बद्रीप्रसाद दाहाल ‘भस्मासुर’गाईजात्रे नेतृत्व
सोझा निमुखा जनतामार संविधान सभा पर-पर सार । हिलो छ्याप्दै ढुकुटी लुट्दै टुट्दै जुट्दै नाटक उस्तै ॥ नारानहिटी बलियो पार दिल्लीलाई सिरमा राख । कुहिरा नेप्टा हात मिलाऊ देश विनिर्माणको भोटो सिलाऊ ॥

बद्री दाहाल ‘भस्मासुर’:
भतिजा-भतिजी साला-साली
बहिनी-ज्वाइँ ससुरा माली ।
जागिर ठेक्का पायक पारी
जन्तर थोत्रो उही विहारी ॥१॥
सरुवा बढुवा गर्छु भन्दै
ठेक्कापट्टा भनसुन जप्दै ।
ब्रोकर झरिलो जोकर घतिलो
ज्यान लिएछौ कतिको कतिको ॥२॥
लोकतन्त्रको चम्बू भाइरस
भोकतन्त्रमा साक्षत् शाहीरस ।
चाकडी भर्दै चुक्ली कस्दै
घुम्छ केन्द्रमा खरानी घस्दै ॥३॥
खुराफातमा रम्दछ डाँका
मान्छेपिच्छे फेर्दछ भाका ।
व्यभिचारी यो भ्रष्टाचारी
आफैँ धामी बोक्सी मदारी ॥४॥
जब्बर आफू सामन्ती छ
मुटुमा छुरा मुखमा राम छ ।
गणको तन्त्र बोली मात्र
मनमा जङ्गी हिट्लर पात्र ॥५॥
चुस्ने लुट्ने नौला सूत्र
शब्दजालका भ्रष्ट कुपुत्र ।
माइला ठकुरी पथका अगुवा
छोटे राजा सत्ता-चखुवा ॥६॥
राणाहरूकै प्रतिकृति ठूला
जनतन्त्रमा औधी लुला ।
भाषण आसन रासन पाए
संझौतामा मसी सुकाए ॥७॥
सोझा निमुखा जनतामार
संविधान सभा पर-पर सार ।
हिलो छ्याप्दै ढुकुटी लुट्दै
टुट्दै जुट्दै नाटक उस्तै ॥८॥
नारानहिटी बलियो पार
दिल्लीलाई सिरमा राख ।
कुहिरा नेप्टा हात मिलाऊ
देश विनिर्माणको भोटो सिलाऊ ॥९॥
वण्ड अखण्ड राख प्रचण्ड
गिर्जा माधू बोक घमण्ड ।
विस्मृति पथका बटुवाहरु हो !
लोकतन्त्रका घटुवा अरु को ? ॥१०॥
ढीलासुस्ती जनता ढाँट
आउँछ उस्तै शाही ठाँट ।
दर्शन तोडी छोडी जनता
मार्दैछौ रे गरीब ममता ॥११॥
०००
फित्कौली, अङ्क १५, भदाै २०६४
Subscribe
Login
0 Comments
Oldest






































