साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्षाविद्रूप

ए भाइ, त्यस छाताले तिमीलाई धोका दिनेछ । कडा बतासमा यो उल्टिन्छ अनि तिमी त्यस लेखकजस्तै सङ्कटमा पर्न सक्छौ जसको समीक्षकले उसलाई प्रक्षेपण गरेर छाडिदिन्छ ।

Nepal Telecom ad

हरिशंकर परसाई :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

प्रिय बन्धु,
पछिल्लो पत्रमा मैले म कसरी बादल देखेर क्षणको गहिराइमा डुबेको थिएँ भनेर लेखेको थिएँ ! अनि जब बाहिर निस्केँ अनि देखेँ पानी झमझम बर्सिन थालेको छ । पहिले त दाजु भवानीप्रसादको ‘बरसात आ गयी रे !’ (वर्षा आयो है !) भन्ने कविताको पाठ गरेँ । अनि मन एक्कासि रामचरितमानसको वर्षाप्रसङ्गसम्म उड्यो । सोचेँ, जब मानिसहरू वैदिक प्रतीकलाई लिएर आधुनिक काव्यको रचना गर्न सक्छन् भने म के गोस्वामीजीको फेरो समातेर नयाँ वर्षावर्णन गर्न नसकुँला त ! भित्री आवाज आयो – अवश्य गर्न सक्छौ । बस, मैले ‘श्री गुरुचरण सरोज रज निज मन मुकुर सुधार’, वर्षा ऋतुको सौन्दर्यको वर्णन ठीक रामचरितमानसको ढाँचामा गरिदिएँ । त, त्यो सुहृद्जनको अवलोकनका निम्ति यहाँ लेख्दै छु –

हे लक्ष्मण, मेघ घमण्डी लेखकहरूजस्तै गर्जिँदै छन् र हातमा कुनै पत्रिका नहुनाले मेरो मन डराएको छ ।
बादल आकाशमा आञ्चलिक कथाहरूझैँ व्याप्त भएका छन् र तिनमा बिहारको पूर्णिया जिल्लाका नक्सा बन्दै र बिग्रिँदै छन् ।

भ्यागुताहरू चारैतिर टर्र टर्र गर्दै छन् जसरी नयाँ कविहरूले रचनाप्रक्रियामाथि चर्चा गर्छन् ।
हे लक्ष्मण, तलाउहरू पानीले टनाटन भरिएका छन् मानौँ बादलहरूले यिनीहरूको रोयल्टीको पुरै हिसाब चुक्ता गरिदिएका छन् ।

हेर, बादलमा कहिलेकाहीँ बिजुली चम्किन्छ जस्तो दुईचार महिनामा भए पनि कुनै पत्रिकामा कुनै राम्रो कविता छापिएको देखिन्छ ।

हे लक्ष्मण, अलिक सावधान भएर हिँड घाँसमा सर्पहरू लुकेका हुन्छन् जसरी छद्म नामका पछाडि एउटा लेखक लुकेको हुन्छ जुन देखिन्न तर डस्छ मात्र ।

उता सुन । एउटा भ्यागुतो निकै खुसी भएर चर्को चर्को कराइरहेको छ जसरी कुनै लेखकको पुस्तक माध्यमिक कक्षाको पाठ्यक्रममा आएको होस् ।

चराहरू गुँडबाट टाउको निकालेर त्यसरी पटकपटक बाहिर हेर्दै छन् जसरी ठुला लेखकहरू लेख्न छाडेर उत्सुुकताले प्रतिनिधि मण्डलमा विदेश जाने मौका ताकिरहेका हुन्छन् ।

ए भाइ, यो चरो रुखबाट उडेर यहाँ घरको छानामा बस्न आइपुगेको छ जसरी ठुला लेखकहरू मौसम खराब देखेर गाउँले जीवनबाट उठेर सहरिया मध्यम वर्गमा आइपुगेका छन् ।

हे लक्ष्मण, हेर त पहाडहरूले पानीका थोपाको आघात कसरी सहेका छन् ? यस्तो लाग्छ मानौँ ‘कन्टेम्परेरी इन्डियन लिटरेचर’मा हिन्दी साहित्यमाथि लेख लेखेर, हिन्दी लेखकहरूका कटु शब्द सहँदै छन् ।

त्यस गधालाई हेर । त्यो चउरको सबै घाँस चर्ने महत्त्वाकाङ्क्षाले कति खुसी छ , जस्तो कुनै लेखकले एक विध्वंशक लेख लेखेर साहित्यिक नेता बन्ने सोच बनाएको हुन्छ ।

हे लक्ष्मण, यस सुकेको ठुटामा एउटा मुना पलाएको छ जसरी कुनै बिर्सिएका वरिष्ठ लेखकले ‘पद्मभूषण’को उपाधि प्राप्त गरेका छन् ।

भाइ, यस खोलालाई हेर । थोरै पानीले पनि यो यति उर्लेको छ मानौँ यसले आकाशवाणीको कुनै कार्यक्रम हात पारेको छ र फुर्तीसाथ आकाशवाणी केन्द्रमा जाँदै छ ।

हे लक्ष्मण, यो गोरेटो घाँसमा यसरी लुकेको छ जसरी रहस्यवादी भाषामा कथा–साहित्यको समीक्षा लुक्दै गइरहेको छ ।
ए भाइ, यो मयुर कल्की ठाडो पारेर कसरी खुसीले नाच्दै छ भने मानौँ कुनै लेखकको कुनै किताबले सरकारी पुरस्कार पाएको होस् ।

हे लक्ष्मण, यस ठुलो रुखमा बसेका चराहरू चिर्बिराइरहेका छन् जसरी भक्तमण्डलीले हिन्दीका आचार्यहरूको गुणगान गरिरहेका होऊन् । अनि रुख हल्लिरहेको छ जसरी आचार्यहरू प्रशंसा सुनेर मग्न हुन्छन् ।

ए भाइ, सुकेको र खुइलिएको पहाडमा पनि केही हरियाली छाएको छ जस्तो कुनै भूतपूर्व लेखकले अनायास संस्मरणको पुस्तक छपाएको होस् ।

हे लक्ष्मण, यस नीलकण्ठलाई हेर । यसलाई देखेर त्यस्तै प्रसन्नता हुन्छ जस्तो राजधानीका लेखकहरूले प्रसारमन्त्रीको दर्शन पाउँदा हुन्छ ।

ए भाइ, ती बाच्छाहरूलाई हेर । वर्षाको आघातसित डराएर यी यस पुरानो घरको ओतमा उभिएका छन् जसरी सम्पादकद्वारा तिरस्कृत उदीयमान लेखकले कुनै मठाधीशको सहारा लिन्छ ।

हे लक्ष्मण, सुकेको पोखरी भरिएको छ जसरी लेखक अकस्मात् प्रकाशक बन्दछ ।
ए भाइ, यी झिल्साहरू बत्तीको वरिपरि यसरी घुमिरहेका छन् जसरी शोधछात्रहरू विश्वविद्यालयका आचार्यहरूका वरिपरि घुम्छन् अनि आचार्यहरू उनीहरूको स्वतन्त्र प्रतिभाका पखेटा जलाउँछन् ।

ए लक्ष्मण, तिमी त्यो छाता लिएर बाहिर ननिस्क किनभने त्यसमा धेरै प्वालहरू छन् । निस्क्यौ भने तिम्रो हालत पनि त्यस लेखकको जस्तो हुनेछ जो कमजोर समीक्षकको छहारीमुनि हिँड्दछ । ए भाइ, त्यस छाताले तिमीलाई धोका दिनेछ । कडा बतासमा यो उल्टिन्छ अनि तिमी त्यस लेखकजस्तै सङ्कटमा पर्न सक्छौ जसको समीक्षकले उसलाई प्रक्षेपण गरेर छाडिदिन्छ ।

बन्धु, वर्षावर्णन यहीँ समाप्त हुन्छ । यसमा विम्ब र प्रतीक सबै नयाँ छन् । शब्दको नभए पनि अर्थको लय त छ नै, अनि आधुनिक भावबोध पनि छ । कोसिस गरेर यसलाई ‘नयाँ कविता’मा समावेश गराइदिनुहोला । यदि यस व्यङ्ग्यखण्डलाई स्वीकार गरियो भने म प्रोत्साहित भएर चौथो सातासम्ममा २५–३० कविता त लेखि नै हाल्नेछु । शेष भविष्यको गर्भमा छ ।

आशा छ, तपाईं सबै सानन्द हुनुहन्छ ।
सस्नेह
ह.शं.प.

०००

परसाईको ‘परसाई रचनावली ३’ अन्तर्गत ‘पत्र निबन्ध’भित्रको ‘वर्षा–विद्रूप’ शीर्षकको पत्रबाट अनुवाद गरिएको हो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x