रामकृष्ण ढकालराष्ट्रिय झोक सम्मेलन
एकछिनमा थोरै वातावरणले त यस्तो गर्यो भने शताब्दीयौंदेखि देशभरी सबैतिर सधैंभरी त्यस्तै वातावरणमात्र भोग्दा हामी झन्डै तीन करोडलाई कस्तो भाको होला ?!

रामकृष्ण ढकाल :
गन्धमती खोलाको किनारमा रहेको चौरमा झोला बोक्ने कविहरूको निकै बाक्लो उपस्थिति थियो । कतै पाल टाँगिएको थियो त कतै दाल पाक्दै थियो । कतै कुर्सीहरूको लहर थियो त कतै घुर्कीको कहर । सकेसम्मको साजसज्जा अनि भेटघाट र भलाकुसारीको मज्जा । कविहरूको झोलाको बाहिरै विभिन्न दलका झण्डा र चुनाव चिन्हका चित्रहरू देखिन्थे । चौरको एक छेउमा एउटा राम्रो द्वार बनाइएको थियो ।
त्यो द्वारको माथिपटिको भागमा एउटा सूचनापट लगाइएको थियो । सूचनापटमा लेखिएको थियो- राष्ट्रिय झोक (झोले कवि) सम्मेलन । कहिँ कतै अन्यत्र देख्न नपाइने यो सम्मेलनमा देशविदेशबाट सयौं झोकहरू आएका थिए । कतै एकमना त कतै बहुमना गफ चल्दैथियो । एउटा मञ्च पनि बनाइएको थियो । परमुख अतिथिको र अन्य अतिथिहरूको आगमन हुँदै थियो ।
एकजना कवि खाद्य विभागतिर गए र यस्सो बुझे । उनले थाहा पाए खाद्य विभागले विभिन्न परिकारहरू तयार पार्दैरहेछ । ती परिकारहरूमध्ये एउटा थियो- देश नामको । अर्को थियो- जनता । फेरि अर्को थियो- सुसँस्कार । अझै अर्को थियो- सामदाम । अर्को थियो- राजनीतिक आफन्तवाद । अनि पाक्दै थियो- हाम्रावाद ।
कुनै कुनै परिकार अलि लामो नामका पनि थिए । सोझो सिधा बहिस्कार, बाङ्गाटेढा अङ्गिकार, पूर्वाग्रही भेदभाव, जनदुखलाई बेवास्ता, दुखजिवीलाई यातना, कौडेमुन्द्रे जिन्दावाद आदि दर्जनौं । हुन पनि झोकहरूलाई मनपर्ने यस्तै परिकार त हुन । अझ भनसुन, खासखुस, लेनदेन, स्तुतिगान, अन्धभक्ति नामका ट्वाक्क परेका चटनी समेत भएपछि त रौनकै बेग्लै । कविजीले केहिबेर नियालेर बुझिसकेपछि उनी प्रफुल्ल मुद्रामा यता साथीभाइहरूतिर फर्के । उनले आफूहरूले सधैं मनपराउने गरेको नामका परिकारका लहर सिर्जना गरेकोमा भान्साविभागका सबैलाई असिम धन्यवाद व्यक्त गर्दै तारिफ सुनाए ।
अरू पनि गएर बुझिहेरे । वास्तविकता नै कवित्व बोलेका रहेछन् । अब उनीहरूबिचको कुराकानीको शीर्षक बदलियो । झोकहरू आफ्नै प्रशंसामा मग्न भए । धन्न फलानो दलको झोले भैएछ र यत्रो भव्य सम्मेलनमा आएर यस्ता बहुचर्चित अनि झोकप्रिय परिकार खान पाइने भयो, एकदम भाग्यमानी मान्नुपर्छ हामीले आफूलाई ! अनि मनैदेखि अत्यधिक आभार ती दलहरूलाई र दलका महान नेतालाई जसले आफ्नो पुच्छरतिर हामीलाई स्थान दिए र यस्तो सुनौलो अवसरका लागि वातावरण तयार गरिदिए- उनीहरूको कुराकानीको सारांश ।
कुनै दुई बटुवा जो त्यता नजिकैको बाटो हिँड्दै थिए अनि पालसहितको चालमाल देखेर के रहेछ भनेर हेर्न पसेका थिए, यो भव्यता र सभ्यताले उनीहरूलाई यस्तो छिटो असर गर्यो कि उनीहरुको स्वास्थ्य तत्कालै बेस्सरी बिग्र्यो । झाडा र बान्ताको बाढी आउने पक्का भयो । उनीहरू हतार हतार त्यहाँबाट निस्के । अल्लिपर पुगेपछि मात्र केही राहत महशुस भयो । एकछिनमा थोरै वातावरणले त यस्तो गर्यो भने शताब्दीयौंदेखि देशभरी सबैतिर सधैंभरी त्यस्तै वातावरणमात्र भोग्दा हामी झन्डै तीन करोडलाई कस्तो भाको होला ?!?!
०००
२०८२ कार्तिक २९
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































