रमेश समर्थनआइमाईको उमेर
खाँटी कुरो नढाँटी भन्ने हो भने यी महिलावृन्दको साँचो उमेर पत्ता लगाउनु नेपाली लोककथाको भुतले गाईका रौँ गन्नुजत्तिकै अप्ठ्यारो काम हो । मलाई त के लाग्छ भने कतै कुनै दाँत झरेकीले ‘मेरा त दाँतै उम्रेका छैनन् ।’

रमेश समर्थन :
मान्छेले आफूजस्तो अरूलाई मान्दैन । त्यसैले त कखरा पढ्दा पनि ‘म’ पढ्दा ‘मराम्रो म’ पढ्नुभन्दा पहिले ‘त’ पढ्दा ‘तँराम्रो त’ भन्न जानेन । यो मान्छेको मपाईं हो कि ठुल्याइँ हो भन्ने त म भन्न सक्दिनँ तर महिलाहरू भने ठुली वा जेठी हुन चाहन्नन् भन्ने सोह्रै आना सही हो । उनीहरू सधैँ सानी वा कान्छी मात्र देखिन र कहलिन चाहन्छन् ।
हुन पनि प्रकृतिले महिलाको अनुहारमा जुँगादारी नउमारेर पुरुषहरूप्रति अन्यायपूर्ण ठट्यौली नै गरेको हो । नत्र यी महिलाहरूले सधैँ आफूलाई षोढशी बताएर छुल्याहा पुरुषलाई छल्न त पाउने थिएनन् । पुरुषको त जातै जम्दार ! यो कुरो मान्छेमा मात्र लागु हुँदैन । सबै प्राणीमा छुल्याइँ गर्ने पुरुष वा भाले नै हुने गरेको छ चाहे मयुरले झैँ माथिको देखाउँदा तल नाङ्गिनु परोस् चाहे बाह्रसिङ्गेले झैँ कुनै रुखको हाँगामा टाँगिनु परोस् पोथीका निम्ति ज्यानै फाल्न तयार हुन्छन् । हुन त हलेदो भनेर चिनेपछि कोट्याइरहन नपर्ने हो तर आफ्नो त बाँदरे बानी नकोट्याई बस्नै सक्दिनँ ।
भाले जातले पोथी जातको नाम सुन्नुपर्छ चितामा सुतेको भए पनि जुर्मुराउँदै उठ्छ । उसको यसै कमजोरीको फाइदा कैयौँ बुढीकन्नेहरूले सजिलै उठाएका छन् । पछिल्तिरबाट ‘क्या च्वाँक !’ भन्दै ट्वाक ट्वाक जिब्रो पड्काउँदै न्यु रोडदेखि ठमेलसम्म पुग्छन् । त्यहाँ पुगेर थुतुनो हेर्दा ‘धत्तेरिका !’ भन्दै खुट्टा काँधमा राखेर कुद्छन् ।
साँच्चि महिलाहरू किन आफ्नो सही उमेर बताउन चाहन्नन् ? तपाईंलाई थाहा छ ? छ भने मलाई पनि भनिदिनोस् न ! सत्ते सत्ते मैले नजानेर नै सोधेको हुँ के ! जे किरिया खान पनि सक्छु । के उनीहरू सधैँभरि तरुनी नै रहेर तन्नेरीहरूका नजरमा पर्न चाहन्छन् ? हेर्नोस् न ! चाहे पच्चिसै वर्षमा दुईचारवटा भन्टाङभुन्टुङ भएकीलाई सोध्नोस् चाहे चालिस कटेर सासू बन्ने पर्खाइमा रहेकीलाई सोध्नोस् , ‘तपाईं कति वर्षकी ?’ त उत्तर पाउनुहुनेछ, ‘भर्खर त बिस लागेँ । के बुढी देख्नुभयो र ?’
अनि हाम्रो समाज कस्तो उल्टो नि त ! चौधै वर्षकी भए पनि सिउँदोमा सिँदुर देखे कि त सुझ न बुझसित ‘दिदी’ भनिदिन्छन् भने त्यहीँ पुरुष अलि पुड्को र जुँगादारी नआएको छ भने उसकै पत्नीका सामु ‘भाइ’ भनिदिन्छन् । हुनत कसै कसैले महिलाको मान बढाएको भन्ने कुतर्कको तगारो पनि तेर्स्याउन सक्छन् तर म भन्छु यस्तो अपमान गर्ने मानको के काम ? बेकारको भुक्तमान मात्र त हो नि ! बरु कैयौँ पतिहरू पत्नीका सामु ङिच्च पर्नुपर्ने स्थिति आउँछ । नपत्याए मेरै अनुभव सुन्नोस् न !
कैयौँ ठाउँमा एउटै मान्छेका लागि उनी ‘दिदी’ र म ‘भाइ’ भएका छौँ । अब तपाईं नै भन्नोस् त्यस स्थितिमा मेरो दशा कस्तो भएको हुँदो हो ? के म भित्रभित्रै रोइनँ होला त ? एउटा वास्तविक घटनाको कायाकैरन लाउँछु ल !
हामी वर्षे विदामा घर आउँदै थियाँै । उनीसँग एउटा घोर्ले छोरो पनि थियो भने मसँग झोलाझ्याम्टा थिए । हामी बसमा चढ्यौँ । कन्डक्टरले पत्नीलाई सम्बोधन गर्दै भने, ‘दिदी ! तपाई त्यो सिटमा बसिहाल्नुस् ।’ र मलाई भने, ‘भाइ तिमी त्यहाँ उभिनू है !’ अब भन्नोस् त त्यति वेला मेरो दशा कस्तो थियो होला ? एकछिनपछि मैले पनि बस्ने ठाउँ पाएँ र पछिल्तिर रहेका मेरा परिचितले मेरो विद्यालयको एस. एल. सी.को नतिजाबारे जिज्ञासा राखे । मैले पनि यथार्थ भनिदिएँ । त्यहीँ अर्को सिटमा बसेका एक जनाले सोधे, ‘भाइले पनि एस. एल. सी. दिएका थियौ ?’ मेरो कन्पारो रन्क्यो र मैले भनिदिएँ, ‘अँ, दिन त दिएको थिएँ तर फेल भएँ ।’ यो सुनेर मेरा परिचितका साथी हाँस्न थाले भने उनी अन्योलमा परे । पछि बल्ल उनले थाहा पाए म त माध्यमिक तहको स्थायी शिक्षक थिएँ । उनले भने, ‘तपाईंलाई देख्दा त लाग्दैन ।’ मैले पनि भनेँ, ‘तपाईंलाई देख्दा पनि तपाईं डी. एफ. ओ. हुनुहोला भन्ने लाग्दैन ।’
यो जेठाकान्छाको घनचक्करमा परेर हामी लोग्नेजातले कति अपमानको ठक्कर खान्छौँ र अक्करमा परी अक्क न बक्क हुन्छौँ तर यी स्वास्नीजात जेठी भएर तपाईं कहलिनुभन्दा कान्छी भएर तिमी कहलिनुमा आफ्नो प्रभुत्व देख्छन् । यही बुझेर हो कि कालिदासले उहिले नै लेखिदिएका रहेछन् , ‘नारीको सौन्दर्य आफ्ना प्याराका लागि प्यारो लाग्नकै लागि हो ।’
मसँग यसका कति कति घटनाहरू छन् जुन न लेखिसाध्यका छन् न कहिसाध्यका छन् । फेरि पनि दसीका रूपमा अर्को एउटा घटना पनि सुनिहाल्नोस् जुन मसित नै सम्बन्धित छ ।
म घरका लागि सिल्ली भएर दिल्लीका गल्लीहरूमा रल्लिँदै हिँड्दाको कुरो हो । हाम्रो राजधानीका बसहरूमा झैँ त्यहाँको राजधानीका बसहरूमा पनि घच्चाघच्ची मज्जाले हुन्छ । तर घच्चाघच्चीमा कुनै मिसले ‘इस्’ भन्दै गालामा किस गरे त बेसै हो तर कुनै लोग्नेमान्छेले झुक्किएर पनि त्यहाँका ‘ती’हरूलाई गरेको ‘टच’ उनीहरूका लागि ‘ब्याड टच’ भन्ने लाग्यो भने वा त्यसै पनि छोइयो भने त्यहाँका हिप्पोजस्ता ‘ती’हरूले उत्पातै मच्चाउँछन् । यसका लागि त बरु काठमाडौँ नै जाती । यहाँ त स्विटीहरू नै ठोक्किन आउँछन् । हेन्सीहरूले पहल गर्नै पर्दैन । अनि कथंकदाचित् तपाईंलाई नै ‘गिल्टी फिल’ भयो र ‘सरी’ भन्न खोज्नुभयो भने त तपाईं कुनै पाखाबाट आएर माखा मारिरहेको तर आँखा भएको अन्धो बन्नुहुनेछ । यस कुरामा यताको राजधानी धेरै उदार छ । हुन पनि उता त्यति वेला ‘ती’ कै रजगज थियो सत्तामा ।
अँ त, त्यसै घच्चाघच्ची चलेकै वेलामा गतिमा गुडिरहेको बस घ्याच्च रोकियो अनि कतै समाउने ठाउँसम्म नपाएको एउटो बबुरो देहाती युवक ढुन्मुनिँदै पुग्यो एउटी थसुल्ली पन्जाबिनीसित ठेस्सिन । हुनत ‘ती’ त्यसकी आमाकै उमेरकी थिइन् र यसमा उसको गल्ती पनि थिएन । फेरि पनि उनी किन मान्थिन् ? उनले आरनका कोइलाजस्ता आँखाले त्यस तन्नेरीलाई हेरिन् । उनका आँखा देख्नासाथ केटाकोे सातोपुत्लो उड्यो र अनुहार सर्पको विष लागेको मान्छेको झैँ निलो भयो । उसले बल्ल बल्ल थुक निल्यो र भन्यो, ‘सरी माँ जी !’ हेर त त्यसको हरिबिजोग ! ठोक्किएपछि पनि खिसिक्क हाँसेर ङिचिक्क दाँत देखाइदिएको भए बरु माफ पाउँथ्यो कि ? तर उसले ‘आमा’ भनिदिँदा उनको बर्मन्डी तातेर आयो र योग्य विद्यार्थीले प्रश्नकर्तालाई प्रश्न पुरा नहुँदै जवाफ हाजिर गरेझैँ ‘आमा’ सम्बोधनको जवाफमा एक झापटको रसिद थमाइदिइन् । केटो जुन भर्खरसम्म कालोनिलो अनुहारको थियो अब रातो न रातो देखियो । उनले हातको लबटा मात्र लाइनन् शब्दका खबटा पनि बर्साइन्, ‘मैं तेरे बाप की बीवी हुँ ? मैं क्या तेरी माँ जैसी लगती हूँ ?’ देख्ने र सुन्ने सबै अक्क न बक्क । आँखा दुवैमा टक्क र अनुहार सवैका छक्क ! यसले गाला सुम्सुम्याउँदै फेरि फिराद गर्यो, ‘माफ करना बहन जी !’
धत्तेरिका ! कस्तो लाटोकोसेरोभन्दा पनि लाटो रहेछ त्यो ! म भए भनिदिन्थेँ होला, ‘बाइ मिस्टेक हो गया । डोन्ट माइन्ड मिस्……! आपको तकलीफ त नहीं ही हुयी होगी ।’ नभए चुपै लागिदिन्थेँ तर त्यसका दिन त बिग्रेकै रहेछन् र त अर्को लपटो अर्को गालामा पायो र यो शब्दप्रसाद पनि खायो, ‘मैं तेरी बहन जी लगती हूँ ? तेरी बहन जी होने की उम्र है मेरी ?’
शास्त्र भन्छ, ‘मातृवत् परदारेषु’ तर व्यवहारले भन्छ यी दाराहरूका दाह्राको प्रहार सहन सके त मातृवत् हुने हुन् ! यो त देखेको कुरो । भोगेको कुरो त सुनाउनै बाँकी छ । एकछिन समय निकालेर सुनिहाल्नोस् है त ! कुरो दिल्लीबसाइकै दिव्य कालको हो । त्यहाँ हामी चतुरे युवकहरूले केही फतुरी युवतीहरूलाई देख्यौँ र तिनीहरूसित लेप्सिने अव्यक्त मनसायले एउटा सांस्कृतिक क्लब गठन गर्यौँ । अब भने मन परेकीसित नाच्न वा अन्य अभिनय गर्न कसले रोक्ने कसले टोक्ने । तिनै दिनको कुरो हो । एक दिन म कतै जाँदै थिएँ । एउटा आवाजले मेरा पाइला रोकिदिए, ‘कस्तो टाँगाको घोडाझैँ अगाडि मात्र हेरेर हिँड्न सकेको होला ? यताउता पनि नहेर्ने ? हाम्रो त वास्तै छैन ।’
मैले फर्केर हेरेँ र भनेँ, ‘मैले दिदीलाई चिन्दै चिनिनँ ।’
‘आम्मै ! के भनेको ? मलाई दिदी रे !’
ती बहिनी बन्न रहर गर्ने तिनै हाम्रो क्लबकी एउटी सदस्याकी माताजी थिइन् । ती सदस्या सत्र वर्षजतिकी थिइन् भने म बिस वर्षको थिएँ । भोलिपल्ट तिनै नानीले ‘हिजो मेरी आमासित के गफ हुँदै थियो त ?’ भनेर सोधेपछि पो म धरातलमा ओर्लिएको थिएँ । ती केटीसित मञ्चमा मेरो शरीर मच्चिन्थ्यो तर बाहिरी आँखाको मस्कामस्की चल्न थालेको थियो र त्यसले मुटुमा चस्काचस्की गराउन थालेको थियो ।
अब भन्नुस् प्रकृतिको यस विभेदपूर्ण व्यवहारप्रति हामीले गुनासो गर्न कहाँ जानुपर्ने ? खाँटी कुरो नढाँटी भन्ने हो भने यी महिलावृन्दको साँचो उमेर पत्ता लगाउनु नेपाली लोककथाको भुतले गाईका रौँ गन्नुजत्तिकै अप्ठ्यारो काम हो । मलाई त के लाग्छ भने कतै कुनै दाँत झरेकीले ‘मेरा त दाँतै उम्रेका छैनन् ।’ पो भन्ने हुन् कि ? होसियार है होसियार !!
०००
रुपन्देही
Subscribe
Login
0 Comments
Oldest







































