श्रीधर खनालनमरी संसार देखिन्न
मूर्छा परेकी मेरी पत्नी विजुलीभन्दा छिटो उठेर एकै सासमा घाटको सिंढीमाथि पुगी। अरु तीन जना कुरुवाहरू पनि मेरी आमै भनेर कुदे। बाह्र बजे रातमा, अर्द्धजलमा मुर्दा हाँसेको सुनेर मेरा वरिपरि आउने आँट कसको ?
श्रीधर खनाल :
नबाँची संसार देखिन्न भन्ने मेरो विश्वास थियो । तपाईंहरूसँग यही सिकेको थिएँ तर अब म तपाईंहरूलाई सिकाउँछु- नमरी संसार देखिन्न । यो सानो ज्ञान होइन । यो जान्न मैले मन पर्यो । अहिले म मुर्दा छु । आधा रात छ । घाटको अर्द्धजलमा बसेर म, एउटा मरेको मानिस, यो लेख्दो छ । आजसम्म ज्ञानको लागि प्राण विसर्जन गर्न सक्नेहरू त तपाईंहरूले देख्नुभयो तर, मर्नेले वास्तवमा ज्ञान पायो कि पाएन, यसको प्रमाण तपाईंसँग छैन । हुन पनि, त्यसले ज्ञान पाउँदो हो त तपाईं-हामीलाई सुनाइहाल्दो हो । यी, म कसरी जिउँदो दुनियाँलाई मरेकाले सिकाउँदै छु । तपाईंलाई मेरो कुरामा विश्वास लागेन- मैले बुझिसकेँ । तैपनि यसमा तपाईंलाई केको दोष ?
तपाईंका मरेका बाबुबाजेहरूले यसो आएर तपाइँसँग गफ गरेका भए पो । विचराहरू मौन भए त सदाका निम्ति । मै एउटा अपवाद भएँ र मात्र । मेरा कुरामा विश्वास गर्नुहोस्, किनभने म ढाँट बोल्दिनँ । त्यसमाथि मरिसकेपछि पनि कोही ढाँट बोल्ला ? तैपनि विश्वास मान्न सङ्काेच छ भने मेरो एक ज्यानको साथी हरिदत्तलाई सोध्नुहोस् । त्यो जिउँदै छ दुःख भोग्न । त्यसलाई म मरेको कुरा नसुनाउनुहोला, किनभने यो सुन्नासाथ उ पनि मर्नेछ र तपाईंलाई नर-हत्या लाग्ला । कठै, माफ गर्नुहोस् । तपाईंलाई नरहत्याले के छुन सक्थ्यो ? तपाईंलाई भंगेराको बच्चा मारेको पाप लाग्ला । भर्खर मान्छे मारेर आएको बेलामा, एउटा कागले भँगेराको बच्चा लगेको देख्नुभयो भने कसरी तपाईंहरू ‘हा। हा ।’ गर्दै आफ्नो इज्जत-बेइज्जतको ख्याल नराखी कागको पछि दगुर्नुहुन्छ, त्यो मैले देखेको छु नि ।
त सुन्नुहोस्, हरिले म कत्तिको सत्यवादी थिएँ भन्ने कुरा तपाईंलाई बताउनेछ । अनि त मेरा कुरामा पत्यार मान्नुहोला ।
मेरो कहानीमा कुनै विशेषता छैन किनभने यो सत्य छ । जीवनभर मैले संसार देख्नै पाइनँ । अनि मलाई मर्ने इच्छा भयो । त्यसै दिनदेखि म दुब्लाउँदै गएँ, खान पेटभर यसै पाउन्नथेँ, अब त्यो पनि छोडेँ । जब म ओछ्यान परेको हल्ला चल्याे, अनि ससुराली खलक मलाई हेर्न आए। डाक्टरले कुनै रोग बताउन सकेको होइन । जति जति मलाई सारो हुँदै गयो, जति जति मेरो बाँच्ने आशा कम हुँदै गयो, उति-उति मेरो कोठामा नौला नौला मानिस आउन थाले । म दङ्ग परेँ आफ्ना इष्टमित्रहरूको सङ्ख्या देखेर । म सध्ये भएका बखत पेटमा दुई मुठ्ठी अन्न हाल्नका निम्ति जब मालिक हराएको कुकुर जस्तो गल्ली-गल्लीमा घुम्थेँ, त्यो बखत यी सब कहाँ थिए होलान् !
सबै केही-न-केही सहानुभूतिका शब्द बोल्थे, दयालु र शान्तिका पुजारी देखिन्थे । एक मनले त मैले व्यर्थैमा मर्ने निश्चय गरेछु जस्तो लाग्यो । मैले निदाउरी, मैली भएकी, छिनछिनमा मलाई पानी खुवाइरहने आफ्नी स्त्रीलाई हेरेँ। मेरो मुटु उमेठियो । होइन, अब म बाँच्छु भन्ने इच्छा जाग्यो । तर फेरि सोचे- यो दुनियाँ त्यस्तो होइन जस्तो आज देख्दो छु । मलाई हेर्न आउने सब राक्षस हुन् । म मरेको हेर्ने इच्छाले आएका हुन् । तिमीहरूले मलाई यो अवस्थामा पुऱ्याएका हौ र अब आफ्नो सफलताको प्रत्यक्ष प्रमाण हेरेर आनन्द लुट्न आएका हौ भन्थ्यो मेरो मन ।
आखिर एक घाटेवैद्यले, ‘भरेको रात काट्न मुस्किल छ’ भन्यो। त्यो दिन विशेष मेरा नाता-कुटुम्ब जम्मा भएका थिए । मेरो वाक्य बन्द थियो । आँखा खुले पनि यसले देख्दैन भन्ने सबको विश्वास थियो। बीच-बीचमा कोही आएर कानैमा ‘नारायण सम्झनु है’ भनी घाँटीको नसा फुलेको देखिने गरी चिच्याउँथ्यो । सबैलाई देख्थेँ, सबैका कुरा सुन्थेँ । त्यसरी कानमा चिच्याउँदा मैले सहन नसकेर मुख बिगारेको कसैले याद गर्दैनथ्यो । तिनमध्ये कोही डिटेक्टिभ हुँदो हो त पत्तो पाउँथ्यो कि ? अझ एउटीले त, ‘जति कराए पनि सुने पो’, भनेको मैले सुनेँ। अर्कीले पशुपतिनाथको नेत्र मेरो निधारमा लगाइदिइन्, तुलसीपत्र र जल मेरो मुखमा हालिदिइन् । जिन्दगी-भरमा पहिलो पटक पशुपतिनाथको चन्दन मैले लगाएँ। ती लाइदिने मेरी सानीमा थिइन् । ‘दिदीको वंशमा यही एउटा थियो, त्यो पनि अब कालैमा’ भनेर सुँक्क-सुँक्क गर्न थालिन् ।
मलाई हेक्का आयो दुई वर्षअघि मेरो छोरालाई डबल निमोनिया भएको थियो । ओखतीको लागि यिनै सानीमासँग बीस रुपियाँ माग्दा हजार रकम किरिया खाएर छैन भनिन् । आखिर मेरो छेरो भनाउँदो तिनकै सामुन्ने विना ओखती मर्यो । तर त्यस बखत यिनले बिरामीको निधारमा चन्दन र मुखमा जल हालेर पिलपिल गर्दै मेरो सट्टा उनकै छोरो मरेझैं गरेकी थिइन् । उनीसँग पैसा भए नभएको त उनका पुष्ट नाडीका पुष्ट सुनौला चुरा, सुन्दर कानमा धप्पाउँदो, भइगो गहनाको नाम म जान्दा पनि जान्दिन, बाहुनले च्याउ खाओस् न स्वाद पाओस्, त्यसैले जाहेर गर्थ्यो ।
आज किन सब दयालु देखिन्छन् मप्रति ? एक जनाले मलाई मीठो स्वरले श्रीकृष्णचरित्र सुनाउन लाग्नुभयो । अर्कीले भन्नुभयो, ‘यो बडो धर्मात्मा थियो। बिचरो बाहिर देखाएर भने पुजापाठ नगरे पनि आधारातमा बसेर ओछ्यानमै गायत्री जप्थ्यो । यस्तैमा फेरि अर्कीले थप्नुभयो, ‘हो त नि । यो गुप्ती भक्त हो भगवान्को । मलाई भाउजूले घरको कागत गरिदिनुभएकै थिएन, त्यति नगरी घर बिक्री नहुने भयो । अनि यसैले त हो नि, भदालाई थाहै नदिई भाउजूबाट कागत लिइदियो ।’ मलाई आफ्नो गणगान सुनेर खुशी लाग्यो । आँखाबाट कृतज्ञताका आँसु बगेछन् । सबै एकै स्वरले, ‘लौ हेर कृष्णचरित्र सुनेर आँसु बगाएको,’ भन्दै थपडी बजाई हरे राम गर्दै विरुरूपसँग कराउन लागे । मलाई झर्काे लाग्नुसम्म लाग्याे ।
मेरा मनमा कुरा खेल्न लागे। आज तिमीहरू मेरो नभएका गुण पनि जमाएर गान गर्छाै तर अस्तिसम्म तिमीहरू मेरो बदख्वाई घरघरमा गर्थ्यौ । मेराे धरमा कुल्च्याै भने पाप लाग्छ भन्थ्याै । डाक्न बोलाउन बन्द गरेथ्याै । नास्तिक, भट्टी भट्टी चाहारा, कुलको धुन्धुकारी भन्थ्यौ मलाई । तिमीहरू मरेपछि पिण्डपानी पाउने होइनौ, बरु जोगीको मन्त्र सुनेर मर भनेर मेरा आमाबाबालाई उचाल्थ्याै । अहिले केको लोलोपोतो हो यो ?
सुनें, मलाई घाट लैजान तरखर हुँदै छ। बाँच्न जमर्को गर्दा एक सिन्काेसम्मको भर नगर्नेले, मर्न खोज्दा घाट पुर्याउन मदत गर्ने रहेछन् । किन होला भनेजस्तो लाग्यो । बुझें बुझें । मलाई तिमीहरूले घाट लगेको दुनियाँले देख्ने छ । तिम्रो गुणगान गर्दै समाजले भन्नेछ- ‘हेर । फलानोका दाजुभाइ, इष्टमित्र भएकाले पशुपतिको मरण पायो । तिनले मदत नगरेका भए कोठैमा मर्थ्याे, अगति पर्थ्यो ।’
मैले आफ्ना लामा-लामा भएका नङ हेरें । जुरुक्क उठेर सबैको मुख चिथाेरेर यिनलाई निकालिदिउँ जस्तो लाग्यो । मेरो मुख रातो भयो । हात जुरुक जुरुक उचालिन लागे । एउटाले लक्ष्य गरेर भन्नुभयो, ‘मुखमा रङ्ग त चढ्यो नि।’ अर्कीले थप्नुभयो, ‘निभ्ने बेलाको बत्ती हो । बरु घाट उठाउन ढिलो गर्नु हुन्न ।’
मेरी पत्नीलाई म कोठैमा मर्न चाहन्छु भनेर थाहा थियो, आज मेरो गुणगान गर्नेले जिन्दगीभरि मप्रति के व्यवहार गरेथे, यो पनि उसलाई थाहा नभएको होइन । तैपनि मेरो मर्ने इच्छा कहाँ छ, उसले मुख फोर्न सकिन। उसले भनी, ‘उहाँको कि काशीमा कि कोठैमा मर्ने इच्छा थियो।’ तर दाजुभाइले पनि हार्न जानेकै थिएनन् । उनीहरूले सल्लाह गरेर यसको हल निकाले। म घरैमा मरेँ भने उनीहरूको बदख्वाई हुने भयो । एउटाले भन्नुभयो, ‘उसलाई काशी लैजाने भनौं र यताबाट उठाऔं, अनि पशुपतिनाथ पुऱ्याऔंला ।’ अर्काले मेघ गर्जेको स्वरले मेरो कानैमा ‘अब काशी जाने’ भन्नुभयो।
मैले ठानें, ढाँट तिमीहरू, बाँच्नेहरूको सहारा ढाँट न हाे। तर म, मर्नेसँग किन ढाँटो आशा लिएर मेरो मरण होओस् र म नरक पसूं भन्ने इच्छा तिमीहरूको रहेछ । तिम्रो धर्ममा नहिंडेको बदला चुकाउन कति राम्रो जाल बुन्न सकेको। म चुपचाप लडिरहें। आखिर झाङ्गलझुङ्गल पार्दै मलाई तल ओराले । गाई दान गर्नु थियो । मेरो घरमा त मुसो समेत चामलका टिन खाली देखेर भागिसकेको थियो, गाई कताबाट हुने ? अनि एक जनाले, ‘मेरी बाच्छी दिन्छु,’ भन्नुभयाे। अरूले पनि ‘हो बा, यस्तो बेलामा त गर्नै पर्छ अघिपछि नसके पनि’ भने । मलाई टायफायड हुँदा एक छाक एक चौथाइ दूधसम्म नदिनेले आज सिङ्गै गाई दियो मेरो मर्ने बेलामा ।
अब म पुगें पशुपतिपछाडि आर्यघाटमा । ओखतीमूलोको त कुरै भएन । कहिले याे मर्ला र झन्झटबाट पार पाउँला भन्ने भाव सबैका मुखमा थियो । एउटाले त भनेकै मैले सुनेँ, ‘अब चाँडै गइदिए यताबाट नुहाइधुवाइ घरभित्र पस्न हुन्थ्यो ।’
मैले पनि अब सत्र करो बाँकी केही देखिनँ । एकतमासको आँखा लगाएर सास पनि एकोहोरो फेर्न थालें म। ‘लौ लौ, अर्द्धजलमा लैजाओ,’ भन्नुको साथै मेरा हितैषीहरू कसिंगर उठाएजस्तो म जिउँदो मान्छेलाई उठाएर अर्द्धजलमा तेर्स्याए । खुट्टामा वाग्मतीको चिसो पानीको म्वाईंले मलाई झन् चैतन्य तुल्यायो ।
रातको नौ बज्यो । घाटमा कुनै दुई-चार जना छोडेर सबै पाटीमा सुत्न गए। कोही घरै फर्के । तिनमध्ये एउटीले भनेको सुनिहालेँ- ‘भोलि सवेरै भात खाएर आउनु पर्छ नि, नत्र दिनभर खान पाइन्न।’ मलाई कहिले मरुँला जस्तो लाग्यो। मैत्ले सास रोकें र जिउ अररो बनाएँ। अनि अकस्मात् छोडिदिएँ । मेरो टाउको दाहिनेतिर तुर्लुङ्गियो, आँखाले सुन्ने ताक्यो । कुर्नेहरूले ‘राम-राम ।’ भने । मेरी जोई मुर्छा परी । तीन घण्टासम्म म मरेर अर्द्धजलमा तेर्सिरहेँ। अहिलेको जस्तो शान्ति मलाई कहिल्यै अनुभव भएको थिएन। मलाई कुर्नेहरू घुँडामा मन्टो अड्याएर मरेका झैं चुपचाप थिए ।
म औधि प्रसन्न थिएँ । मरेर पो संसार देखिने रहेछ भने ज्ञानको उदयमा। मैले आफूलाई संभाल्न सकिनँ । एक्कासि म खित्का छोडेर हाँस्न थालेँ । मूर्छा परेकी मेरी पत्नी विजुलीभन्दा छिटो उठेर एकै सासमा घाटको सिंढीमाथि पुगी। अरु तीन जना कुरुवाहरू पनि मेरी आमै भनेर कुदे। बाह्र बजे रातमा, अर्द्धजलमा मुर्दा हाँसेको सुनेर मेरा वरिपरि आउने आँट कसको ?
यही मौकामा म झटपट उठेर बसेँ । कम्मरबाट कागत-कलम झिकें। अनि आफ्नो सिरानमा बालिएको पालाको धमिलो उज्यालोमा यति लेखेँ । मेरो विचित्रको अनुभव लेखेँ । आफ्नो अमूल्य कमाइ, मरेर सिकेको ज्ञान, कोही जिउँदोले भेट्टाओस् भनेर त्यहीं ढुङ्गाले थिचिदिएँ । अनि म लागेँ एकातिर । मानिसहरू फर्केर आएपछि मलाई पोल्छन् भन्ने थाहा थियो, जुन म चाहन्नथेँ । खरानी हुनै किन पर्यो र जब उनीहरूको निम्ति म मरिसकेको थिएँ ।
०००
नमरी संसार देखिन्न (२०५२)
Subscribe
Login
0 Comments
Oldest






































