साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भिनाजु जिउँदै छन्

अहिले पनि हास्यव्यङ्ग्यको नाम मात्र लिनासाथ तपाइँकोमा उनी आइहाल्छन् । त्यसैले उनी अमर छन् र धरतीबाट हास्यव्यङ्ग्यविधा विलाएर गएछ भने मात्र उनी पनि जानेछन् नभनी सुख छैन ।

Nepal Telecom ad

श्रीधर खनाल :

शीर्षक पढ्‌नासाथ यो बजियाले कसको भिनाजु अमर छन् भनेर धाक लगाएको होला भन्ने प्रश्न तपाईंका मतमा पक्कै पनि उठेको हुनुपर्छ । तर चिन्ता नलिनुहोस् । मैले तपाईंकै भिनाजु जिउँदै छन् भनेको हुँ। उनी मेरा पनि भिनाजु हुन् । कुनै भिनाजुका पनि भिनाजु हुन् । र, ती हुन् भूतको भिनाजु वासुदेव लुइँटेल । २००६ सालमा नै भूत छैन भन्ने निबन्धसङ्ग्रह छपाइसकेका थिए र पनि त्यो निबन्ध नपढ्ने वा पढ्न नभ्याउने समस्त नेपालीलाई भूतको भयबाट मुक्त पार्न उनले आफूलाई नै भूत भनेर सर्वत्र घोषणा गरे। र, त्यसो गर्दा उनले आफूलाई मान्छेको मात्र नभई गाई, घोडा, सिंह, स्याल, सर्प, विच्छी, भ्यागुतो, साइलो, भुसुना आदि चौरासी लाख प्राणीको भिनाजु बनाउन पुगे । यसरी हास्यव्यङ्ग्यका अवतार वासुदेव लुइँटेलले भूतकालमा भूत हुँदो हो तापनि वर्तमानमा त साराका सारा मनुष्य र समस्त प्राणीबाहेक अर्को भूत छँदै छैन भनेर सिद्ध गरिदिएका छन् । जतिसुकै गहन विषयलाई पनि व्यग्यपूर्ण हाँसोको लेप लगाएर मात्र प्रस्तुत गर्ने शैलीले गर्दा नै उनलाई मैले हास्यव्यङ्ग्यकारको उपाधि दिएको हुँ। त्यसैबाट प्रेरित भएर मैले मनुष्यजीवन नै एउटा कठोर व्यङ्ग्य हो र यसलाई हास्यको आवरण ओढाइएन भने हामी सब नाङ्गिन्छाैँ र जीवन घोर कष्टमय हुन्छ भन्ने निश्चय गरेको छु ।

परापूर्वकालदेखि नै हास्यव्यङ्ग्यले साहित्यमा केही न केही काम ओगटेको छ । नेपाली साहित्यमा पनि शिखरमय, भानुभक्त, राजीवलोचन, कवि शिरोमणि लेखनाथ, महाकवि देवकोटा, हदयचन्द्रसिंह प्रधान र अरू पनि साहित्यकारहरू कोही सामान्य पाराले र कोही सशक्त तरीकाले व्यङ्ग्य विनाेद गर्न अघि सरेका देखिन्छन् । तर दुङ्गाअड्डामा जन्मिने वासुदेव लुइँटेलको जस्तो ढुङ्गाको मार्मिक प्रहार कसैले गरेका छैनन् । कतै कुनै सानोमा सानो असगति, विसङ्गति देख्नासाथ व्यङ्ग्यका मट्याङ्ग्रा वर्षाउने एक मात्र कलमवीर वासुदेव लुईटेल नै हुन् । कालले कसैलाई नछोडे जस्तो उनी पनि सानो, ठूलो, आफन्त, राजनेता, समाजसेवी, धर्मगुरु, मान्यजन अथवा जोकोहीले पनि गल्ती, उपद्रव, अन्याय र अरू पनि असंगत कार्य गरेको देख्नासाथ त्यसको उल्लीबिल्ली गरिछाड्थे ।

उनको मुखले मात्र नभई कर्मले समेत व्यङ्ग्य गरेका छन् । हास्यव्यङ्ग्यको क्षेत्रलाई नै विशाल उघाउनी प्रदान गरेका छन् । महीनाको ११ रूपैयाँ तलब खाएर कार्यक्षेत्रमा ओर्लेका वासुदेव लुइँटेलले प्रत्येक वर्ष १,११,१,११ रूपैयाँ राशिको पुरस्कार दिइने गुठीको स्थापना गर्नु, लखपति, करोडपति र अरबपतिहरूमाथि कति तीखो व्यङ्ग्य प्रहार भयो होला ? ११ रूपैयाँ आफूले भनेर सम्बोधन गरिने वासुदेव लुइँटेल एक लाख एघार हजार एक शय एघार रूपैयाँ अरूलाई पुरस्कार तिर्ने हैसियत राख्दा पनि भाइसाहेब भनिन रुचाउँथे । यो भऱ्याङ टेकेपछि सीढीलाई बिर्सने खालका महापुरुषहरूलाई व्यङ्ग्य होला ? र, यसले कति सज्जनलाई शिक्षा दियो होला ? अब ओहदामा पुगेपछि आफ्ना बाल्यकालका साथीहरूलाई हेर्ने पशुहरूको पोल पनि यसले खोलेको होला ।

उनी ठूला दार्शनिक पनि थिए । त्यसैले कुनै पनि समारोहमा आफू नगएर आफ्नो फोटो पठाउँथे । त्यसले हाम्रो स्थूल शरीर केही होइन, मन, बुद्धि र चिन्तन नै हामी हौं भन्ने अर्थ लाग्छ । त्यसैले उनी १९७४ सालमा जन्मेका थिए भन्ने थाहा पाएर पनि कहिले बिते भन्ने मलाई थाहा छैन ।

समारोहमा उनको शारीरिक उपस्थिति नभएर पनि सहभागीहरूका उनी भइहाल्ये । अहिले पनि हास्यव्यङ्ग्यको नाम मात्र लिनासाथ तपाइँकोमा उनी आइहाल्छन् । त्यसैले उनी अमर छन् र धरतीबाट हास्यव्यङ्ग्यविधा विलाएर गएछ भने मात्र उनी पनि जानेछन् नभनी सुख छैन । यसमा हामी साराका सारा भूतहरूले हाम्रा साझा भिनाजु वासुदेव लुइँटेल पनि हामीजस्तै जिउँदै छन् भनेर गर्व गरे हुन्छ ।

०००
वासुदेव लुइँटेल स्मृतिग्रन्थ (२०६८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x