शेषराज भट्टराईशुभकामनाकाे सुइराे
शुभकामनामा यत्तिको सम्पन्न बनेपछि अब हरेक संकटमुक्तिका लागि गोदान सङ्कल्प नै किन गर्नु पर्छ र ? शुभकामना नै शुभकामनाले सिधै वैकुण्ठ बासका लागि योग्य पात्र बनिने कुरामा दुविधा र शंका गर्नु नै व्यर्थ छ हैन त ?
शेषराज भट्टराई :
शुभकामना सम्मान शब्द हो जसले जसलाई दिन र लिन पनि मिल्ने । इन्टरनेट र फेसबुक लगायत अनेक तौरतरिका अपनाएर एकले अर्कालाई टक्य्राउन सकिने शुभकामना मौखिक लिखित वा पुष्प गुच्छा या अनेक उपहारका माध्यम मार्फत पनि प्रकट गर्न सकिन्छ । यस्तो सुखद् पक्षको शुरुआत प्रादूर्भाव कहिलेदेखि भयो त भन्दा सन् पन्ध्रसयदेखि प्रारम्भ भए तापनि प्रमाणित रूपमा प्रकट गर्न थालिएको चाहिँ सन् पन्ध्रसय एकानब्बेदेखि हो भन्ने कुरा अक्सफोर्ड डिक्सनरीमा उल्लेख गरिएको पाइन्छ ।
कङ्ग्राचुलेसन, गुड ब्लेस यु, बेस्ट विशेष, जर्जिअस जस्ता अङ्ग्रेजी शब्दहरूको आशय पनि महाशयलाई दिने शुभकामना नै हो । ल्याटिन भाषाको कङ्ग्राचुलारीबाट आएको शब्द हो यो । खुसी, प्रगति, प्रमोशन, उन्नति र बान्धित फल प्राप्तिको सुअवसरमा जितारुलाई प्रपुल्लित मानव देह स्खलित भएर शुभकामनाको बाढी आउने गर्छ । खुसी प्रकट गर्ने माध्यम । यस्ता शुभकामनाले शुभकामना बाहकलाई अझ उन्नयनका लागि ऊर्जा प्राप्त हुन्छ । आम धारणा रहेको छ । त्यसैले वान्छित मनोकांक्षापूर्ण र सतपथ अरू विस्तारित बनोस् भन्ने मनसायले महाशयको अगाडि शुभकामनाको बिस्कुन सुकाउने गरिन्छ । यसलाई अन्तहृदयदेखि नै दश औँला जोडेर स्वगतम्, ओयलकलम र ओयल डन गर्न सक्नुपर्छ । सुगम सामाजिक सञ्जालका कारण यो समयमा अन्तर्राष्ट्रिय स्तरमा नै यसको विशिष्टीकरण झाँगिएर फैलिएर फक्रिएर हरेक खुसीको ऐंचोपैंचो हुनु भनेको आत्मीयताको दैलो मात्रै होइन चौघेरा आठैकोण उघ्रिनु हो । जो कदमकदममा बदम टोक्दै खोक्दै एकैसाथ प्रक्षेपण र शिरोपर गर्न सकिन्छ ।
नजिकको तीर्थ हेला भनेझै आफ्नो जीवनसाथी जसलाई अङ्ग्रेजीमा लाइफ पार्टनर पनि भनिन्छ हो उहाँको ह्याकुलो हास्यो भने मात्रै हरेक खुसीको शुभकामना हत्याउन सकिन्छ । दसैँको शुभकामना, तिहारको शुभकामना, जन्मदिनको, छठपर्व, विवाह, व्रतबन्ध, छेवर, उदौली, उभौली हरेक उत्सवको हर्षमय जीवनयापनका लागि शुभकामनाको ऐंचोपैंचो गर्ने प्रचलन रहेको छ । आफ्नो मान्छेको मन खुसीले पोतिएको छैन भने उहाँको धारेहातले चितामा लम्पसार नपरेसम्म छोड्दैन । आत्मीय सौहार्दताभन्दा क्रोधाग्नी हावी भयो भने विषम परिस्थितिको भागीदार स्वयम् बन्नुपर्छ । व्यवहारिक प्राविधिक गढबढीका कारणले यस्ता तिता बुहार्तनमा सिरानी लगाएर सुत्नु पर्ने हुन्छ । जुन हरेक देहलाई जलाउने जलनशील तत्त्वको रुपमा वरण गर्नु पर्ने हुन्छ । यस्तो वातावरणमा शुभकामना निरास, निरस र फिक्का लाग्ने गर्छ ।
पुस ३ गते पाउनु पर्ने हो मैले जन्मदिनको शुभकामना तर फेसबुकले असोज २८।२९ गते सार्वजनिक गरिदिएछ । नसोचेको शुभकामना सिहार्नु पर्ने भयो । विस्तराबाट बिउँझिना साथ विस्तारित नेत्रका साथ श्रीमतीको कुरिलो जस्तै सुरिलोस्वर मेरो भुत्ते कानमा ठोक्किदै मगजमा मडारियो । “जन्मदिनको धेरै धेरै शुभकामना छ है श्रीमान् । मैले भन्देको छु धेरैवटा वर्ष फोस्रा भएर खेर गए तर यसपालि जन्मदिनको खुसीयालीमा रानीहार सेट किन्दिनैपर्छ ।” मेरो जन्मदिनमा उनलाई सुनसेट किनिदिनुपर्ने कस्तो कर्महारा जिन्दगी हो यो । यहाँ चारसयको केक किन्न नसकेको बेलामा ४ तोलाको रानीहार सेट । कस्ता दिनमा भएछ यस्तासँग भेट । आगामा बाँसको आँख्लो पड्किए जस्तो आफ्नो तालचिन्डे खप्परै पड्किन्छ कि जस्तो भयो ? तैतै अरू निःशुल्क शुभकामनाहरू ओइरिन थाले ।
वरिष्ठ साहित्यकार शीतल गिरी देखि लिएर थुप्रै असाहित्यकार अनि वृद्धवृद्धाका भिष्मपितामह चट्याङ मास्टरबाट पनि अँगालाभरिको शुभकामनाको भारले थचक्कै बसेँ । फेसबुकमा आफ्नो सुन्दर सुन्दर फोटोको बाढी नै आयो अनि अलिक बढी नै भयो कि जस्तो पनि लाग्यो । मेसेन्जर पनि भरिभराउ, मोबाइल फोन त झन हातबाट भुइमा राख्नै परेन । दुवै कर्ण पलेटाहरू फोनको घर्षण र धन्यवाद फर्काउँदा फर्काउँदा कालीमाताको जिब्रोझै रातोरातो भयो । दुई दिन सम्मको अटुट शुभकामनाको तिरले पिरै पार्थ्याे । आत्मीयताको सुइराले घोचेको घोचेकै म सोचेको सोचेकै । तेस्रो दिनदेखि भने मेरो अक्कल र सक्कल शुभकामनाको झटारो र पसारोबाट पुरै मुक्त भयो । त्यही भएर नै होला ठूलावडाको जन्मोत्सव तीनदिनसम्म मनाउने गरेका ।
ठूलाबडा विद्वान्देखि अविद्वान् र असाहित्यकारसम्मले सम्झिएको देख्दा देख्दै खुसीले मेरो गर्धन धराने खसी सुँगुरको जस्तै सोलोढोलो भयो । एक मनले सोचे ज्ञात अज्ञात, दूरदराज, सुगम दुर्गम, समुन्द्रपारी र आफ्नै करेसाबारीबाट मेरा मर्दाका मलामी पर्दाका साथी हितचिन्तकले यस्तरी सम्झिँदा आफूले पनि पैंचो तिर्न पाए गुनको बदला गुन नै हुने थियो तर के गर्नु समयको छालले मान्छेलाई बेहाल बनाउँछ । हिजोका बहादुर गृहमन्त्री आज पुनः मुसीको भवः भैराखेका छन् । जेलको हावामा तावा बसालेर बिनातेल सेल स्वाइँइयाँ पकाइरहेका छन् । खै मत शुभकामना फिर्ता नगर्दै सेलाई सक्छु कि भन्ने भान भइरहेको छ । समयले सिनित्त बढारेर बर्बाद बनाउने हो कि भन्ने पिरलोले रागिएको पिलो झैँ पिल्ली रहेको छु ।
अहिले विश्वमा फेसबुकको विस्तार भएसँगै अस्पतालबाट डाक्टरको एकल इजलासबाट बालबाल लास बन्नबाट बचेकालाई डाँड्नसम्म डाँडेर डिस्चार्ज भएको खबर चुहिने वित्तिकै पनि शुभकामनाको ओइरो लाग्ने गर्छ । कतै घुम्न या हिमाल चुम्न नै गए पनि शुभकामना कम्पलसरी अनिवार्य आशीर्वाद भइरहेको छ । चाहे मबाट होस या तपाइबाट । एक वर्ष बुढो भए पनि शुभकामना, भर्खरै पैदा भए पनि शुभकामना । पैला बुढी ल्याए पनि शुभकामना । बैला बुढी ल्याए पनि शुभकामना र भैराखेकी अर्धानो मौजुदा मार्या पोइल गए पनि पुनः कोरली प्राप्तिको भरमार शुभकामना । पेट बढे पनि शुभकामना । पेट घटे पनि शुभकामना । जुरुक्क उठाए पनि शुभकामना, फुरुक्क पारे पनि शुभकामना । घुच्चुकमा हानेर हुरुक्क पारे पनि शुभकामना र पछारे पनि शुभकामना । हाने पनि शुभकामना ताने पनि शुभकामना । ओर्क्यो शुभकामना फर्क्यो शुभकामना । आयो शुभकामना गयो शुभकामना । ससुराली अन्मरियो शुभकामना नै शुभकामना । त्यसैले होला मेरा दिनचर्याहरू खुबैसँग शुभैशुभ भएका छन् कि झै लाग्छ ।
मानव जुनीका सोह्र संस्कारका अतिरिक्त हरेक कर्ममा झरिलो भरिलो शुभकामनाले साथ दिइरहेको हुन्छ । हित चिन्तकको शुभकामनाको मानसरोवरले वैतरणी नदी नै आसानी पार हुन्छु कि झै लाग्छ । शुभकामनामा यत्तिको सम्पन्न बनेपछि अब हरेक संकटमुक्तिका लागि गोदान सङ्कल्प नै किन गर्नु पर्छ र ? शुभकामना नै शुभकामनाले सिधै वैकुण्ठ बासका लागि योग्य पात्र बनिने कुरामा दुविधा र शंका गर्नु नै व्यर्थ छ हैन त ? त्यसैले शेषपछिको विशेष हार्दिक श्रद्धाञ्जली, हार्दिक श्रद्धासुमन, रेस्ट इन पिस, गोलोक दीव्यधाममा बास होस् । स्वर्ग, बैकुण्ठमा बासहोस्, जस्ता शब्दहरू पनि त मरेपछिका शुभकामनाहरू हुन् नि छैन र ? त्यसैले इस्टमित्र राख्नलाई मात्रै होइन मनपेट माझ्न, कालान्द्रे क्लेसबाट मुक्ति प्राप्ति हेतु र देह दीव्य, देदिव्य, प्रज्वलित र परलोकको मार्ग व्यापक विस्तारित र विशेष सुधार्न पनि शुभकामनाको ऐंचोपैंचो ऐया आथो गर्दै भए पनि भुक्न भट्याउन चाहिँ चुक्न हुँदैन है ।
०००
शिवशक्ति मार्ग, फूलबारी-११, पोखरा, कास्की
Subscribe
Login
0 Comments
Oldest








































