रमेश समर्थनप्रेमलेटर
म त क्रन्द्य व्यङ्ग्य मात्र पठाउँदै छु । तपाईं मेरो यो प्रेमलेटरलाई आफ्नो पत्रिकाको विध्वंशक अंशका रूपमा लिनुहुनेछ भन्ने पुरापुर विश्वास छ । म पनि सांसद हुन्थेँ भने हास्यव्यङ्ग्य नै लेख्थेँ ।

रमेश समर्थन :
डियर सम्पादक !
आई लभ यू
अत्र कुशलम् तत्रास्तु ।
मैले यसभन्दा अघि पनि थुप्रै थर्ड क्लास रचनाहरू तपाईंको शुद्ध व्यावसायिक पत्रिकाका लागि पठाएको थिएँ तर तिनलाई तपाईंले कि त तपाईंकी श्रीमतीको ब्वायफ्रेन्डले उहाँलाई लेखेको लभलेटर ठान्नुभयो कि तपाईंकी श्रीमतीले तपाईंकी गर्लफ्रेन्डले तपाईंलाई लेखेको प्रेमपत्र ठान्नुभयो । त्यसैले पत्रिकामा छाप्ता आफ्नो र श्रीमतीको पोल खुल्ने डरले आफ्नो हर्टलाई भन्दा फर्स्ट प्रायोरिटी दिएर स्विस बैंकको प्राइभेट लकरमा लुकाउनुभयो । हैन त ? तर तपाईंको मेमोरीमा रहोस् कि ती त केवल स्याम्पल थिए । यसपालि भने साँच्चिकै म तपाईंलाई प्रेमलेटर नै लेख्तै छु । यदि यसलाई पनि छाप्नुभएन भने मसँग सुरक्षित प्रेमपत्रको नेगेटिभलाई फोटोकपी गरेर सोझै तपाईंकी श्रीमतीका नाममा एक्सप्रेस डेलिभरी सर्भिसद्वारा डिस्प्याच गरिदिनेछु र एउटा पार्टीले सत्ता टिकाउन अर्को पार्टीलाई फोरेर आफ्नो पक्षमा लिएझैँ तपार्इंकी श्रीमतीलाई नै लिएर सुप्रिम कोर्टको ढोका ढक्ढकाउन जानेछु । तपाईंले घरमा श्रीमती हुँदाहुँदै बाहिरबाहिरै जन्मेका सन्तानको पास्नीमा पैसाको मेलम्ची बगाउनुहुन्छ भन्ने आरोप लगाई त्यसको आईविटनेसका रूपमा तपाईंकी श्रीमतीलाई नै उभ्याउने छु । पछि फलानाले ब्ल्याकमेल गर्यो भनेर आरोप नलगाउनुहोला । यो फल्स वार्निङ हो तपाईंलाई ।
सम्+पादकज्यू !
यी त भए च्यालेन्जका कुरा । अब टेक एन्ड ब्यालेन्सका कुरा पनि गरौँ न त ! ब्यालेन्स नमिल्दा पाकेको तलब त पाइँदैन भने रचना छापेको भत्ता कहाँबाट पाइयोस् ? हालै हाम्रा प्रधानमन्त्रीले आफ्नो कुर्सी टिकाउन तीनजना हाननीय सांसदहरूसित कति प्यारो एग्रिमेन्ट गर्नुभएछ । त्यस्तै एग्रिमेन्ट म पनि तपाईंसित गर्न चाहन्छु । यो एकदमै सीक्रेट कुरो हो । त्यसैले केही मन्त्रीहरूले जस्तै ‘गोपनीयता भङ्ग गर्नेछु’ भनी शपथग्रहण गर्नुहोस् । कुरो के भने नि सम् पादकज्यू, म भत्ता लिन तपाईंकहाँ आइरहन सक्दिनँ पनि र भ्याउन्नँ पनि । सके पनि र भ्याए पनि तपाईंले दिने पारिश्रमिकभन्दा मेरो जाते, आते र खातेमै बढी खर्च हुन्छ । त्यसैले तपाईंले मेरो रचना छाप्नुभयो भने मेरो भत्तामा तपाईंकै एकलौटी सत्ता रजिस्ट्रेसन पास गरी दिनेछु ।
तपाईंले हास्यव्यङ्ग्यको डिमान्ड गर्नुभएको रहेछ तर जनतासँग व्यङ्ग्य त जति पनि छ, हास्य भने छैन । हास्यजति त हाम्रा सांसद र मन्त्रीहरूले कुम्ल्याइहाले नि । हामीसित त व्यङ्ग्य मात्र छ । हद भए क्रन्द्य व्यङ्ग्य पाउन सकिन्छ, अर्थात् रुन्चे हाँसो । त्यसैले हास्यव्यङ्ग्य नै चाहिने भए दुई सय पैँसट्ठी रुपियाँ खर्च गरेर सांसदहरूलाई पर्सनल पत्र पठाउनुहोस् र तिनैका रचना छापी पत्रिका पनि उनीहरूलाई नै बेच्नुहोस् । अनि तपाईं लेखिदिएको मात्र छाप्नुहुन्छ । लेखेको छाप्ने आँटै हुँदैन तपाईंको । उनीहरूसँग मन्त्रीपदको, भत्ताको, विदेशभ्रमणको, सुनपैठारीको र कमिसनखोरीको उत्कृष्ट हास्य तथा मन्त्रीको झन्डा हल्लाएर विपक्षमा मतदान गर्ने तथा अविश्वास प्रस्ताव पास भएपछि पनि मन्त्रीपद नछोड्ने व्यङ्ग्य पनि छ । म त क्रन्द्य व्यङ्ग्य मात्र पठाउँदै छु । तपाईं मेरो यो प्रेमलेटरलाई आफ्नो पत्रिकाको विध्वंशक अंशका रूपमा लिनुहुनेछ भन्ने पुरापुर विश्वास छ । म पनि सांसद हुन्थेँ भने हास्यव्यङ्ग्य नै लेख्थेँ । तर मेरो भाग्य लेख्ने वेलामा ब्रह्मा बाजेको पाइलट पेन मुसुमुन्द्रे नारदले सुटुक्क चोरेर सरस्वतीलाई दिएकाले ब्रह्माले चिता निभाएपछि बँचेको ठुटाले मेरो चाँदोमा लेखिदिएछन् र त भ्यागुते मास्टर भएर टर्टराउँदै छुु ।
अब मैजारोतिर लागौँ । यदि तपाईं स्वास्नीलाई चास्नीमा डुबाएको रसभरीमात्र ठान्नुहुन्छ भने नडराइकन मेरो यो प्रेमलेटर छापिदिनुस् । नत्र अर्को पालादेखि तपाईंको पत्रिकाका सबै स्तम्भ, विधा, पेज र हरफका लागि महिनैपिच्छे टाउकोदुखाइ पठाएर माइग्रेन बढाइदिनेछु । तपाईं मलाई चिन्नुहुन्न होला । म भनेको ‘ए….चना चटपटे, बाह्र मसला तेह्र स्वाद । जसले खाए ती पछुताए, जसले नखाए ती पनि पछुताए’मार्का लेखक पो हुँ त ! कतै काँचो पिँडालु बनेर तपाईंको घाँटीमा अड्केँ भने निल्नु न ओकल्नु पार्नेछु । सोच्नुस् र मेरो रचनालाई कुनै न कुनै कुनामा कोच्नुस् ।
लौ त ।
तपाईंको लभली
पाँडे पँडित
०००
२०५३ फागुन
रुपन्देही
Subscribe
Login
0 Comments
Oldest







































