भोलानाथ सुबेदीअचम्मका षडानन्द
आज उनलाई पल्लो गाउँमा ओथारेकी स्वास्नीले बच्चा कोरलेको एघारौं दिनमा न्वारान गरिदिन पुग्नु थियो तर चप्पलले धोका दिँदा असमञ्जस्यमा परी बिँडी तान्दै सिँढीमा बसिरहेछन् ।

भाेलानाथ सुवेदी :
भर्याङबाट ओर्लँदै गर्दा चिप्लिएर एकैचोटि पुच्छारको सिँडीमा बिँडी सल्काउन पुगेका षडानन्द हिजोआज बिस्तारै खुट्टो घिसारी हिँड्छन्। खुट्टो घिसार्दा धुलो उडेर दुनियाँले आँखा झ्याप्प पारेको बेला अर्काको गोजीमा हात हालेर दाम पैसा च्याप्प पार्न पछि नपर्ने हुनाले उनलाई धेरैले च्यापानन्द कसैले झ्यापप्रसाद र कोही कोहीले टापानन्द भनेको पनि फाट्टफुट्ट सुन्ने गरेको पाइन्छ। बिग्रेर, सडेर उनको नाम षडानन्द राखेको पनि भन्छन् कति । जति गल्ती गरेपनि पानी माथिको ओभानो हुन खोज्ने उनको नानीदेखि लागेको बानी नै हो । जत्रो चस्मा लगाएर हेरे पनि उनी आफ्नो कमजोरी देख्दैनन्। अर्काको कमजोरीमा भने उनको औँलो उठ्न पछि पर्दैन ।
यिनी तारिफका भोका हुन् । गाउँका सबैले आफ्नो तारिफ गरेमा खुसी हुने परिचय बनाएका छन् यिनले । आफ्नो आङमा गोबर दलेर अर्कालाई गनाएको आरोप लगाउनु यिनको विशेषताभित्र पर्दछ। उनी आफ्ना विरोधीहरूको अनुहार पनि हेर्न रुचाउँदैनन् । अस्ति बिनाकारण पल्लो घरका छिमेकीसँग झगडा परेदेखि उनी बुँइगलको झ्यालबाट लिस्नो हाली बाहिर निस्कन थालेका छन् । झ्यालबाट फुत्त लिस्नो टेक्दै सुलुत्त बाहिर निस्कन पल्केका षडानन्द आज हतारोले गर्दा चिप्लिएर चप्पलको उजिन्नो छिनाउँदै सिस्नोको झाङ्गमा थचारिन आइपुगे। बस्ने गालामा पिरो गरी पोलेपछि कसैसँग नबोली उनी शौचालयभित्र गाला सेक्न छिरे ।
षडानन्द भर्खर पण्डित भएर आएका हुन् । बनारस बस्दा साथीसँग बाङ्गा कुरा गरेको निहुँमा साथीले नाक बङ्ग्याइदिएको खबर बेला बेला भुसको आगो झैं फैलन्थ्यो ।
यिनी शान्त स्वभावको चरित्र भएका मानिस होइनन् भन्ने सबैलाई जानकारी नै थियो त्यसैले यिनका अनेक हर्कतबाट टाढा बस्न मन पराउँथे मान्छेहरू । यो सबै कुरा बुझेका यिनले गाउँ आउँदा सबैलाई कुनै न कुनै कोसेली हातमा थमाउँदै गाउँलेको ढोका ढकढक्याएर आफूलाई स्वीकार गरिदिन आग्रह गर्दै अहोरात्र खट्थे। कसैलाई हातमा बाला, कसैलाई मिलमिले घडी, कसैलाई देशी पछ्यौरा, कसैलाई मेहन्दी त कसैलाई चप्पलको लोती । पहिला गाउँमा हुँदा धोती न टोपी भएको मान्छे आज घरघरै आएर यसरी उपहार बाँडेको देखेर धेरैले हुने खाने भएछ भने कतिले शंकाको आँखाले नियाल्दै उपहार कब्जा गरे । सित्तै आएको वस्तु छोड्ने कसले ?
आम्दानीका लागि गुञ्जबहादुरसँग गाँजा गुजुल्टो पार्नेदेखि सुरा सुन्दरीका कोठीसम्म धाउन खप्पिस यिनी राजाको अर्धलीसम्म रिझाउन पुगे भन्ने हल्ला सुनिएको थियो। कहिलेकाहीँ बुद्धिमा भ्रान्ति परिदिनाले क्रान्तिकारीको गोर्खे लौरोले डडाल्नु सेक्दा छ महिना थलिएका पनि हुन् यिनी । यिनी हाम्रो देशका नेताजस्तै दुई जिब्रे छन्। अस्थिर मनोदशाले ग्रस्त छन् । के बोल्छन् पत्तो हुँदैन। के गर्छन् याद रहँदैन ।बोलेको कुरा अरुले सुनेर हाँस्दा यिनी आफ्नो प्रशंसा गरेको सम्झेर गर्वले छाती फुलाउँछन् । मान्छेले खिसी गरे यिनी तानाशाह जस्तै बन्छन् ।आज उनलाई पल्लो गाउँमा ओथारेकी स्वास्नीले बच्चा कोरलेको एघारौं दिनमा न्वारान गरिदिन पुग्नु थियो तर चप्पलले धोका दिँदा असमञ्जस्यमा परी बिँडी तान्दै सिँढीमा बसिरहेछन् ।
किन ओथारी भनेको तपाईँलाई अचम्म लाग्यो होला। कहिल्यै घरबाट बाहिर ननिस्किने घरभित्रै बसिरहने हुनाले उसको नाम ओथारी रहन गएको हो। घरमा बिहान बेलुकाको आहारा पकाउन मुस्किल परे पनि कसैलाई केही नभनी कुनामा कुप्रेर कुखुरो झैँ बस्ने हुनाले सबैले उसलाई ओथारी भनिदिए त्यसै समयदेखि उसको नाम ओथारी बन्न गएको हो। षडानन्दले चाहिँ आफ्नी स्वास्नीलाई भँगेरी भन्छन्। फिस्टो शरीर भएकोले आफैंले रोजेर भँगेरी नाम राखिदिए । छोराछोरीका नाम त अनेक अनेक राखेका छन्। अरुले भँगेरी भन्दा उनको पारो तात्छ र लौरो लिएर लखेट्न पछि पर्दैनन् ।
षडानन्दले धेरै बेर विचार गरे । पल्लो घरमा गएर चप्पल गाँसे अनि लौरो टेकेर काँधमा छाता सिउरेर उनी ओरालो लागे। आफ्नो हिँडाइप्रति आज खासै उनलाई भर छैन। बिहानै भर्याङबाट जिप्टिएर थचारिएको हुनाले आज उनले ओथारीको सन्तानको नाम के राख्लान् कौतुहलताको विषय बनेको छ। बिहानै उठेर कुन अलच्छिनीको मुख हेर्न पुगेछु भन्ने सोचमा मग्न हुँदै उनी लखर लखर ओरालो झर्दै छन् ।धर्मकर्मको विधि विधान नपुगेर हो कि बिहानदेखि अलच्छिन लागेकोले हो हिजो अस्ति जस्तो उनी फुर्तिलो छैनन्। उनलाई बिहानदेखि दिक्क लागिरहेको थियो। ओथारीले न्वारानको सर्जाम ठिक नगरेको भए उनी नामाकरण नगरी फर्कने सुरुमा थिए। तर सबै व्यवस्था भएकोले उनले बच्चाको नाम जुराउन गोजीबाट पात्रो झिके । नाम थबाट जुरेर आयो । उनी आफूले नाम राखिदिने भए के राख्थे तपाईँले पनि विचार गर्नु नै भयो । तर आज भर्याङबाट थेचारिएको हुनाले उनले त्यो हिम्मत गरेनन्। नाम थबाट जुर्यो जे राख्छौ आफै मिलाएर राख भनी उनी दक्षिणा गोजीमा हाली हिँडे।
हिजोआज उनी सुध्रिने मतिमा छन्। बिग्रेको त अरुले भन्ने हो कसलाई पो आफू बिग्रेको थाहा हुन्छ र। आफूलाई बिग्रेको थाहा हुने भए मान्छे किन बिग्रन्थ्यो र ? मलाई पनि लागिरहेछ षडानन्द सुध्रे भने म पनि सुध्रन्छु, हाम्रो समाज सुध्रन्छ, अवश्य कुनै दिन हाम्रा नेता पनि ।
०००
ओखलढुङ्गा
(९८४३०५४१६१)
Subscribe
Login
0 Comments
Oldest







































