साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाममहिमा

विरोध गर्नेहरू त समर्थनको पनि विरोध गर्छन् । लेख्ने वेलामा विरोधी र विद्रोही कुरा लेख्छ अनि नाम समर्थन राख्छ पनि भन्छन् । जे भने पनि मेरो नाम समर्थन हो । चाहे कसैले गरोस् नगरोस्, म त गर्छु समर्थन ।

Nepal Telecom ad

रमेश समर्थन :

म भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज अर्थात् ए.आई.आई.एम.एस.अस्पतालको चिल्ड्रेन ओपीडीको प्रतीक्षा कक्षमा थिएँ । मनिरै एउटी भारतीय महिला काखमा एउटा बच्चो लिएर बसेकी थिइन् र उनको हातमा रहेको कार्डले बच्चो दुई वर्षको हो भन्ने बताइरहेको थियो, अन्यथा बच्चालाई हेर्दा त्यो छ महिनाभन्दा बढीको लाग्दैनथ्यो । केही बेरपछि भित्रबाट उसको नाम लिएर बोलाइयो, ‘शेरु !’ अनि ती महिला त्यस बच्चालाई लिएर भित्र गइन् । म भने कता कता रुमल्लिन थालेँ । हुनत कसैले आफ्नो सन्तानको नाम जे राखे पनि मलाई कुनै खसखस नहुनुपर्ने हो तर कुनै कुरामा चासो नराख्दा नराख्दै पनि राखिँदो रहेछ । त्यसैले होला म त्यहाँबाट उठेर बाहिर निस्केँ ।

नाम नामै हो । फलानाको नाम फलानै किन पर्‍यो भनेर प्रश्न गर्ने ठाउँ छैन । संस्कृत व्याकरणले त ‘नामग्रायोर्व्युपत्तिनास्ति’ भनेर यो स्वतन्त्रता दिइसकेको छ । तर कैयौँ नामहरूमा व्यक्तिसित मात्र हैन, अर्थसित पनि तारतम्य नभएको पाइन्छ । पूर्वी तराईतिर आफ्नो नामको पछाडि थर पनि लेख्नुपर्ने, थरलाई अङ्ग्रेजी शब्द कास्टको अर्थमा लिइने अनि नेपालमा रहेको जाति जनाउने शब्दलाई पनि कास्ट नै भनिने भएर उनीहरू नामको अन्तिममा जाति पनि लेख्छन् यसरी – मनटुटिया देवी झा बाहुनी, लोरपोछन मिश्र बाहुन । अनि हलखोरी झा बाहुन । उनीहरू यस्तो नाम किन राख्दा रहेछन् भनेर बुझ्न खोज्दा पाएँ, कुनै सन्तानको मृत्युपछि जन्मेको सन्तानको यस्तै उटपट्याङ नाम राखिदियो भने सन्तानको अकाल मृत्यु हुँदैन भन्ने मान्यता रहेछ ।

उटपट्याङ नामको चर्चा गर्दा मलाई एउटा ठट्यौलीको सम्झना हुन्छ जुन यस्तो छ –
भारतको कुनै ठाउँमा दुईजना सम्पन्न बुढाबुढी रहेछन् जसको नाम ठिङ्गा ठिङ्गी रहेछ । अरूको नाम राम, श्याम, शिव, पार्वती, सीता आदि सुन्दा र आफ्नो नाम सम्झिँदा उनीहरू दिक्दारिएका रहेछन् र एक दिन उनीहरू आफ्ना लागि पनि राम्रो नामको खोजीमा हिँडेछन् । बाहिर निस्किनासाथ एक हुल मलामीलाई देखेर सोधेछन्, ‘को मरेछ ?’ र अमरसिंह भन्ने व्यक्तिको मृत्यु भएको भन्ने उत्तर पाएछन् । उनीहरू ‘हे दैव ! अमरसिंह पनि मरेछ !’ भनेर अचम्म मान्दै अघि बढेछन् । जाँदा एकजना माग्ने अगाडि आएछन् र उनीहरूसित केही मागेछन् । अलिकति सहयोग दिएर सोधेछन्, ‘बाबु, तिम्रो नाम के हो नि ?’ तिनले उत्तर दिएछन्, ‘नाम त धनपति हो हजुर, तर नामले के पो नाप्दो रहेछ र ?’ अनि उनीहरूले आफ्नो घरमा सफाइ गर्न आउने महिलाको पनि नाम सम्झेछन् जसको नाम लक्ष्मी थियो । यसै गरी दिनभरि भौँतारिएर उनीहरूले साँझ अगेनाको छेउमा बसेर भनेछन्, ‘अमरसिंह पनि मर्दा रैछन् धनपति माग्छन् भीख, लक्ष्मी हुन् तर ज्याला गर्छिन् ठिङ्गा ठिङ्गी ठीक ।’

भारतका धेरै जातिमा आफ्नो नामका पछाडि बाबुको नाम पनि थप्ने चलन छ । जस्तो मोहनदास करमचन्द गान्धी, सच्चिदानन्द हीरानन्द वात्सायन, मोरारजी रणछोडजी देसाई, वासप्पा दानप्पा जत्ती, पामुलपति वेंकट नरसिंहा राव, सचिन रमेश तेन्दुलकर, हरदानहल्ली डेड्डेगोडा देवेगोडा आदि । सिक्खहरू पुरुष र स्त्रीको नाम एउटै राख्छन्, जस्तै परमजीत सिंह भने पुरुष र परमजीत कौर भने स्त्री बुझिन्छ । इटालीमा नामका पछाडि गाउँको पनि नाम जोड्दा रहेछन्, जस्तो लियोनार्दो दा भिन्ची । भिन्ची उनको गाउँको नाम रहेछ । अरबका शाहहरू त नामका पछाडि अल थप्दै गएर तीन चार हरफको नाम बनाउँछन् ।

नामको अर्थ केलाएर त साध्य नै छैन र यस कुरामा संस्कृतको वैयाकरणहरूले पनि हार मानेको कुरो त मैले माथि नै भनिसकेको छु । निरर्थक त शब्द मात्र हैन, ध्वनि पनि हुनु हुँदैन भन्ने कट्टरताका पक्षपाती संस्कृत वैयाकरणहरूको पराजयपछि मैले त्यो खोजी गर्नु त व्यर्थै छ तर उहिले बालकको भविष्य हेरेर र उसले भविष्यमा गर्न सक्ने कामको विचार गरेर नाम राख्न्थ्यिो । जस्तै योगीहरूको मनमा रमण गर्ने वा योगीहरू जहाँ रमण गर्छन् भनेर राम नाम राखिएछ । प्रजाको भरणपोषण गर्ने भएर भरत राखिएछ । युद्धको मैदानमा टिक्ने भएर युधिष्ठिर राखिएछ । अनैतिक युद्ध गर्ने भएर दुर्योधन राखिएछ । आफूमा राज्यलाई जोगाउने क्षमता नभए पनि मोहवश समाएर बस्ने भएर धुतराष्ट्र राखिएछ । तर अचेल यसको कुनै प्रयोजन छैन । मुसाको नाम टाइगर राखे पनि भयो । बुच्चाकानेको नाम कर्णकान्त, चिम्साआँखेको नाम नेत्रलाल राखे पनि भयो । हुनत भन्नहरू भन्लान् शिवप्रसादकी पत्नीको नाम सीता किन ? रामकी पत्नीको नाम पार्वती किन ? टाउकाको नाम टाउकै किन ? नाकको नाम नाक नै किन ? ‘न’का ठाउँमा ‘च’ नै भए पनि के फरक पर्थ्यो र ? यो त एउटा सुविधा मात्र हो ।

हामी कहिलेकाहीँ केटाकेटीलाई पनि उसको स्वभाव अनुसार बाँदर गोरु आदि भनेर गाली गछौँ तर उनीहरूले पनि हाम्रो न्वारन गरिदिन सक्छन् भन्ने कुरो पत्याउनुहुन्छ ? पत्याउनुहुन्न भने सुन्नुस् –

मेरा दुई छोरा छन् । तिनमा जेठो अलिक सोझो थियो भने कान्छो चकचके थियो । म भने उनीहरूको बदमासी देखेर रिसाइरहन्थेँ भने उनीहरूकी आमा जसलाई मम्मी भन्छन् उट्पट्याङ कुरा मात्र गरिरहन्थिन् । एकदिन मैले सबैका सामु उनीहरूको नयाँ नामकरण गरेँ, ‘तेरो दादा डङ्की र तँ मङ्की होस् ।’ मेरो मुखबाट यो सुन्नु के थियो कान्छाले हाजिरजवाफमा र्‍यापिड फायर खेलेझैँ कान्छाले पनि प्वाक्क भनिदियो, ‘बुवा रन्की मम्मी सन्की !!’ उति वेला त म रुन्चे हाँसो हाँसेको थिएँ तर त्यसले बोल्दा सानो भनेर हेप्नु हुँदैन रहेछ भन्ने थाहा पाएँ ।

तर नामले पनि कहिलेकाहीँ समस्या पार्न सक्छ भन्ने कुरो मैलेभन्दा पहिले नेपाली साहित्यका पहिला नियात्राकार तारानाथ शर्माले थाहा पाएका रहेछन् । उनले आफूलाई तारे गोरु भन्थे भनेर कतै लेखेका छन् । मैले पनि यो नामको चक्करमा धेरै अक्करमा परेर थुप्रै ठक्कर खाएको छु ।

मेरो जन्मलग्नका आधारमा पुरेतबाजेले राखिदिएको नामचाहिँ रोमहर्षण हो रे ! तर म जन्मिँदा मेरा बाआमाका रौँमा हर्ष छाएनछ र बाले मेरो नाम रमेश राखिदिनुभएछ । अनि हाम्रै खलकमा मभन्दा जेठाको नाम पहिले नै रमेश राखिइसकेकाले र हजुरबाले सधैँ हरि हरि मात्र भन्ने गरेको भए पनि मर्ने वेलामा हरि भन्न खोज्दा हरियो काँक्रो भनिन्छ कि भन्ने डरले अजामिलको सिको गरी मेरो नाममा हरि मध्यनाम थपिदिनुभएछ । यसरी म भएँछु रमेश हरि । म थिएँ उप्रेत कान्छाको नाति र रामु पण्डितको छोरो । नामी बाहुन । बाहुन भएपछ शर्मा हुनुपर्ने भएर पछाडि शर्मा थपिएर म भएँछु, रमेश हरि शर्मा ।

एक दिन मावली हजुरबाले भन्नुभयो, ‘शर्मा त जैसीले पनि लेख्छन् । हामी त उनीहरूभन्दा माथिल्ला उपाध्याय हौँ नि । त्यसैले उपाध्याय लेख् । अनि म भएँ, रमेश हरि शर्मा उपाध्याय । आफूले मध्यमा उत्तीर्ण गरेर शास्त्रावाचन गर्दा पनि शास्त्री लेख्न नपाउनुभएका मेरा बाले मैले शास्त्रीमा प्रवेश पाउनेसाथ आफ्नो नागरिकताको पछाडि मेरो नाममा लेखिदिनुभएछ, रमेश हरि शास्त्री । अब भने मेरो नाम हनुमानको पुच्छरझैँ लामो लामो र झन् लामो हुँदै थियो भने सरकारी काममा त्यो भाँडो नभएर घाँडो बन्दै थियो । जब नागरिकता बनाउने वेला भयो मैले फाराममा थरको कोठामा आफ्नो थरलाई अकालमै मर्न दिनु भएन भनेर ढकाल लेखिदिएँ । समस्या त अब पो आयो ।

मैले भरेको फारामका अनुसार मेरो नाम रमेश हरि ढकाल हुने देखियो तर बाले त मेरो नाममा शास्त्री पो लेख्नुभएको थियो । अनि उहाँको नाममा थियो तीर्थ प्रसाद उपाध्याय । अब बडाहाकिम साहेब पड्केका पड्क्यै भए ‘तपाईं उपाध्याय कि, शास्त्री कि ढकाल ? शर्मा त उनले बिर्सेछन् ।

म परेँ सोह्रै आना जनता । एक पाई पनि नेता हुन्थेँ भने नाम थर जे फेरे पनि कसैको बाबुले सोध्नै सक्तैनथ्यो । नेपाली राजनीतिको प्राचीन कालमा विश्वेश्वर प्रसाद कोइराला बी.पी.कोइराला भएका थिए । अर्वाचीन कालमाा अर्घाखाँचीका ढुण्डीराज पौडेल पछि शास्त्री भएकै हुन् । आधुनिक कालमा खड्गप्रसाद शर्मा ओली केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड मात्र भएका छन् । रापंस मात्र हुँदा मरिचमान सिंह मात्र रहेका प्रधानमन्त्री बन्नासाथ मरिचमान सिंह श्रेष्ठ भए । कसैले केही लछारपाटो लगाउन सकेन र सकेको छैन ।

मैले नागरिकताको थरमा ढकाल त गराएँ तर त्यसले अर्को समस्या ल्यायो । मेरो शैक्षिक प्रमाणपत्रमा शर्मा र नागरिकताको प्रमाणपत्रमा ढकाल । परेन समस्या ? हरेक पटक जागिरका लागि गिर्न जाँदा म सधैँ नक्कली नागरिक बन्थेँ । नक्कली नागरिकले बरु त्यति गिर्नुपर्दैन होला तर यसले गर्दा म यति गिर्थेँ कि गिरेको आभासै हुन छाडिसकेको थियो हाम्रा नेताजीहरूलाई झैँ । जागिर सकिएर पेन्सनपट्टा बनाउँदासम्म पनि यसले छोडेन । बल्लबल्ल शर्मा र ढकाल दुबै राखेर काम त चलाएँ तर नामको लस्कर लामो हुँदै गयो । धन्न, उपाध्याय छाडेँछु । नत्र त, रमेश हरि शर्मा उपाध्याय ढकाल पो हुने रहेछ ।

मैले जहाँ तिस वर्ष बिताएँ त्यहाँ मलाई मेरो नामबाट कम र मेरो जिल्लाबाट बढी चिन्थे, पाल्पाली सर भनेर । अनि जब मलाई पनि साहित्यकार बन्ने लुतो चिलाउन थाल्यो अनि म पनि उपनामको खोजीमा लागेँ । साहित्यकार बन्नु, त्यो पनि उपनामविना ? लाजको मर्नु । कसले मान्छ तँलाई साहित्यकार ? के कुरो सत्य हो भने त्यति वेलासम्म मेरो एउटा पनि रचनाले छापाको अनुहार देख्न पाएको थिएन, तर उपनाम भने चाहिएको थियो । छोरो पाउने कैले कैले कोक्रो बुन्ने ऐले भनेजस्तै भएको थियो । तर चाहना त चाहना हो । भयो त भयो । म उपनामको खोजीमा लागेँ र पहिलेका साहित्यकारहरूका उपनामहरू केलाउन थालेँ कस्तो राख्दा बढी चर्चित भइएला भनेर । हली, कोदाले, बाउसे, गोठाले, खेताला, व्यथित, पीडित, विकल, काँचुली, बोक्रे, निर्मोही, दुःखी, परिश्रमी, बूँद, अज्ञात, गफाडी, मुखाले, अल्लारे, कुनाघरे, खोलाघरे, पल्लाघरे, ठुलाघरे, सानाघरे आदि अनि केहीले त आफ्नो नामका पहिला अक्षर झिकेर उपनाम बनाएको पनि पाएँ, तानासर्मा, रासा, दुबसु, राप्रउ, ध.च.गोतामे । त्यस्तै कसैले भारतका सिनेनायकले झैँ नयाँ नाम राखेको पनि पाएँ, रामेश्वर शर्मा चालिसेले रमेश विकल बनाएको । धन्न आजसम्म कसैले पनि भ्रष्टाचारी, बलात्कारी, दुराचारी, व्यभिचारी राखेका छैनन् । सके यो अर्को वर्गको अधिकार क्षेत्रभित्र पर्ने भएर होला ।

मलाई भने पाल्पाली खुब जँच्यो भारतका र खास गरी उर्दूका शायरहरूले आफ्नो भूमिको नामको उपनाम खुब रुचाउँछन् । गोरखपुरी, मुरादावादी, लखनवी, लुधियानवी, देहलवी, फर्रुखावादी, हरियाणवी, राजस्थानी, हैदरावादी आदिजस्तै मेरो पाल्पालीले पनि लङ्काको डङ्का पिट्ने भयो भनेर मनका लड्डु मुख मिठ्याउँदै खाँदै थिएँ, त्यसै वेला यो उपनाम त कुनै अर्को रमेश भन्नेले उछिट्टयाइसकेको शङ्का भयो र नभन्दै हो पनि रहेछ । मैले साहित्यकार बन्ने इरादा ढिलो गरेकामा र उपनाम जुराउन पनि अल्छी गरेकामा आफैलाई धिक्कार्दै अर्को उपनामको खोजी भुसको भकारीमा सियो खोजेझैँ गर्न थालेँ ।

म सानैमा सानै थिएँ र सबैले मलाई साने भन्थे । सानामा त अरू पनि सानै हुँदा हुन् तर साने भन्ने उपनाम त मैले ‘पातलो स’ नपढ्दै पाइसकेको रहेँछु । मैले साने राख्ने निधो त गरेँ तर सोचेँ, आज पो म केही होइन र ? जब केही हुँला तब मेरो नाममा पनि ‘जी’ लाग्ला । त्यति वेला रमेशजी, शर्माजी, ढकालजी त ठिकै होला तर सानेजी कस्तो लाग्ला ? मैले यो उपनाम पनि छोडिदिएँ र लागेँ अर्कोको खोजीमा ।

अन्तमा यो समर्थन भन्ने जुर्‍यो र यही राखेर काम चलाउँदै छु । यो जुराउँदा अरू दुईवटा नाम जुरे सम्राट् र समर्थ । ‘सम्राट्’मा अधिनायकत्व गर्ज्यो भने ‘समर्थ’ अभिमान बोल्यो र मैले ‘समर्थन’मा सहीछाप गरेँ । विरोध गर्नेहरू त समर्थनको पनि विरोध गर्छन् । लेख्ने वेलामा विरोधी र विद्रोही कुरा लेख्छ अनि नाम समर्थन राख्छ पनि भन्छन् । जे भने पनि मेरो नाम समर्थन हो । चाहे कसैले गरोस् नगरोस्, म त गर्छु समर्थन ।

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
फागुका तीन लाेला

फागुका तीन लाेला

रमेश समर्थन
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x