डा.कुसुमाकर शर्मा गाैतमनक्कली झोला
फेरि 'ए झोले !' को आवाज आयो । आँखा चारै तिर घुमाएँ । कोही थिएन । मैले झोला पनि बोकेको थिएन । खल्तीलाई झोला भन्लान् भनेर बिना खल्तीका टिसर्ट र पाइन्ट लगाएको थिएँ ।

डा. कुसुमाकर शर्मा गौतम :
हिँजो बाटोभरि ‘ए झोले !’ ले कान पाकेकाले आज बिना झोला कार्यालयतिर हिँडेँ ।
आफ्नो रोजीरोटी नै झोला बोकेर मात्र चल्छ । हुलाकको हल्कारा परेपछि झोला नबोके जागिर जाला भन्ने डर । झोला बोक्नै पर्ने भएपनि झोला नबोकी झोले नहुने अठोट हो आज मेरो ।
‘ए! झोले !’ सुनीहालेँ ।
दायाँ बायाँ हेरेँ । मेरो घर छेउमै भएको औषधि पसलबाट एउटा बिरामीले प्लास्टिकको झोलामा औषधि बोकेर मेरै अगाडि निस्क्यो । उसलाई भनेको रहेछ ।
फेरि ‘ए झोले !’ को आवाज आयो । आँखा चारै तिर घुमाएँ । कोही थिएन । मैले झोला पनि बोकेको थिएन । खल्तीलाई झोला भन्लान् भनेर बिना खल्तीका टिसर्ट र पाइन्ट लगाएको थिएँ ।
‘कस्ले कसलाई झोले भन्यो त ?’ सोच्तै यसो औषधि पसलकोमाथि हेरेँ । मेरै किड्नीको अपरेशन गरेका डाक्टर क्लिनिकको झ्यालबाट मलाई हेरेर मुसुमुसु हाँस्दै रहेछन् ।
बिना झोला हिँडेकालाई ‘ए झोले !’ भनेको सुन्दा साह्रै रिस उठ्यो । ‘उपचारको नाममा रगत खाने तैँ झोले ।’ भन्नै आँटेको थिएँ ।
झल्याँस्स उनै डाक्टरले भनेको सम्झिएँ, “तपाईंको आफ्नै दुईवटा किड्नी यथास्थानमा छन्, थप किड्नी नक्कली झोलामा राखिदिएका छौँ ।”
०००
३ जुन २०२५
एडमन्टन, क्यानडा
स्राेत : बाङ्गा अक्षरकाे बारीबाट सुटुक्क पाेकाे पारी
Subscribe
Login
0 Comments
Oldest







































