सुशील रिजालरमिता
खलका कलमा किन छिर्छ कवि ढलकाे नलझैँ तल गिर्छ छवि । कवि लम्पटमा जब फस्न गयाे कविका कविता बरबाद भयो ॥ जब लेख्छ यथार्थ तटस्थ बसी छुन सक्छ कथा मदिरा जसरी । जन दुर्जन बुझ्दछ मानवता कवि तुन्छ कथा भुइँमानवका ॥

सुशील रिजाल :
इतिहास रचे कविका छविले
सम भाव भरे जसरी रविले ।
कविता युग हाे कवि बाेधक हाे
नव सर्जक हाे युग द्याेतक हाे ॥
छल वा दलकाे मत हुर्मतमा
विष घाेल्छ भने कवि हुन्छ कहाँ ?
जब चेत भरी कटु बाेल्छ कवि
तब सम्मुख अग्नि उकेल्छ कवि ॥
गुणगान छुने धुन गुञ्जनले
नव दर्शनका अभिलेख मरे ।
अतिरञ्जनले दिल जल्दछ नै
तब सिर्जनमा खिल गड्छ सधेँ ॥
खलका कलमा किन छिर्छ कवि
ढलकाे नलझैँ तल गिर्छ छवि ।
कवि लम्पटमा जब फस्न गयाे
कविका कविता बरबाद भयो ॥
जब लेख्छ यथार्थ तटस्थ बसी
छुन सक्छ कथा मदिरा जसरी ।
जन दुर्जन बुझ्दछ मानवता
कवि तुन्छ कथा भुइँमानवका ॥
कवि शिष्ट भए कविता कहने
मन कञ्चनमा सरिता बहने
कविका कविता प्रिय मन्त्र बनून्
लत लालचका रमिता नबनून् ॥
०००
कीर्तिपुर, काठमाडौं ।
२०८२/०७/२५
Subscribe
Login
0 Comments
Oldest







































