हरिशंकर परसाईंवर्षाविद्रूप
ए भाइ, त्यस छाताले तिमीलाई धोका दिनेछ । कडा बतासमा यो उल्टिन्छ अनि तिमी त्यस लेखकजस्तै सङ्कटमा पर्न सक्छौ जसको समीक्षकले उसलाई प्रक्षेपण गरेर छाडिदिन्छ ।

हरिशंकर परसाई :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
प्रिय बन्धु,
पछिल्लो पत्रमा मैले म कसरी बादल देखेर क्षणको गहिराइमा डुबेको थिएँ भनेर लेखेको थिएँ ! अनि जब बाहिर निस्केँ अनि देखेँ पानी झमझम बर्सिन थालेको छ । पहिले त दाजु भवानीप्रसादको ‘बरसात आ गयी रे !’ (वर्षा आयो है !) भन्ने कविताको पाठ गरेँ । अनि मन एक्कासि रामचरितमानसको वर्षाप्रसङ्गसम्म उड्यो । सोचेँ, जब मानिसहरू वैदिक प्रतीकलाई लिएर आधुनिक काव्यको रचना गर्न सक्छन् भने म के गोस्वामीजीको फेरो समातेर नयाँ वर्षावर्णन गर्न नसकुँला त ! भित्री आवाज आयो – अवश्य गर्न सक्छौ । बस, मैले ‘श्री गुरुचरण सरोज रज निज मन मुकुर सुधार’, वर्षा ऋतुको सौन्दर्यको वर्णन ठीक रामचरितमानसको ढाँचामा गरिदिएँ । त, त्यो सुहृद्जनको अवलोकनका निम्ति यहाँ लेख्दै छु –
हे लक्ष्मण, मेघ घमण्डी लेखकहरूजस्तै गर्जिँदै छन् र हातमा कुनै पत्रिका नहुनाले मेरो मन डराएको छ ।
बादल आकाशमा आञ्चलिक कथाहरूझैँ व्याप्त भएका छन् र तिनमा बिहारको पूर्णिया जिल्लाका नक्सा बन्दै र बिग्रिँदै छन् ।
भ्यागुताहरू चारैतिर टर्र टर्र गर्दै छन् जसरी नयाँ कविहरूले रचनाप्रक्रियामाथि चर्चा गर्छन् ।
हे लक्ष्मण, तलाउहरू पानीले टनाटन भरिएका छन् मानौँ बादलहरूले यिनीहरूको रोयल्टीको पुरै हिसाब चुक्ता गरिदिएका छन् ।
हेर, बादलमा कहिलेकाहीँ बिजुली चम्किन्छ जस्तो दुईचार महिनामा भए पनि कुनै पत्रिकामा कुनै राम्रो कविता छापिएको देखिन्छ ।
हे लक्ष्मण, अलिक सावधान भएर हिँड घाँसमा सर्पहरू लुकेका हुन्छन् जसरी छद्म नामका पछाडि एउटा लेखक लुकेको हुन्छ जुन देखिन्न तर डस्छ मात्र ।
उता सुन । एउटा भ्यागुतो निकै खुसी भएर चर्को चर्को कराइरहेको छ जसरी कुनै लेखकको पुस्तक माध्यमिक कक्षाको पाठ्यक्रममा आएको होस् ।
चराहरू गुँडबाट टाउको निकालेर त्यसरी पटकपटक बाहिर हेर्दै छन् जसरी ठुला लेखकहरू लेख्न छाडेर उत्सुुकताले प्रतिनिधि मण्डलमा विदेश जाने मौका ताकिरहेका हुन्छन् ।
ए भाइ, यो चरो रुखबाट उडेर यहाँ घरको छानामा बस्न आइपुगेको छ जसरी ठुला लेखकहरू मौसम खराब देखेर गाउँले जीवनबाट उठेर सहरिया मध्यम वर्गमा आइपुगेका छन् ।
हे लक्ष्मण, हेर त पहाडहरूले पानीका थोपाको आघात कसरी सहेका छन् ? यस्तो लाग्छ मानौँ ‘कन्टेम्परेरी इन्डियन लिटरेचर’मा हिन्दी साहित्यमाथि लेख लेखेर, हिन्दी लेखकहरूका कटु शब्द सहँदै छन् ।
त्यस गधालाई हेर । त्यो चउरको सबै घाँस चर्ने महत्त्वाकाङ्क्षाले कति खुसी छ , जस्तो कुनै लेखकले एक विध्वंशक लेख लेखेर साहित्यिक नेता बन्ने सोच बनाएको हुन्छ ।
हे लक्ष्मण, यस सुकेको ठुटामा एउटा मुना पलाएको छ जसरी कुनै बिर्सिएका वरिष्ठ लेखकले ‘पद्मभूषण’को उपाधि प्राप्त गरेका छन् ।
भाइ, यस खोलालाई हेर । थोरै पानीले पनि यो यति उर्लेको छ मानौँ यसले आकाशवाणीको कुनै कार्यक्रम हात पारेको छ र फुर्तीसाथ आकाशवाणी केन्द्रमा जाँदै छ ।
हे लक्ष्मण, यो गोरेटो घाँसमा यसरी लुकेको छ जसरी रहस्यवादी भाषामा कथा–साहित्यको समीक्षा लुक्दै गइरहेको छ ।
ए भाइ, यो मयुर कल्की ठाडो पारेर कसरी खुसीले नाच्दै छ भने मानौँ कुनै लेखकको कुनै किताबले सरकारी पुरस्कार पाएको होस् ।
हे लक्ष्मण, यस ठुलो रुखमा बसेका चराहरू चिर्बिराइरहेका छन् जसरी भक्तमण्डलीले हिन्दीका आचार्यहरूको गुणगान गरिरहेका होऊन् । अनि रुख हल्लिरहेको छ जसरी आचार्यहरू प्रशंसा सुनेर मग्न हुन्छन् ।
ए भाइ, सुकेको र खुइलिएको पहाडमा पनि केही हरियाली छाएको छ जस्तो कुनै भूतपूर्व लेखकले अनायास संस्मरणको पुस्तक छपाएको होस् ।
हे लक्ष्मण, यस नीलकण्ठलाई हेर । यसलाई देखेर त्यस्तै प्रसन्नता हुन्छ जस्तो राजधानीका लेखकहरूले प्रसारमन्त्रीको दर्शन पाउँदा हुन्छ ।
ए भाइ, ती बाच्छाहरूलाई हेर । वर्षाको आघातसित डराएर यी यस पुरानो घरको ओतमा उभिएका छन् जसरी सम्पादकद्वारा तिरस्कृत उदीयमान लेखकले कुनै मठाधीशको सहारा लिन्छ ।
हे लक्ष्मण, सुकेको पोखरी भरिएको छ जसरी लेखक अकस्मात् प्रकाशक बन्दछ ।
ए भाइ, यी झिल्साहरू बत्तीको वरिपरि यसरी घुमिरहेका छन् जसरी शोधछात्रहरू विश्वविद्यालयका आचार्यहरूका वरिपरि घुम्छन् अनि आचार्यहरू उनीहरूको स्वतन्त्र प्रतिभाका पखेटा जलाउँछन् ।
ए लक्ष्मण, तिमी त्यो छाता लिएर बाहिर ननिस्क किनभने त्यसमा धेरै प्वालहरू छन् । निस्क्यौ भने तिम्रो हालत पनि त्यस लेखकको जस्तो हुनेछ जो कमजोर समीक्षकको छहारीमुनि हिँड्दछ । ए भाइ, त्यस छाताले तिमीलाई धोका दिनेछ । कडा बतासमा यो उल्टिन्छ अनि तिमी त्यस लेखकजस्तै सङ्कटमा पर्न सक्छौ जसको समीक्षकले उसलाई प्रक्षेपण गरेर छाडिदिन्छ ।
बन्धु, वर्षावर्णन यहीँ समाप्त हुन्छ । यसमा विम्ब र प्रतीक सबै नयाँ छन् । शब्दको नभए पनि अर्थको लय त छ नै, अनि आधुनिक भावबोध पनि छ । कोसिस गरेर यसलाई ‘नयाँ कविता’मा समावेश गराइदिनुहोला । यदि यस व्यङ्ग्यखण्डलाई स्वीकार गरियो भने म प्रोत्साहित भएर चौथो सातासम्ममा २५–३० कविता त लेखि नै हाल्नेछु । शेष भविष्यको गर्भमा छ ।
आशा छ, तपाईं सबै सानन्द हुनुहन्छ ।
सस्नेह
ह.शं.प.
०००
परसाईको ‘परसाई रचनावली ३’ अन्तर्गत ‘पत्र निबन्ध’भित्रको ‘वर्षा–विद्रूप’ शीर्षकको पत्रबाट अनुवाद गरिएको हो ।
Subscribe
Login
0 Comments
Oldest







































