पाँडेको बहुआयामिक हास्यव्यङ्ग्य
रामकुमार पाँडेले नेपालका गौरव, यसका सांस्कृतिक महत्त्वका विम्व अनि यसको भूखण्ड र भूचेतनासम्बन्धी अनेकौं ग्रन्थ र लेख लेखेका छन् । यी सबै ज्ञानको सार तिनका हास्यव्यङ्ग्य रचनाहरूमा पाइन्छ ।
डा. अभि सुवेदी :
रामकुमार पाँडे एक बहुआयामिक व्यक्तित्व भएका लेखक र विद्वान् प्राध्यापक हुन् । ती सबै पक्षको चर्चा नगरेर यस परिचयमा तिनले हास्यव्यङ्ग्यको क्षेत्रमा गरेका काम र योगदानको मात्र चर्चा गरिएको छ । नेपालमा यस हास्यव्यङ्ग्यको विधाका अनेकौं हस्तीहरूमध्ये रामकुमार पाँडे एक हुन् तर उनका आफ्नै विशेषता छन् । तिनको पनि यसमा केही प्रसङ्ग ल्याउने कोसिस भएको छ । ग्रन्थसूची र अरू तथ्याङ्क यस छोटो लेखमा राखिएका छैनन् । यो धारणागत परिचय हो ।
दुई वर्षअघि अथवा सम्वत् २०५८ सालमा हास्यव्यङ्ग्यको चालीस वर्ष भनेर मनाउने रामकुमार पाँडेको पहिलो परिचय त्यही हो । यसमा हामी दुईवटा कुरा प्रस्ट देख्छौं पाँडेको लामो हास्यव्यङ्ग्य विधाको साधना र साहित्यसेवा । उनको साहित्यसेवा हास्यव्यङ्ग्यकै क्षेत्रमा रहेको कुरा सबैले स्वीकार गरेका छन् । यतिसम्म कि साझा प्रकाशन र अरू प्रकाशक र पुस्तक बिक्रेताका किताबसूचीमा उनका अन्य कृतिलाई समेत हास्यव्यङ्ग्य शीर्षक अन्तर्गत राखिएको छ । तिनी हास्यव्यङ्ग्यका पर्यायवाची व्यक्तित्व भइसकेका छन् । यो पनि अर्को सुखद हास्यव्यङ्ग्य हो भन्ने मलाई लाग्छ । मैले रामकुमार पाँडेलाई अत्यन्त नजिकबाट चिनेको छु । धेरै वर्षसम्म र धेरै संस्थामा उनीसँग आसन्न भएर काम गरेको छु ।
पहिलोपटक उनलाई उनको निवास जावलाखेलमा भेट्दा मलाई कुनै जापानी जेन केन्द्रभित्र पसेजस्तो लागेको थियो । दिक्क लाग्दा, सस्तो र आधुनिक भनिने कुनै पनि परिचित सजावटका बस्तु थिएनन् कोठामा । भुइँमा राखेको होचो टेवलवरिपरि बसेर कुरा गर्दै मैले कोठाको वरिपरि यसो आँखा घुमाएको थिएँ । भित्तामा एउटा पुरानो नेवारे घर भत्किँदा खसेको लामो काठ तेर्सिएको थियो । हावाको मन्द गतिमा ध्वनि सिर्जना गर्ने घण्टीका झुण्डबाट सन्नाटा चिरेर बीचबीचमा आएको आवाजले मलाई खिचिरहेको थियो । पुराना शैलीका मूर्ति, उनले आफैँ बनाएका चित्र अनि पहाडे कागत र काठका अनेकौं आकारहरू कोठाका निकै ठाउँमा भएकाले कोठा खालीजस्तो लाग्दैनथ्यो । त्यस परिवेशमा म रामकुमार पाँडेका हास्यव्यङ्ग्य सुनेर बसिरहेको थिएँ । त्यो वातावरणमा हास्यव्यङ्ग्य सुनाउँदा तिनी एक जेन मास्टरजस्ता देखिन्थे । जेन हास्यव्यङ्ग्यमा जीवनका साधारण, उपेक्षित विम्ब र सन्जोगहरूलाई लिएर एक ठूलो अर्थमा पस्न सकिने वातावरणको सिर्जना गरिएको हुन्छ ।
हास्यरचना अन्तिम उद्देश्य होइन । रामकुमार पाँडेले घरमा यस्तो परिवेश बनाउनु सन्जोग मात्र होइन । हरिया बोट र लहरा अनि दुबोले झप्प पारेको तिनको घर एक सुन्दर र शान्त आश्रमजस्तो छ । त्यो परिवेश रामकुमार पाँडेको रचना हो र त्यो दृष्टिपात गर्ने कलेवरको रचना हेर्ने हो भने रामकुमार पाँडेको सिर्जनात्मक रुचि र संरचना थाहा हुन्छ ।
रामकुमार पाँडेले मैले भेटेको सबभन्दा पछिल्लो जानकारी अनुसार तेह्रवटा नेपाली हास्यव्यङ्ग्यका कृति लेखेका छन् भने नेपाली हास्यव्यङ्ग्य र कार्टुनका क्रमशः दुई कृति अङ्ग्रेजीमा पनि लेखेका छन् । उनी एक भूगोलशास्त्री हुन् तर उनको साहित्यप्रतिको अनुराग र सिर्जनाको सामर्थ्यले गर्दा उनको हास्यनिबन्ध एक महत्त्वपूर्ण विधाका रूपमा परिचित भएको छ । उनका रचनालाई हास्यव्यङ्ग्य साहित्यका अग्रज केशवराज पिंडालीले व्यङ्ग्य होइन हास्यप्रधान ठाने । रामकुमार पाँडेका रचनाको मूल स्पन्दन वास्तवमा हास्यसिर्जना नै हो । तर हास्यव्यङ्ग्यको समागम उनका प्रायशः रचनामा पाउन सकिन्छ । उनी भाषालाई धेरै नमोडी अपरोक्ष गद्यलेखनशैलीको प्रयोग गर्छन् । तिनका धेरै रचनाहरूभित्र हेर्दा त्यही परिपाटी देखिन्छ । तिनका हास्यव्यङ्ग्यका पात्रपात्रा परिचित छन् । विम्बहरू परिचित छन् । बिम्ब र रूपक अनि लक्षणाहरूको पुनरावृत्ति हुन्छ उनका कतिपय निबन्धमा तर जब तिनको पुनरावृत्ति हुन्छ ती नयाँ शक्ति र सिर्जनाका चुनौति खडा गरिदिन्छन् ।
रामकुमार पाँडेको १०१ हास्यव्यङ्ग्य भन्ने किताब लिएर हेर्ने हो भने उनको हास्यव्यङ्ग्य लेखनको शैली देखिन्छ । उनी समयलाई एक तारो हान्ने विषय ठान्छन् । उनी समाज र यसका बिग्रेका वृत्तिहरूलाई व्यङ्ग्य गर्छन् । उनको व्यङ्ग्य शैली अपरोक्ष वर्णनशैली हो । यस्तो शैलीले बिडम्बनाको (आइरोनी) रचना गर्न सकिन्छ । पाँडेले त्यसको रचना सफलतापूर्वक आफ्ना प्रायशः निबन्धहरूमा गरेका छन् ।
पन्ध्र वर्षको उमेर अथवा सम्वत् २०१८ सालदेखि नै हास्यव्यङ्ग्य विधामा रचना गर्ने लेखकलाई यस विधाका एक जीवन्त लेखक र आधिकारिक व्यक्तिका रूपमा लिन सकिन्छ । रामकुमार पाँडे नेपाली हास्यव्यङ्ग्य विधाका एक संस्था हुन् किनकि उनले हास्यव्यङ्ग्यको क्षेत्रमा रचना गर्ने काम मात्र गरेका छैनन्, त्यसको एक संस्थागत विकास गर्ने काम पनि गरेका छन् । धेरै कालसम्म हास्यव्यङ्ग्य विषयको पत्रिका सम्पादन र प्रकाशन गर्ने र गराउने पाँडेले यस विधालाई नेपाली साहित्यमा एक चरित्र दिने काम गरेको कुरा सबैलाई थाहा छ ।
यस प्रकारले हास्यव्यङ्ग्यलाई भाषिक आयाम मात्र नदिएर दृष्टिगोचर आयाम दिने र रेखा र रङ्गका माध्यमले पनि यसलाई पाठक र उपासकसामु ल्याउने काममा रामकुमार पाँडेको ठूलो योगदान छ । उनको प्रयास र तत्परता अनि उनको हास्यव्यङ्ग्य विषयको स्पन्दनले गर्दा चित्रकार, कार्टुन बनाउनेका मित्रमण्डली अथवा पाँडेमण्डली रचना गरेर उनले पत्रिकाहरूमा हास्यव्यङ्ग्यका आकारहरूमा रेखाइन गराउने काम पनि गरेका छन् ।
पाश्चात्य हास्यव्यङ्ग्य रचनाका अनेकौं विधा छन् । त्यसै गरी भारतीय हिन्दी साहित्यमा पनि हास्यव्यङ्ग्य विधाको आफ्नै किसिमले विकास भएको छ । नेपाली हास्यव्यङ्ग्यहरूलाई पाश्चात्य विधागत वर्गीकरण र शैलीका प्रभाव परे तापनि भारतीय हास्यव्यङ्ग्यको बढी नजिकको प्रभाव परेको कुरा नेपाली हास्यव्यङ्ग्यकारका शैली, तिनले रोजेका ‘काका’ पात्र र यस्ता अनेकौं चरित्ररचनाहरूवाट देख्न सकिन्छ।
तर नेपाली हास्यव्यङ्ग्यले यस विधालाई प्रदर्शनकारी आयाम पनि दिएका छन् । शब्दलेखन र कार्टूनचित्रको सन्धि गाइजात्रा जस्तो एवं ताटकीय जात्राउत्सवमा शब्दको प्रस्तुति र हास्यलघुनाटकको प्रदर्शन गराएर नेपाली हास्यव्यङ्ग्यहरूले यस विधालाई बहुआयामिक बनाएका छन् । यो नेपालको हास्यव्यङ्ग्य विधाको मौलिक विशेषता हो, जुन अरू परम्पराहरूमा त्यति देखिदैन । यी सबै आयामहरूमा रामकुमार पाँडेको योगदान रहेको कुरा तिनका यी सबै विधामा रहेको धेरै वर्षअघिदेखिको संलग्नताबाट देखिएको छ ।
रामकुमार पाँडेले नेपाली हास्यव्यङ्ग्यलाई अन्तर्राष्ट्रिय सम्मेलनहरूमा समेत पुऱ्याएर यस विधाले देखाएका नेपाली समाज र यसको विडम्बनाका अनि विनोदी र प्रसन्न अनि खेलजनित नेपाली भावनाका परिचय पनि उनले दिएका छन् । नेपालीको यो मनस्थिति विग्रेको छैन । मलाई लाग्छ आज नेपालीहरू आफ्नै दाज्यूभाइ- दिदीबहिनीका रक्तपात गर्न लागेको युगको मोड नसोचिएको नेपाली इतिहासको उपकथा हो ।
रामकुमार पाँडेले नेपालका गौरव, यसका सांस्कृतिक महत्त्वका विम्व अनि यसको भूखण्ड र भूचेतनासम्बन्धी अनेकौं ग्रन्थ र लेख लेखेका छन् । यी सबै ज्ञानको सार तिनका हास्यव्यङ्ग्य रचनाहरूमा पाइन्छ । त्यसैले रामकुमार पाँडेका हास्यव्यङ्ग्यलाई युगीन चेतना, नेपाली हास्यप्रेमी उज्यालो मानसिक आकाशको परिचय दिने विधाका रूपमा लिन सकिन्छ ।
०००
अर्काकाे आँखामा आफू (२०८१)
Subscribe
Login
0 Comments
Oldest