साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुडको चिया

सबै भद्र व्यक्तिहरूले मेरै टाउकामा चढेर भन्न थाले, ‘कस्तो कुरा गरेको ? मानिसलाई हिंसाका लागि उक्साएको ? कानुन र व्यवस्था भत्काउन खोजेको ? चौथो आम चुनावपछि त्यसै पनि निकै हल्लीखल्ली छ ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

अचेल जब म गुडको चिया पिउँछु नि तब लाग्छ मानौं म सहिद हुँदै छु । हामी ससाना कुरामा पनि मर्ने र बाँच्ने गर्छौँ । मध्यमवर्गीय मान्छेले चिनी किन्न नसकेर गुडको चिया पिइरहँदा सोचिरहेको हुन्छ, उसको त्यागका अगाडि भगतसिंहको बलिदान त केही होइन । यदि भारतवासीले सन् १९२० देखि १९३० सम्म गुडको चिया पिएका भए १९३१ मा नै देश स्वतन्त्र हुने थियो ।

मलाई गुनासो छैन । देशको ऋण तिर्दै छु । स्वतन्त्रता आन्दोलनमा म जेलमा गएको थिइनँ । जो गए उनीहरू चिनीको चिया पिउँछन् । गल्ती मेरै हो । तर त्यति वेला मलाई अहिले जेलमा गयौ भने पछि चिनीको चिया पिउन पाउने छौ र मज्जाले ‘कन्सेन्ट्रेसन क्याम्प’ चलाउने छौ भनेर कसैैले भन्दै भनेन । यसै देशका नाममा कसैले चिनीको चिया पिउन पाइरहेको छ भने कसैले गुडको चिया पिउनु परिरहेको छ । अब भने गुडको चिया पिउनेहरू सोधिरहेका छन्, ‘के यो मेरो पनि देश हो ?’ सम्भवतः होइन । देश त अर्कैको पो हो । म त यहाँ भाडामा बसेको छु । अनि जब मसित देशभक्तिको माग गरिने छ त्यति वेला भाडाको भूमिका लागि प्राणदान गरूँ कि नगरूँ भनेर सोचुँला । अथवा पहिले भूमिमाथि आफ्नो आधिपत्य कायम गरूँ अनि त्यसका लागि लडूँ कि ? यस देशको आम मानिस त आफ्नै भूमिबाट वञ्चित गरिएको छ । ऊ आफ्नै घरमा पनि भाडामा बसेको छ ।

यी भाडामा बस्नेहरू अचेल गुडको चिया पिउँछन् अनि रुन्छन् । धेरैका त अनुहार पनि गुडको डल्लोजस्तै नै भएका छन् । हिँजो एउटा घरमा चिया पिउँदै गर्दा लागेको थियो मानौं म मृत्युभोजमा सहभागी भएको छु । ती व्यक्तिले निकै पीडामा भनेका थिए, ‘के गरूँ, चिनी नै पाइँदैन ।’ उनको बोलीको भावले लाग्थ्यो मृत्यु त उनकी आमाको भएको हो तर उनी भन्दै थिए, ‘के गर्नु दाजु, मेरी आमा चिनीदेवीको मृत्यु भएको छ ।’ अनि भन्दै छु, ‘राम राम ! साह्रै नराम्रो भयो । के भएको थियो माताजीलाई ?’ अनि उनी भन्दै थिए, ‘भएको त केही थिएन । चारपाँच दिनपहिलासम्म त आमा हिँड्दै हुनुहुन्थ्यो । अनिखेर त अधिकारीहरू र कालोबजारियाहरूले उनको हत्या गरिदिए ।’ म सोध्थेँ, ‘भाइ, आमाको काजक्रिया त राम्ररी गर्‍यौ नि ?’ उनले टाउको ठोकेर भन्थे, ‘कहाँ गर्न पाउनु ? उनीहरूले लाससम्म पनि दिएनन् । चुपचाप कतै गाडिदिए ।’ म पनि उनलाई सम्झाउँथें, ‘जे होस्, आमा त बित्नुभयो । उहाँको आयु यत्तिकै रहेछ । तर तिम्रा बाबु गुड त अझै जिउँदै छन् । तिनैका बारेमा विचार गर न त ।’

यसरी विचार गरेरै पनि केही हुनेवाला छैन । मार्ने नै पाल्नेभन्दा ठुलो भएको छ । देखेको त हैन, तर सुनेको के हो भने पहिले दानादानामा खानेवालाको नाम लेखेको हुन्थ्यो रे ! कसले लेख्थ्यो भन्ने त आस्तिकहरूलाई नै थाहा होला । तर अब भने तिनै दानादानामा कालोबजारियाको नाम लेखिन थालेको छ । दानामा खानेवालाका ठाउँमा त्योविना मर्नेहरूको नाम लेखेर काला गोदामहरूमा कोचिदिइन्छ ।

कसलाई भन्ने ? संयमी तथा नैतिकवादी अर्थमन्त्रीसित गुनासो गर्ने साहस हुँदैन । उनले भनिदिन सक्छन् ..‘चिया पिउँछौ नै किन ? चियाले त चाहना बढाउँछ । निमका पात पिसेर पिउने गर ।’ अनि उनीसित अन्नको गुनासो गर्‍यौं भने उनले भनिदिन सक्छन् ..‘बढी खाएमा पाचनक्रिया बिग्रिन्छ ।’ अनि कसैले सोध्ला, ‘हामी बाँचौँ कि नबाँचौँ त ?’ अनि उनले शान्तिपूर्वक उत्तर दिनेछन्, ..‘यो मलमूत्रले भरिएको पापमय शरीरको के मोह गर्छौ ?’

यी कुराहरू गरिरहँदा पनि ममा बदनियती नै छ । सोच्छु, झुट्टा कुरा देखाएरै कैयौँले अनुमति लिइरहेका छन् त म पनि ल्याऊँ कि ? हरेक मान्छे बेइमानी गर्ने ठाउँ खोज्दै छ र हरेक चिच्याउँदै पनि छ ठुलो बेइमानी भयो भनेर । अनुमतिको एउटा स्वीकृत कारण आमा वा बुवाको काजक्रिया हो । कैयौंले यही कारण देखाएर ल्याएका पनि छन् । छोरो भन्छ होला, ‘बा, चिनी पाउने अरू कुनै उपाय छैन । तपाईंको काजक्रियाको निहुँमा मात्र पाउन सकिन्छ ।’ बुढाहरू त्यसै पनि मिठौरे हुन्छन् । उनी भन्दा हुन् ,‘छोरा, चिनी पाइने भए त म दशपटक मर्न सक्छु । तैंले लिएर आइज ।’ तर म भने यो पनि गर्न सक्दिनँ । आमाबुवा परमिटको झन्झट हुनुभन्दा पहिले नै बित्नुभयो । यतिका वर्षपछि उहाँहरूको काजक्रियाको निहुँ गरेर परमिट मागूँ भने पनि त्यो ठुलै स्तरको धाँधली हुने होला । त्यसो त बावुआमा निकै उपयोगी वस्तु हुन् । उनीहरूको मृत्युको झुट्टा घोषणा गरेर चिनी पाइन्छ । यस युगमा हरेक मान्छेले यस्तै अवसरमा काम लिनका लागि नै भए पनि बावुआमालाई सँगै राख्नुपर्छ । मैले राख्न पाइनँ । यसको पछुतो छ ।

तर साना मान्छेको त बाबु नै मरे पनि चिनी पाइने कुराको कुनै निश्चितता हुँदैन । एउटा सानो मान्छे आफ्ना बाबुको काजक्रियाका लागि चिनी पाऊँ भन्ने दरखास्त लिएर पुग्यो । उसले बुवाले स्वर्गमा स्थान त्यति वेला मात्र पाउन सक्नुहुनेछ जब यहाँका ब्राह्मणहरूले फलानाको छोराले हामीलाई लड्डु खुवायो भन्ने समाचार यमराजकहाँ पठाउने छन् भन्ने कुरो थाहा पाएको रहेछ । नत्र त चिनीको मारमा परेको आत्मा भड्किरहने रहेछ । तर खाद्य अधिकारीले उसलाई भनिदिए, ‘पन्ध्र दिनपहिले पो दरखास्त दिनुपर्थ्यो ।’

काजक्रियाको ब्राह्मणभोज त एघारौं दिनपछि हुन्छ भने पन्ध्र दिनपहिले दरखास्त कसरी दिनु ? यस घटनाबाट के प्रमाणित हुन्छ भने साना मान्छेका बाआमाले आफू मर्नुभन्दा एक महिनापहिले नै मर्ने योजना बनाएर छोरालाई भनिदिनुपर्छ । साना मान्छेले जहिलेसुकै मर्न पाउने सुविधा पनि पाउँदैन । उसले सूचना दिएर मर्नुपर्छ नत्र उसको आत्माको दुर्गति हुन्छ । ठुला मान्छेको बाबु जहिले मरे पनि हुन्छ । उसको काजक्रिया तुरुन्त गरेर उसलाई तात्तातै स्वर्ग पठाउन पाइन्छ । साना मान्छेका बाबुहरू अचेल निकै उच्छृङ्ल भएका छन् । जहिले पनि मरिदिन्छन् ।

यिनै साना मान्छे हुन् जसले चाडपर्वमा पनि चिनी माग्छन् । अनि प्रायः चाडपर्वमा चिनी हराउँछ । मैले विगत दुईतीन वर्षदेखि चिनीको व्यवहारको अध्ययन गरिरहेको छु , त्यसैले दावा गरेर भन्न सक्छु कि यो एकदम धर्मनिरपेक्ष छ । त्यो मुहर्रममा हराउँछ भने जन्माष्टमीमा पनि हराउँछ । हामीभन्दा बढी ‘सेक्युलर’ छ । यति मात्र होइन, मुहर्रममा ब्ल्याकमा चार रुपैयाँ किलो भेटिएर मुसलमानहरूलाई कर्बलाको वियोगको अनुभूति गराउँछ भने जन्माष्टमीमा पनि यसै भाउमा पाइएर देवकी र वसुदेवको कठिनाइको बोध गराउँछ । कंसको शासनमा केटाकेटीको दूधका लागि चिनी पाइँदैन भन्ने बुझेरै त नन्दले कृष्णलाई उर्लिरहेको यमुनाबाट निकालेर नन्दग्राममा पुर्‍याएका थिए ।

धेरै मानिसहरू त के पनि भन्छन् भने यदि खानेपिउने कुरा पनि एमएलए पाइएझैं पाइने भए कति जाती हुँदो हो ! गहुँ, चामल, चिनी आदि सबै कुरा ब्ल्याकमा कोचिएका छन् तर एमएलएहरू खुला बजारमा भेटिन्छन् । हरेक पार्टी, हरेक राजा र हरेक रानी किनमेलमै व्यस्त छन् । एउटा पार्टीको राजाले आफ्नो छोराको बिहे अर्को पार्टीको राजाकी छोरीसित गर्दै छ र दाइजोमा धनसम्पत्ति नमागेर केवल दशपन्ध्र जना एमएलए मागिरहेको छ । त्यो सुनेर त मलाई उसले दशपन्ध्र बोरा चिनी पो मागेको हो कि भन्ने पनि लाग्यो । मेरा लागि त हरेक एमएलए चिनीको एउटा बोरा पो लाग्छ ।

खाद्य विभागका अधिकारीहरूलाई त देखेरै मुख रसाउँछ । उनीहरू पनि चिनीका बोरा लाग्छन् । कता हो, खाद्य अधिकारीसित मानिसहरूले अधिकारीहरूले उपभोक्ता भण्डारका लागि स्वीकृत चिनी पनि रोकिदिन्छन् र चारगुना दाममा व्यापारीहरूलाई चिनी बेच्ने सुविधा दिन्छन् भनेर गुनासो गरेका रहेछन् । मैले पनि एउटा अखबारका माध्यमबाट भनेको थिएँ, चिनीको विषयमा लगातार घपलाबाजी गर्दागर्दै हाकिमहरू आफैँ गुलिया भइसकेका छन् भनेर । उनीहरू ‘सेकरिन’को ठुलै चक्की बनेका होलान् । अब त उनीहरूलाई नै पानीमा हालेर घोल्ने हो भने पानी गुलियो हुन्छ । अनि त्यसै पानीको चिया बनाएर पिउन सकिन्छ । मानिसहरू आआफ्ना इनारमा यही उपाय गरेर पानीलाई गुलियो बनाएर पिऊन् न त !

कति राम्रो सुझाव थियो । तर सबै भद्र व्यक्तिहरूले मेरै टाउकामा चढेर भन्न थाले, ‘कस्तो कुरा गरेको ? मानिसलाई हिंसाका लागि उक्साएको ? कानुन र व्यवस्था भत्काउन खोजेको ? चौथो आम चुनावपछि त्यसै पनि निकै हल्लीखल्ली छ । यस्तो वेलामा त स्थिरता पो खोज्ने हो ! ‘स्ट्याबिलिटी’ चाहिन्छ ।’

यी ‘स्ट्याबिलिटी’वालालाई म राम्ररी चिन्दछु । यिनीहरूको बाँधिएको आम्दानी राम्रो हुन्छ । घर हुन्छ, फर्निचर हुन्छ, फ्रिज हुन्छ, बिमायोजना हुन्छ, ‘विक इन्ड’ हुन्छ र छोराछोरी कन्भेन्टमा हुन्छन् । यी रोगीहरूले आरामको निरन्तरतामा व्यवधान हुन दिन चाहँदैनन् । अनि यिनैले ‘स्ट्याबिलिटी’को नारा लगाउँछन् ।

अस्पतालको प्राइभेट वार्डमा पलङमा एउटा मान्छे सुतेको छ । नरम डसना छ, सिरानी छ र कुलर छ । उसले सुती सुती फलको रस पिउन पाउँछ । भिटामिन पाउँछ । ओछ्यानमै ‘एनिमा’को सुई दिइन्छ । उसलाई भन्नुस् त ‘बाबु, यसो बाहिर पनि घुमेर आऊ न !’ उसको जवाफ हुनेछ, ‘अहँ, मलाई त ‘स्ट्याबिलिटी’ चाहिन्छ ….।’

०००
परसाई रचनावली भाग ३ को ‘गुड की चाय’ बाट नेपाली अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x