सुशील रिजालमान्छे कहाँ छन् दुखी ?
छैनन् साँध कतै न छन् दशगजा चाहिन्न सीमा बल कुद्दैनन् रणकाे विनाश पथमा निस्पाप छन् निश्छल । गर्छन् मानिसले घृणा अनि दया निश्चिन्त हुन्छन् पशु फुक्का फाल भए रमाउँछ सधैँ जान्दैन क्यै खास ऊ ।।

सुशील रिजाल :
मेराे धर्म महान् भनेर पशुले हुङ्कार गर्लान् र के
साह्रै कष्ट भयाे भनेर तिनले दिक्दार मान्लान् त के ?
छैनन् भ्रष्ट पना विकार पशुमा गर्दैन क्यै सङ्ग्रह
लुट्दैनन् तिनले कतै मनुजझैँ गर्थे र के विग्रह ?
गर्छन् यत्न सुधा प्रयत्न मनले निष्काम डट्छन् पशु
चासाे छैन कुनै कहाँ छ कटुता जल्दैन बेकार ऊ ।
मिथ्या तर्क गरी रमाउँछ भनाैँ संवेदना दुख्छ र
मारामार गरी लडाउँछ भनाैँ संहार त्याे गर्छ र ?
रम्छन् रम्न सके खुला सफरमा कुर्दैन अर्काे दिन
जे मिल्छन् सहजै चपाउँछ त्यहीँ चिन्दैन पैसा सुन ।
छैनन् दुष्ट सखा समान जनझैँ वित्यासमा तर्किने
गर्दैनन् तिनले यथा समयमा पीडा भरी कर्किने ।।
छैनन् साँध कतै न छन् दशगजा चाहिन्न सीमा बल
कुद्दैनन् रणकाे विनाश पथमा निस्पाप छन् निश्छल ।
गर्छन् मानिसले घृणा अनि दया निश्चिन्त हुन्छन् पशु
फुक्का फाल भए रमाउँछ सधैँ जान्दैन क्यै खास ऊ ।।
हुन्छन् प्रश्न सदा विराज मनमा के हाे खुसी आखिर
छैनन् उत्तर नै कि छन् मनुजका साेचाइभन्दा पर ।
भन्छन् मानिसले बुझेसरि सबै बेचेर किन्छाैँ खुसी
आफैँ मात्र महान् भनेर उभिने मान्छे कहाँ छन् दुखी ?
०००
कीर्तिपुर, काठमाडौ ।
२०८२/०४/०१







































Karuna