साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थुइक्क बजिया आलु खाइस् !

त्यस्तै नेतालाई थाहा छ हामीमा नआएर यी जनता कहाँ जान्छन् र ? कहाँ जालास् मछली मेरै ढडिया ! किनभने सबैतिर यिनकै ढडिया छन् । जता बगे पनि पर्ने त्यहीँ हो र पुग्ने पेरुङ्गो हुँदै उही ताप्केमा हो ।

Nepal Telecom ad

रमेश समर्थन :

कुनै समय भनिन्थ्यो, ‘बिहारमा लालुको, जङ्गलमा भालुको, शरीरमा तालुको, साहूमा कालुको, जुत्तामा नालुको, केटीमा चालुको र तरकारीमा आलुको ठुलो महत्त्व छ । यी सबैसँग मेरो चिनाजानी त छैन तर कसैसित गोरु बेचेको साइनो त कसैसित फरियाको नाता पर्ने हुँदा म मेरो ज्ञान काटिकुटी नभए पनि ढाँटिढुँटी बाँड्दै छु ।

नम्बर एक, आफू मुख्यमन्त्री हुन नपाउँदा भैँसीको भकारो सोहोर्दै गरेकी मेहरारु रावडी देवीलाई झ्याइँकुटी पार्दै ल्याएर मुख्यमन्त्रीको कुर्सीमा गोबरको गणेशलाई झैँ स्थापना गरेर सिपालु पुजेरीले झैँ भैँसीका चाराबारा हाराबारा पार्ने लालुको महत्त्व बिहारमा मात्र हैन, नेपालको लालुमार्का क्षेत्रमा समेत उत्तिकै छ । त्यसैले त बेलाबेलामा पप्पु यादव भन्ने झप्पु दादा निर्वाचनको बेलामा नेपाल प्रवेश गरी बिहारी लीला गर्दै कहिले लाल किल्ला त कहिले माल किल्ला तोड्न सफल हुन्छन् । निर्वाचनमा आयोगलाई आईसी बुटी सुँघाएर बिहारी फर्मुलाको अभ्यास त्यसै गरी गर्छन् जसरी शक्तिशाली राष्ट्रहरू कमजोर राष्ट्रको भूमिमा सैनिक अभ्यास गर्छन् ।

नम्बर दुई, भालुको महत्त्व जङ्गलमा केकस्तो छ, त्यो त म जान्दिनँ किनभने हाम्रा जङ्गलहरूले ‘हम तो तेरी चौखट पे मर जाएंगे’ भन्दै ‘भारतं शरणं गच्छामि’ गरेपछि भालुहरूले दिउँसै तारा गन्न थालेका छन् र जेजति बाँकी छन् तिनी पनि चटकीको लौराको तालमा रिसाएर माइत गएकी स्वास्नीलाई फर्काउने तालिम लिँदै छन् र भुराभुरी भुलाउँदै छन् ।

नम्बर तीन र चार, तालुको दशा झन् दयनीय छ । शरीरको माथिल्लो भागमा रहने हुँदा जतिसुकै ठालु भएँ भने पनि खप्परे हाडभित्र खुम्चिएर बस्न बाध्य यस जैरेको के महत्त्व होला र खै ? आफू जत्तिको नरम हुन्छ उत्तिकै गरम पनि भएर यसले खप्परमाथिका रौँमा खडेरी पारी सहारा मरुभूमि बनाइदिन्छ जसमा झिँगाले पनि तबला सम्झेर ‘ता धिना धिन् ता’ को अभ्यास गर्छ । यस्तै एकजना ‘उजडे चमन’ भूगोलका शिक्षकले कक्षामा सोधेछन्, ‘लौ, भन त मरुभूमि कस्तो हुन्छ ?’ अनि एउटा प्रत्युत्पन्नमति छात्रले उठेर भनेछ, ‘स..स..सर..सर ! तपाईंको तालुजस्तै हुन्छ ।’ अब ती शिक्षकले न होइन नै भन्न सकेछन् न त्यस उद्दण्ड केटालाई एकदुई दण्डको दण्ड नै दिन सकेछन् ।

तर तालुमाथि टोकरी, टोकरीमा एकदुई सेर आलु र अलुवा लिई गल्ली गल्ली चहार्ने फेरीवाला कलुवा बिहारी नै अहिले कालु साहु भएपछि ठालु पल्टेको छ र अब त ऊ नेपाली चेलीहरूलाई नोकरी लगाइदिने निहुँमा कोठीको फेरी लगाउँछ र विधवाहरूलाई कल्पवास गराउने भन्दै काशीमा लगेर बासी रोटीसरह बेच्ने कुरामा खप्पिस भएको छ भन्ने कुरो त उहिल्यै महादेवको रिसाहा अवतार भैरव बाजेले देखेरै त लेखे होलान् भनेर म भने उनले नदेखेको र नलेखेको कुरो के भन्छु भने जतिसुकै तालु बाँझो पल्टे पनि त्यो आलुका लागि उर्वर बनेपछि दुई दुई ठाउँबाट हारेर पनि हाम्रै अलौकिक गणतान्त्रिक लोकतन्त्रमा प्रधानमन्त्री भएको घटना तपाईं हामी सबैलाई विदितै छ ।

नम्बर पाँच, नालुको महत्त्व त कति छ भने हाम्रो राष्ट्रिय पोसाकमै यसले सभापतित्व पड्काइसकेको छ । हुनत नालु डाङ्ग्रे (काँचो छाला)लाई भनिँदो हो जसको जुत्तामा एक घण्टा पादप्रवेश गराएर झिकेपछि पादबाट निस्किने गन्ध साँच्चैको …..को भन्दा सेन्टपरसेन्ट बढी निस्किने सेन्टले पर्यावरणलाई पवित्र पार्दछ । अझ उहिले त तिनै चरणपादुकामा चोबलिएका पादपङ्कजसम्म पुर्पुरो पुर्‍याएर पाउलागी गर्न निधारलाई ठ्यास्स ठोक्याउँदा त्यसको गन्ध फ्यास्स नाकपुरको सुरुङमार्ग हुँदै ब्रह्मपुरीमा पुगेपछि नलागेको पिनास पनि लागेरै छाड्थ्यो । त्यसैले नालुको स्वस्थानी लगाउनपट्टि नलागी लागौँ चालु केटीको सेवामा शब्दका भेटी चढाउन ।

नम्बर छ, केटीको चर्चा हुनेबित्तिकै दाँत झरेका र आँत मरेका, असी पुगेका र खसी परेका अनि तनले बुढवा तर मनले भँडुवा हुनेहरूका खुम्चिएका नसानसामा एक्कासि चार सय चालिस भोल्टको करेन्ट सप्लाई भएर इनर्जी प्लस भएपछि यो अनुच्छेद पढ्न नातिसित ‘खै, खै, तेरो चस्मा ले त बाबु !’ भन्न बेर लगाउने छैनन् । अझ पारदर्शी ऐना र युधीर थापामार्का उपन्यास पाए भने आफूमाथिका दाउरा उछिट्याउँदै चिताबाट उछिट्टिन पनि सक्छन् । चालु केटी ती हुन् जो मेलामा मान्छेको रेला बगेको बेला ठेलमठेला गर्दै पेला लाग्न पुग्छन् । जब जबरस्वाँठको फेला परेर कागतीझैँ निचोरिन्छन् अनि साथीलाई गुहार्न पुग्छन्, ‘ए सुन्तली, पख् न मोरी !’ मानौँ उनीहरू सङ्केत गर्छन् यहाँ कागती मात्र हैन, सुन्तलीहरू पनि छन् निचोरिनलाई । अनि तिनै जब पाका मान्छेसित ठोकिन्छन् अनि कति नै सुशीला र सावित्री भएझैँ मरिचे पीरो ओकल्दै भन्छन्, ‘तेरो घरमा छोरीबुहारी छैनन् नकच्चरा !’ माफ गर्नुहोला मेरो परिचयमा यस्ता पनि आएका छन् जसलाई दिदीबहिनी सम्बोधन नै गाली लाग्थ्यो । उनीरूलाई त सधैँ मिस भनिदिनुपर्ने चाहे गाला चाउरिएर किसमिस बनिसकेकाले कथंकदाचित् किस गर्ने इच्छा भए पनि मिस गर्नुपर्ने भएको अनुहार होस् ।

नम्बर सात, जस्तो दुःखी म, उस्तै दुःखी यो आलुको जात । मलाई हेर्नुस् न, ब्रतबन्ध र विवाहको निम्तोपत्र लेखिदिने म, विदाको निवेदन लेखिदिने म, थानामा उजुरी लेखिदिने म, उस्तै परे प्रतियोगीका लागि गीत, कविता र निबन्ध लेखिदिने पनि म । तर बिहेबर्तुनमा हुने भोजमा मेरै खोजी हुँदैन । प्रतियोगीले पुरस्कार पाए पनि मैले नमस्कार पनि तिरस्कारपूर्वक पाउँछु । त्यस्तै छ यो दुखिया आलुको नसिब पनि । आलु नखाने कुुनै ठालु कहीँ छैन तर उनीहरूले आलु खाएँ भन्नु मलाई एड्स् लागेको छ भनेर स्वीकार गर्नुजत्तिकै मुस्किल मान्दछन् ।

एकजनाले लेखेका थिए, ‘आलु त तरकारीको राजा हो ।’ तर म भन्छु, ‘ए राजा, यो सर्वहारा र सर्वाहारा आलुलाई किन दरबारमा कैद गर्नुहुन्छ ? तपाईंलाई थाहा हुनुपर्ने हो, आलु नेपालको कम्युनिस्ट त पक्कै होइन । यो सर्वहारा हो किनभने यसले जहिल्यै हार्नुपरेको छ । यो सर्वाहारा पनि हो किनभने यो सबैको आहारा बनेको छ । सर्वगुणसम्पन्न आलु र सार्वभौमसम्पन्न नेपाली जनता उही ड्याङमा पाइने जिनिस हुन् जसलाई पोले पनि, उसिने पनि, काटे पनि, कोरे पनि, एक्लै पकाए पनि, मिसाएर पकाए पनि, अचार पारेर खाए पनि र तारेर खाए पनि चुँ बोल्दैनन् । मानौँ यी सबै हुनु नै यिनको नियति हो । आफू बेइज्जत भएर अरूको इज्जत बढाउन होस् वा आफू अपमानित भएर अरूको मान बढाउन होस् । आफू चिरिएर अरूलाई सग्लो राख्न होस् वा आफू पोलिएर अरूको आन्द्रा भर्न होस् । यी दुवै सधैँ तम्तयार रहन्छन् ।

भोजका बेलामा आलुको भाउ बढेझैँ भोटको बेलामा जनताको पनि भाउ बढ्छ । जसरी तरकारीमा मिसाउन आलु काम लाग्छ त्यसै गरी पार्टीमा मिसाउन जनता काम लाग्छन् । आज यो पार्टीमा त भोलि त्यो पार्टीमा । यो पार्टीमा भए हाम्रा जनता र त्यो पार्टीमा भए झोले र भेँडा । कवाफ भए आहा आलु र झोल भए आलुको झोल । बडप्पनको काँचुलीभित्र लुकेका कैयौँ विषधरहरूको लुक्ने ठाउँ हुन् आलुको ड्याङ र झोलेको ग्याङ ।

आलुलाई बिर्सिने रोग आजको होइन । ‘बदनाम हुए तो क्या हुआ, नाम तो है’ भनेझैँ यसको चर्चा मात्र गरिदिए पनि लाग्ने पर्चाको खर्चा आलुले आफैँ जोहो गर्थ्यो तर चारमुखे बुढा बाजेले चिचिन्डो नामको तिहुनको कुरो गर्दा आलुको नाम लिएनन् । सके आलुको र चिचिन्डोको मेल नहुने भएर पो हो कि ? हुन पनि अन्य सबै तरकारीले आफ्नो दलको दलदलमा धँसाउन सक्ने आलुलाई चिचिन्डाले भने छेउमा पनि राख्न सक्दैन ।

ब्रह्माको कुरो चलेपछि उनको एउटो कुरो पनि गरिहालूँ न त । के भने भनेर भेउ लाउनुभन्दा यो सिलोक पढेपछि थाहा पाइन्छ यो छेउ न टुप्पोको कुरो हो भनेर —
त्याँतिस् कोटि द्यौता एकैठाम् बसेछन्‌
तिहुन्‌मा नमीठो के होला भनेछन्‌
चतुर्मूखि बर्मा जुरुक्कै उठेछन्‌
चिचिन्डो चिचिन्डो चिचिन्डो भनेछन् ।

आलु खाएर खाएँ नभन्ने मान्छे र जनताको भोट पाएर पाएँ नभन्ने नेता दुबै बैगुनी हुन्, बेइमान हुन् । मान्छेलाई थाहा छ आलु तरकारीमा नआएर कहाँ जान्छ र ? त्यस्तै नेतालाई थाहा छ हामीमा नआएर यी जनता कहाँ जान्छन् र ? कहाँ जालास् मछली मेरै ढडिया ! किनभने सबैतिर यिनकै ढडिया छन् । जता बगे पनि पर्ने त्यहीँ हो र पुग्ने पेरुङ्गो हुँदै उही ताप्केमा हो । तर कहिलेकाहीँ माछो माछो भ्यागुतो पनि हुन्छ र कहिले आलुको भ्रममा कोक्याउने पिँडालु पर्‍यो भने बाबुको बिहे देख्छन् ।

आलुको पुराण लाउनुपर्ने खरखाँचो आज मलाई किन पर्‍यो भने मैले पढाएकै स्कुलमा पढ्ने मेरो छोरो फेल भएर उसलाई झ्याम्टा लाउँदा मलाई त्योभन्दा झन्डै दुई दशकपहिलेको दिनको सम्झना भएको थियो जब जाँचको नतिजा प्रकाशित भएको दिन निगुरिमुन्टे न भएर घर आएको देखेपछि बाले आलुजस्तै आला गालामा लपेटा लाउँदै भन्नुभएको थियो, ‘थुइक्क बजिया, आलु खाइस् !’

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नाममहिमा

नाममहिमा

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
प्रेमलेटर

प्रेमलेटर

रमेश समर्थन
आइमाईको उमेर

आइमाईको उमेर

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
आधा सत्य आधा भ्रम – ४४

आधा सत्य आधा भ्रम...

अर्जुन दाहाल (क)
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
फुक्लिएको दाँत

फुक्लिएको दाँत

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x