साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काँचो नरिवल, कट्मिरो गणतन्त्र

बसोबास सम्बन्धमा नयाँ क्रान्तिकारी नीति लागू गर्दै अहिले कायम रहेका मन्दिर, पाटी, सत्तल जतिलाई ध्वस्त बनाएर पाताल पुर्‍याउने अनि रुख बुट्यान झाडी सबैतिर आगो लगाएर ऊर्जा विकास कार्यक्रम सञ्चालन गर्ने ।

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

लामो डारडुर र छोटो छलफलपछि बनकालीका बानरहरूले पनि आखिर गणतन्त्रमा जाने जो निधो गरेछन् । थरीथरी लुते ढेडुका कुशासन र सामन्ती सत्ताको पछाडि कहिले हुत्तिँदै र कहिले झुत्ती खेल्दै आएको वानरवृन्द एकाएक के कुराले जागा भएछ कुन्नि ? मान्छेको समाज त गणतन्त्रमा गयो भने हामीमात्र किन बाँकी रहने ? कति दिन परम्पराको उझिन्डोमा उभिण्डो परेर भीरको कुविण्डो झैं अल्झिने ?

उनीहरूको तर्क थियो । यसको लागि उनीहरूले अलि बलिया अधवैंसे र ढेडुबाट विशेष सताई आएका जमात भेला गरेर नयाँ खेला खेल्ने प्रस्ताव गरे, शासन फेर्ने खेला ! खेलाडी जमात जमजमाएर आन्दोलनमा उत्रियो । ढेडुकालीन कुशासनको बहिस्कार र नयाँ प्रशासन आसनमा परिस्कार उनीहरूको नारा थियो । परम्परादेखि मान्दैपुज्दै आएको ढेडुलाई बेदखल गरी सिपाघाटतिर लखेट्ने र उसको भोगचलनमा रहेका पाटी, देवल, छाना,वृक्षविरुवा र खेतीका बालीनालीआदि सबैखाले सम्पत्तिको सामूहिक भोगाधिकार कित्तामा दरपीठ गर्ने निधोसमेत गरेछन् ।

सरक्क छोडीजाने खालका ढेडु बाबा थिएनन् तर जति नै परम्परागत शक्ति र धूर्त कूटनीतिको प्रयोग गर्दा पनि पार लागेन । भिजिलान्ते उर्बौला ठीटा लगाएर दंगाफसाद गर्दा पनि आफ्नो दैया नचल्ने देखेपछि धूर्त ढेडु पनि लुरुक्क बाटो लागेछ । खुरुक्क हातमा सत्ताशक्ति आइलागेको देख्दा कहिल्यै नसोचेको उपलब्धिले बानरे जमात पनि एकाएक खुसियालीले मक्ख ! नपाउनेले केरा पाएर बोक्रैसमेत चपाएको नेपाली उखानलाई व्यवहारमा उतार्न सरिक भएछ । यसैको फलस्वरूप पात्तिएको शैलीमा बनकालीको शासनसत्ताको बागडोर आआफै बल गरेर चुँडाल्न थालेछ । मान्छेले भए बागडोर सम्हाल्ने बहादुर खडा गर्ने थिए तर यो वर्ग नै परेछ यस्तै । बानरको काम भनेकै हल्लाउने थर्काउने चुँडाल्ने भत्काउने हो भन्ने उनीहरूको संस्कार र सुझबुझ थियो ।

नेपाली गणतन्त्रको नयाँ सरकारले राष्ट्रिय नीति तयार पारेको देखेपछि बानरवृन्दमात्रै किन चुप लागेर बस्न सक्थ्यो ? उसले पनि राष्ट्रिय नीतिको सट्टा राष्ट्रिय फजिती तयार गरेछ, जसअन्तर्गत स्वयम्भू, नागार्जॅन, बाराही, चाँगु आदि क्षेत्रमा फैलिएको बानरबस्तीलाई पूणर् स्वच्छन्दताको अधिकारसहितको लथालिङ्ग राज्यमा रूपान्तरण गर्ने । यस्ता लथालिङ्ग प्रदेशहरूमा भताभुङ्ग अभियान तुरून्त सञ्चालन गरी इतिहास परम्परा र पुख्र्यौली बहादुरीको धज्जी उडाउने र जुँगा सल्काउने अनि त्यही न्यानो घुर तापेर आपसमा राहत आदनप्रदान गर्ने । बानरवर्गले साझा रूपमा बेहोरिआएको साकाहारीको अवहेलना र लाञ्छनालाई धोइपखाली कीरा गँगटामात्र होइन चिल गिद्दलगायतका उड्दा चरामाथि समेत आक्रमण गर्ने कार्यलाई प्राथमिकता दिने । अबदेखि कसैले पनि हाम्रो वर्गलाई शाकाहारी पिलन्धरे जमात भनेर न हेपून् !

नेपालका भौगालिक अखण्डतालाई खण्ड खण्ड भागबण्डा गरीखाने पाखण्ड पण्डित शेयरसरदारहरूकै सिको गरेर अनर्थनीतिको तयारीमा विशेष जोड दिने । जसअन्तर्गत लिखा टिप्ने जुम्रा मार्ने पाहारमा चलेर बस्ने जस्ता घरेलु व्यवसायबाट एकाएक छलांग मार्दै हिलोका गँगटा, भ्यागुतादेखि धुलोका अरिँगाल सम्मको सिकार साहसको प्रशिक्षण दिने । बाघ चितुवा देखेपछि हल्ला गर्दै जमजमाएर धुरिने काम छाडीदिने बरु आचारको साटो व्यभिचार संहिता तयार गरी जातजाति प्रदेश लिङ्गको भेदभावको तुरून्तै अन्त्य गर्ने र सामूहिक सहबास संस्कृतिलाई उचाइमा पुर्‍याउने । यसको लागि बगालवर्गको भेदभाव नगरी रैथानेदेखि बेथितिका बथानसम्मको वंशवृद्धि प्रक्रियालाई क्रियात्मक रूप दिन एकले अर्कोलाई सघाउने ।

राष्ट्रिय पोसाकका रूपमा नेक टाइ र व्याक टाइलाई बरोबर प्राथमिकतामा राख्ने । देशविदेशका भक्तजन र भोजभतेरबाट प्राप्त हुने जुठोपुरो जिप्टयाएपछि अपत्तो भएर माथिबाट उम्लिने क्रियालाई नेक टाइ कसेर नियन्त्रण गर्ने र ब्याक टाइले तलबाट फुस्कने पदार्थको रोकथाम गर्नसक्ने उपयोगिताको समस्त बानर समुदायमा भलीभाँती दुष्प्रचार गर्ने । कसैले यस्तो पोसाकको विरोध गरे तुरुन्त बिजुली गारत प्रयोग गरी कान र कञ्चट छुट्याउने । बसोबास सम्बन्धमा नयाँ क्रान्तिकारी नीति लागू गर्दै अहिले कायम रहेका मन्दिर, पाटी, सत्तल जतिलाई ध्वस्त बनाएर पाताल पुर्‍याउने अनि रुख बुट्यान झाडी सबैतिर आगो लगाएर ऊर्जा विकास कार्यक्रम सञ्चालन गर्ने । साथै त्यही ऊर्जाको मुस्लोबाट आफूले टेकेको धर्ती डढाएर खरानीमा उडाउन प्रयत्नशील रहने । बस यस्तै यस्तै ।

०००
नयाँ वानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Narendra@
Narendra@
1 year ago

Thanks fitkauli

Nepal Telecom ad
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
अथ श्री कोसेली महात्म्यम् !

अथ श्री कोसेली महात्म्यम्...

नरेन्द्रराज पौडेल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
1
0
Would love your thoughts, please comment.x
()
x