सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हास्यव्यङ्ग्यको सैद्धान्तिक सन्दर्भ र धादिङे हास्यव्यङ्ग्य स्रष्टा

वर्तमान नेपाली हास्यव्यङ्ग्य निबन्ध विधामा मौलाएको छनक पाएर कतिपय व्यक्तिहरू हास्यव्यङ्ग्य अभिव्यक्तिको माध्यम निबन्ध विधा मात्रै हो भन्ने भ्रममा परेका पनि हुन सक्छन् । तर ‘व्यङ्ग्य कुनै एक विधाको पेवा होइन, सबै विधाको टेवा हो ।

Nepal Telecom ad

नरनाथ लुइँटेल :

१. विषयको उठान 
मानिसबाहेक अरु प्राणीमा खुशी अभिव्यक्त गर्ने हाँसो जस्तो क्रियात्मक रूप देखिन्न । त्यसकारण हाँसो विशुद्ध मानवीय गुण हो । मानिस जीवनभर हाँस्न चाहन्छ । आधुनिक समाजशास्त्रीहरू हाँस्न पाउनु मानिसको नैसर्गिक अधिकार हो भन्दै व्याख्या गर्दछन् भने आधुनिक उपचार पद्धतिमासमेत हाँसोले शारीरिक विकारलाई नियन्त्रण गर्न सकिन्छ भन्ने सोच विकसित भएको पाइन्छ ।

हाँसो मानव जीवनको प्राकृतिक गुण हो । हाँसो बेगरको जीवन एकदमै निरर्थक, निस्सार र निरस मानिन्छ । हास्य बिनाको जीवन जीवन नै होइन । अतएव जीवनमा हास्यलाई “एक जीवन शक्ति, जीवनरसको परिपोषक, दुःख सुख सहजतासाथ झेल्न सक्ने क्षमता आदिको रूपमा हेर्ने” गरिएको । (डा.चतुर्वेदी, बरसानेलाल : ई.संं.१९६३) उन्मुक्त हाँसोले मानसिक तनावलाई नष्ट गर्दछ, रिस मर्छ, डर हराउँछ र चित्त प्रशन्न हुन्छ । तनावमुक्त भएपछि मानिसको सृजना शक्ति बढ्छ (मास्टर, चट्याङः २०५५) । यसरी जीवनको सार्थकतालाई स्वीकारिएको हास्य मानिसको शारीरिक र मनोगत क्रियासँग सम्बन्धित छ र हास वा हाँसो स्थायी भाव रहने र परिहास (हँस्यौली-ठट्यौली) को क्रीडा विनोदको अनुभवलाई पनि समेट्ने उज्ज्वल आनन्दमय सञ्चेतना मानिन्छ । (प्रा.डा. त्रिपाठी, वासुदेव : (२०५१)

हाँसो जीवन सादृश्य साहित्यमा पनि प्रविष्ट हुँदै आएको छ । पूर्वीय साहित्य शास्त्रमा नौवटा रसमध्ये हास्यलाई एउटा रस मानिएको छ । रसका विषयमा शास्त्रीय चर्चा गर्ने संस्कृत साहित्य शास्त्रका आदिआचार्य भरतमुनिले हास्यलाई श्रृङ्गारको अनुकृति मानेका छन् । उनीपछिका धनञ्जय, विश्वनाथ आदि साहित्याचार्यहरूले भने विकृत आकार, बोली-वचन, भेष-भुषा, चेष्टा आदिद्वारा हास्य रसको आविर्भाव हुन जान्छ भनेका छन् । (भटृराई, भरतकुमार : पूर्ववत् । भारतीय विद्वान् रामदहिन मिश्रले हास्य सृष्टिका निम्ति असङ्गतिलाई आवश्यक ठानेका छन् । (भटृराई, भरतकुमार : (२०४७) (मा दिइएको उद्धरणबाट) । हिन्दी साहित्यका अर्का विद्वान् डा. रामकुमार वर्माको विचारमा हास्य श्रृङ्गारको अनुकृति नभई विकृति हो । भरतमुनिको मतप्रति उनी असहमत हुँदै बताउँछन्- “यो विकृत आकार-प्रकार, बोली-वचन, वेश-भुषा, हाव-भाव-चेष्टा आदिद्वारा अभिव्यक्त हुन्छ । हास्यले केवल श्रृङ्गारद्वारा प्रेरणा प्राप्त नगरेर जीवनका विविध परिस्थितिद्वारा बल ग्रहण गर्दछ । (चतुर्वेदी, वरसानेलाल : पूर्ववत्) ।

पूर्वीय साहित्य शास्त्रीहरूले हास्यलाई तीन भागमा बाँडेको पाइन्छ : १) उत्तम हास्य, २) मध्यम हास्य र ३) अद्यम हास्य । यी प्रत्येकमा दुई धारा रहेका छन्- स्मित र हसित । वास्तवमा अकस्मात प्रकट हुने, घत परेर निस्कने र कुतकुताएर हँसाउने तीन किसिमले हाँसोको जन्म हुन्छ । (पाँडे, रामकुमार : पूर्ववत) मान्छे आनन्द वा हर्षका बेलामा हाँस्दा रागमूलक हाँसो हाँस्दछ भने कसैप्रति वा कोहीप्रति उपेक्षा प्रकट गरेर हाँस्दा द्वेषभावबाट प्रेरित भई हाँस्दछ । (जोशी, कुमारबहादुर : रचना, हास्यव्यङ्ग्य र हास्यव्यङ्ग्यकार भैरवको जयभुँडी, वर्ष १६, अङ्क २, २०३८ पुष-माघ, पृ. १२१ ।) राग प्रकृति हो र द्वेष विकृति हो । त्यसैले रागोत्पन्न हास्यमा जुन शुद्धता पाइन्छ, त्यो द्वेषोत्पन्न हास्यमा पाइन्न । वास्तवमा रागविहीन व्यक्ति आल्हादक र आल्हादित दुवै हुन सक्दैन । त्यसैले राग र रञ्जन वा आल्हाद अन्योन्याश्रित छन् । विशुद्ध हास्यको उपादेयता वस्तुतः मनोरञ्जन वा मानसिक तनावबाट मुक्ति हो तसर्थ यसको उत्पत्तिको स्रोत र सम्प्रेषणको लक्ष्य पनि राग नै हो । (अर्याल, भैरव : ज्ञान विज्ञानको दिशा, नेपाली साहित्यमा हास्यव्यङ्ग्य : एक नालीबेली, २०३३, वाराणसी, पृ. ५१ ।) यही राग र द्वेश नै हास्य र व्यङ्ग्यको सैद्धान्तिक प्रस्थापनाका रूपमा विकसित हुँदै आएको छ ।

वरिष्ठ भारतीय व्यङ्ग्यकार तथा समीक्षक वरसानेलाल चतुर्वेदीले हास्यव्यङ्ग्यको परिभाषाका क्रमकाे अन्तरसम्बन्धलाई यसरी उल्लेख गरेका छन्- “हास्यको उद्देश्य विशुद्ध मनोरञ्जन गर्नु हो जब कि व्यङ्ग्यको उद्देश्य हाँसोद्वारा दण्ड दिनु हो । हास्यमा भाव तत्व प्रमुख हुन्छ । व्यङ्ग्यमा वृद्धि तत्व । हास्यकार असङ्गतिहरूको चित्रणमा रस लिन्छ । व्यङ्ग्यकार विद्रोहलाई वाणी दिन्छ ।” (पाँडे, रामकुमार : पूर्ववत्) ।

अतः यी दुवैको समूचित समन्वय भएको रचना उत्कृष्ट हास्यव्यङ्ग्य रचना हुन्छ ।

२. विशिष्ट शैली हो हास्यव्यङ्ग्य
साहित्य सिर्जनामा रचनाकारले अभिव्यक्तिका विभिन्न तरीका अँगालेको हुन्छ । गद्यमा होस् या पद्यमा अभिव्यक्तिका यी तरीका हरेक स्रष्टामा अलग-अलग दृष्टिगोचर हुन्छन् । रचनाको संरचना, अर्थबोध, प्रस्तुति आदिमा अन्तर्निहित अभिव्यक्तिका यी तरीकालाई नै शैली भनिन्छ । शैलीका सम्बन्धमा प्रा. मोहनराज शर्माले भनेका छन्- “रचनाकारको यस्तो विशिष्ट रचना-प्रकार वा अभिव्यक्तिलाई शैली भनिन्छ, जसमा भाषिक एकाईको सौन्दर्यबोधक समुच्चय हुन्छ र भाषा एवम् विषयका दृष्टिबाट विचलन हुन्छ ।” (शर्मा, मोहनराज : २०४८) यो उनको शैलीसम्बन्धी विभिन्न परिभाषाहरूको समन्वयात्मक निचोड हो । उपर्युक्त कथ्यमा शैलीसँग सम्बद्ध निम्नलिखित महत्वपूणर् बुँदाहरू परेका छन्- १. शैली रचनाकारको रचना-प्रकार वा अभिव्यक्ति हो । २. यो (अभिव्यक्ति वा शैली) सामान्य नभएर विशिष्ट हुन्छ । ३. यो एकभन्दा बढी भाषिक एकाईहरूको सौन्दर्यबोधक समुच्चय हुन्छ । ४. यसमा सामान्य वा मानक (भाषा, विषय)- को अतिक्रमणद्वारा विचलन गरिएको हुन्छ । (शर्मा, मोहनराज : पूर्ववत्) ।

के त्यसो भए शैली भनेको भाषिक विचलन हो ? होइन । अभिव्यक्तिका प्रकारको कुरा गर्दा गद्य वा पद्य अथवा कविता, नाटक, उपन्यास, निबन्धजस्ता विधागत स्वरूपहरूको स्मरण हुन सक्छ तर यो स्वरूप माध्यम मात्रै हो । शैली भनेको भाषिक विचलन होइन अनि स्वरूप मात्र पनि शैली हुन सक्दैन । अन्तर्वस्तुविहीन स्वरूपको कल्पना गर्न नसकिए जस्तै भाषिक सङ्गतिबिनाको प्रस्तुतीकरण एउटा शैली त बन्न सक्ला तर त्यो सौन्दर्यबोधक समुच्चय बन्न सक्दैन, किनभने सिर्जनात्मक सौन्दर्यको अवबोधन विसङ्गतिपूणर् भाषिक प्रस्तुतिमा सम्भव हुँदैन । विचलनलाई व्यञ्जना मान्ने हो भने पनि अर्थ-सङ्गतिको अभावमा त्यसले भाव सम्प्रेषण गर्न सक्दैन । तर अन्तर्वस्तुको रूपगत अभिव्यञ्जना भने विविधतापूणर् नै हुन्छ । यही विविधता व्यक्ति लेखकमार्फत् प्रकट हुँदा विशिष्ट शैली निर्माण हुनपुग्छ । विसङ्गतिमा सङ्गति खोज्ने र सङ्गतिमा विसङ्गति केलाउने क्रममा नै कला साहित्यका विविध रूप, विविध रूपात्मक शैली र स्वरूपहरू निर्माण भएका छन् ।

अभिव्यक्तिका अनेक विधा, उपविधा र शैली-प्रवृत्तिहरूका बीच सिर्जनाले विधागत मान्यता, शैलीगत पहिचान र मानकहरू निर्माण गरेका छन् । यद्यपि कला, साहित्य र सङ्गीतका मानकहरू युगीन चेतनाका आँगनमा नै रहिआएका छन् । यति बेला हामी बीसौँ शताब्दी नाघेर अघि बढिरहेको परिप्रेक्ष्यमा विधा र शैलीसम्बन्धी मान्यतामा पनि परिवर्तन आइरहेको छ । सङ्गतिपूर्ण परिवर्तन र असङ्गतिपूणर् परिवर्तन दुवै देखापरेका छन् । सङ्गतिपूरणर् परिवर्तनका क्रममा देखापरेका रूपहरू हुन्- जन-शैलीका, जन-बोलीका मानक भाषाका सरल प्रस्तुतिहरू, क्षेत्रीय र जातीय भाषा र विभिन्न भाषिकामा भएका अभिव्यक्तिहरू आदि । विसङ्गतिपूणर् परिवर्तनका क्रममा देखापरेका शैलीहरू भने रूपहीनता, विषयहीनता, अर्थहीनता, दुर्वोध्यता, विनिर्माण, विखण्डन र विषयवस्तुको अस्पष्टता आदि छन् । त्यसैले शैली र विधामा प्रष्ट भिन्नता छ । ती भिन्नताहरूलाई सङ्क्षेपमा यसरी केलाउन सकिन्छ :

क) विधा विषयवस्तुलाई विन्यास गर्दै गरिने रचना-सिर्जनाको एउटा माध्यम हो भने शैली त्यही विन्यस्त विषयलाई विशेष ढङ्गमा प्रस्तुतीकरण गर्ने एउटा कला हो ।

ख) विधाले रचना पद्धति र प्रक्रियाको आधार प्रकट गर्दछ भने शैलीले त्यो आधारमा उभिएर शब्द र भावको संयोजनमा कटाक्ष प्रस्तुत गर्दछ ।

ग) विधाको निश्चित मानक निर्माण भएको छ, यो साहित्यको गद्य वा पद्य, दृश्य वा श्रब्य रूपमा मात्र होइन विषयवस्तुका आधारमा, आख्यानकलाका आधारमा, छन्दकला तथा लयविधानका आधारमा, लामो या छोटो अभिव्यक्तिका आधारमा, गायन वा वाचनका आधारमासमेत रूपगत वर्गीकरण गरिएको छ । कथा, निबन्ध, उपन्यास, समालोचना, प्रतिवेदनजस्ता गद्य रूप र कविता, छोक, खण्डकाव्य, महाकाव्य, गीत, गजलजस्ता रूपहरू यहाँ सम्झन सकिन्छ । तर शैलीको उपस्थिति कहीँ उपर्युक्त विधाहरूकै आश्रयमा अन्तर्विधात्मक, भाषिक, शास्त्रीय, स्वच्छन्द आदि ढाँचामा रहिआएको छ । बोध दुर्बोध, सरल जटिल, श्रृङ्खलित विश्रृङ्खलित आदि ढाँचामा पनि लेखकै पिच्छेका शैलीहरू फरक-फरक देखा पर्दैछन् ।

घ) विधा स्रष्टाको निजी पहिचान बन्न सक्दैन तर शैली भने निजी पहिचान बन्न सक्छ र बन्दै आएको छ ।

ङ) हास्यव्यङ्ग्य शैली कुनै एउटा साहित्यिक सृजनाका रूपमा नटाक्सिई विधा उप-विधामा अन्तर्निहित भएर प्रयोग भइआएको छ । गद्य, पद्य दुवै क्षेत्रमा मात्र होइन कथा, कविता, काव्य महाकाव्य, निबन्ध, उपन्यास सबैमा व्याप्त छ । कुनै लेखक विशेषको पहिचान त यसले दिन्छ नै, यसभन्दा बढ्ता उपर्युक्त विधाका अतिरिक्त पनि गम्भीर राजनीतिक, सामाजिक र सामयिक चिन्तनका लेखनमासमेत व्यङ्ग्य शैलीको प्रयोग भएको पाइन्छ । व्यङ्ग्य शालिन सीमाभन्दा बाहिर गएर लेख्ने लेखकहरू पनि देखिएका छन् तर तिनीहरूलाई आक्षेप आदि संज्ञाले सम्बोधन गरे पुग्छ ।

च) विधा र शैलीका बीचमा यति स्पष्ट भिन्नता रहँदारहँदै पनि हास्यव्यङ्ग्यलाई विधाको रूपमा बुझ्ने र विधाकै रूपमा उल्लेखसमेत गर्ने गरिएको पाइन्छ । हास्य विकृतिमूलक तत्वबाट सिर्जना हुने एउटा परिणति हो, त्यसै विकृतिका कारणले हास्यमा केही विभेदात्मक अवस्थाको निर्माण भइदिन्छ । व्यङ्ग्य विसङ्गतिको परिणाम हो । जीवन बाँच्ने परिधि र शैलीभित्र देखिने विकृतिमा हास्यको बीज निहित हुन्छ भने विसङ्गतिमा व्यङ्ग्यको बीज निहित हुन्छ । यद्यपि हास्यव्यङ्ग्य प्रस्तुतीकरणको एउटा पक्ष हो र एउटा शिल्प मात्र हो । (सुवेदी, राजेन्द्र : ०४३) । हास्यव्यङ्ग्य स्वतन्त्र विधाको रूपमा मान्य छैन । संस्कृत र युरोपेली साहित्यमा पनि व्यङ्ग्यलाई हास्यकै अङ्ग मान्ने गरिएको छ । कुनै स्वतन्त्र सत्ता भएको स्वयम्मा परिपूर्ण विषय-विशेष मात्र विधा अन्तरर्गत पर्छ । व्यङ्ग्य यस परिभाषाभित्र पर्दैन । व्यङ्ग्य वा हास्य आफैंमा कुनै एउटा विषय होइन, त्यस विषयलाई प्रस्तुत गर्ने एउटा पारा वा ढाँचा मात्र हो । त्यसकारण हास्यव्यङ्ग्यलाई विधा भन्नु अज्ञानता प्रकट गर्नु मात्रै हो ।

३. हास्यव्यङ्ग्यसम्बन्धी पूर्वीय मत
पूर्वीय साहित्यमा प्राचीन कालदेखि नै हास्यलाई नवरसमध्येको एउटा महत्ववपूर्ण रसका रूपमा व्याख्या गरिंँदै आएको छ । मान्छेका सवलताहरूले मान्छेकै दुर्वलताहरूलाई र मान्छेका सामान्य प्रवृत्तिहरूले उसकै दुस्प्रवृत्तिहरूलाई गिज्याउनुबाट पनि एउटा बेग्लै स्वादको रस चुहिन्छ, जसलाई शास्त्रीहरूले हास्यरस भनी नवरसको पङ्क्तिमा राखेका छन् । (अर्याल, भैरव : छ्याकन, २०२५) ।

हास्यरसलाई रसराजका रूपमा स्थापित गर्ने प्रयास नरसिंह चिन्तामणि केलकरले गरे । यो कुराको उल्लेख केलकरको पुस्तक शुभाषित आणिवाणी विनोदमा गरिएको छ । यसैलाई आधार मानी सन् १९१५-१६ मा वनारसबाट प्रकाशित हुने नागरी प्रचारिणी पत्रिकामा हास्यरस शीर्षकमा एक लेखमाला प्रकाशन गरियो, जसमा हास्यरसलाई रसराज सिद्ध गरिएको थियो । (डा. चतुर्वेदी, वरसानेलाल : पूर्ववत् ) ।

पूर्वीय मान्यता अनुरूप हास्य र व्यङ्ग्यलाई अलग-अलग तत्वका रूपमा लिइन्थ्यो । सामान्य दृष्टिले हेर्दा हास्यव्यङ्ग्य मठ्याहा भाइ जस्ता लाग्छन् । दुवैको क्रियाकलाप, गुण विशेषमा समानता छैन । यस भिन्नताले हास्यअन्तर्गतको विभेदलाई देखाउँछ तर जातीय भिन्नतालाई नै होइन, यसकारण समानधर्मी हुन् र समानार्थी पनि । (प्रधान, कृष्णचन्द्रसिंह : २०३८) । प्राचीन आचार्यहरू ‘राग’ बाट हास्यको सृष्टि भयो भन्छन् । भरतले श्रृङ्गारबाट यसको उत्पत्ति भएको हो, यो श्रृङ्गारको अनुकृति हो भनेका छन् । यस प्रकार रजोगुणको अभाव र सत्व गुणको अविर्भावले अथवा सबै किसिमका रसाभाषबाट हास्य जन्मन्छ भन्ने आचार्यहरूको मत छ । वास्तवमा प्राचीन कालदेखि नै जीवनमा हास्य रसले महत्वपूणर् ठाउँ ओगटेको छ । यसले सर्वसाधारणलाई आकर्षित गर्दै सबैको प्रेम र श्रद्धा पाएको छ । सुखी जीवनको निर्माण हेतु रसाइ बसाई मनोविनोद र आनन्द प्रदान गर्ने हास्य नै एउटा निर्विवाद सत्य हो, सबै वादविवाद र प्रतिवादबाट मुक्त । (प्रधान, कृष्णचन्द्र- सिंह : पूर्ववत् ) ।

‘राग’बाट हास्यको सृष्टि भयो भन्ने प्राचीन आचार्यहरूको मतप्रति सहमति जनाउँदै हास्यव्यङ्ग्यकार भैरव अर्यालले भनेका छन्- ‘राग प्रकृति हो र द्वेष विकृति हो । त्यसैले रागोत्पन्न हास्यमा शुद्धता पाइन्छ, त्यो द्वेषोत्पन्न हास्यमा पाइन्न । वास्तवमा रागविहीन व्यक्ति आल्हादक र आल्हादित दुवै हुन सक्दैन । त्यसैले राग र रञ्जन वा आल्हाद अन्योन्याश्रित छन् । विशुद्ध हास्यको उपादेयता वस्तुतः मनोरञ्जन वा मानसिक तनाउबाट मुक्ति हो, त्यसर्थ यसको उत्पत्तिको श्रोत र सम्प्रेषणको लक्ष्य पनि राग नै हो भन्ने दृष्टिकोण पनि रहेको छ ।’ (अर्याल, भैरव : ज्ञान विज्ञानको दिशा पूर्ववत्, पृ. ५१ ।) सबै रसका आ-आफ्ना स्थायी भाव हुन्छन् । हास्यरसको स्थायी भाव ‘हास’ हो । यही हास स्थायी भावको विकसित स्वरूप नै हास्यरसका रूपमा निष्पन्न हुन्छ । (भट्टराई, भरतकुमार : पूर्ववत्) ।

पूर्वीय साहित्य सिद्धान्तका रूपमा स्थापित ध्वनिवादले काव्यमा व्यङ्ग्यलाई प्रमुख तत्वका रूपमा स्वीकारेको पाइन्छ । ध्वनिवादका प्रवर्तक आनन्द वद्र्धनले आफ्नो ध्वन्यालोकमा काव्यमा रहने व्यङ्ग्यार्थ वा ध्वनिलाई नै काव्यको आत्मा मानेका छन् । ध्वनिवादको स्थापना हुनुभन्दा पूर्व अभिदा तथा लक्षणा शब्दशक्तिलाई नै काव्यको शब्दार्थबोध गराउने मूल्यवृत्ति मानिन्थ्यो । त्यसैले आनन्द वद्र्धनले व्यञ्जनावृत्तिको स्थापनाद्वारा ध्वनिविरोधी विविध मतलाई खण्डन गर्दै आफ्नो ध्वनिवादी मान्यतालाई स्थापित गरेका छन् । (भट्टराई, भरतकुमार : पूर्ववत्) । उनी र उनका अनुयायीहरूका दृष्टिमा ध्वनिको मूलआधार व्यञ्जनावृत्ति हो र यसै वृत्तिले काव्य वा साहित्यमा व्यङ्ग्यार्थ, प्रतीयमानार्थ वा ध्वन्यार्थ प्रकट गर्न सक्दछ । काव्यको प्राण, मूलतत्व ध्वन्यार्थलाई नै काव्यको मूलात्मा घोषित गर्दै पूर्वीय काव्यशास्त्रीहरूले अत्यन्त सशक्त साहित्य सिद्धान्तका रूपमा ध्वनिवाद स्थापना गरेको पाइन्छ । ध्वनिवादको मूलआधार व्यञ्जना शक्ति हो र व्यञ्जनावृत्तिद्वारा प्रकट हुने अर्थलाई ध्वनि भनिन्छ । अर्थात् ध्वनि भनेकै व्यञ्जना शक्तिद्वारा व्यञ्जित हुने व्यङ्ग्य अर्थ हो । (भट्टराई, भरतकुमार : पूर्ववत्) ।

व्यङ्ग्यार्थ साहित्यका पददेखि लिएर प्रबन्धसम्म व्याप्त रहन्छ भन्ने मान्यतालाई ध्वनिवादीहरूले सोदाहरण प्रस्तुत गरेका छन् । तसर्थ व्यङ्ग्य शब्द र वाक्यमा मात्र होइन सिङ्गो साहित्य कृतिमा नै रहन सक्छ । ध्वनिवादीहरूले सङ्केत गरेको व्यङ्ग्य शब्द र वाक्यका स्तरमा मात्र होइन, सिङ्गो प्रबन्धका स्तरसम्म व्याप्त हुन्छ । त्यसै हुनाले ध्वनिवादी आचार्य आनन्दवद्र्धनले काव्यको वर्गीकरणका क्रममा व्यङ्ग्यार्थ प्रधान ध्वनि काव्यलाई उत्तम, वाच्यार्थ प्रधान व्यङ्ग्यार्थ गौण भएको गुणीभूत व्यङ्ग्य काव्यलाई मध्यम र व्यङ्ग्यार्थरहित चित्र काव्यलाई अद्यम काव्यका रूपमा विभाजित गरेका छन् । (भट्टराई, भरतकुमार : पूर्ववत्) ।

विशेष गरेर व्यङ्ग्य हास्यबिना पनि लेखिन सक्छ, बाँच्न सक्छ । व्यङ्ग्यबिना हास्यको निर्बाह नभइरहेको कुरा नेपालीमा हास्यव्यङ्ग्यका नाउँमा पढिने वा सुनाइने रचनाहरूबाट बोध हुन्छ ।’ (प्रधान, कृष्णचन्द्रसिंह : पूर्ववत्) । यसरी उनको मतमा हास्य र व्यङ्ग्य संयुक्तै रहेको दृष्टिकोण अगाडि आउँछ । अर्का शास्त्रीय समालोचक वासुदेव त्रिपाठीको मतमा ‘नेपाली हास्यव्यङ्ग्य अन्तर्गतको हास्य शब्द भावाविशेषकै रूपमा रहेको छ भने व्यङ्ग्य शब्दमा छेडपेचको जोड हुँदाहुँदै जब युगलका रूपमा प्रयोग हुन्छन् त्यतिखेर यस संयुक्त वा समस्त शब्दले पारस्परिक अर्थ सहभागिता ग्रहण गर्नु स्वाभाविकै हो, सँगै चिरकालसम्म रहँदा बस्दा संसर्गको फलस्वरूप पारस्परिक प्रभाव परिनै हाल्छ । त्यसो भए हास्यव्यङ्ग्य शब्दले एकसाथ निम्न लिखित तीन तात्पर्य बहन गरेको छ भन्न सकिन्छ- १. भाव विशेष (हास्य), २. छेडपेच, ३. व्यञ्जकता । … हास्यव्यङ्ग्यको संयुक्त शक्ति जति होला त्यति शायद सम्बन्ध विच्छेदित हास्य वा व्यङ्ग्य एक्लैमा नहोला ।’ (त्रिपाठी, वासुदेव : पूर्ववत्) । उनको यो मतले हास्यव्यङ्ग्यको संयुक्त रूपलाई अझ प्रस्टयाएको छ भन्न सकिन्छ ।

पूर्वीय चिन्तनअनुरूप व्यङ्ग्य सामान्य छेडपेच वा घोचपेच मात्र नभई व्यञ्जना शक्तिद्वारा व्यञ्जित हुने विशिष्ट अर्थ वा व्यङ्ग्यार्थ पनि हो । यो शैलीगत सौन्दर्य मात्र नभई भावगत वा अर्थगत सौन्दर्यसमेत हो । यसै क्रममा यो पनि भन्न सकिन्छ, पाश्चात्य व्यङ्ग्यले पनि केवल शब्दक्रिडा मात्र व्यङ्ग्य नभई त्यसले प्रदान गर्ने अर्थको पनि चोटिलोपनप्रति सङ्केत गरेको छ ।

त्यसै कारणले पनि रूपगत वा शैलीगत विशेषतामा आधारित हास्य र व्यङ्ग्यलाई संयुक्त रूपमै हेरी दुवैको संयुक्त स्वरूपमार्फत साहित्यमा सामाविष्ट गर्ने हो भने प्रभावपूर्ण हास्यव्यङ्ग्य रचनाको सिर्जना गर्न सकिन्छ । यताका नेपाली हास्यव्यङ्ग्यकारहरूले यो अन्तर्वस्तु बझेर या नबुझेरै पनि हास्य र व्यङ्ग्यको संयुक्त स्वरूपलाई अगाडि बढाउने प्रयत्नको थालनी भने गरिसकेका छन् । भैरव अर्याल यसको पहिलो र सफल अगुवा हुन्, विशेष गरी निबन्धमा ।

४. हास्यव्यङ्ग्य : प्रहारको निशाना
हाँसो मानवीय कमजोरीप्रतिको सहानुभूति पनि हो । अनि व्यङ्ग्य विसङ्गत र विद्रूप स्थितिमाथि सुधारको आग्रह पनि हो । हास्य कहिलेकाहीँ निरुद्देश्य हुन सक्ला तर व्यङ्ग्य निरुद्देश्य हुनै सक्दैन । मन र शरीर स्वस्थ बनाउन हाूस्नु परेजस्तै समाज स्वस्थ्य राख्न व्यङ्ग्यको आवश्यकता हिजो पनि थियो, आज पनि उत्तिकै छ । समाजमा व्याप्त कुरीति, कुसंस्कार, विकृति र विकारलाई उच्छेद् गरी सङ्गति निर्माण गर्नु हास्यव्यङ्ग्यको प्रमुख उद्देश्य हो । समाजका र व्यक्तिका निजी व्यवहारमा पनि थुप्रै असङ्गत कुराहरू हुने गर्दछन् । समाजलाई साँच्चिको समाज र मान्छेलाई साूच्चिकै मान्छे हुन नदिने ती असङ्गत कुराहरूप्रति हास्यव्यङ्ग्यले तीव्र असहमति जनाउँछ । मिठासपूर्ण र मनोरञ्जनपूर्ण विद्रोहलाई वाणी दिन्छ । यो विद्रोह ध्वंशका निम्ति होइन निर्माण र सुधारका निम्ति अघि बढ्छ । अतएव हास्यव्यङ्ग्यको मूलउद्देश्य सामाजिक कुरीति, सरकारी कुनीति, व्यक्ति विकृति र सबै विरोधाभासलाई परिहासपूर्वक नास पार्ने, मन र मस्तिष्कलाई हास्यरसले शक्ति प्रदान गरी मनोरञ्जनसाथ जीवन रसिलो, हँसिलो रमाइलो पार्ने, मानिसलाई सही मानिस बन्न र सुन्दर समाजको सृजना गर्नमा सघाउन (पाँडे, रामकुमार : पूर्ववत्) रचनात्मक सहयोग प्रदान गर्ने आदि रहेका छन् ।

हास्यव्यङ्ग्यको उद्देश्यहरूको रेखाङ्कन गर्दा केही विद्वान्हरूका अभिव्यक्तिको स्मरण गर्नु सान्दर्भिक हुनेछ । भारतीय साहित्यकार रामनारायण उपाध्यायले भनेका छन्- ‘व्यङ्ग्य त्यसले नै गर्न सक्छ, जसको दिमागमा एउटा स्वस्थ समाज निर्माणको नक्सा हुन्छ ।’ (प्रभात, विष्णु : २०५४, (प्रस्तुत उद्धरणबाट) पाश्चात्य विद्वान् निकोलले भनेका छन्- ‘व्यङ्ग्यमा नैतिकताको अतिक्रमण हुन्छ । दया करुणा र उदारता हुँदैन । मानिसको शारीरिक, चारित्रिक एवम् सामाजिक असम्बद्धतामा यसले निर्धक्क प्रहार गर्दछ ।’ (पूर्ववत्, प्रस्तुत उद्धरणबाट) । पाश्चात्य समालोचक मेरिडिथले भनेका छन् ‘व्यङ्ग्यकार नैतिकताको ठेकेदार हुन्छ । प्रायशः ऊ समाजको दुर्गन्धयुक्त फोहोर सफा गर्ने व्यक्तिको रूपमा रहन्छ । उसको कार्य सामाजिक विकृतिहरूको दुर्गन्धलाई सफाई गर्नु नै हुन्छ ।’ (भट्टराई, भरतकुमार : पूर्ववत्) ।

त्यसैगरी प्रो. सदरल्याण्डले भनेका छन्- ‘व्यङ्ग्यकारको कार्य न्यायधीशको झैं न्यायपालन गराउनु हो र शिष्ट समाजका मर्यादाहरूको रक्षा गर्नु हो । यसको कार्य नरनारीहरूलाई नैतिक, बौद्धिक, सामाजिक एवम् अन्य कसौटीहरूमा राखेर खरो उत्रनका निम्ति सचेत पार्नु पनि हो ।’ (प्रो. सदरल्याण्ड : इङ्लिस सटायर। पृ. १९९ ।) नेपाली साहित्यका अध्येयता तथा व्यङ्ग्यकार मोहनराज शर्माले भनेका छन्- ‘व्यङ्ग्य कौशलपूर्वक विशिष्ट ढङ्गमा भनिएको गर्हणायुक्त यस्तो तीखो कुरो हो, जसमा सुधारका उद्देश्यले मानवीय दुर्वलताहरूको घोर आलोचना गरिएको हुन्छ ।’ (शर्मा, मोहनराज : पूर्ववत्, पृ. ३१ ।) समालोचक वासुदेव त्रिपाठीले भनेका छन्- ‘आफ्नो समाजका नानापक्षका असङ्गति र विडम्बनाको सूक्ष्म तटस्थ अन्तर्वेक्षण गर्दै सृजनात्मक रूपमा त्यसको रेखाङ्कन गरी समाजलाई आङ्कना सामाजिक असङ्गतिप्रति सचेत हुने र सुध्रने प्रयत्न गर्न उत्प्रेरित तुल्याउनु नै मेरा विचारमा व्यङ्ग्यकारको समाजिक दायित्वका साथै कलात्मक उत्तरदायित्व पनि हो ।’ (त्रिपाठी, वासुदेव त्रिपाठी : रचना पूर्ववत्) ।

समालोचक कृष्णचन्द्रसिंह प्रधानले भनेका छन्- ‘सहजै सकार्न नसकिने स्थापित समाज, जीवनभित्रका विषमताहरूको यथार्थ व्यङ्ग्यको धरातल हो, जो गम्भीर अभिव्यञ्जनाका एकीकृत स्वरूप भई चिन्तनको क्षेत्रमा विशिष्टता राख्ने गर्दछ ।’ (प्रधान, कृष्णचन्द्रसिंह : रचना पूर्ववत्) । पूर्वका तथा पश्चिमका विद्वानहरूका उपर्युक्त कथनको अध्ययनबाट के निश्कर्ष निकाल्न सकिन्छ भने हास्यव्यङ्ग्यको उद्देश्य समाज र व्यक्तिभित्र रहेका विचलन विसङ्गत र विकृत स्थितिमाथि मनोरञ्जनात्मक प्रहार गरी सङ्गति र अनुशासन कायम गर्नु हो । समाजका पिला र खटिराहरूलाई निचोरेर, सफा पारेर निको पार्ने प्रयत्न गर्नु हो ।

५. हास्यव्यङ्ग्यको आधारभूत तत्व
यथार्थ र आदर्शका बीच उत्पन्न खाडल नै हास्यव्यङ्ग्य सिर्जनाको जग हो । जे हुनुपर्ने र जस्तो भइरहेको छ का बीच पाइने अन्तर्विरोध नै हास्यव्यङ्ग्यको मूलजरो हो । विसङ्गति र विकृति नहुँदो हो त हास्यव्यङ्ग्यको सिर्जना एवम् उद्भव पनि हुने थिएन । यहाँ हास्यव्यङ्ग्य रचना निसृत हुने केही आधारभूत तत्वहरूको विवेचना गर्नु उपयुक्त हुन्छ ।

हास्यव्यङ्ग्यका तत्वहरूलाई सामान्यतः दुई तहमा विभक्त गर्न सकिन्छ : १. अन्तर तत्व र २. वाह्य तत्व । विसङ्गतिको बोध गर्न सक्ने लेखकीय तथा पाठकीय सम्वेदना अन्तर तत्व अन्तर्गत पर्दछ । हुनुपर्ने कुरा भइरहेको छ कि हुनुनपर्ने कुरा भइरहेको छ भनेर अन्तर्दृष्टिद्वारा पर्गेल्न सक्ने क्षमता नभई हास्यव्यङ्ग्य सिर्जना गर्न सकिन्न । यही क्षमता नै विसङ्गतिबोध गर्न सक्ने सम्वेदना हो । रोग के हो भन्ने कुरा पहिचान नभएसम्म उपचार वा औषधि गर्न सकिन्न । कुन चाहिँ ठाउँमा र्‍याङ्ठ्याङ् मिलेको छैन र कुन चाहिँको प्रवृत्तिले अनावश्यक विचलन ल्याइ सामाजिक अग्रगतिको निम्ति अवरोध खडा गरेको छ भन्ने यथेष्ट जानकारी प्राप्त गरेपछि मात्रै तत्तत् ठाउँ वा क्षेत्रमा हाँसोको हलुवासँगै व्यङ्ग्यको बारुद्ध कोच्न सकिन्छ । अनि लोली मिलाएर हास्यव्यङ्ग्यको गोली पड्काउन सकिन्छ । यो दृष्टिकोणसँग सम्बन्धित कुरा पनि हो ।

कसमाथि अपार माया समर्पण गर्दै कसमाथि व्यङ्ग्यको तातो भुतभुते खन्याउनु पर्ने हो भनेर जाँचबुझ एवम् छानवीन गर्छ दृष्टिकोणले । यथार्थमा हास्यव्यङ्ग्य विद्यमान विसङ्गतिप्रति अस्वीकृति हो, विरोध हो, विद्रोह हो र असहमति हो । अनाचार, पापाचार, दुराचार, भ्रष्टाचार, व्यभिचार, अनैतिकता, अकर्मण्यता र अमानवीयताका विरोधमा भीषण गोलावारी गरी अन्तरध्वंश मच्याउँदै आचार, नीति, नियम र अनुशासनपूर्ण जीवनको पक्षमा वकालत गर्ने हास्यव्यङ्ग्यको आवश्यक बाह्य तत्व भनेको विसङ्गति नै हो । हास्यव्यङ्ग्यको मूलजरो विसङ्गत जीवन र मनुष्यका भूलमा हुन्छ । विसङ्गतिको संसार अति सामान्य स्थितिदेखि लिएर गहन गम्भीर समस्याहरू र मानवीय यन्त्रणाहरूसम्म फैलिएको हुन्छ । औचित्यमाथि अनौचित्यको प्रभाव, समताको भावमा विषमताको विघ्नता, सिलसिलामा बेसिलसिलाको प्रवेश, सत्यतामा असत्यताको अतिक्रमण आदिले विसङ्गति जन्मन पुग्छ । (भट्टराई, भरतकुमार : पूर्ववत्) ।

हास्यव्यङ्ग्यको सर्वप्रमुख तत्व विसङ्गतिका सम्बन्धमा थोरै अन्तरदृष्टि दिनु राम्रो हुन्छ । जीवनका विविध पाटाहरूमा पाइने विसङ्गतिहरू अर्थात् व्यक्ति, व्यक्तित्व, समाज, धर्म, नैतिकता, राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीति वा शासन आदिमा पाइने विसङ्गतिहरूलाई व्यङ्ग्यकारले आफ्ना अन्तरचक्षुले अवलोकन गर्दछ र त्यसलाई सार्वजनिक रूपले उदाङ्ग्याई दिन्छ । यसरी जीवनमा विविध रूपमा व्याप्त विसङ्गतिले जब कलाकारको चेतनामा दुन्दुभी बजाउन थाल्छ तब त्यो व्यङ्ग्यका माध्यमले कौशलपूर्वक विशिष्ट ढङ्गमा साहित्य र कलामा अभिव्यक्त हुन पुग्दछ । अर्थात् विसङ्गति वा मानवीय दुर्वलताहरूको घोर आलोचना गर्दै सुधारको उद्देश्यसमेत राखेर गरिने तीव्र घृणाको कौशलपूणर् विशिष्ट साहित्यिक अभिव्यक्तिका रूपमा व्यङ्ग्य देखापर्दछ । (भट्टराई, भरतकुमार : पूर्ववत्) ।

समाज वा जीवनमा व्याप्त विसङ्गतिलाई सूत्रबद्ध रूपमा यसरी वर्गीकरण गर्न सकिन्छ :
(क) सामाजिक विसङ्गति : सामाजिक जीवनका धेरै कुराहरूमा सङ्गति मिलिरहेको हुन्न । सामाजिक संरचना, त्यहा» उपस्थित जात-जाति, आचार-व्यवहार, वर्ग-वर्गबीचको शोषण-उत्पीडन, होची-अर्घेली, उच-नीच, रहन-सहन आदिमा अन्तरनिहीत विसङ्गति नै सामाजिक विसङ्गति अन्तर्गत पर्दछ । जातीय विभेद, अन्धविश्वास, कुसंस्कार, महिला र पुरुषबीचको भेद, सम्पन्नता र विपन्नताबीचको भेदले खडा गरेको असङ्गत स्थिति पनि सामाजिक विसङ्गति नै हो । यस किसिमका विसङ्गतिहरूलाई क्रूरता र निर्ममतापूर्वक हास्यव्यङ्ग्यमा उतार्न सकिन्छ ।

(ख) राजनीतिक विसङ्गति : राजनीति राज्य सञ्चालनको मेरुदण्ड हो । विसङ्गतिको ठूलो लपेटा यहाँ पनि हुन्छ । शक्तिमा आफू पुग्न, या सत्तामा आफू उक्लिनका निम्ति अर्कोलाई उठ्नै नसक्ने गरी पछारिन्छ । अनि कसैलाई आकाशसम्म उचालिन्छ त कसैलाई पाताल पुग्ने गरी पछारिन्छ । यसरी उचाल्नु र पछार्नु स्वयम्मा एउटा ठूलो असङ्गति हो । यो असङ्गतिको बोटमा राजनीतिका अवसरवाद, धुत्र्याईं, छलकपट, धोका, षड्यन्त्र, जालसाँजी, झूठ, फरेव, प्रपञ्च, फोहरी महत्वकाङ्क्षा, कटुता, किनबेच, हत्या हिंसाजस्ता अनेकन फलहरू फलिरहेका हुन्छन् । आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिको यस्तै जर्जर र बर्बर स्थिति हास्यव्यङ्ग्यका निम्ति उर्वर विषयवस्तु बनिरहेको हुन्छ ।

(ग) आर्थिक विसङ्गति : राज्य सञ्चालनको दोस्रो मेरुदण्ड त्यहा»को अर्थतन्त्र हो । अर्थतन्त्रको अग्रगति र अधोगतिले देशको अग्रगति तथा अधोगतिको दिशा निर्धारण गरिरहेको हुन्छ । तर असङ्गति एवम् विकृतिका बलिया जराहरू त्यहा» पनि पसेका हुन्छन् । अर्थतन्त्रभित्र घुसेको विकृतिले देशको सिङ्गै अर्थतन्त्रलाई धरासायी पार्न सक्छ । यही अर्थतन्त्रस»ग सम्बन्धित असङ्गति र अड्मिल्दा पक्षहरूलाई आर्थिक विसङ्गति भन्नु पर्दछ । आर्थिक विषमताले ग्रस्त समाजमा कोही धनी हुन्छन्, कोही गरीब हुन्छन् । यसले आर्थिक न्यायको अभाव, निम्नवर्गका मानिसमाथि उच्चवर्गका मानिसको शोषण-दोहनलाई मलजल तथा टेकोपुँडो गरिरहेको हुन्छ । यो समग्रमा आर्थिक विसङ्गति अन्तर्गत पर्दछ । यो विसङ्गति पनि हास्यव्यङ्ग्यको निम्ति उपयुक्त खजाना सावित हुन्छ र हुँदै आएको पनि छ ।

(घ) प्रशासनिक विसङ्गति : राज्य व्यवस्था अन्तर्गत अनेक प्रशासनिक यन्त्रहरू परिचालित हुन्छन् । तर ती यन्त्रहरू सबै बेला र सबै क्षणमा ठीक ठीक ढङ्गले सञ्चालित हुँदैनन् । यसो नहुनमा त्यहाँ पनि अनेकन विकृतिले जरा गाडिरहेको हुन्छ । असमानता, पक्षपात, दुराग्रह, स्वेच्छारी, ढिलासुस्ती, घूस-नजराना, चाकरी, चुक्ली र चाप्लुसी, नातावाद, क्रिपावाद, कमिसनखोरी, भ्रष्टाचारी जस्ता विकृतिले प्रशासनिक यन्त्रलाई कुँजो र अपाङ्ग बनाइरहेको हुन्छ । यो प्रशासनिक विसङ्गतिको दारुण तस्वीर हो । यही दारुण स्थितिलाई विषयवस्तुको ताँदो बनाएर हास्यव्यङ्ग्यले तीर हान्छ, यावत विकृतिको शिर छेदन गर्दछ ।

(ङ) धार्मिक तथा साँस्कृतिक विसङ्गति : जुनसुकै देशमा पनि विभिन्न धर्म, मत वा सम्प्रदायका मानिसहरू बसोबास गर्दछन् । उनीहरूको धर्म अथवा सम्प्रदायलाई आधार बनाइ गरिने पाखण्डपूणर् क्रियाकलापहरू धार्मिक विसङ्गतिका द्योतक हुन् । साँस्कृतिक क्षेत्रमा उत्पन्न विकृत स्थितिले साँस्कृतिक वितण्डा खडा गरी राष्ट्रिय र मौलिक संस्कृतिलाई क्षतविक्षत पारिरहेको हुन्छ । यस्ता धार्मिक एवम् साँस्कृतिक विसङ्गतिलाई मियो बनाएर हास्यव्यङ्ग्यले उछितो काड्ने काम गर्दछ ।

(च) मानवीय विसङ्गति : मान्छे एउटा व्यक्ति हो तर ऊ समाजमा बस्छ । उसका नीति, आचरण, स्वभाव, र आनीबानीमा अन्तरनिहीत असङ्गतिले सामाजिक जीवनलाईसमेत असर नपारी छोड्दैन । व्यक्तिभित्रका कमजोरी, दुर्वलता, दोष र अकर्मण्यताहरू वैयक्तिक विसङ्गतिको कोटीमा पर्दछन् । यद्यपि यी कमजोरी, दुर्वलता, दोष र अकर्मण्यताले सिङ्गो समाजलाई अधोगतितर्फ धकेलिरहेको हुन्छ । अतएव हास्यव्यङ्ग्य यस्ता वैयक्तिक विसङ्गतिलाई पनि लेथ्नो काड्न हर्दम् तत्पर रहन्छ ।

यो र यस्तै विसङ्गतिका सेरोफेरोमा हास्यव्यङ्ग्य सङ्गति खोज्दै अघि बढिरहेको हुन्छ । हास्यव्यङ्ग्यले हास्य, व्यङ्ग्य, वक्रोक्ति, वाग्वैदग्ध्य, प्यारोडी, प्रहसन, अतिरञ्जना, हाँसो, ठट्टा र कतिपय स्थितिमा त गालीगलौज र निन्दा तथा आक्षेप जस्ता विभिन्न उपकरण मार्फत् विसङ्गतिका विरुद्ध आक्रमण गरिरहेको हुन्छ । विसङ्गतिहरूको छोटोमोटो यो विवेचनाले के प्रष्ट पार्दछ भने विसङ्गति नै हास्यव्यङ्ग्यको सर्वप्रमुख र मूलतत्व हो ।

६. हास्यव्यङ्ग्य अभिव्यक्तिको माध्यम
हास्यव्यङ्ग्यको उपस्थिति अन्तर्विधात्मक रहँदै आएको छ । एउटा कुशल स्रष्टाले साहित्यको कुनै पनि विधालाई माध्यम बनाएर हास्यव्यङ्ग्य रचना सिर्जना गर्न सक्छ । एउटै खास विधाको मात्रै बन्धन न त पूर्वमा बाँधिएको छ न त पश्चिममा । कसैले कविता विधाको आड लिएर हास्यव्यङ्ग्य रचेका छन् भने कसैले निबन्ध विधालाई शिरानी हालेर यसको सिर्जना गरेका छन् । कोही कथात्मक विधामै हास्यव्यङ्ग्यको रचना गर्न रुचाउँछन् त कोही नाटकको निर्माण गरेर हास्यव्यङ्ग्यको प्रयोजन पूरा गर्दछन् । जसलाई जेमा चित्त पर्‍यो त्यसैलाई माध्यम बनाएर हास्यव्यङ्ग्य लेख्न र विसङ्गतिको ढाड सेक्न सकिन्छ । साहित्यको जुनसुकै पनि विधा हास्यव्यङ्ग्य अभिव्यक्तिका निम्ति सहज मानिन्छ ।

वर्तमान नेपाली हास्यव्यङ्ग्य निबन्ध विधामा मौलाएको छनक पाएर कतिपय व्यक्तिहरू हास्यव्यङ्ग्य अभिव्यक्तिको माध्यम निबन्ध विधा मात्रै हो भन्ने भ्रममा परेका पनि हुन सक्छन् । तर ‘व्यङ्ग्य कुनै एक विधाको पेवा होइन, सबै विधाको टेवा हो । तसर्थ यो सबै विधाका उत्तिकै नजिक रहेको छ, जति प्रखर व्यङ्ग्य स्टप न्यूज नाटकमा छ त्यतिकै प्रखर व्यङ्ग्य स्लीपिङ ब्युटी उपन्यासमा पनि छ, जति प्रखर व्यङ्ग्य वेस्ट ल्याण्ड काव्यमा छ, त्यतिकै प्रखर व्यङ्ग्य एसेज अफ इलियाका निबन्धमा पनि छ । जति प्रखर व्यङ्ग्य उब्दुशेन्कुका एकाङ्कीमा छ त्यतिकै प्रखर व्यङ्ग्य सात्र्रका कथामा पनि छ । जुनसुकै विधाभित्र पनि व्यङ्ग्यको प्रखरता र तीव्रतामा रूपभेदले कमी आउँदैन । तसर्थ सर्वव्यापी व्यङ्ग्यलाई निबन्धको टाँसो लाएर कुँज्याउनु उचित देखिन्न । व्यङ्ग्यको सेरोफेरो गद्य र पद्य दुवै भएकाले यसलाई कुनै एक बट्टामा खाँदेर सिलबन्दी गर्नु हितकर नहोला ।’ (शर्मा, मोहनराज : पूर्ववत्) । लेखक वा स्रष्टाको रुचि, क्षमता र छनौटमा मात्रै निर्भर हुन्छ, कुन विषयवस्तु समातेर कुन विधालाई माध्यम बनाएर हास्यव्यङ्ग्यको प्रयोजन भने केवल एउटै छ- विसङ्गतिका मर्ममा चोटिलो प्रहार गर्नु ।

हास्यव्यङ्ग्यको सर्वव्यापकतालाई वरिष्ठ हास्यव्यङ्ग्यकार रामकुमार पाँडेले यसरी प्रस्तुत गरेका छन्- ‘यो साहित्यका सबै विधामा जन्मन सक्छ । कथा निबन्ध हुन सक्दैन, निबन्ध कविता हुन सक्दैन । तर हास्यव्यङ्ग्य कथा, कविता, काव्य, निबन्ध, नाटक उपन्यास सबै हुन सक्छ । सबै रसमा हास्य भिज्न सक्छ । रौद्र रस श्रृङ्गार रस हुन सक्दैन न त वीर रस करुण नै हुन सक्छ । तर हास्य रस रौद्र, श्रृङ्गार, वीर, अद्भूत र करुण सबैमा उत्पन्न हुनसक्छ । यो रस बालवृद्ध बनिता सबैलाई रुच्ने र पच्ने भएकोले साहित्यमा यसको अस्तित्व र महत्व छुट्टै छ । यसको सत्ता र महत्ता विविधताबाट पत्ता पाइन्छ ।’ (पाँडे, रामकुमार : पूर्ववत्) ।

यसबाट के प्रष्ट हुन्छ भने हास्यव्यङ्ग्य अभिव्यक्तिका माध्यमहरू अपरिमित छन् । साहित्यका स्थापित विधाहरूदेखि विषयगत व्याप्ति हुँदै, शब्दचित्र र श्रव्यदृश्य माध्यमहरूसम्म हास्यव्यङ्ग्य कुम जोडेर अघि बढ्दै छ । उखान टुक्का, चुट्का, भाषण, चिठीपत्र, राशिफल, पूरा कथा आदिका रूपमा पनि हास्यव्यङ्ग्यले फेरो मार्दैछ । बदलिंदो परिवेश र परिस्थितिअनुरूप हास्यव्यङ्ग्य अभिव्यक्तिका माध्यमहरू पनि परिवर्तित र परिमार्जित हुँदै नयाँ-नयाँ प्रयोगतर्फ पनि विस्तार हुँदै गएको पाइन्छ ।

७. धादिङेली हास्यव्यङ्ग्यको इतिहास पर्यावलोकन
प्राथमिक कालीन नेपाली साहित्यको जग धादिङको माटोबाटै उठेको ऐतिहासिक तथ्यले धादिङका स्रष्टा र सिर्जनकर्मीहरूलाई गौरवान्वित गरेको छ । प्राथमिक कालका उल्लेख्य कवि लेखक आख्यानकार र अनुवादकहरू धादिङकै माटोमा जन्मिएको यथार्थ शोध-अनुसन्धान र अन्वेषणहरूबाट प्रमाणित हुँदै आएको छ । प्राथमिक कालका ओजश्वी प्रतिभा दैवज्ञकेशरी अर्याल, विद्यारण्यकेशरी अर्यालहरू ‘धादिङेली साहित्यिक परम्पराका गौरवशाली प्रथम शिलान्यासकार हुन् (प्रा.डा. लम्साल, रामचन्द्र : २०७२) यी अर्याल बन्धुहरूको वासस्थान धादिङको सुनखानी हो । नेपाली साहित्यको इतिहाससँगै नेपाली हास्यव्यङ्ग्यङ्ग्यको इतिहास खोज्ने हो भने पनि धादिङकै माटो कोट्याउनु पर्ने हुन्छ । नेपाली हास्यव्यङग्य कविताको राम्रो छनक पाइने ‘तनहुँ भकुण्डो’ कविताका रचनाकार एवम् ‘हास्यकदम्ब’ का अनुवादक शक्तिवल्लभ अर्याल र ‘साFढ्याको कवित्त’का रचनाकार राधावल्लभ अर्यालहरू पनि यतैका थिए भन्ने आधार अनुमान सहजै गर्न सकिन्छ ।

धायको छ लमजुंग मकुन्डो
कास्कि बाँध सुन छ याँकुण्डो ।
पीउठानी कन देउ सुकुण्डो
मारिलेउ तनहूँ त भकुण्डो । ।
शक्तिबल्लभ अर्यालका पद्यका यी पद्य पङ्क्तिहरू र ‘हास्यकदम्ब’को अनुवाद नेपाली हास्यव्यङ्ग्यका प्राथमिककालीन प्राप्ति हुन् । त्यसै गरि-
त्यो अवतारी : पसुदेव कोहो को हो :
कविले विर्ता पाउँन्या बाटो हो हो ।
‘साँढ्याको कवित्त’का यी पद्य पङ्क्ति रचना गर्ने राधावल्लभ अर्याल पनि धादिङकै माटोका उपज हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न ।

यसरी आरम्भ भएको हास्यव्यङ्ग्यको इतिहासले फेरो मार्दै गर्दा अज्ञात रचनाकारको ‘जागरे खा»डो जागरे, जागरे जागरे । कुइरेका थाप्लामा ठ्याक, ठ्याक, ठ्याक ।’ हुँदै धादिङको छिमेकी तनहुँबाट भानुभक्त आचार्यसम्म आइपुग्दा अझ सुस्पष्ट र प्रचूर हास्य एवम् व्यङ्ग्यको स्वरुप ग्रहण गर्न समर्थ भएको हो । यसैवीच कृष्णचन्द्र सिंहको यो कथन स्मरणीय हुन्छ-

‘अङ्ग्रेजसँग युद्ध समाप्ति र सुगौली सन्धि सम्पन्न भएपछि स्थितिले फेरि कोल्टे फेर्‍यो । युद्ध भूमिबाट सारा ध्यान हटेपछि देशभित्रै केन्द्रित हुन पुगेका शासक, भारदार योद्धाहरू अख्तियार हत्याउने राजकाजी स्पर्धामा प्रतिस्पर्धी भई वा तिनका पछि लागेर विभाजित हुन पुगे र एक अर्काको विरुद्ध षड्यन्त्र र कलहमा बाँडिए । अर्कोतिर हारेको मानसिकता उदासिनतामा बदलियो । ‘युद्धको मैदानबाट फर्कनेहरू मन्दिर धाउन थाले । वीर रसले उमङ्गित कर्नाल शान्त र भक्ति रसको मालसिरीमा डुब्यो । “फिरङ्गी हटाई लुटिपिटी चा»डो, पुगी आज गंगा पखाल्नु छ खा»डो” लेख्ने यदुनाथ पोखर्‍यालको ठाउँमा “चीर खैंचत दुशासन घेरी, आई नाथ शरणागत तेरी” मा वीरता सेलाएपछि हास्यव्यङ्ग्यले भानुभक्त आचार्यलाई पर्खनुभन्दा अर्को विकल्पै थिएन ।’ (प्रधान, कृष्णचन्द्रसिंह : पूर्ववत्) । अनि भानुभक्तले हास्यव्यङ्ग्य लेखनीमा यसरी पाइन हाले-

बिन्ती डिठ्ठा विचारीसित म कति गरु» चुप् रहन्छन् नबोली
बोल्छन् ता ख्याल् गर्‍या झैं अनि पछि दिनदिन् भन्दछन् भोलिभोली
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोली
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।

८. धादिङका हास्यव्यङ्ग्य स्रष्टा
धादिङको धुलोमाटोबाट उठेको हास्यव्यङ्ग्य शिल्प धादिङकै माटोमा मगमगाउँदै केशवराज पिँडाली (१९७७) र कृष्णप्रसाद चापागाइँ (१९७३) को कलमी साथ पाएर आधुनिकतातर्फ अघि सरेको हो भन्न हिचकिचाउनु हुँदैन । धादिङको गजुरी पिँडा पुर्ख्याैली थलो भएका लामिछाने वंशका केशवराजले आफ्नो थर परित्याग गरी पिँडाली बनेरै हास्यव्यङ्ग्यमा विशिष्ट योगदान प्रदान गरेका छन् । २००८ सालमै प्रकाशित कृष्णप्रसाद चापागाइँको ‘रसभरि चमचम’ र ‘टुक्राटाकी’ हास्यप्रधान कथाका सङ्ग्रह हुन् भने २०३६ मा प्रकाशित उनको ‘मिसमास’ मा चाहिँ नाम अनुसार विविध विधाका हास्य रचनाहरू सङ्गृहीत छन् ।

नेपाली हास्यव्यङ्ग्यका धरोहर मानिने केशवराज पिँडालीका ‘सङ्गीतको कपालक्रिया’ जस्ता आरम्भकालिन हास्यव्यङ्ग्यात्मक निबन्ध १९९१ मा प्रकाशन आरम्भ भएको ‘शारदा’ पत्रिकामा प्रकाशित भएका थिए भने हास्यव्यङ्ग्य कृतिकै रुपमा भने ‘खै खै’ २०१७ सालमा प्रकाशित भएको देखिन्छ । उनका अन्य हास्यव्यङ्ग्य कृतिहरू ‘फेरि उल्टो मिल्यो’ (२०३२), ‘व्यङ्ग्यै व्यङ्ग्य’ (२०४६), प्रशन्न हुनुहोस् (२०५४) रहेका छन् भने विभिन्न पत्रपत्रिका छापिएर रहेका दर्जनौँ फुटकर निबन्धहरू छन् ।

आधुनिक नेपाली हास्यव्यङ्ग्यमा उल्लेखनीय उपस्थिति जनाउने धादिङका हास्यव्यङ्ग्य स्रष्टाहरूमा बद्रीप्रसाद दाहाल, घिमिरे मैदेली, गाउँले बलदेव अधिकारी, हरि खनाल, प्रयास शौरभ श्रेष्ठ, शैलेन्द्र सिंखडाहरू रहेका छन् । कोही कवितामा व्यङ्ग्यको बाँसुरी फुकिरहेका छन् त कोही निबन्धमा नारिइरहेका छन् । कोही भने कविता र निबन्ध दुबैको अडेसोमा अडिदै व्यङ्ग्यको निसाना सोझ्याइरहेका छन् ।

हास्यव्यङ्ग्यमा अत्यन्त सम्मानित मानिदै आएको भैरव प्रतिभा पुरस्कार (२०८०) प्राप्त बद्रीप्रसाद दाहाल (२०११) का ‘भस्मासुरका खित्का’ (२०५१), ‘डिबडिबे’ (२०६०), ‘माला चिन्तन’ (२०७७)) र ‘……..’ (….) समेत चार वटा हास्यव्यङ्ग्य कृति प्रकाशित भइसकेका छन् भने दर्जनौँ फुटकर हास्यव्यङ्ग्य कविताहरू विभिन्न पत्रपत्रिकामा छरिएका छन् । समसामयिक सामाजिक राजनीतिक विसङ्गतिमाथि झरिला र तीक्ष्ण प्रहार गरिएका १९ दर्जनभन्दा बढी दाहालका व्यङ्ग्य सिर्जना फित्कौली डटकममा प्रविष्ट भएको देखिन्छ ।

धादिङे माटोमा जन्मेर हास्यव्यङ्ग्यमा विशिष्ट योगदान दिने अर्का स्रष्टा हुन् मैदी धादिङका कृष्णप्रसाद घिमिरे । वि.सं. २०१० सालमा जन्मिएका मैदेली लामो समय शिक्षण पेशामा आबद्ध थिए । घिमिरे मैदेलीको नामले परिचित उनका ‘डयाब्लेटको मान्छे’ (२०५८), ‘मैदेलीको मादल (२०५९), ‘सिस्नु खेती’ (२०६७) र ‘घिमिरेको घुयँत्रो’ (२०६७) हास्यव्यङ्ग्य कृति प्रकाशित छन् । घिमिरेको २०७६ जेष्ठ ९ गते विहीबार ६५ वर्षको उमेरमा निधन भइसकेको छ ।

‘पुतना र प्रजातन्त्र’ (२०५७), ‘तोरीको फूल’ (२०५७) जस्ता हास्यव्यङ्ग्यात्मक कृतिका स्रष्टा गाउँले बलदेव अधिकारी (२०१८) धादिङका अर्का हास्यव्यङ्ग्य शिल्पी हुन् । लोकछन्द र शास्त्रीय छन्दका कविता-काव्यसमेतमा राम्रो दखल राख्ने गाउँलेका दर्जनौं कृतिमध्ये माथिका दुई कृति व्यङ्ग्य निबन्ध कृति हुन् । उनका कविता काव्यमा पनि प्रशस्त हास्यव्यङ्ग्यात्मक शिल्प प्रस्तुत भएको देखिन्छ ।

दर्जन बढी कृतिका स्रष्टा हरि खनाल (२०२३) जन्मेको माटो पनि धादिङकै हो । त्यतैको धुलोमाटोमा हुर्के बढेर पढेर काठमाडौं छिरेका खनाल शैक्षिक प्रशासनको उपसचिव तहमा कार्यरत छन् । बहुप्रतिभाशाली खनाल साहित्यका अन्यान्य विधासँगै हास्यव्यङ्ग्य शिल्पमा पनि उतिकै सक्रिय छन् । फित्कौली डटकममा नियमित व्यङ्ग्य निबन्ध र कविता लेख्दै आएका खनालको ‘भोकासुर’ (२०७०) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छ ।

‘सरस’ उपनामबाट साहित्य सिर्जना कार्यमा समुपस्थित डा.हरिप्रसाद सिलवाल (२०३०) प्राध्यापन पेशामा संलग्न छन् । अनुसन्धान, समीक्षा र सिर्जनात्मक कार्यमा विशेष रुचि राख्ने सिलवाल हास्यव्यङ्य निबन्ध र समीक्षा सिर्जनामा सक्रिय छन् । आधा दर्जन अन्यान्य कृतिसहित ‘कुराको कुरौटो’ (२०७७) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहका स्रष्टा सिलवालको जन्मथलो पनि धादिङकै नलाङ हो । फित्कौली डटकममा दर्जनभन्दा बढी उनका निबन्ध र हास्यव्यङ्ग्यय कृतिका समीक्षा समेत प्रकाशित भएका छन् । अहिले सिलवाल फित्कौली डटकमका नियमित स्तम्भकार पनि हुन् ।

धादिङ, दार्खाको माटोबाट उठेर हास्यव्यङ्ग्य जगत्मा अविस्मरणीय योगदान गर्दै आएका अर्का प्रतिभा हुन् शैलेन्द्र सिंखडा (२०१८) । भैरव प्रतिभा पुरस्कारद्वारा सम्मानित सिंखडा हास्य कलाकार, कवि र रङ्गकर्मीका रूपमा चर्चित छन् । स्नातक तहको अध्ययन गरी रङ्गकर्म, साहित्य र हास्यकलाकारिताको क्षेत्रमा सशक्त भूमिका निर्वाह गर्दै रहेका सिंखडा उत्कृष्ट प्रस्तोता (गाईजात्रा महोत्सव, २०३९), राष्ट्रिय कविता महोत्सव पुरस्कार (२०५० र २०५९), उत्कृष्ट अभिनेता (गाईजात्रा, २०४५), सिर्जनाशील प्रतिभा सम्मान (२०६७) आदि थुप्रै पुरस्कार, पदक र सम्मान प्राप्त गरेका छन् । उनको ‘कालो अक्षता’ व्यङ्ग्य कवितासङ्ग्रह (२०६४) प्रकाशित छ भने श्रव्य क्यासेटहरूमा ब्रह्मास्त्र, सुकुम्वासी, एक्सरे, प्रजातन्त्रको पास्नी, ग्ग्राण्ड डिजाइन, नाइटभिजन, सिंहदरबारको गेट आदि सार्वजनिक भएका छन् ।

पत्रकारितामा क्रियाशील मिलन तिमल्सिना (२०३५) पनि धादिङका हास्यव्यङ्ग्य स्रष्टामा गणना गर्न योग्य नाम हो । साठीको दशकदेखि नै विभिन्न पत्रपत्रिकामा फुटकर हास्यव्यङ्ग्य निबन्ध प्रकाशित हुँदै आएका तिमल्सिनाका २ वटा हास्यव्यङ्ग्य कृति सार्वजनिक भएका छन् । ‘बकपत्र’ (२०७०) र ‘नेताजीको म्याद’ (२०७१) नामका यी निबन्धकृतिमा समसामयिक राजनीतिक परिदृश्यहरूमाथि तिखो व्यङ्ग्य गरिएको देखिन्छ ।

धादिङ, वेनिघाटमा जन्मेर गीतसङ्गीतमा कौशल प्रस्तुत गरिरहेका प्रयास शौरभ श्रेष्ठ (२०३३) पनि आरम्भकालमा हास्यव्यङ्ग्य लेखनमा सरिक भएका स्रष्टा हुन् । उनका हास्यव्यङ्ग्य निबन्धहरूको सङ्ग्रह ‘अजब गजब’ २०६० सालमै प्रकाशित भएको थियो । शौरभ अहिले हास्यव्यङ्ग्य लेखनमा सक्रिय नदेखिए पनि धादिङे हास्यव्यङ्ग्यले उनलाई सम्झिरहेको छ र सम्झिरहनु पनि पर्छ ।

हास्यव्यङ्ग्यका सिङ्गै कृति प्रदान गरेर धादिङको हास्यव्यङ्गीय इतिहासमा विशिष्ट योगदान दिँदै आएका केही स्रष्टाहरूको उल्लेख माथि गरियो । सिङ्गै कृति नदिए पनि फुटकर हास्यव्यङ्ग्य रचना लेख्नेहरू, आफ्ना कृतिहरूमा हास्यव्यङ्ग्यको पुठ समावेश गर्ने अथवा फुटकर हास्यव्यङ्ग्य रचना सिर्जना गर्दै आएका स्रष्टाहरू पनि धेरै छन् ।

धादिङकै माटोमा जन्मेर राष्ट्रिय स्तरको व्यक्तित्व निर्माण गरी कीर्तिशेष भइसकेका केवलपुरे किसान (१९८३-२०६८), डिल्लीरमण शर्मा अर्याल (१९८८-….), सुवी शाह (१९८५-२०६५), टी.एन्.गोपीकृष्ण अधिकारी (१९९८), राजेन्द्रप्रताप शाह (२०१७-२०७९), मुरारि शर्मा अधिकारी (२००३-२०७९) स्वनामधन्य स्रष्टाहरू पनि धादिङे हास्यव्यङ्ग्यको इतिहासमा जोडिन आउँछन् । यिनीहरू मध्ये कवि किसानका पुराना र पछिका पनि कतिपय लोकलयका गीत र कविताहरूमा हास्य र व्यङ्ग्यका मिठा फाँकीहरू परेका छन् भने डिल्लीरमण शर्माका प्रकाशित कृतिमा परेका कविताहरू र फुटकर कवितामा पनि हास्यव्यङ्ग्य शिल्पको प्रयुक्ति पाइन्छ । त्यसै गरी सुवी शाह, टी.एन्.गोपीकृष्ण अधिकारी र राजेन्द्रप्रताप शाहका केही कविता सिर्जना एवम् मुरारि शर्मा अधिकारीका केही निबन्धहरूमा व्यङ्ग्यको बान्की देख्न सकिन्छ ।

यस्तै व्यङ्ग्य र हास्यको प्रविधि प्रयोग गरेर सिर्जना प्रस्तुत गर्ने धादिङे स्रष्टाहरूमा प्रा.डा. मोहनप्रसाद तिमल्सिना (२००८), बाबुकाजी सिलवाल (२०११), दामोदर नलाङी (२०१४), शालिग्राम अर्याल (२०१७), डा. रामहरि लम्साल (२०१८), डा.नवीनबन्धु पहाडी (२०२८), केशव दुवाडी (२०२८), दीपेन्द्र सिं थापा (२०३५), डा. नवराज लम्साल (२०२६), हेम प्रभास (२०४१), गोविन्द बुढाथोकी (२०३९) आदिलाई धादिङे हास्यव्यङ्ग्यले बिर्सनै हुँदैन । डा. तिमल्सिना र डा. नवराज लम्सालका निकै फुटकर कविताहरूमा व्यङ्ग्य प्रविधिको सुन्दर प्रयोग गरिएको पाइन्छ । निबन्ध र कवितामा व्यङ्ग्य बजार्न निकै सिपालु केशव दुवाडीका नयाँ पुराना दुई दर्जन जति हास्यव्यङ्ग्य निबन्धहरूको सङ्ग्रह प्रकाशोन्मुख रहेको छ भने यता आएर धादिङ केवलपुरमा जन्मिएकी अप्सरा सुनार (२०५५) हास्यव्यङ्ग्य निबन्धमा अत्यन्त राम्रो सम्भावना बोकेर कलम चलाउँदैछिन् । उनका दर्जन जति हास्यव्यङ्ग्य निबन्ध फित्कौली डटकममा प्रविष्ट भएका छन् ।

९. निस्कर्ष
निस्कर्षमा भन्नुपर्दा नेपाली हास्यव्यङ्ग्यमा विशिष्ट योगदान दिँदै आएको धादिङको इतिहास प्राथमिक कालदेखि नै जोडिएको छ । कहिले केही सुस्ताउँदै र कहिले अलि बढी जाँगर पोख्दै धादिङे स्रष्टाहरू पनि हास्यव्यङ्ग्य लेखनकार्यमा सरिक छन् । इतिहासको गौरव आत्मसात् गर्दै हास्यव्यङ्गीय गतिबिधि, लेखन र प्रकाशन कार्यमा अझै उत्साहका साथ क्रियाशील हुनु जरुरी छ । यहाँ सक्रिय रहेका साहित्यिक संघ-संस्था र प्रतिष्ठानहरूले हास्यव्यङ्ग्य कार्यक्रमहरू आयोजना, लेखन प्रकाशनका योजना बनाउँदे नयाँ पुस्तालाई प्रशिक्षित र प्रोत्साहित गरी उर्जा प्रदान गर्नुपर्दछ । यसो गरेमात्र नेपाली हास्यव्यङ्ग्यमा धादिङको ऐतिहासिक गौरवलाई जगेर्ना गर्न सकिन्छ ।

०००
फित्कौली अड्डा कलङ्की
काठमाडौं, पुस, २०८०

सन्दर्भ-सामग्री
१. अर्याल, भैरव (सं.) : २०४९, साझा निबन्ध, साझा प्रकाशन, सा. सं, पुलचोक ललितपुर ।
२. अर्याल, भैरव/शर्मा, वासुदेव (सं.) : २०३८, छ्याकन (हास्यव्यङ्ग्य सङ्ग्रह), कौवा प्रकाशन, दो.सं. काठमाडौँ ।
३. गर्ग, शेरजंग : ई. १९७६, व्यङ्ग्यके मूलभूत प्रश्न, सामयिक प्रकाशन, नयाँ दिल्ली ।
४. चतुर्वेदी, डा.बरसानेलाल : ई. १९६३, हिन्दी साहित्यमे हास्य रस, हिन्दी साहित्य संसार, नयाँ दिल्ली ।
५. पाँडे, रामकुमार : २०५०, १०१ हास्यव्यङ्ग्य, रत्न पुस्तक भण्डार, भोटाहिटी, काठमाडौँ ।
६. प्रधान, कृष्णचन्द्र सिंह : २०५४, ‘मधुपर्क’ हास्यव्यङ्ग्य अङ्क, भदौ, गोरखापत्र संस्थान, काठमाडौं
७. प्रभात, विष्णु : २०५४, ‘मधुपर्क’ हास्यव्यङ्ग्य अङ्क, भदौ, गोरखापत्र संस्थान, काठमाडा
८. बर्मा, डा.धीरेन्द्र : २०२०, हिन्दी साहित्य कोश भाग- १, दो.सं, वाराणसी ज्ञानमण्डल लि.।
९. भट्टराई, भरतकुमार : २०४४, हास्य र व्यङ्ग्यको सैद्धान्तिक स्वरुप, स्नातकोत्तर शोधपत्र, त्रि.वि. नेपाली विभाग, कीर्तिपुर ।
१०. लम्साल, रामचन्द्र : २०७२, धादिङेली नेपाली साहित्य, खानीखोला सार्वजनिक पुस्तकालय, धादिङ ।
११. लुइँटेल, नरनाथ : २०५८, नेपाली हास्यव्यङ्ग्य, सिस्नुपानी नेपाल, काठमाडौं ।
१२. शाक्य, माणिकरत्न (सं.) : २०५६, हास्यव्यङ्ग्यकार नालीबेली, सिस्नुपानी नेपाल, काठमाडौँ ।
१३. सुवेदी, राजेन्द्र : २०४३, स्रष्टा-सृष्टिः द्रष्टा-दृष्टि, साझा प्रकाशन, दो.सं., पुल्चोक, ललितपुर ।
१४. सुवेदी, राजेन्द्र/शर्मा, हीरामणि शर्मा : २०५१, नेपाली हास्यव्यङ्ग्य निबन्ध, साझा प्रकाशन, दो.सं, पुल्चोक, ललितपुर ।
१५. शर्मा, मोहनराज : २०४८, शैली विज्ञान नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, काठमाडौँ।)
१६. त्रिपाठी, वासुदेव : २०३५, हास्यव्यङ्ग्य परिचर्चा, रचना १५ः४, असार-साउन ।)
पत्रपत्रिका
१७. ‘रचना’ (द्वैमासिक) : २०३५, हास्यव्यङ्ग्य परिचर्चा, १५ः४, असार साउन, काठमाडौं
१८. ‘मधुपर्क’ (मासिक) : २०५४, हास्यव्यङ्ग्य अङ्क, भदौ, गोरखापत्र संस्थान, धर्मपथ, काठमाडौ ।
१९. ‘सिस्नुपानी’ : २०५६, हास्यव्यङ्ग्यको जात, थर, सिस्नुपानी नेपाल, झाम्टो २, काठमाडौं ।
२०. ‘फित्कौली डटकम’ : २०७१-२०८०, प्रविष्ट भएका सान्दर्भिक विभिन्न लेखरचना र समीक्षा ।

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Amar Karki
Amar Karki
1 month ago

असाध्य गाह्रो बिषय पनि हो।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x