साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सी

ब कुर्चीले संगठन खोल्नुपर्छ । यहाँ चोरका संगठन, झ्याप्ले संगठन, मुन्द्रे संगठन, सयौं संगठनहरु बनिसके आफ्नो अस्तित्व जोगाउन कुर्सीले संगठन खोल्दा के को आइतबार ?

Nepal Telecom ad

भोलानाथ सुवेदी :

दुनियाँले छानेका खुट्टेहरू मध्येका दरिला खुट्टेहरूले पिठासीन हुने थलो हो चारखुट्टे कुर्सी । अनौठो होइन नाम । प्राचीन कालदेखि जिब्रोले फट्कारेको र आधुनिक जिब्रोले -याल चुहाएको तागतिलो रवाफ देखाउने आसन हो कुर्सी। आँखाको तारो अनि पारो पनि हो यो । कुकुरले हड्डीमा होड गरेजस्तो माझीले भेलमा झेल गरेजस्तो, निमुखाको मुखमा पासो पारेर मन्द मुस्काउने व्यथा जस्तो मोह चढेको हुन्छ कुर्सीमा । जोडले होड चल्ने, जुटाउने, फुटाउने बिन्ती भाउ गर्नुपर्ने, पद प्रतिष्ठाको लघारालघार । घर देशदेखि परदेशसम्म भेटी चढाउनुपर्ने, भगवान मान्नुपर्ने, जाबो त्यही कुर्सीका लागि पाखामा चरिरहेको कालो बोको छिनाउनुपर्ने । कुर्सीमा बस्न कतिलाई हुत्याउनुपर्ने, कतिलाई फुर्क्याउनुपर्ने मथिङ्गल बिगार्ने मोह ! मान्छे कुर्सीका लागि आफै खरिद बिक्री भइरहेछ । इमान बेचेर बेइमान बनी रहेछ।

चेतनाले शिखर चुमे पनि मान्छे सन्तुष्टको सास फेर्न कुर्सीकै लम्पट बनिदिन्छ । सुँगुरलाई स्वर्ग जा भन्नु जस्तै हो मान्छेलाई । लक्कुको पहिरो चलाएर विगतका कटकट्याउँदा दागहरू सुवासित गरी सम्मानको पगरी गुथ्न कुर्सीमै आइपुग्छ मान्छे। कुर्सी देवता बनेर जीवनभर भेटी खाने बनिरहन्छ। यस्तो अलौकिक शक्तिशाली कुर्सीलाई सधैं प्रणाम छ ।असल चरित्र कम र कमसल बढी थिग्रने विडम्बना ! भूगोलमा भुकेर सत्ताको दाउपेचमा खुट्टो घुमाउने दस्ता छुट्टै ।

बङ्करमा भविष्य देखेर सहिद बनेका बङ्करमै कुहिरहे । डङ्गरङ्ग लडेको कुर्सी सत्ताको पत्ता उडाइरहेछ हावामा। पावरले फायर गर्दा पनि कायर हुँदैन कुर्सी । हिंसा र प्रतिहिंसामा भण्डारखाल, कोत पर्व, जहाँनिया शासन सत्ता, पञ्चायत, बहुदल, भूमिगत युद्धको प्रमुख ध्यय नै हो कुर्सी । कुर्सीले गृहयुद्धदेखि विश्वयुद्धसम्म चलायमान गर्न सक्छ । घरको भान्सामा डाडु पुन्यौ समात्नेदेखि सिंहदरबारको शासनसत्तामा चुरीफुरी लगाउन पनि कुर्सीकै लागि हारालुछ गरिरहेछन् ।

कुर्चीले पुर्पुरो सेक्नेदेखि कुर्सीमै पुर्पुरो सेकाउनेसम्म स्वतन्त्रता र राष्ट्रियताको साँचो बखान ओकली रहेछन् मञ्चहरुमा । अखबारका पानाहरू थङ्थिलो छन् खबरले। अति कोक्याउने राजनीति ।राजनीतिको दाम्लोमा सुर्काने लागेर सास फेर्दै छ कुर्सी । अर्थहीन भविष्य बोकेर मुठी उचालेकाहरू तप्कानेमा परेको बिरुवाझैँ भएका छन्। कुर्सीको खबर लेख्न पत्रकारहरू जेठा नेताका पद पदमा र कद कदमा घोप्टिरहेछन् । घोकाइ रहेछन् विचारको एउटा खिया लागेको रटान !

घण्टा घण्टाको रेडियो, टेलिभिजन समाचार, मिनेट मिनेटका सामाजिक सञ्जालका खबरहरू, पँधेरोदेखि खानेपानी संस्थानसम्म चिया पसलदेखि पाँचतारे होटलसम्म कुर्सीका खबर बेखबर भई पसारिन्छ । कुर्सी भोकहरुको आवाज सहन सक्दैन। नेपाल बन्द, नाका बन्द, बजार बन्द, यातायात ठप्प भएपनि कुर्सीले आफ्ना चार खुट्टाको दरिलो पाइलो गाडेर छाड्छ। बन्द सार्वजनिक बिदा, राष्ट्रिय सङ्कट जस्तो अवस्थामा कुर्सी मौन बस्नु तपाईं हाम्रो लाजमर्दो अवस्था । गजबले जुँगामा पाउ लगाउँदै हाँसिरहेछ कुर्सी । दलको ढल सुँघेर बाँचेको पुस्ता पद कुर्सी र ठूलालाई दश औंला जोडेर बाँच्नुपर्ने हामी जस्ता पेट कसुवाको पुर्ख्यौली धर्म नै हो । हाम्रो कानुनमा सार्वभौमसत्ता नेपाली जनतामा निहित भनेर लेखेको कति दशक भयो तर व्यवहारमा कुर्सीको फरकमा कस्तो अर्थ लाग्ने देखिएन ।

सभामा कुर्सीमा बस्नेहरू अतिथि, प्राज्ञ कहलिन्छन् । तिनै कुर्सी टाउकेको दुई घण्टे दिक्क लाग्दो कुरा सुन्न थाले धुलो हिलो र भिडमा ठेलमठेल गरेर झुत्ती खेल्दै ताली बजाइरहने हाम्रो जबरजस्ती आदत।

कार्यालयमा कुर्सीमा बस्नेहरू नमस्कारका भोका हुन्छन् । पितल भुँडे र सुइखुट्टेहरू कुर्सीकै प्यारा हुन्छन्। हाम्रा, राम्रा, चाम्रा, दाम्रा सबै कुर्सीको आराधनामा घण्टा बजाइरहन्छन् । कुर्सी सोखको प्रतिमूर्ति ।कुर्सीको फन्दामा परेपछि जो कोही बन्दामा पसेको किरा झैँ जेलिरहन्छ । कुर्सीलाई अचानो बनाएर जनताको भाग्य चिनाइरहेको राजनीति। सहिदको बलिदानको उपहास विश्वासको खडेरीले उठेको स्वाभिमान देखेर हरेकको मनमा सोला हान्छ ।

कुर्सीको रस्साकसीमा अल्झेको देशको भविष्य । डामाडोल अर्थतन्त्र, खिया परेको औजारले गरेको कृषि क्रान्ति, सगरमाथा उग्लन लागेको महंगी सबै आफ्नो थाप्लामा राखेर नेपालीहरू लामो आयु बाँच्ने योगमा व्यस्त छन्। भोकमरी भाइरल ज्वरोले दुःख दिए पनि कुर्सी मस्त निन्द्रामा हुन्छ। अनि हामी सोधिरहन्छौं सरकार के गर्दै छ। भोकमरीले हुम्ला जुम्ला र जाजरकोट ओठ कलेटी पारेर नुनिला आँसु लुकाइरहेछन् । सरकार कुहेको पाँच किलो चामल बोकेर आउँछ ।सिँगानका लेग्रा चाटेर बाँचेका कर्णधार पेट भर्नुको सपना देखेर टोलाइरहेका हुन्छन् । खै! कसरी यी सबैको बीचमा तालमेल मिल्ने हो कसरी सपना पुरा हुने हुन् कुर्सी बेखबर छ।

हिजोलाई आजसम्म बोकेर सत्ता शक्ति लोकतन्त्रवादी बनेको छ । कुर्सीको चेपमा जनतालाई निचोरेर प्रजातन्त्रवादी र क्रान्तिकारीहरु खित्काइरहेछन्। धुलौटोमा बाह्रखरी लेखेजस्तो छ देशको मार्गचित्र । पसिनाले चुटेका पञ्चवर्षीय योजनाहरू, नौ नौ महिनामा फेरिन्छन् कुर्सीका लागि सत्ताहरू। विनिमय स्वार्थको रापमा निर्दोष कुर्सीहरूको अस्मिता लुटिएको छ । बदनामको पगरी गुथी रहेछन् कुर्सीहरू । असफलता, अराजक र आतंकवादी बनेर इज्जतदार कुर्सीमा बसेर कुकर्मको मार्ग चित्र कोर्न भ्याइ नभ्याई छ कसैलाई ।

कुर्सीको लागि सडक पोल्ने, हातमा राँका बाल्ने, पुत्ला दहन गर्ने, करङ्ग भाँच्नेदेखि दाम चढाउनेसम्म, दल अदलबदलका बग्रेल्ती समाचारहरू सुन्न पाइन्छ । हाम्रो कारणले निर्दोष कुर्सीहरूले अपमानको लपेटो शिरोपर गर्नुपरेको छ। सारा पद विहीनहरूको बीचमा कुर्सीको मान प्रतिष्ठा जोगाउन एउटा नौलो संस्कारको थालनी आवश्यक छ यतिखेर। एक कुर्सी शासकको असफलताको विश्वमा कुर्सीहरूको इज्जतमा दाग लाग्छ। दुनियाँको हेला खेप्न पुग्छन् शोभायमान कुर्सीहरू । अब कुर्चीले संगठन खोल्नुपर्छ । यहाँ चोरका संगठन, झ्याप्ले संगठन, मुन्द्रे संगठन, सयौं संगठनहरु बनिसके आफ्नो अस्तित्व जोगाउन कुर्सीले संगठन खोल्दा के को आइतबार ? झरीको स्याल भएर किन निचोरिन्छन् कुर्चीहरु । अवसरमा धराप थापेर कति चोइटिन्छन् कुर्सीहरू । गद्दाफी, लादेन कुर्सीको अपमान गर्ने आतंकवादको एउटा नाम।

कुर्सीको रडाकोमा निरङ्कुशतासँगै इहलीला समाप्तिको इतिहास । पृथक पृथक शैलीमा सिँगारिएको कुर्चीको सर्वोच्च शान! कुर्ची हुनु पद हुनु, बेरोजगारी हुनु र शासक हुनुमा मात्र सीमित होइन कुर्सी । सक्षम, सबल उत्तरदायित्व र अनुशासनले चुलिएको जिम्मेवारी कुर्सीको लागि परीक्षण र प्रयोग गर्न प्रविधि सञ्चालन गरौं । फूलको माला लगाउने सत्कर्ममा लम्काउन कुर्सीहरू अग्रसर रहुन्। जय कुर्सी।

०००
(९८४३०५४१६१)

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
भोट माग्न आउनेहरू

भोट माग्न आउनेहरू

भोलानाथ सुबेदी
हाम्रो लौरो खै ?

हाम्रो लौरो खै ?

भोलानाथ सुबेदी
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x