डा. सुकुम शर्माछलाङ
गणपतिको छलाङको सन्देश ताली बजाएर स्विकार्नै पर्दछ किन कि डिग्रीधारी मान्छे स्वतः विद्वान् हुन्छ । पैसा र पहुँच भएपछि अरुलाई सन्देश दिएर क्रान्तिकारी छलाङ मार्न केही बेर लाग्दैन ?

डा. सुकुम शर्मा :
समयको गतिले गणपतिलाई धेरै नै अघि हुत्यायो । त्यसपछि त जीवनका महकिला दिनहरूमा उसको व्यस्तता मापन गर्नै नसकिने भयो । ऊ प्रगतिको नमुना भयो । असफलहरूका लागि उदाहरण बन्यो । उसको प्रगतिमा बोल्ने प्रश्नै उठेन ।
‘गने जेठो’ भनेर हेप्नेहरूका लागि उसले समयको झापड हान्यो । अन्तर्जातीय विवाह गरेकामा ऊ यतिखेर खुसी नै थियो । श्रीमतीको माइतको सबै सम्पत्ति आफ्नोे बनाएर प्रगतिशील उदाहरण देखाउन पाएकामा उसको गर्व नाप्नै नसकिने भएको थियो । जे होस् “सुरुको गरिबी, उच्चाट लाग्ने परिस्थिति र बाँच्नका लागि गरेको सङ्घर्षको प्राप्ति नै यही हो…” भनेर सङ्घर्षको पाठ सिकाउन र उपलब्धि देखाउन पाएकामा ऊ मख्ख थियो ।
केही मानिसहरू उसको प्रगति देखेर छक्क परेका थिए । “समयले साथ दिएपछि धन, मान दुवैले थेग्नै नसक्ने गरी चुल्याउने रहेछ !” भन्ने मान्छेहरूको मूल्याङ्कन जाँच गर्नै पर्ने थिएन । यसको कारक तत्वमा उसले भन्ने गरेको “बुर्जुवा डिग्री” थियो । यसका बारेमा बुझेर पनि बुझ पचाउन पर्ने हुन्थ्यो ।
हो, उसको प्रगतिको कारक तत्व “बुर्जुवा डिग्री” नै थियो । “बुर्जुवा डिग्रीका बहिष्कार” का लागि लामालामा, जोसिला भाषणमा उसले विद्यार्थीकाल गुजारे पनि डिग्री लिन भने समय गुजारेन । उसको भाषण सुनेर भड्किएकाहरू उसको प्रगतिका अगाडि सम्झनाका सुस्केरा बाहेक अरु के पो गर्न सक्थे र ? त्यसैले उसको खुसुखुसु तह पार गर्ने तरिकामा भने धेरै जना छक्क परेका थिए ।
डिग्री सकिने बित्तिकै उसले एन.जी.ओ र लगत्तै पछि आइ.एन.जी.ओ. मा काम गर्ने मौका पायो । पैसा कमाउने मेसो मिलेपछि पार्टीभक्त देखाउन/देखिन उसलाई गाह्रो भएन । पार्टीको मूल लाइनको पक्ष लिँदै उसले “साम्राज्यवादको विरोध, ‘उपभोक्तावादी संस्कृतिको विरोध’ र ‘सर्वहाराकरणका पक्ष’मा आफूलाई खरो राख्यो । यसै बीचमा उसले सहरमा घर किन्यो । कम्प्युटर, मोबाइल, मोटरसाइकल आदिको त कुरै भएन । … उसको जीवनस्तर ह्वात्तै माथि उठ्यो ।
जीवनस्तरसँगै उसको प्रतिष्ठा पनि चुलियो । आफ्नोे नामको अगाडि डा. झुण्ड्याएपछि त उसले “प्रगतिवादी क्षेत्र” मा आफूसँग होक्काँ गर्ने पात्रै फेला पार्न छोड्यो । उसले आफूलाई प्रगतिवादको मसिहा ठान्यो । समूहका नाममा उसको व्यक्तिवादी स्फूर्तिलाई स्विकार्नुपर्ने पनि उसको व्यक्तित्व नै थियो । उसको व्यक्तिगत प्रगति पनि प्रगतिवादको गौरव मान्नैपर्ने आग्रह उसको अभिव्यक्तिमा दोहोरिन्थ्यो । यसलाई हाँसोका विषय मात्र भन्न मिल्दैनथ्यो ।
एकदिन “प्रगतिवादीहरूको सभा”मा ऊ विशेष रूपले कड्कियो । अहिले प्रगतिवादी क्षेत्रमा व्यक्तिवाद हावी भएको छ । सरलाले लेखेको लेखमा प्रतिक्रियावादी विचार आएको छ । मेरो दुश्मनका बारेमा लेख्न नहुने लेख किन लेखियो ।” त्यस्तैमा एकजनाले भने- “तपाईंको दुश्मन भन्दैमा सबै प्रतिक्रियावादी हुँदैनन् । लेखनमा सच्याउन पर्ने कुरा त भइ-रहन्छन् ।”
गणपतिको व्यक्तित्वलाई थुक्दै एक जनाले भन्यो- “थुक्क साले ! डिग्रीको फूर्ति छोड्छ ।” उसले त्यसो भन्दा गणपति भने सन्देश दिँदै थियो- “नयाँ समाजमा छलाङ मार्न लेखन र चरित्रको तालमेल हुनुपर्छ ।”
गणपतिको छलाङको सन्देश ताली बजाएर स्विकार्नै पर्दछ किन कि डिग्रीधारी मान्छे स्वतः विद्वान् हुन्छ । पैसा र पहुँच भएपछि अरुलाई सन्देश दिएर क्रान्तिकारी छलाङ मार्न केही बेर लाग्दैन ?
०००
कीर्तिपुर
फित्कौली , अङ्क ३ (२०६२)
Subscribe
Login
0 Comments
Oldest








































