साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फौबन्जार : एक कलाकार

हातले घुँडामा तवलको रियाज गरिरहेको, निर्धक्क्याइँको औतार फौबन्जारको खुट्टामा घोप्टिन पुग्छ । त्यस बखत उसले डोकेलाई त्यसै आँखाले हेर्छ जुन आँखाले राणाकालीन प्रधानमन्त्रीहरू "दुहाइ महाराजको" भन्न आउने प्रजालाई हेर्थे ।

Nepal Telecom ad

श्रीधर खनाल :

(भर्खरै कीर्तिशेष हुनुभएका श्रीधर खनालप्रति सादर शब्दश्रद्धा सहित)

‘फौबन्जार ! यो नामैले पनि कति घरबूढीहरुको मनमा रिस उठाउँछ । तरकारी महँगो पार्ने फाैबन्जार । दशैंमा मासु महँगो पार्ने- फौबन्जार ! जे पनि महँगो पार्ने फौबन्जार। अनि फौबन्जारसँग मानिस किन नरिसाऊन् ! सरकारले समेत मौका बखतमा फौबन्जारलाई आफ्नो पाहुना बनाउने गरेको छ । तर यत्तो विरोधी समाजमा बसेर पनि फौबन्जारको दिन कटेकै छ, उसले जहानबच्चा पालेकै छ, भोज भतेर धानेकै छ । सुनिन्छ, कुनै कुनै फौबन्जार त लखपति समेत छन् ।

हुन त फोबन्जारले यस्तो लुगा लगाउनु पर्छ भनेर नियम बनेको छैन । तैपनि मैले जति फौबन्जारहरू देखें, तिनमध्ये धेरैजसोले भोटो-सुरुवालमाथि इस्टकोट लगाएका अथवा खालि कमीज सुरूवाल लगाएका हुन्थे । हो, छाता पनि सबैजसोले लिएका हुन्छन् । उसको हिंडाइ पनि एउटा बेफिक्री तालको हुन्छ । हुन पनि त्यस्तै प्रवृत्ति नदेखाई उसले सस्तोमा गाउँलेहरूसँग भारी मोल्न सकिन । उसलाई कुनै महिना, कुनै हप्ता, कुनै दिन खालीमा परिएला भन्ने पनि हुँदैन क्यार । मौसम अनुसारका चीजबीज शहरमा आइहाल्छन् । उसको हातमा के परेन ? फर्पिङको नासपाती, भेढुङ्गाको अम्बा, नागार्जुनको काफल, धुनिबेसीको ऊखु, पनौतीको अथवा त्रिशूलीको माछा, भोटको भेंडा-च्याङ्ग्रा, केको बेपार गरेन उसले ?

अनि उसलाई मानिसको आनीवानी, अभिमान, कमजोरी अथवा मूर्ख्याइँको राम्राे ज्ञान किन नहोस् त ? अनि फाैबन्जारले एकबाट चार बनाउन जान्ने सीप हत्यायो भन्नेमा केको गजव ? यसरी कार्यक्षेत्रको विश्वविद्यालयबाट उत्तीर्ण भएको फौबन्जारले अक्सफोर्ड विश्वविद्यालय, अथवा हार्भर्डकै स्नातकहरूलाई कसरी घाँस हाल्न सक्यो भन्ने त सोधाइ नै उठ्न नपर्ने हो ।

ज्यादा सोच्नपट्टि अथवा केलाएर हेर्नतिर नलागी, जसरी आफ्नै मात्र दुनो सोझो पार्न पल्केका मानिसहरूले हेर्छन् त्यसरी हेर्दा त फैबन्जार अवश्य पनि घिनलाग्दो मान्छे होला । तर उसको कदर गर्ने हो भने उसले आफ्नो काम कसरी फत्ते गर्छ, त्यो हेर्नुपर्छ र देख्नु पनि । दुई पाइलो पनि अधि सर्न नमान्ने डोकेलाई कसरी फौबन्जारले दुई कोस लैजान्छ । दस रुपियाँमा एक पैसा पनि नघटाउने मालधनीलाई कसरी उसले सात मोहर दिएर चित्त बुझाउँछ, त्यो पढ्न लायक छ । तपाईंले हेर्दा उसको हातबाट उम्केको डोके अथवा खर्पन, तीन त्रिभुवन घुमेर, आखिर, आकाशतिर हेरेर एक हातले छाता घुमाइ-रहेको र अर्को हातले घुँडामा तवलको रियाज गरिरहेको, निर्धक्क्याइँको औतार फौबन्जारको खुट्टामा घोप्टिन पुग्छ । त्यस बखत उसले डोकेलाई त्यसै आँखाले हेर्छ जुन आँखाले राणाकालीन प्रधानमन्त्रीहरू “दुहाइ महाराजको” भन्न आउने प्रजालाई हेर्थे ।

कुनै बखत भने, भाउताउ कता हो कता, तरकारीको खर्पन बोक्नेको हातमा एक लक्कू मोहर भिराएर फौबन्जार ठम्ठम् पर्दै एकतिर लाग्छ । खर्पनेले मोहर गनुन्जेलसम्ममा ऊ कता बिलाइसकेको हुन्छ कता । उता, मोहर गनिसकेर खर्पने कराउँछ, “मज्यू, मज्यू… झिन्छर्का’ ला मला… गन खुर्काट्यों बिइगु…” अनि उसले त्यो मोहर पटुकामा घुसार्छ र आफ्नो बाटो लाग्छ । फौबन्जारले तेह्र मोहर गुमायो झैं तपाईंलाई लाग्ला, तर तो दुईको कहाँनिर मिलन हुन्छ त्यो तपाईंलाई थाहै हुँदैन । आखिर त्यो भारी तरकारी फैबन्जार नै आँगनमा पुग्छ । ऊ झ्यालमा बसेर तमाखु खाइरहेको हुन्छ । ज्यापू सरासर उसको छिँडीमा पुगेर तरकारी खन्याइदिन्छ र बाहिर निस्कन्छ । एक वचन बोल्दैन । फौबन्जारले झ्यालबाट एक रूपियाँ फालिदिन्छ । ज्यापू त्यो टिपेर खुशीसाथ फर्कन्छ । यो बेपार तपाईंले बुझेर बुझिन्न ।

यस्तो छ फौबन्जारको र डोकेखर्पनेको सम्बन्ध । यी दुईथरी आफ्समा अदृश्य डोराले बाँधिएका छन् । यिनको प्रेम तपाईं हामीले बिगारेर बिगारिन्न । त्यसैले त डोकेसँग तपाईंले एउटा नासपाती किन्न खोज्नुभयो भने उसले बेच्ने होइन भन्छ । तपाईंलाई त्यो डोके कस्तो मूर्ख जो फोबन्जारकै चुपीमा सेरिन चाहन्छ भन्ने लाग्छ। त्यत्तै अरूको आँखाले मूर्ख ठह-याइएका तर आफसमा राजीखुशी दम्पती पनि समाजमा कति होलान् नि ।

त यस्तो छ फौबन्जार, जसलाई तपाईंहरू मन पराउनुहुन्न । पराउनुहोस् पनि कसरी, जब तपाईंले उसलाई चिन्नुभएको नै छैन ! तर तपाईंलाई के दोष ? एउटा कलाकारलाई अर्को कलाकारले मात्र चिन्छ । होइन त ?

०००
रूप-रेखा (२०१६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x