साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भरे के खाने ?

साइकलको प्याडल जसरी घुमाएको जिन्दगी कछुवाको गति पनि छैन । थकित भएर अफिसबाट धुवाँदार बाइक घिसार्दै थिएँ । श्रीमतीको फोन आयो । पकाउन मिल्ने सामान सबै सक्किएछ । भरे के खाने ?

Nepal Telecom ad

दीपक घिमिरे :

भरे के खाने ? के खाने खाने नि । आजै हाकिमको खान नहुने गाली खाइयो । विषदेखि अमृत खाइयो । खाएर जिन्दगी कटाउने भनेको खान त पाइयो तर कहिलै नपच्ने खाइयो । मैले आज जे खाएँ भरेभोलि पनि त उही हो खाने । पुन्टेकाका रक्सी खाएर जिन्दगी कटाउँछु भन्छन् । म के खाएर जिन्दगी कटाऊँ । गफिएर कहाँ जिन्दगी चल्छ र ! छोरोले कपी मागेको एक हप्ता भइसक्यो दिन सक्या होइन । हाकिमको हिजो र आजको हप्काइले दुई हप्ता सजिलै कट्छ । श्रीमतीले टालटुल पारेर लगाएकी गुनियो चोली फेरिदिन्छु भनेर दुई चैत कटाइसकें ।

यो सरकारी जागिरे भएर तरकारीसम्म खान पुग्दैन । यसो टेबलमुनि र माथि हात पुऱ्याउन नसके भरे के खाने समस्या सारा जागिरदासलाई हँदो हो । बल्ल महिना मरेर तलब लिंदा आवश्यकताले चुली बनाइसकेका हुन्छन् । छोरोलाई तेरो नै
बाबु है भनेर विश्वास दिलाउन पनि हम्मेहम्मे पर्छ । मेरै बाले दर्जनौ बालबच्चा ढिडो खुवाएर हुर्काए । मैले एउटा छोरोको आवश्यकता पूरा गर्न कहिले महिना त कहिले वर्ष दिन लाग्छ । एउटा सेतो नम्वर प्लेटको बाइकले कति कुदोस तेलभन्दा बढी धुवाँ निकाल्नु दिनचर्या भइसक्यो । बरू हिँडेरै अफिस जान पाए त्यही एउटा बिचरो बाइकले नि आराम पाउँथ्यो कि ?

हिजो बजेट भाषणको दिन तलब अलिकति बढ्ला कि भन्ने आशाले बजारतिर आँखा डुलाउँदै थिए । बुढियाले गोलभेडा ल्याउनुस् भनेको सम्झेर तरकारी पसलतिर लागे । किनेर पैसा दिँदा गोलभेडाको तौलभन्दा बढी मूल्य पन्यो । बरू जागिरलाई श्रद्धाञ्जली दिएर गाउँनै फर्कने सोच नआउने पनि कहाँ हो र। उर्वर पाखो खेतबारी रूखो भइसक्दासम्म मेरो अवस्था जिउँको तिउँ छ । छोडपत्र गरेर गइसकेकी जुरेली गाईले अर्को बहर पाइसक्दा प्रगति केही गर्न सकिएन । प्रत्येक वसन्तमा त्यही रूखो खेतबारी हरियो बनाउने रहर टुसाइरहन्छ अनि बजेट भाषणजस्ता प्रत्येक शिशिरले मारिदिन्छ झाङ्गिएका रहरहरू । बिदेसिनु रहर भन्थे आफैलाई परेपछि बाध्यता लाग्न थाल्यो ।

सँगै जागिर प्रवेश गरेको सुन्दरलालले सुन्दर घर बनाइसक्दा आफ्नो अहिलेसम्म जीवनी सुन्दर बनाउन सकिएन । बेलैमा बुद्धि पुऱ्याउने हरिकृष्ण आठ कक्षा छोडेर व्यापार गर्न लाग्यो । अहिले म कहाँमात्र हो र सारा सहरियाकोमा पाक्छ उसको कम्पनीको जिरा मसिनो । म भने टुप्पीमा डोरी बाँधेर पर्दै अहिले जिन्दगी लडेको लड्दै छ । आफिसबाट फर्कदा गाउँबाट बाको फोन आउँछ । यसपालि दसैं यतै मान्ने हो गाउँ फर्की । रित्तो हात कसरी फर्किनु बा । बेसी खेत मलाई पढाउँदा बेच्यौ ।

आज त यही एक पाउ फर्सीले छाक पुग्यो भरे के पकाउने ? ग्यास पनि धिपधिप छ सकिन लाग्यो कहिले साटने ? श्रीमतीको समस्या पुरानो घाउ कहिले हो पुरिने । यही बेला घरबेटी आउँछन् बाबु फ्ल्याट त ठूलो छ नि है मेरो भन्दै । छोरोको भोलिबाट एक्स्ट्रा क्लास रे । ट्युसनको तीन महिनाको राजस्वपत्र ल्याउँदै होला । जिन्दगी कसरी चल्छ खोइ ?

अर्थतन्त्रको अभावले सारा संसार ठुलो बनाउँछ । एउटा बजेट भाषण भएदेखि अर्को बजेट भाषणसम्ममा साना व्यापारी उद्योगपति भइसक्छन् अनि जागिरदास क‌ङ्गालपति कहलिन्छन् । पैसा भरे दिन्छु है भनेर दुध ल्याएको डेरीवालाले मेरो भरे कुरेको चार हप्ता भयो । आमाको दम रोगको उपचार त्यही दमले गयो होला । कहिलेकाँही त अफिसको त्यो गेटपाले दाइ धेरै खुसी छन् जस्तो लाग्छ । हिजोको लोक्कल ठर्राले आज पनि घुमायो नि सर भन्दै जिस्काउँछन् । आफूलाई खाउन्जेल मात्र न हो घुमाउने । भरे के खानेको समास्याले रिंगाउन थाल्छ । जागिरेसँग पैसा कति कति भन्नेलाई गतिलो जवाफ दिन औकात बनाउनुपर्ने भाछ । हात्तीजत्रो मान्छे सुकेर बाँस हुँदा न हाकिमले बफादार सम्झियो न अर्थ बजारै बलियो ‘भयो । साइकलको प्याडल जसरी घुमाएको जिन्दगी कछुवाको गति पनि छैन । थकित भएर अफिसबाट धुवाँदार बाइक घिसार्दै थिएँ । श्रीमतीको फोन आयो । पकाउन मिल्ने सामान सबै सक्किएछ । भरे के खाने ?

०००
लहरेपाैवा, रसुवा
चाैध मगज, हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लात पाएँ

लात पाएँ

दीपक घिमिरे
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x