अनिता काेइरालाअब आउनै पर्छ जङ्गेको ‘फ्रेन्डरिक्वेस्ट’ !
भ्रष्टाचारको सेतो खोल ओडेर बुद्धलाई नै झुक्याएका छन् । बुद्धलाई नै भजाएर बेचेका छन् । देश रोएको कथा छ । समाज बौलाएको यथार्थ । भत्किँदै गरेको सम्बन्धहरूभित्र मुखालेका कथाहरूको भावभूमि बलियोसँग आएको छ ।

अनिता कोइराला :
आमाको गर्भबाट हामी जब यो संसारमा आउँछौँ हाम्रो पहिलो संवेदना आँसुबाट प्रकट हुन्छ । हामी सबै च्याँट्ठिएर रोएका छौँ । हुन त आसु र हाँसो आमाको गर्भभित्र नै सिकिसकेका हुन्छौँ तर पनि यो संसारले हामीलाई हाँस्नभन्दा बढी रुन सिकाउँदो रहेछ। मलाई यस्तो लाग्छ हाँसो त उन्नत खेती हो, जसलाई फलाउन, फुलाउन कडा मिहिनेत गर्नुपर्छ । साधना गर्नु पर्छ । आँसु त बनमारा हो जो सजिलै फैलिन्छ । रुन, हाँस्न सिक्नु परेन हामीले त्यो संवेदना स्वत हाम्रो ओठ र आँखाबाट बर्सिन्छ । तर संसारले निलेपछि आँखा ओभानो पारेर ओठभरि हाँसो फैल्याउन त कला चाहिन्छ ।
मलाई अचम्म लाग्छ बालकको रोदन सुनेर किन हाँस्छन् आफ्नै प्रियजन ? बालकको व्याकुलतामा कसरी हाँस्न सक्छन् आफ्नै अभिभावक ? रुन कति सजिलो रहेछ । यसरी रुँदै जन्मिएको मान्छे आखिरमा अरूलाई रुवाएर जान्छ । मेरो मनमा एउटा प्रश्न सधैँ उठ्छ । एउटा जिज्ञासाले मलाई लघार्छ । रहस्यमयी हाँसो र आँसुको शाश्वत अर्थ जान्ने इच्छा जागृत हुन्छ । यो संसारमा रुँदै जन्मेको मान्छे फर्किनेबेला आफू चाहिँ रुँदै जान्छ कि हाँस्दै ? कबीर भन्छन् तिमी जन्मेको बेला संसार हाँस्यो, तिमी रोयौ अब यस्तो कर्म गरेर जाऊ कि तिमी हाँस्दै जाऊ संसार रोओस् । कबीरको यो दर्शन मलाई बडो रहस्यमयी लाग्छ । बारम्बार सोच्न पग्छु अहो ! म पनि रुँदै आएकी थिएँ अब फर्कनेबेला हृदयभरि आनन्दको हाँसो लिएर फर्किनु पर्छ । जन्मदा म किन रोएकी थिएँ मैले नै पत्ता लगाउनु पर्छ । अनि जानेबेलामा कसरी हाँस्दै जानुपर्छ मैले सिक्नुपर्छ । तर हाँस्न निकै कठिक छ । भनिन्छ हाँस्न निकै सरल छ तर बिडम्बना सरल हुन उत्तिकै कठिन ।
यसै सिलसिलामा म अहिले हास्यव्यङ्ग्यको संसारमा रमाएकी छु । तर यो संसारमा हाँसोभित्र शाश्वत हाँसो भेट्न सकिनँ । शान्ति र आनन्द ओडेको मुस्कानको चौतारी भेटिनँ । यो हाँसोमा पीडा भित्रको उकुसमुकुस, छटपटी,आक्रोस र विद्रोहलाई अभिव्यक्त गर्न पो हास्यव्यङ्ग्यको संसार निर्माण गर्नु परेको रहेछ । आँसुकै अर्को रूप पो रहेछ हास्यव्यङ्ग्य त !
भूमिकाको लहरो काटेर अब म जान्छु गुदी कुरो कोट्याउन । भोजराज मुखालेको नवीनतमा कृति मेरो हातमा छ । शीर्षकले नै रहस्यको नातो बेरिएको छ ‘जङ्गबहादुरको फ्रेन्डरिक्वेस्ट’ । फित्कौली अनलाइन मिडियाले प्रकाशन गरेको यस कृतिमा तीसबटा व्यङ्ग्य र हास्य कथाहरू छन् । ९६ पृष्ठमा फिजारिएका कथाहरूले वर्तमान समाजका विविध पाटाहरूलाई जुरुक्क उठाएको छ । परिवर्तित सम्बन्धहरू तीतो भएर देखिएको छ । समाज, राजनीति, मनोविज्ञान, बिग्रँदो प्रकृतिको यथार्थ धरातलमा उभिएर मुखालेले डरलाग्दो गरी मुख खोलेका छन् । सरल शब्द लहरीमा भावनाको सुन्दर फूल फुलाएका छन् । विचारका हाँगाबिङ्गामा व्यङ्ग्य कथाहरू मज्जाले फिजारिएका छन् । उनिएका छन् । विविध विषयहरूको सुन्दर माला गाँसेका छन्।
मुखालेका कथाहरू पढ्दै जाँदा म विस्मित भएँ यी कथामा कसरी हाँस्न सकिन्छ ? व्यङ्ग्य त भरपुर छ तर रोदनपूर्ण हास्य छ । झरी बनेर बग्ने आम नेपाली मनको कथा छ । व्यथा छ हाम्रै घरको आँगनको । आक्रोस छ राजनीतिज्ञहरू प्रतिको । व्यवस्था र सत्ताप्रतिको । आम नेपालीको पीडा समग्रतामा आएको छ । देशलाई दोहन गर्ने गिरोहप्रति लक्षित छ व्यङ्ग्य । नेपाल आमालाई नाङ्गो पार्ने निकम्मा मनस्थितिप्रति आगो ओकलेका छन् मुखालेले । मलाई यस्तो लाग्यो मदनमणिको माधवीमा बरुणबली दिन ठिक परेको त्यो विकराल रूप जहाँ आगोको ज्वाला नाक, मुख, आँखा र कानबाट ह्वार्ह्वारी निस्किँदै छ । मुखालेको मुखमा पनि पीडाको अग्नि दन्किँदो छ ।
आम नेपालीहरू राजनीतिदेखि विरक्तिएका छन् । सत्ता लोलुपतामा सेतै केश फुलेर झगडा गर्दै हिँड्ने वयोवृद्ध भुराहरूलाई व्यङ्ग्यको पीडादायी बाँण छोडेका छन् तर ती सरम हराएका वृद्ध बालखहरू बुझ्न सक्दैनन् आम नेपालीको पीडा । कुर्सीको लोभमा बौलाएका छन् क्रान्तिकारी, शान्तिकारी र भ्रान्तिकारीहरू । ठूला ठूला वहस गर्ने नेपाल आमाका पतित सन्तानहरू हत्या, हिंसा र भ्रष्टाचारको सेतो खोल ओडेर बुद्धलाई नै झुक्याएका छन् । बुद्धलाई नै भजाएर बेचेका छन् । देश रोएको कथा छ । समाज बौलाएको यथार्थ । भत्किँदै गरेको सम्बन्धहरूभित्र मुखालेका कथाहरूको भावभूमि बलियोसँग आएको छ । अशान्ति, अतृप्ति, अभाव, अफ्ठ्यारो, अव्यवस्थाको हिउँलाई मुखालेले नीलो हिँउ बनाएर पीडाको हिमालमुनि वर्षौँदेखि गाडेर राखेका रहेछन् । मुखाले आफ्ना पीडा कविता मार्फत् पनि यसरी पोख्छन्,
वरपीपलको रुख मासेर शालिक बनाउँछौ
आफ्नै जरो काट्नेलाई मालिक बनाउँछौ
तिम्रो घिचाइ देखेर गिद्ध पनि छक्क पर्छ गाँठे!
बीउको बोकोले पनि नाक थुन्ने गरी कत्ति गनाउँछौ ? ( ओडाहा डटकम, पृष्ठ ८५)
कविता र आख्यानमा मुखालेको विद्रोही चेत मुखरित भएको पाउँछु । एकचोटि कल्पना गर्नूस् त तपाईंलाई जङ्गबहादुरको फ्रेन्डरिक्वेस्ट आयो भने के होला ? पहिलोचोटि त हाँस्नु होला । पत्याउनु हुन्न होला । कसैले जिस्किएको ठान्नु होला तर जब गम्भीर भएर हेर्नुहुन्छ तब तपाईंको सात्तो जान्छ । अझ सचेत र तर्कशील भएर सोच्नुभयो भने तपाईँ आफ्ना कर्मलाई विवेकको नाङ्लोमा निफन्न थाल्नुहुनेछ । आफ्ना गलत कामहरूलाई विवेकको कसौटीमा केलाउन बाध्य हुनुहुन्छ अनि सोच्नथाल्नु हुने छ आखिर किन आयो त जङ्गेको फ्रेन्डरिक्वेस्ट ? हो हाम्रो व्यवस्थालाई जङ्गेको फ्रेन्डरिक्वेस्ट आउनै पर्छ । कुलङ्गारहरूको सात्तो टिप्नै पर्छ । निकै ढिलो भइसक्यो जङ्गेको रिक्वेस्ट आउन । अब देशलाई भड्खालोमा जाक्ने पात्रहरू छानी छानी आउनुपर्छ जङ्गेको रिक्वेस्ट ।
मुखालेले वर्तमान समाज र सम्बन्धको बडो यथार्थ चित्र प्रस्तुत गरेका छन् । प्रविधिको प्रयोगले के कस्ता सामाजिक, पारिवारिक र मानसिक आघात पारेको छ भन्नै निकै महत्त्वपूर्ण विषयहरूलाई सुन्दर शैलीमा उतारेका छन् । मलाई मुखालेको लेखनी बडो मन पर्यो उनी झर्रो शब्द खेलाउन सिपालु रहेछन् । सामाजिक संजालको दुरुपयोगमा मुखालेले राम्रैसँग मुख च्यातेका छन् । नेताहरूको बौलठ्टीपनमा तिखो व्यङ्ग्य बाँण चलाएका छन् । मौलिक बिम्बहरूलाई सन्दर्भ मिलाएर ल्याएका छन् ।
सर्वप्रथम मैले पनि शीर्ष कथाबाट नै मुखालेको मुख उधार्ने जमर्को गरेँ । कसैको मुख सापट लिएर कानतिरमात्र कोच्नुभन्दा त मुखतिर लैजानु नै बेस रहेछ । मुखालेका कथामा बेजोड व्यङ्ग्य छ । त्यसैले उनको मुख अब उधार्छु । नवीनता र परिवर्तन चाहने कथित देशभक्तहरू जड हुँदै गएको तीतो यथार्थ हामीले भोग्दै आएका छौँ । हाम्रा वयोवृद्ध भुराहरू आफू कहिले परिवर्तन हुन चाहँदैनन् । सत्ता छोड्न नसक्ने किर्नाहरूप्रति मुखाले कथा मार्फत् यसरी अभिव्यक्त हुन्छन् , ‘एकादेशमा वयोवृद्ध भुराहरू एक डोको जति चल्लाचल्लीहरू पछि लाएर गणतन्त्रका रामशाहको दरबारमा बिन्तीपत्र चढाउन गए । यो कोरोना युगमा अन्य अङ्गादी निर्वस्त्र भए पनि नाकदेखि चिउँडोसम्मको एकेक थान लगौँटी लाएपछि काण्डै पुग्ने सर्वसम्मत निर्णय गरी सबै पटाङ्गिनीमा भेला भए ( पृष्ठ ४२ ) । आफूलाई सधैँ सही अरूलाई गलत देख्ने । जति उमेर बढे पनि आफूलाई अश्विनीकुमार नै घोषित गर्ने । दरिद्र मानसिकतालाई गजबको झटारो हानेका छन् । विरोध र माग हाम्रा सेतै कपाल फुलेका भुरा नेताजीहरूको सुन्दा पाठकको पारो चढ्छ । हाँस्न पनि भुलेर रन्थनिन्छ ।
नियति र निर्लज्ज कथामा देशको गम्भीर राजनीतिमाथि कटाक्ष गरेका छन् । छिमेकी देशहरूको घटिया व्यवहार । सीमा क्षेत्रको अतिक्रमण । विदेशी हस्तक्षेप । आन्तरिक कलहको सुन्दर विषयमा मुखालेको कलमले ठूलै हाब्रो च्यातेको छ, ‘घरी घरी दुःख दिएर सताइरहने छिमेकी भनाउँदोले साँध मिच्दै मिच्दै करेसाबारीसम्मै आइपुग्यो । घरका अरू हाम्रा उठिवास हुने भो। लौन, गुहार ! गुहार !! भनेर चिच्याउँदा पनि ठूल्दाइ सुपारी चपाएर बसे। माइल्दाइ चैँ नआत्तिकन बस, हाम्रो खेतबारीकाे लालपूर्जा कन्तुरमा छ, कन्तुरको साँचो चैँ मेरो जनैमा बाँधेको छ भनेर हुक्का तान्दै बसे…’ । (पृष्ठ २२)
कुनै कथामा कुसंगतबाट ग्रस्त र कर्तव्यचुत सन्तानलाई निर्वस्त्र पारेका छन् । ‘अर्दली र समय’ पनि उस्तै बेजोड छ । ‘खुल्ला दिशामुक्त क्षेत्र‘मा गरेको व्यङ्ग्यले प्रशासन र व्यवस्थाप्रति ठूलै झटारो हानेको छ ।कथाहरू सबै एकैनाशका छैनन् । कुनै उत्तम छन् । कुनै मध्यम । कुनै कथा सुन्दैआएको चुट्किला जस्ता पनि लाग्छन् । हृदय छुने कथाहरूले पाठकको मस्तिष्कमा रनाह छुटाउँछ ।
अन्त्यतिर आउँदा मलाई भन्नै मन लाग्यो । कथामा हास्यरस घोल्दा किन कुनै जातप्रति भद्दा मजाक गर्नु । यो संसारमा कोही काला छन् कोही गोरा । कोही अग्ला छन् त कोही होचा । विचारले मान्छे अग्लिनु पर्छ । अझ कलमकर्मीले धेरै कुरा मनन गरेर मात्र कलम चलाउनु पर्छ । आफूले लेखेका शब्दले अर्को वर्ग जात धर्मलाई कस्तो असर गर्छ सोच्नै पर्छ । ‘सेकेन्ड ह्याण्ड’ कथामा कथाकार निकै बहकिएका छन् । केटी के जन्तर हो ? हिजो खुट्टा भए जुत्ता त कति कति भनेको सुनेकी थिएँ आज फेरि जन्तर भनेर नारीलाई खसालेको देख्दा मलाई पनि बडो नरमाइलो लाग्यो । अब त कथाकारले सहअस्तित्व बोध हुने किसिमका कथा लेख्नै पर्छ । ता कि समाजमा नयाँ पुस्ताले पनि नारीलाई भिर्ने जन्तरका रूपमा नलिउन् । हाँस्नकै लागि । हसाउँनकै लागि नारीलाई बस्तुको रूपमा व्याख्या गर्न मिल्छ कथाकारले ? कथाकार यसरी अभिव्यक्त भएका छन्, ‘यो लिखुरे भान्जोलाई एउटी राम्री जन्तर लाइदिनु पर्यो । लु भाइ, अल्लि जाँगर लाएर खोज-खोज ।‘( पृष्ठ ३३)
फेरि पनि कथाकार थामिएका छैनन् र भन्छन्, ‘तिमीलाई मिल्ने केटी त बढुबा भएर आइमाई भइसकी । अब त केटी हैन, तिमीलाई घर सम्हाल्ने आइमाईको खाँचो छ, बुझ्यौ ?’ (पृष्ठ ३४) कथाकार नारीप्रति निकै सङ्कुचित हुँदै जान्छन् जुन उनको चरित्रभन्दा निकै बेग्लै छ । सहअस्तित्व सहयोग र सम्मानका पक्षधर कथाकारले किन होस् गुमाए यो कथा लेख्दा भन्ने प्रश्नले मलाई निकै पोल्यो ।
‘तिमीभन्दा दुईचार वर्ष कान्छी नै होली । आइमाई महिनावारी हुन्जेल तरुनी नै हुन्छन् । अब यसपाली बिहे गरे, आघौँ बाउ भेहाल्छौ नि !’ यसरी नारीलाई जुन किसिमले व्याख्या गरिएको छ त्यो विवेकसम्मत देखिँदैन । कुनै कुरा परिवर्तन गर्न सकिँदैन जे छ त्यो स्वीकार्नु पर्छ । अमेरिकाको क्षेत्रफल हेरेर नेपालको क्षेत्रफल दाँज्न मिल्दैन । आ-आफ्नो अस्तित्व हुन्छ । यहाँ कथाकारले कुनै कथामा नारी पात्रलाई निकै ओल्च्याएका भेटिन्छछन् जुन कुरा म नारी भएकाले मात्र हैन विवेकशील पुरुषलाई पनि अपाच्य लाग्न सक्छ । जुन कुरालाई कथाकारले आगामी दिनहरूमा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ ।
०००
काठमाडाैं









































विचारोत्तेजक समीक्षा र मननीय सुझावको लागि प्रखर समीक्षक आदरणीय अनिता कोइराला बैनीलाई अनि प्रकाशनको लागि फित्कौली – मठाधीश नरनाथ दाजुप्रति हार्दिक आभारी छु ।🙏🙏