![होम सुवेदी होम सुवेदी](https://www.fitkauli.com/wp-content/themes/fitkauli_theme/images/author2.png)
भिनाजु याे रमाइलाेका लागि मात्र हाे !
"अब वियोगको पीडा कसरी खप्ने होला नि ! कसले उडाइदिएछ नि मेरी मायालुलाई !!" उहाँ गुनगुनाउन थाल्नुभाे- "बिछाेडकाे पीडा..... !!" घटना सम्झँदा अहिले एक्लै पनि म पेट मिचिने गरी हाँस्छु ।
![image image](https://www.fitkauli.com/wp-content/uploads/2023/06/hom-subedi.jpg)
हाेम सुवेदी :
२०३४ वा २०३५ सालतिर पुस महिनाको कुरा । अति जाडो थियो काठमाडौँमा । पानी छुन पनि सकिन्नथ्यो अनि दैनिक ता हैन साप्ताहिक हुन्थ्यो नुहाइधुवाइ, त्यो पनि मध्य दिउसो मात्र सुनधारामा गएर । नागशय्या गरेर बसिएको कोठामै हो । भानुभक्त पोखरेलज्यू मेरैमा बस्न थाल्नु भएको थियो पिएचडीका लागि । म विद्यार्थी र जगदम्बा प्रेसको प्रुफरिडर । म कताकताबाट साइनु परेर भिनाजु भन्थेँ महाकविलाई ।
सधैँझैँ हामी नुहाउन गयौँ शनिवार पारेर, दिउसो घाम अलिक तातेपछि । भिनाजुले नुहाउन जिउबाट बाँकी लुगा खोल्दा भित्र लाउने गन्जी धेरै छिँड परिसकेको देखियो । मेरै पनि अलिक पुरानै भइसकेकै थियो तर भिनाजुको ता शतछिद्र परिसकेको रहेछ ।
नुहाइसकेर लुगा फेरियो । भिनाजुले शतछिद्र गन्जी लाउनु भएन न त धुनु नै भो । बरु कोठातिर फिर्ने बेलामा त्यसलाई धाराको मास्तिर एक कुनातिर फालिदिनु भो । कुरा सकियो ।
पछिल्लो हप्तामा हामी त्यसै गरी नुहाउन त्यहीँ गयौँ । नुहाइसकेपछि यसो आँखा परे अघिल्लो हप्तामा फालेको गन्जी ता जहाँको त्यहीँ रहेछ ।
मैले भनेँ- “भिनाजु गन्जी ता रहेछ जहाँको त्यहीँ !”
“ए हो र !” भन्दै फालेको गन्जीनिर जानु भो र ख्याक्क खकारेर थुक्क भन्दै थुक्नु भो गन्जीमाथि । मेराे हाँसाेकाे फाेहाेरा छुट्याे । राेकिएपछि साेधेँ-
“किन थुक्नु भएको ?”
उहाँले भन्नु भो- “ख्याल मायाँ लागेन त्यस गन्जीको !”
झन् बढी हाँस उठ्याे । मरी मरी हाँस्तै मैले भनेँ-“मायाँ लागेकै हो भने लैजाऊँ फेरि घरमै ।”
“हैन एक हप्ता हेरम न अझ वियोग भएपछि पाे मायाँ बढ्छ त । अनि त्यसपछि बिचार गरमला ।”
यसपछि हाँसेको हाँस्यै कोठासम्म हामी आएका थियौँ ।
तेस्रो हप्तामा भने गन्जी थिएन ।
नभएको थाहा भएपछि भिनाजुले भन्नु भएको थियो- “अब वियोगको पीडा कसरी खप्ने होला नि ! कसले उडाइदिएछ नि मेरी मायालुलाई !!”
उहाँ गुनगुनाउन थाल्नुभाे- “बिछाेडकाे पीडा….. !!”
घटना सम्झँदा अहिले एक्लै पनि म पेट मिचिने गरी हाँस्छु ।
भिनाजु, यो रमाइलोका लागि मात्र हो हजुरमा श्रद्धाञ्जली छ ।
महाकवि भानुभक्तजीका बारेको अर्को रमाइलो सम्झना पनि छ । कुनै साल अनिल पौडेलजी साझा प्रकाशनको सञ्चालक भएको बेला विराटनगरमा साझाको पुस्तक मेलाका साथ अहिलेका कोशीप्रदेशका कविहरूका माझमा कविगोष्ठी पनि गरे गराएको सम्झना छ । तिथी मिति अहिले म ठ्याक्क भन्न सक्तिनँ । माघ फागुनतिरको हिउँदको बेला थियो । अहिलेभन्दा लगभग एक दशक वा केही अघिको कुरा हुनुपर्छ ।
त्यति बेला साझा प्रकाशन जीवित नै थियो मरिगएको थिएन । तर घिटिक घिटिक थियो । त्यसलाई सास हाल्न अनिलजीहरू लागिरहनु भएको थियो । समयका बारेमा मलाई फुम रहेन । रेकर्ड छँदैछ । एक डेढ दशक अघिजस्तो मलाई लाग्छ तलमाथि भए बेलैमा क्षमा माग्छु । विराटनगरमा आयोजित सो कार्यक्रमका पुस्तक विक्री कक्षको कुनै स्टलनिर सो चलेको थियो । कार्यक्रममा कविता वाचन लगायतका कार्य पनि दैनिक जसो हुने गरेका थिए । मित्र अनिलजीलाई यकिन छँदैछ म ता संस्मरण लेख्ने न हुँ ।
एक दिन हामी झापाका साहित्यकारहरू अवलोकनार्थ गएका थियौँ सायद पालो परेर होला । संयोगले म पनि गएको थिएँ । हाम्रो टोलीमा झापाका निकै साहित्यकारहरू थियौँ ।
कार्यक्रम बडो भव्यताका साथ सञ्चालित रहेछ । मेरो ता आफन्तको भेटघाटको सुअवसर हुन लाग्दै थियो । दाजु अनिरुद्ध तिमसिनासँग भलाकुसारी गरिरहेको थिएँ । त्यही बेला ‘मृत्युञ्जय’ महाकाव्यका रचयिता महाकवि एवम् मेरा भिनाजु पनि मेरा छेउमा आएर बस्नुभो र मसँग भलाकुसारी गर्न थाल्नुभो ।
“के छ साला झापाको हालचाल ?”
“ठिक छ भिनाजु ।”
“अनि अलाई बाइमात्रा आएनन् ?”
“भन्नाले ?”
“अलाई तल्कुरे, अलाई दोलख, अलाई लखकानो क्या कस्तो नबुझेको ?”
“अझ पनि बुझिनँ भिनाजु !”
“ए, यो पनि लाटै छ के गरी विभाग चलाएको छ ? चिउरा मुरै क्या !!”
“अब मलाई हाँसो उठ्न थालिसकेको थियो ।”
फेरि भन्नु भो- “चिउरा मुरै क्या चिउरा मुरै !”
“भेउ पाएन हजुरका सालोले । क्षमा पाऊँ भिनाजु, क्षमा पाऊँ ।”
“हैट् क्या यो मान्छे पनि…..”
“अब के गर्नु त हजुरको सालो यस्तै छ ।”
अझ कुरा नखोली अर्को प्रहेलिका हाल्नु भो- “प्रस्ताव लेख्ता ‘प् र् स् ताउ’ लेख्ने क्या ।”
“ए ए अब मैले बुझेँ । बुझेँ भिनाजु बुझेँ । बल्ल बुझेँ । चूडामणि रेग्मीको कुरा गर्नु भएको रहेछ ।”
“चूडामणि हैन चिउरा मुरै क्या ।”
अब बल्ल कुराको चुरो खुल्यो । हाँसो थाम्न सकिएन र मुख छोपेर हाँसिरहेँ । उहाँ अरूअरू केके भनिरहनु भएको थियो नसुनेझैँ गरेँ ।
“तिमी त त्यहाँको विभागीय प्रमुख । अलिक झपार्नु पर्दैन !” भनेर मलाई फेरि र्याखर्याख्ती पार्नु भो ।
“के गर्नु भिनाजु हामी पनि सुनिसम्म दिन्छौँ, केही गर्न सकिएको छैन । फेरि अलिक पत्रकारिता, भाषा र साहित्यमा निजको योगदान पनि छ । यसैले पनि उहाँलाई हामी चलाउँदैनौँ । समाजमा सम्मान्य पनि हुनुहुन्छ यसैले हामीले पनि मानेका छौँ” भनेर म पन्छिएँ । तैपनि भिनाजु एक्लै केकेके भनिरहनु भयो । मैले नसुनेझैँ गरेँ ।
उहाँको कुरा भाषाबारेको र रेग्मीज्यूको तत्काल प्रस्ताव गर्नु भएको लेख्य वर्णविन्यासबारेको थियो । लगभग स्थिर भइसकेको लेख्य भाषालाई नचलाउनु पर्नेमा उहाँ दृढ हुनुहुन्थ्यो । मुकुन्द गुरुको लेखनप्रणालीको समेत कडा प्रतिवाद गर्नुहुन्थ्यो । तर त्यहाँ त चूडामणि रेग्मीको प्रस्तावमाथि आलोचना र व्यङ्ग्य गरिरहनु भएको थियो ।
चूडामणि रेग्मीले त्यो बेला नेपाली वर्णहरुको सन्दर्भमा वा नेपालीको लेख्यभाषामा एक नयाँ प्रस्ताव गर्नु भएको थियो । रेग्मीको सो लेख्य प्रस्तावमा अ, आ, अि, अी, अु, अू, अे, अै, तथा रु रू अनि सबै रेफहरूलाई र् नै लेख्नु पर्ने कुरा निजको प्रस्ताव थियो । अर्ध नलेखेर सबै व्यञ्जन वर्ण हलन्त मात्र लेख्ने प्रस्ताव थियो । र वर्णमा तल्कुरे बर्धन्ने र अ मा बाइमात्रा दाहिना तल्कुरे बर्धन्ने एकलख दोलख लेख्ने कुरा थियो । यस्तो ता अब कुनै कुनै फन्टमा अब कम्प्युटर र मोबाइलमा लेख्न पनि मिल्दैन । यसैमा युनिकोडले पनि अ लाई बाइमात्रा दाहिना दिन मान्दैन । अनि उहाँको त्यो प्रस्ताव प्रचलनमा आउने कुनै सम्भावना नै थिएन । निजको एकोहोरो ढिपीप्रति भिनाजु अग्नि शर्मा हुनुहुन्थ्यो ।
चूडामणि रेग्मीका प्रकाशनहरूमा जेनतेन आफ्नो प्रस्तावित लेखनको उपयोग गर्नुहुन्थ्यो त्यसमा पनि फन्ट नपाएर उहाँ नै रनथनाउनु हुन्थ्यो । उहाँका केही लेखहरुमा यसको उपयोग पनि गर्नु भएको थियो । त्यो बाहेक अन्यत्र यो लेखनको सम्भावना अलिकति पनि थिएन ।
प्रचलनलाई हल्लाउन यस्ता वैयक्तिक प्रयत्न काम लाग्दा हुँदैनन् भन्नेमा भिनाजु दृढ हुनुहुन्थ्यो र चूडामणि ‘रेग्मीको उट्पट्याङ्को चुटपट्याङ’ भन्ने लेख नै दमकको ‘प्रतिभा’ पत्रिकामा लेखेर प्रकाशन नै गरिसक्नु भएको थियो ।
मूल प्रवाहमा एकछिन सामान्य रोकावट लगाए पनि यस्ता प्रयासहरू हिलो माटोले खोलो थुन्नु जस्ता मात्र हुन जान्छन् भन्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्थ्यो । भिनाजुको त्यो भाषिक लगाव र प्रेम अपूर्व थियो । जुनसुकै बेला पनि रचनामा तल्लीन हुनु पर्ने र एक्लै पनि वाचन गरिरहनु पर्ने सद्भाव खल्बलिएको नसहने त्यस्तालाई कटाक्ष, हास, परिहास गर्ने बानी थियो । उहाँसँग बस्ताका रमाइला र मजाका स्मृति मसँग दर्जनौँ छन् ।
भिनाजुमा हार्दिक श्रद्धा तथा कडा बिरामी परिरहनु भएका चूडामणि रेग्मीज्यूको स्वास्थ्यमा सुधारको कामनाका साथ …. ।
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest