शेषराज भट्टराईउहाँ सिकिस्त
उहाँले खित्का छोडेर कोल्टो फेर्नुभयो । म चाहिँ आफ्नु कोपारा आफैले बिसर्जन गर्नतिर लागेँ । यो जमानामा म जस्ता धेरैको मद्दत गर्नेलाई मोबाइलले हरण गरेको छ । सबै मोबाइलमा मस्त बिरामी चाहिँ अस्तव्यस्त अनि किन नहोस् सिकिस्त ।

शेषराज भट्टराई :
असाध्यै धेरै थलिएकालाई सिकिस्त बिरामी भनिन्छ । सिकिस्त करकाप वा रहरले हुन सकिँदैन । यो प्राकृतिक थप्पड हो । साँच्चैको व्यथाले च्यापेपछि मात्रै किकिस्त कहलाइन्छ । सिकिस्त सर्वव्यापक छ । विश्वको सर्वशक्तिमान शासकले पनि बैकुण्ठ जानुअघि सिकिस्तको सामना गर्नुपर्छ । जस्तै मैहुँ भन्ने जोदाहा पनि सिकिस्तको फेला परेपछि लम्पसार पर्न बाध्य हुन्छ । सारै असक्त अवस्थामा मात्रै मान्छे तन, मन दिएर लम्पसार पर्छ । धन खर्चिएर लम्पसार मुक्त हुन्छु भन्दैमा त्यो सम्भव हुँदैन । किनकि यो प्राकृतिक या शारीरिक प्राविधिक पक्ष हो जो शरीरले सिर्जना गर्छ र शरीरले नै तालमेल मिलाउँछ । हो उहाँ सिकिस्त बिरामी पर्नु भएछ ।
रोग प्रतिरोधी क्षमता नभएको हुनाले उहाँ सख्त बिरामी तर बिमारले जति अचेड्छ उहाँले मलाई त्यति नै सम्झिनुहुन्छ । म बिरामी परेँ भने पनि त्यसै गरी सम्झिन्छु । किनकि यहाँ अशक्तको गुनासो सशक्तले सुन्दैनन् । त्यसैले अशक्त अशक्त एक हौँ ।
पहिला पहिला बिरामी पर्दा उहाँले कसैलाई पनि सम्झिनु हुन्न थियो । उहाँ जब्बर हुनुहुन्थ्यो । रोग प्रतिरोधी क्षमता उहाँमा प्रबल थियो । सानातिना बिरामी उहाँ आफैले नुन, बेसार, ज्वानु पिँडालुको गानु चपाएर पनि ठिक पार्न सक्नुहुन्थ्यो । पेटमा जुकादेखि लिएर ओठमाथि जुँगा पनि पाल्नुहुन्थ्यो तर अहिले न ओठमाथि जुँगा छ न पेटमा जुका । खाली खल्तीमा सुका छ तर ज्यानलाई दुःख छ । अहिले धेरै किसिमको बिमारले उहाँलाई च्यापेको छ । कहिले च्यापु फुल्ने कहिले कपाल फुल्ने । कहिले शिर दर्द कहिले पीर दर्द ।
मर्द भएपछि दर्दको सामना दिउँसै गर्नुपर्छ । त्यसैले मलाई विस्तरामा लम्पसार परेर सम्झिरहनु हुन्छ । छिनछिनमा टिनटिन घण्टी बजाउनु हुन्छ । थालभरिको जाउलो पुरै बचाउनु हुन्छ । चर्पी जानु हुन्छ । छुर्पी चपाउनु हुन्छ । बोल्नु हुन्छ । मनको कुटुरो खोल्नु हुन्छ । आँगन हुँदो टोल्नु हुन्छ । उप्रान्त उहाँ एक तमासले ऐया, आत्थु, हँ हँ गर्दै दायाँ बायाँ करबटे बदल्दै लम्पसार पर्नुहुन्छ ।
उहाँलाई डाक्टर साहेबले दबाइ खाँदै लम्पसार पर्नु भनेको छ । डाक्टरको आदेश राम्रोसँग पालना गर्नुहुन्छ । त्यसैले उहाँ सन्चो पनि तुलिनु हुन्छ । म पनि उहाँजस्तै तारन्तार बिरामी परिराख्ने हुनाले उहाँको र मेरो केमेस्ट्रि मिल्छ । फोन वार्ता गर्दागर्दै जोश, जाँगर, खुसी र आनन्दले धेरै रोग बिमारहरू किनारा लागेका छन् । अस्पतालको बेडबाटै सलानीपानीको बाेतलै छचल्किने गरेर खित्का छोड्नु हुन्छ । रमाइलो गर्न पाए सारा समस्या भुल्नुहुन्छ । त्यसैले फुर्सदमा म पनि उहाँसँग हुरुक्क मात्रै होइन फुरुक्क नै हुन्छु । उहाँसँगको सान्निध्यमा दलदल, ढापमा डुबेझै चुर्लुम्म डुब्छु । अधिकानन्द आउँछ ।
केही वर्ष अघि युरिक एसिड भन्ने तत्त्वले खुट्टा पैताला दुखाएर दिउँसै ऐया ऐया बनाएको थियो । त्यसपछि झोल चोक्टा दबाइ खाँदै धेरैतिर लमकझमक गर्न सक्ने बनेर प्रसिद्धि र पैसा सँगसँगै लुँड्याउनु भएको थियो तर कालखण्ड अदलबदलसँगै फेरि कार्यभार थेग्न नसकेपछि डाक्टरले पुनः लम्पसार परेर सुत्नु भन्नुभएको थियो । डाक्टरको गहकिलो परामर्श बमोजिम कोपरा पनि सँगै राख्ने गरी उहाँ लम्पसार पर्नुभयो । तारन्तार लम्पसार परेपछि फेरि उहाँ नराम्रोसँग बौरिनु भयो । एवंरितले जिन्दगी दायाँबायाँ उभो उँधो ठिकै चलिरहेको थियो । फेरि आज अचानक उहाँले फोनको घण्टी बजाउनु भयो र भन्नुभयो म पनि तपाईं जस्तै बिरामी भएँ ।
ए लुलुलु वित्याँस परेछ । कहाँ दुख्छ के भयो ? ज्यान मात्रै पिर्छ कि खाना पनि छिर्छ ?
खाना त छिर्छ तर डाढ कम्मर दुखेर सिङ्गो ज्यानलाई पिर्छ । त्यसैले लम्पसार परेर तपाईंलाई सम्झिएको । ए लौ बर्बादै भएछ । कति समय भयो यसरी लम्पसार परेको ?
भयो पुरै सात दिन । दैनिक एक हजार खर्चिएर थेरापी गर्दै छु । एक महिना थेरापी गरेको तीस हजार माग्दै छ ।
ए, लौ वित्याँसै पार्ने भयो । तैपनि आफैले टाप कस्नुभन्दा पैसाले नै टाप कसोस् । पैसा मागेर पाइन्छ तर प्राण पखेरु मागेर पाइँदैन । त्यसैले पैसालाई जान दिनु तर तपाईंको तरान र परान सहिसलामत हुनुपर्यो । मेरो पनि खुटा कम्बर दुखेर बस्नु हुँदैन । नबसी लेख्न सकिँदैन । गुरुहरुले उठेर कलम जोत्ने अभ्यास गराएनन् । एउटै आसनले कति धानोस् । अहिले म पनि ज्यानको शास्ती शिरोपर गर्दै लम्पसार मुद्रामा मुख धुन सूची हुन सक्छु । थैलोमा जति पनि जान्छ तर पुरै शरीर फित्कौलीले हाने झैं दुख्छ ।
उहाँले खित्का छोडेर कोल्टो फेर्नुभयो । म चाहिँ आफ्नु कोपरा आफैले बिसर्जन गर्नतिर लागेँ । यो जमानामा म जस्ता धेरैको मद्दत गर्नेलाई मोबाइलले हरण गरेको छ । सबै मोबाइलमा मस्त, बिरामी चाहिँ अस्तव्यस्त अनि किन नहोस् सिकिस्त ।
०००
शिवशक्ति मार्ग, फूलबारी–११, पोखरा, कास्की
फोन ९८०६६७७५९४
Subscribe
Login
0 Comments
Oldest







































