शेषराज भट्टराईअन्तर्राष्ट्रिय हाँसाे दिवस
आउनुहोस् यसरी विश्व हासाे दिवस आफ्नै आसनमा घुडा धसेर, मुड्की कसेर बसेर , खरानी धसेर, एक अर्कालाई डसेर, जसरी हुन्छ त्यसरी धुमधामकासाथ मनाओैं ।

शेषराज भट्टराई :
आज एक पित्काे भए पनि मैले हसाउनै पर्छ । किनकि आज अन्तर्राष्ट्रिय हासाे दिवस मार्च ४ तारिख । हरेक दिवसहरु मान्छेले मनाउछन् जस्तै प्रेम दिवस, स्वतन्त्रता दिवस, कानुन दिवस, मुर्ख अर्थात् उल्लु दिवस /अप्रिल फुल, प्रजातन्त्र दिवस, आमा दिवस, बाबु दिवस, गुरु दिवस, वातावरण दिवस, नर्सिङ दिवस, शिक्षा दिवस, बाल दिवस, स्तनपान दिवस, छन्द दिवस, अछन्द दिवस सबै दिवसहरु मुक्तकण्ठले लाभ हानिकाे बर्णन गरेर वा सशरीर उपस्थित भएर सरकारी ढिकुटीमा राईदाई गरेर पनि मनाउने गरिन्छ ।
तर यहाँ आफ्नो समय र सुकाे खर्च गरेर हजुरलाई दुखाे नहाेस भनेर बन्द रहेको मुख र खुम्चिएर खिया परेको ह्याकुलाे अनि सुकेर चाउरी परेको फाेक्साेलाई फुलाउने फुकाउने जुन प्रयास मैले गरेको छु । त्यसले पक्कै पनि विश्व हाँसाे दिवसमा हास्यव्ङ्ग्यका हलीहरु साेत्तर भएर नमरेकाे प्रमाणित हुनेछ । आज विश्व हाँसाे दिवसका दिनमा हामीले आफ्नो धर्म नछाडे पछि भाेलीका पुस्ताले पनि निदाएर समय सिनित्त नसिध्याउलान् भन्ने आश गर्न सकिन्छ । तसर्थ एक पित्काे याे हासाेले तपाईंका बन्द , निदाएर बसेका सारा इन्द्रियहरु बाैरिने कुरामा म ढुक्क छु । त्यसैले आउनुहोस् यसरी विश्व हासाे दिवस आफ्नै आसनमा घुँडा धसेर, मुड्की कसेर बसेर, खरानी धसेर, एक अर्कालाई डसेर, जसरी हुन्छ त्यसरी धुमधामकासाथ मनाओैं ।
एकपटक बिराटनगरका एकजना मेरा गुरु चक्र प्रसाद दाहालले पाेखरा भ्रमण गर्नपाए आत्माले शान्ति पाउने बिचार पाेख्नु भयो । मैले त्यसको चाजाेपाजाे मिलाएर दिवा बसकाे क्याबिनमा बसेर हामी बिराटनगरबाट बिहानै प्रस्थान गर्याैं। तेतिखेर क्याविनमा अटिनअटि खचाखच मान्छे राख्ने चलन थियो । हाम्रो लाइनमा ३ जना थियौं । म छेउमा, बिचमा चक्र गुरु, अनि एकजना अपरिचित महिला । हामीले यात्रा शुरु गर्याैँ ।
गर्मी महिना थियो । उहाले सर्ट फुकालेर भेष्टमा सजिनु भयो । मचाहि भेडो जस्तो चिसो मान्छे भएको हुनाले कुकुरले जस्तो जिब्रो निकालेर धक्दै बसेपनि लुगा खाेल्ने काम चाहिँ मबाट भएन । चन्द्रपुर भन्ने ठाउँमा ल्याएर आधाघण्टा भित्र कसैलाई बाधा नपुर्याई आआफ्नो गाेजेराे भर्न उर्दी भयो खलासीबाट । हामीले आदेश शिराेपर गर्दै ती नानीकाे पनि गाेजेराे भरिदिने निधाे गर्याैँ । नानीले हाम्रै सुकाेमा दुखाे नमानी गाेजेराे भरिन् । गफ पनि गरिन, आँखा पनि तरिन तर उनी नारायणघाटमै झरिन् । खाइखाइ अनि जानेबेलामा बाइबाइ पनि भनिन । यात्रामा मस्किदै गफ गर्ने साथी गएपछि केही छिन सन्नाटा छायाे । बसले आफ्नो गति लियो ।
पाेखरा प्रवेश गरेपछि गुरुलाई फुकालेर पछाडि राखेको सर्ट र गाेजीमा भएको केही दामपैसाकाे सम्झना भएछ । ओरिपरी खाेजेर हेर्दा गुरुकाे कुम्लाे कुटुरो सब गायब । यस्तो छिटो चलाखीपूर्ण जादु देखाउने अरु काेही नभएर त्यही घिचाउदै, चराउदै बिचबिचमा मन पराउदै ल्याएकी बहिनी नै हुन भन्ने हामी दुईको इजलासबाट पारित भयो ।
चिन्ताग्रस्त गुरुलाई करिब एकहप्ता मेरै कुटीमा उठ बस सुत घुमफिर गराउदै न्यास्राे मेटाउने प्रयास गरे। उहाँ पेशाले अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौ एयर ट्राफिक कन्ट्रोलमा अधिकृत हुनुहुन्थ्यो । पछि अमेरिकी ईडिभी परेर उहाँ अहिले सपरिवार अमेरिकाकाे म्यारिल्याण्ड राज्यमा राज गरिरहनु भएको छ । म चाहिँ दुनियाँ आदिवासी, अनादिवासी जनजाति महिलाहरुकाे गलाकाे मैलो पाेते उन्दै उही पुरानो गाेजी र गाेजेराे भर्दै उग्राइ रहेको छु ।
म पृथ्वीनारायण क्याम्पस मानविकी संकायकाे दाेस्राे बर्षमा पढ्दै थिएँ। मेरा केही विद्वान् मित्रहरुले बनभाेज गर्न जाउँ भनेर पैसा उठाए । मैले पनि शुल्क बुझाएँ । त्यतिखेर पृथ्वीनारायण क्याम्पसमा विधार्थीहरु लगभग १२ हजारकाे हाराहारीमा थिए। हामीले पढ्ने एउटा काेठा ३० फुट बाइ २० फुटकाे हुँदाे हाे। त्यहाँ एउटै काेठामा मात्रै २ सय भन्दा बढी विद्यार्थीहरु पढ्थे । त्यस्ता सेक्सन ६/७ सम्म थियाैँ । बेन्चीमा नअटेर काेठामा खुट्टा राख्न मिलेजति उठिउठी पनि पढ्थे। त्यसबेला वरिष्ठ लेखक पूर्ण प्रकाश नेपाल यात्रीले नेपाली विषय पढाउनु हुन्थ्यो । जेहाेस् हामी स्पेशल नेपाली विषय पढ्ने साथीहरु मिलेर पिकनिक जाने निधाे गर्याैँ ।
बिराैटा पावर हाउसमा बनभाेज खान जाने ठाउँको एकिन भयो । गएर पुलाउ पकाउने भन्ने कुरा भयो । पुलाउ र मासु पकाउने जिम्मेवारी मैले पाएँ । मेरा अत्यन्त मिलनसार मित्र युक्तराज खाण जस्ले मलाई मदत गर्ने वचन दिनुभयो । हामी दुईजना मिलेर बडाे कष्टकासाथ भान्सा तयार गर्याैँ । अनि थकाई मेटाउन खाना छाेपछाप भर्स्याएर राख्याैँ र फुस्रे खाेलातिर गएर फर्कियाैँ अब गएर खाने भन्दै ।
करिब आधाघण्टा मात्रैकाे अलमलमा फर्किंदा त्यहाँ भएका साथीहरूले खाना खाइसकेछन् । हाम्रा लागि रहलपहल खाना थियोे तर मित्र युक्तराज खाण आफ्नो घाेर अपमान गरेको ठानेर रिसले आगाे भएर हातमा खुकुरी लिएर त्यहाँ भएका सारा खन्चुवा मित्रहरूलाई लघार्नु भयो । सबैजना रातापिरा भएर भागाभाग भए। प्रतिवाद गर्याे कि मर्याेकाे अवस्था थियो । मैले उहाँलाई बल्लतल्ल थुम्थुम्याएर खुकुरी राख्न लगाएँ र हामी दुई त्यो बनभाेज नखाइकनै घर फर्कियाैं । उहाँ अहिले क्यानाडाकाे टाेरन्टाे भन्ने सहरमा सपरिवार राज गरिरहनु भएको छ । म चाहिँ कुवाकाे भ्यागुतो बनेर मैहुँ भनेर टरटराउदै यहीँकाे डिलमुनि उफ्रिरहेकाे छु ।
०००
फूलबारी ११ पाेखरा , कास्की ।
फाेन ९८०६६७७५९४ नेपाल ।
Subscribe
Login
0 Comments
Oldest







































