साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेर्न बाँकी छ

Nepal Telecom ad

घनश्याम रेग्मी :

भदौ महिनाको अन्तिम सातादेखि नै मेरो खेतमा मुसाहरूका ओहोरदोहोर बढ्न लागेको हो । खेतको मध्य भागमा घाँसपात र झार जङ्गल थुपार्ने एउटा सानो ढिस्को/थुम्को छ । हामी काम गर्दा सो ठाउँमा हलो, फरुवा जस्ता ज्यावल र ओढाउ लगायतका सामन राख्छौँ । असोजमा धानमा फूल खेल्न थालेदेखि नै मगमग बास्ना आउने र पानी पनि कम हुने हुँदा त्यो ठाउँ बस्न लायक भएको ठानेर एउटा ठुलो मुसाले कब्जा जमाएको छ । मैले मुसा धपाउन केही उपाय गरेँ तर त्यो मुसाले न त चारो खान्छ न त पासोमै पर्छ । साह्रै चलाख छ कि क्या हो ? कुनै फन्दामा परेर चेत आएको मान्छे झैँ यो मुसो पक्कै पनि चेतकाशी भएको हुनुपर्छ ।

कार्तिक लागेपछि मुसा बस्ने त्यो दुलातिर मुसाहरूका नयाँ चर्तीकलाहरू सुरु भए । मुसाहरूका आवतजावत केही बढेको देखियो । मङ्सिर महिना लाग्न नपाउँदै मुसाहरूले धान खेतमा एकैचोटि धावा बोले । दैनिक धानका गाँजहरू काटिन थाले ।खेतको गह्रो आधा त खाली नै भयो । भएका धानका बालाहरू पनि ठुटा हुँदै गए । मुसाको दुलाका वरपर ओहोरदोहोर गरेका कारण बाटो चिल्लो देखिँदै गयो ।धानका बालाहरू र परालका टुक्राहरू प्वालका मुखतिर भरिभराउ देखिन थाले ।

धेरै वर्ष पहिले यस्तै मुसाको बिगबिगी बढेका बेला हजुरआमाले हाम्रो गाउँका जिम्माल बा र ढाडे मुसा एकै हुन् भनेर भन्नुु भएको थियो । भाले/ पुरुष मुसो पनि यही जिम्माल बाजस्तै बडो चलाख , कपटी र धूर्त हुन्छ । अन्न पाक्न थालेपछि मिठामिठा कुरा गरेर मुसीहरू फकाउँछ । स्वास्नी बनाएर राख्ने , मायाँ गर्ने कुरा गर्छ । म छु नि बास र सुरक्षाका लागि भनेर विश्वास दिलाउँछ ।

तिमीहरू अन्यत्र कतै भौँतारिनै पर्दैन । म रानी बनाएर राख्छु भनेर बाचा गर्छ र काम गराउँछ । प्रलोभनमा परेका मुसीहरू जिउ ज्यान दिएर अन्न भित्र्याउँछन् । मुसाको भण्डार भर्छन् । जब धान/ अन्न काटेर सकिन्छ ती मुसीहरू त्यो ढाडे मुसाबाट खेदिन्छन् । बिना पारिश्रमिक लखेटिन्छन् । फेरि ती अवलाहरूका दु:खका दीन आउँछन् र ज्यान बचाएर भाग्छन् । सबै लागेर भित्र्याएको अन्नमा ढाडे पुरुष मुसाले धेरै पछिसम्म राज गर्छ ।

हाम्रो गाउँका जिम्माल बा ( खेतआदि जमिनका जिम्मेवार ठानेर राज्यले पद जिम्मा दिएका व्यक्ति /मुखिया जिम्माल तथा जमिनदार – तालुकदार प्रथा )का हालमा तीनवटी श्रीमती थिए । ल्याउने र जाने चलिरहन्थ्यो । कान्छी को हो सधैँ अनिश्चित । रूप र जवानी भएका महिलाहरूलाई सुन र धनका लोभ देखायो । ल्यायो भोग गर्‍यो । काम हुन्जेल कज्यायो । काममा लदायो, पछि चाडवाडमा धरमा फेर्ने कपडा समेत पुराना । खाने र लाउने कुरामा तँ त ल्याइते होस्, तेरा त सन्तान छैनन् ,तँजस्ती त लाइन लगाइदिन सक्छु भनेर धम्क्याउँथे । विचरी पछि आएका कान्छीहरू एक बर्खा काम गरेर चाडपर्व आउँदा रित्तै भएपछि माइत गएका फर्केर आउँदैनथे ।

आज पनि खेततिर घुम्दा मलाई हजुरआमाको त्यो भनाइ झलझली याद आएको छ । याद मात्र होइन सत्य र सान्दर्भिक पनि लागेको छ । हो न हो यो मुसाले धेरैवटी रखौटी ल्याएको हुनुपर्छ । बिचरी मुसीहरू मरिमरी धान थुपार्दा हुन् । कुन दिन त्यो जिम्मालजस्तो ढाडे मुसाले धपाउँछ र एक्लै बसेर हसुर्न सुरु गर्छ । फेरि ती छुसीहरूले कहाँ बस्ने के खाने भन्ने कुराको दुःख पाउँछन् । आस देखाएर काम गराउने यो आदिम शोषणको क्रम पशुपंक्षीमा मात्र होइन मानिसमा पनि अविछिन्न र अनवरत चल्दो छ ।

मेरो धान खेतको कथा त यत्ति हो । कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ । कतै छोइएको भए क्षमाप्रार्थी छु। कुरा फकाउन सक्ने र फकिने ती साना मुसा/मुसीहरूको हो । खेतमा धानको लहरविहिर कहिलेसम्म हो? बरु यहाँ जिम्माल मुसो पो कुनचाहिँ हो? समयले देखाउने छ । खेल जारी छ । हेर्न बाँकी छ ।
~अस्तु ~

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
नाक र नेतृत्व

नाक र नेतृत्व

घनश्याम रेग्मी
पाकेटमार

पाकेटमार

कृष्ण प्रधान
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
आधुनिक सीता

आधुनिक सीता

रमेन्द्र काेइराला
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
फटा नीति सकियो

फटा नीति सकियो

वलदेव थापा
0
Would love your thoughts, please comment.x
()
x