सुकला भएको देखिरहेछु । सधैं पाउको दासी ठानिएकी श्रीमतीलाई कुन्नि ! किन हो ? आज म सगरमाथा देखिरहेछु । आफ्नो अहिलेसम्मको अग्लाइप्रति आफैलाई शङ्का भइरहेछ ।
त्यसो त हिजोका घटनाले मेरो मस्तिष्कमा ठूलो प्रभाव पारेको छ । अस्तिसम्म आइमाई भनेर हेपिएका महिलाहरूंद्वारा आयोजित बृहत् कार्यक्रममा- मलाई पनि उभिने निम्ता थियो, र, म गएँ पनि । तर अचम्म ! महिलाहरूको त्यत्रो – भीडमा पुरुपको प्रतिनिधि सिङ्गै म । सुरुमा त आमन्त्रित अतिथिका रूपमा उभिन पाउँदा आफूलाई अग्लै ठानेको थिएँ, ‘लोग्नेमान्छे’ सम्झेर। तर पछि महिलाहरूको भीडले च्यापिएर उनीहरूकै भाषण, कोलाहल, घोचपेच र नाराबाजीका आवाजले मेरो ‘लोग्नेमान्छे’ कता हरायो कता ! अस्तिअस्ति पुरुपहरूका बीचमा आइमाई हराएझैं ।
कार्यक्रमको सुरुआत गर्दै एउटी वृद्धा बाेल्न थालिन्, – ‘महिला र पुरुषवीच समानता आजको आवश्यकता हो । ऊ दिन गए यो दिन आए, पुरुषका ठाउँमा महिला उदाए। अब महिलाको मेलो मौलाउनु पर्छ । हामी त ‘डाँडामाथिका जून’ आज हो कि भोलि ।’
बूढी सम्झाउन खोज्दै थिइन् । अर्कीले नियमापत्तिकै शैलीमा माइक खोसिन् र मकैका फूल उठेझैं पड्किन थालिन्, ‘साथी हो ! समानताका कुरा – हामीलाई सत्य छैन । महिला र पुरुपमा समानता होइन, अब पुरुपमाथि महिलाको शासन हुनुपर्छ- जसरी हामीमाथि हिजो उनीहरू गर्थेे ।’ तालीको गड्गडाहटले उनको हौसला अझै थपियो। उनी अझै अगाडि बढिन्, ‘सुत्केरी हुँदा पनि घरमा सुत्न पाउनु छैन, महिनावारी हुँदा त अझ परै जाओस् । बडा चोखीनिती चाहिने ! यिनलाई महिनावारी र सुत्केरी केही पनि नहुने आइमाई भिडाउनु पर्छ । अनि पुरुषका पुस्ताले कसरी रजाई गर्दार’ छन्, हेर्नुपर्छ।’ तालीले फेरि फूलमाला – पहिऱ्यायो ।
देख्ता सोझै जस्ता देखिन्ये, कुर्लंदा पो कुरो बुझियो । कागभन्दा कोइली चड्ङ्ख, कोइलीभन्दा… । कुरो नगरौं । खुट्टा बटार्दै अर्कीले माइक खोसी । लरबरिएकै स्वरमा उनको बोली फुट्यो, ‘मेरो त भाषण गर्ने बानी छैन । कामै गरेर देखाइदिन्छु । विहानैको कुरा हो, आज, तिम्रो पालो खाना पकाउने- दिएँ आदेश बूढोलाई । पलङमा पलेटी पड्काएर पाइला पाइलामा आदेश गरें, खाना मीठो बनाउनू । अचार च्वास्स होस् । केटाकेटीलाई बेलैमा खुवाएर स्कुल पठाउनू । म पनि चाँडै हिंड्नु छ, छिटो खाना तयार गर । खस्न नपाउँदै सप्पै आदेश पालन भाे । पकापक खाए, आफ्नो बाटो खुलाएँ।’ ‘जुठा भाँडा बाँकी नराख्नु, घर छाडेर। कहीं नहिँड्नू । दिनभरलाई बन्धन, आफू फुक्का । क्या मज्जा !’
हाँसोको फोहरा छुट्यो। उनी अझै जोसिइन्,- ‘जस्तालाई तस्तै ढिँडालाई निस्तै भने जस्तो पसेँ म पनि भट्टीभित्र । लगाएँ दुईचार ट्वाक, तताएँ जीउ। भट्टीवाल पनि कत्ति खाइलाग्दो ! जिस्क्याएँ एकछिन् ।’ उनले अझै थपिन् ।
‘यो त हिजो-अस्तिका लोग्नेमान्छेकै ताल भइगो नि ! राम्रा कुरा पो गरेर देखाउन सक्नुपर्छ । नराम्रा कुरा त उनीहरूले नै गरिरहेका छन् नि !’ एउटी बूढीले मनमनै आफ्नो असन्तुष्टि जाहेर गरिन् । तर भनेर पनि कोही सुन्नेवाला थिएन । ‘हुलमुलमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु’ भन्ने उखान जानेकी बूढी त्यत्तिकै चुप लागिन् । कसैले पत्तै पाएन ।
यत्तिकैमा चारपाँच जना भन्टयाडभुन्टुङ बोकेर एउटी अधबैंसे महिला वीचैमा उठेर चिच्च्याउन थालिन् । मैले के गरी यिनलाई पाल्नु हुर्काउनु ? यिनका वाउहरू कहाँ गए, कहाँ गए। मेरो के नै अपराध थियो र ? यही बेलामा मेरो पनि इन्साफ गरिपाऊँ ।
गल्याङमल्याङ-गल्याङमल्याड चल्दै थियो । वीचैमा पाखुरा सुर्किदै अर्की कस्सिई, – ‘महिला-पुरुष समानता होइन, महिला शासन लाद्नु पर्छ । ढिलो गर्ने बेला छैन, छिटो छिटो चल्नु पर्छ । लोग्नेमान्छेको विगविगी औधी बढ्या छ । उदाहरणका लागि हेर्नोस् यिनैलाई । हाम्रो शासन भइदिएको भए यस्तो हुन पाउँथ्यो ! लोग्नेमान्छेको बीउ यहीँ देखेको थिएँ, – समात् त्यसैलाई ।’
त्यतिञ्जेलसम्म मैले ढोकाको संघार नाघिसकेको थिएँ – ठोकेँ कुलेलम । एकै सासमा घरको दैलोमा । कसैले पत्तै पाएन ।
हेर्नुस्, कत्रो अन्तर ! आइमाईको त्यो रूप र यो रूपमा । अनि, निन्द्रा लागोस् पनि कसरी ? दाँजें अर्काकी बूढी र आफ्नी बूढीलाई । कहाँको आदेश कहाँको अनुरोध । मनमनै माया लागेर आयो । एक मन त भनिदिऊँ जस्तो लाग्या’थ्यो। त्यो निर्जीव देउताकोमा जान पनि किन साथी चाहिने ! जाऊ, तिनले के नै गर्छन् र ? तिमीहरू शासन गर्न खोज्नेले एक्लै हिँड्न सक्तैनौ ? जाऊ,- एक्लै हिंड, हुन्छ । अर्को मनले भन्दै थियो, धत्, त्यसरी आफ्नो अधिकार किन छोड्छस् ! अहिलेसम्म त तँ लोग्नेमान्छेकै कुर्सीमा छस् नि ! होइन र ? कुर्सीमा छउन्जेल सकेको सताउनु पर्छ । कुर्सीबाट बुर्कुसी मारेपछि कसले गन्छ र ? पछि पछुताउनु नपरोस् । भनेको मान् । जा, शक्तिपीठमा जा। आफ्नो कुर्सी जोगा ।
धरमर नगर, बुझिस्, । ‘कुर्सीमा बसेर कुकर्म गर्नुभन्दा सुकुलमा वसेर भजन गाउनु बेस’- एक्कासि कतैबाट आकाशवाणी आयो। ठीकै भो ! मैले हतारिनु परेन । आखिर मेरो हराएको ‘लोग्नेमान्छे’ पनि त अझै फेला परेको छैन ।
‘ए । यसको लोग्नेमान्छे हराएछ, खुच्चिङ’ भनेर तपाईंहरू हाँस्नु भएको होला । तपाईंहरूका कुरा अलिअलि म पनि बुझ्छु । ‘होस गर्नुस्’ यस्तै हो भने कुनै पनि दिन तपाईंहरूको लोग्नेमान्छे पनि हराउन सक्छ, तपाईंहरूले चालै पाउनु हुन्न । अनि कसलाई खुच्चिङ गर्नु हुन्छ ?
०००
‘अभिव्यक्ति’ (२०६१ असार)
Subscribe
Login
0 Comments
Oldest