साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन्थ्यो

मान्छेको सिजन तोकिएको भए स्कुल कलेजको समर विन्टर भ्याकेसन भनेकै सिजन भ्याकेसन' हुन्थ्यो । सिजनभर देशमा कर्फ्यू लागेझै हुन्थ्यो।

Nepal Telecom ad

आर.सी. रिजाल :

‘हुन्थ्यो’ यो शब्दले मेरो होस पलाएदेखि छनाए‌को छ, मन बहलाएको छैन। बाल्यकालदेखि बुढेसकालसम्म यस्तो भैदिए हुन्थ्यो’ भन्ने आस धेरै पलाए। तर ती मन जलाएर रफूचक्कर भए।

यो ‘हुन्थ्यो’ शीर्षक पढेर तपाईंहरूले यसले पक्कै कोही नैतिकताको सहारामा भलै थाेरै आहारामा बाँच्न पाए हुन्थ्यो’ कोही राष्ट्रिय ढुकुटी सोहोर्न र अकूत सम्पत्ति जोर्न पाए हुन्थ्यो’ कोही यो राष्ट्रले कुशल नेतृत्व पाए ‘हुन्थ्यो’ कोही अर्काको सीमाना कोपर्ने र उल्टै दोष थोपर्ने विरुद्ध आए हुन्थ्यो कोही युवाशक्ति विदेश धाएका तिनका लास बाकसमा फिर्ता आएका बारे लेखे ‘हुन्थ्यो’ भन्ने ठान्नुभएको भए तपाईंको अनुमानले धोका खायो ।

माथिका विषयमा गोता लगाएर धेरै पोया तयार गरिसकेका छन् । म त्यही विषय पस्कने पक्षमा छैन। ब्रह्माको सृष्टिमा केही खोट देख्दा मलाई ठुलो चोट लाग्यो र ‘हुन्थ्यो’ लेख्न कलम जाग्यो ।

ब्रह्माले मानव सृष्टि गरेको कुरा मैले सानो हुँदा हजुरबुबाबाट सुनेको हुँ। ब्रह्माले पहिले सुनको मान्छे बनाएर ‘ए मनुबा’ भन्दा बोलेन रे। त्यसपछि चाँदीको बनाउँदा पनि उस्तै । ब्रह्मालाई रिस उठेर कुखुराको सुलीमा खरानीचुली मान्छे तयार गरी बोलाउँदा ‘हजुर’ भनेछ। ब्रह्माले ‘मरेस्’ भनेछन्। त्यसै भएर मान्छे मर्नुपरेको रे। आफ्नो जिउ कन्याएर हेर्नुस् त खरानी र सुलीको धुलो झरेको पाउनुहुन्छ ।

रङ्ग न ढङ्गको शरीरमा जडान भएका अङ्ग देख्दा मलाई दिक्क लाग्छ । हेर्नुस् त खाने मुखमाथि फोहोरी नाक। रुघा लाग्दा रुमालले नाक चुन्दै खाना खानुपर्ने। यो नाकलाई त पिंडौलाको गोलीगाँठोतिर सजाए‌को भए ‘हुन्थ्यो’। आँखा हेर्नुस् त दुइटै अगाडि जडान गरेका। एउटा पछाडि राखिदिएको भए बाउको ठेगान नभएका ब्रह्माको के जान्थ्यो। यस्तो भए पछाडिकाे दृश्य देखिन्थ्यो, राम्रो भए मज्जाले हेरिन्थ्यो। अनि पछाडिबाट हुने दुर्घटनाबाट जोगिन्थ्यो। ल, यति गर्न सकेनन् रे। घाँटीमा बेरिड सिस्टम व्यवस्था गरिदिएको भए जिउ नघुमाई टाउको मात्र घुमाउन सकिन्थ्यो। आफू चाहिं चारवटा टाउकोमा चार दिशा देखिने गरी आठ वटा आँखा राख्ने ।

अर्को कुरा प्रत्येक मान्छेको अनुहार किन फरक पारेका कोही राम्रा, कोही नराम्रा। केटाकेटीको विवाह गराउन ठुलो समस्या पर्छ। बाँदरको झै सबैको मुहार उस्तै तुल्याएको भए त्यो ब्रह्माको के जान्थ्यो । तपाईंहरूलाई आफ्नो बुढाबुढी, छोराछोरी कसरी चिन्ने भन्ने चिन्ता लाग्यो होला। बाँदर, चराचुरु‌ङ्गीले जसरी आफन्त चिन्छन्, मान्छेले पनि चिन्थ्यो। नभए गाडीमा जस्तै नम्बर प्लेटको व्यवस्था गरिन्थ्यो ।

ब्रह्माले प्रक्रियामा समेत दृष्टि नपुर्याएको देख्दा रिस उठ्छ। तर रिस उठे भूस कुटुनु’ भन्ने उखानभन्दा अरू के गर्न सकिन्छ । विचार गर्नुभएको छ खाना खाने तरिकामा मलाई दिक्क लाग्छ- थालबाट मुखमा, मुखबाट थालमा हात तलमाथि गर्नुपर्दा । त्यतिले मात्र कहाँ पुग्नु। क्याचाक क्याचाक चपाउदै निल्नुपर्ने रे। जिब्रोले मिठो स्वाद नपाए भान्सेसँग मुख लाग्नुपर्ने। ए बाबा, पेटमा एउटा छालाको फस्नर राख्देको भए खोल्यो, खानेकुरा पेटमा हुल्यो। अनि दिनहुँ खानुपर्ने बाध्यता किन पारेका । छिटोमा हप्ताको एक दिन राख्देको भए, छु‌ट्टीको राम्रो सदु‌पयोग हुन्थ्यो’ होला। मान्छेको भुँडीलाई रोगको गुँड भनिन्छ। फस्नर सिस्टम भए आन्द्राभुँडीमा फोहोर जम्दा सर्फपानीले सफा गरिन्थ्यो । औषधिखर्च जोगिन्थ्यो। अब अरू अङ्ग वर्णन गर्ने हो भने यस्तो भए हुन्थ्यो’ को धेरै जन्म हुन्छ ।

विकृतिले ओतप्रोत भएको मानवको एउटा पाटोको मात्र कुरा ओकल्छु- पानी-बिजुलीको मिटर जस्तै मानिसको निधारमा पनि युनिट सिस्टम देखिने व्यवस्था हुनुपर्थ्यो। मान्छेले अवैध सम्बन्ध राख्न सक्दैनथे। एक पटकको सम्पर्कमा दुबैतर्फ एकएक युनिट चढ्थ्याे। यस्तो भएमा विदेश जानेहरू आफ्नो श्रीमान् श्रीमतीको युनिट टिपेर राख्थे । युनिटसँगै वर्ष पनि देखिने हुँदा मान्छेले उमेर ढाँट्न, आँट्न सक्दैनथे। छोराछोरीमा युनिट चढेको देखेमा बाबुआमाले सम्पर्क निषेध गराउँथे। युवायुवतीको विवाह गराउँदा कति युनिटसम्म चढेकोलाई छोरी दिने वा बुहारी भित्र्याउने मापदण्ड तोकिन्थ्यो। युनिट नचढेको डिस्टिङ्सन, एक युनिटलाई फस्ट, दुईलाई सेकेण्ड, तीनलाई थर्ड डिभिजन र त्योभन्दा बढी जति भए पनि पास मार्क्स पाउँथे होला।

युनिट सिस्टम भए मान्छे- ओहो, फलाना फलानीको यति हजार युनिट चढेछ, कस्ता लम्पट रहेछन् भनी कुरा काट्छे होलान् । सरकारले युनिटको यति भनी कर असुल गर्थ्यो । राजस्वको सबैभन्दा ठुलो स्रोत यही ‘मनोरन्जन कर’ ‘हुन्थ्यो होला ।

यो सिस्टम ब्रह्माले व्यवस्था नगरेकोले यसको बिट माराैँ। सिजनको कुरातर्फ लागौँ। मैले मौसमको हैन, कुकुरको सिजनकै भन्न खोजेको है। मान्छेको सिजन नतोकिंदा जथाभावी बिजन भएको देख्नु वा भोग्नु भएकै होला। जनावरको एउटा उदाहरण लिऊं गाईले रहर नगरेसम्म बहरको केही लाग्दैन। मान्छे हेर्नुस् त, बाहै महिना बाहै काल बाह्रमासे फूलजस्तो फुल्छ। मान्छेको सिजन तोकिएको भए स्कुल कलेजको समर विन्टर भ्याकेसन भनेकै सिजन भ्याकेसन’ हुन्थ्यो । सिजनभर देशमा कर्फ्यू लागेझै हुन्थ्यो। यसलाई मनुष्यको महान् चाड मानिन्थ्यो होला। बाहिरफेर भएका श्रीमान् श्रीमती घरमा जम्मा हुन्थे। अविवाहित छोराछोरीलाई नियन्त्रणमा लिन्थे र लथालिङ्ग हुन जोगाउँथे। अनि एक वर्ष चिन्तामुक्त हुन्थे। बेसिजनमा जो जता गए पनि सुरक्षित रहन्थे ।

सिजनबारे हजुरबाले सुनाएको अर्को कथा ब्रह्माले सारा सृष्टि त गरेछन् तर सिजन तोक्न भुलेछन् । अनि एकदिन मिति तोकेर बोलाएछन् । मानिस ढिलो पुग्दा लाइनमा निक्कै पछाडि परेछ। मानिस न ठहरियो, किन धैर्य गरेर पालो कुर्न सक्थ्यो, लाइन छोडेर बेलाबेला ब्रह्मा छेउ पुग्दै हजुर, मान्छेको सिजन कहिले ? भन्थ्यो। पालो मिचेर धेरै पटक करकर गर्न आएपछि ब्रह्माले झोंकैले ‘जैले तैले’ भन्दिए रे। हो, ब्रह्माको यो ‘जैले तैले’ आशीबांद मनुष्य जगत्‌का लागि साबित भएको छ, अहिले बर्बाद।

०००
समकालीन साहित्य (२०७६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
किरियाखर्च

किरियाखर्च

आर.सी. रिजाल
दुर्व्यसनी

दुर्व्यसनी

आर.सी. रिजाल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x