साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरव अर्याल र उनको ‘जयभुँडी’

विषयवस्तुमा व्यापकता चिन्तनमा गम्भीरता र विचारमा प्रयोगवादिता देखापर्छ । उनको भाषा सरल, सरस र ओजपूर्ण तथा प्रवाहमय छ । शाब्दिक चमत्कार देखाउन र नयाँ शब्दको निर्माण गर्नमा उनी कुशल देखा पर्छन् ।

Nepal Telecom ad

प्रा. कपिल अज्ञात :

नेपाली निबन्ध परम्परामा हास्यव्यङ्ग्यका शीर्षस्थ व्यक्तित्व हुन्‌– भैरव अर्याल (१९९४) । उनका हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहका कृतिहरू हुन्‌– काउकुती (२०१९), जयभुँडी (२०२२), गलबन्दी (२०२६), इतिश्री (२०२८), दश अवतार (२०३३) । पहिलेपहिले कवितामा कलम चलाएका अर्याल पछि कविता लेख्न छोडी हास्यव्यङ्ग्य निबन्ध लेख्न रमाएका हुन् । उनले समालोचनामा पनि कलम चलाउनुका साथै कतिपय पुस्तकहरूको सम्पादन पनि गरेका छन् तर हास्यव्यङ्ग्यको प्रसिद्धिलाई अरूले पछ्याउन सकेका छैनन् ।

नेपाली साहित्यमा हास्यव्यङ्ग्य भानुभक्तको कविताबाट थालनी भएर प्रेमराज शर्मा, हृदयचन्द्रसिंह प्रधान, लक्ष्मीप्रसाद देवकोटा, भीमनिधि तिवारीबाट क्रमशः छिटपुट रूपमा विकसित हुँदै आए पनि सचेत रूपमा वासुदेव लुइँटेलको सक्रियताबाटै यसले राम्ररी मौलाउने मौका पाएको देखिन्छ । त्यसैले लुइँटेललाई हास्यव्यङ्ग्यका जनक भन्ने पनि चलन छ । देवकोटाले प्रवर्तन गरेको आत्मपरक निबन्ध धारामा केशवराज पिँडाली र भैरव अर्यालले हास्यव्यङ्ग्य तत्वको प्रयोग गरेर नेपाली निबन्धको आयाममा विस्तार र स्वरूपमा सुन्दरता प्रदान गर्ने काम गरेका छन् त्यसैले शीर्षस्थ हास्यव्यङ्ग्यको रूपमा केशवराज पिँडालीको नाम लिनेबित्तिकै अहिलेका महजोडीजस्तै भैरव अर्यालको पनि नाम त्यसैमा जोडिन आउँछ । विडम्बनाको कुरा के छ भने भैरव अर्यालले असमयमैं कालको गास हुनुपरेकाले उनले हासिल गर्न सक्ने कैयौँ सम्भावनाहरूबाट हास्यव्यङ्ग्य विधा वञ्चित रहे पनि उनले थोरै समयमा नै जे जति दिन सके त्यसैको आधारमा उनको ठूलो प्रतिष्ठा रहेको छ । त्यस शीर्षस्थ निबन्धकारको श्रेणीबाट कसैले पनि घचेट्न सक्दैन ।

अर्यालकै शब्दमा उनले आफ्ना हास्यव्यङ्ग्यात्मक विशेषतालाई आफैँले छोटकरीमा यसरी व्यक्त गरेका छन्‌– “हास्यव्यङ्ग्यात्मक निबन्धमा प्रसङ्गहरूको फेरो बाँधी मान्छेका दुर्बलता, हाम्रो समाजका विकृति र विरोधाभासहरू एवम् युगका व्यथा र आधुनिक मान्छेका विलौनाहरूलाई व्यक्त गर्ने भैरव अर्यालको प्रयास छ ।” यसरी उनका निबन्धहरूले हाम्रा धार्मिक, सांस्कृतिक, बौद्धिक, राजनीतिक, जीवनका विविध पक्षमा प्रकाश पार्दै सुधारात्मक उद्देश्य राखी सामाजिक स्वस्थताको चाहना गरेको पाइन्छ । उनको व्यङ्ग्य कसैलाई तोकेर होइन केही माथि ताकेर गरिएको हुन्छ । उनले झर्रा शब्दहरूको यथेष्ट प्रयोग गरेका छन् । उनले अनुप्रासयुक्त भाषाको सहयोगले मात्र होइन, विषयवस्तुको स्वाभाविकताले पनि हसाउनसम्म हसाएका छन् । उनले हास्यको सिर्जना गर्न वाक्य र पदावलीको अनुप्रासात्मक लयमा साथ दिनका निम्ति चलनचल्तीमा नआएका नयाँ शब्द र अङ्ग्रेजी शब्दहरूको प्रयोग गर्न पुगेका छन् तापनि तिनले पाठकलाई हसाउने मात्र काम नगरेर प्रसङ्गानुसार ध्वन्यात्मक अर्थ पनि प्रदान गरी गुलियो व्यङ्ग्यको स्वाद चखाएका छन् । सामान्य पाठकले उनका निबन्धभित्रका धेरै ठाउँहरूमा व्यङ्ग्यको स्वाद कमै पाउन सक्छ तर केही ठाउँहरूमा हास्यको तुलनामा व्यङ्ग्यको स्वाद बढी पनि नपाउने होइन तर सालाखालामा उनका निबन्धमा व्यङ्ग्यभन्दा हास्यतत्व नै बढी पाइन्छ । हुन त हास्यव्यङ्ग्यलाई छुट्याएर हेर्ने चलन छैन, त्यो गर्नु गाह्रो कुरा हो तापनि छुट्याएरै हेर्न खोजेको खण्डमा उपर्युक्त कुरा पाउन सकिन्छ ।

रामलाल अधिकारीले अर्यालका प्रवृत्तिको छोटकरीमा यसरी मूल्याङ्कन गरेका छन्‌– “उहाँ नेपाली समाज र अझ मानव समाजमैं प्रचलित व्यभिचार, भ्रष्टाचार र बाह्य आडम्बर, मपाईँ, कुरीति, थिति र दुराचार, दुर्व्यवहाररूपी रोगलाई पारङ्गत वैद्यले झैँ चिरफार गरी तिनभित्र भएका विकृतिलाई समेत स्पष्ट इङ्गित गर्दै यसको निदान र औषधीसमेत खोज्न चाहने सशक्त व्यङ्ग्यकार हुनुहुन्छ । वास्तवमा हास्यव्यङ्ग्यकार समाजमा रसिलो, गफी वैद्यझैँ नै हो, जसले नानावलीका गफ झिक्दै र बालकबालिका भए मिठाइँसमेत खुवाएर फुल्याउँदै रोगीलाई गहिरो सुइले र्‍वाम्म रोप्छ वा शरीरैसमेत तीतो हुने झोल दबाई खुवाउँछ र रोगीलाई पहिले जति नै दुखे पनि त्यसको परिणाम पछि असल हुन्छ ।”

यसरी उनका निबन्धका विषयवस्तुमा व्यापकता चिन्तनमा गम्भीरता र विचारमा प्रयोगवादिता देखापर्छ । उनको भाषा सरल, सरस र ओजपूर्ण तथा प्रवाहमय छ । शाब्दिक चमत्कार देखाउन र नयाँ शब्दको निर्माण गर्नमा उनी कुशल देखा पर्छन् । उनका निबन्धमा उखान, टुक्का र थेगोको पनि कलात्मक प्रयोग पाउन सकिन्छ । शैली पनि गहन र आकर्षक देखापर्छ । हास्यव्यङ्ग्यका क्षेत्रमा देखापरेका उत्तरवर्ती प्रतिभाहरू केशवराज पिँडाली, श्यामप्रसाद शर्मा, रामकुमार पाँडे, श्याम गोतामे प्रभृतिका तुलनामा पनि अर्याल निकै उच्चकोटिका प्रतिभा देखापर्छन् ।

जयभुँडी (निबन्धसङ्ग्रह, २०२२), यो अर्यालको काउकुतीपछिको दोस्रो अर्थात् माहिलो कृति हो । यो हास्यव्यङ्ग्यको उत्कृष्ट नमुना हो । यसलाई रत्न पुस्तक भण्डार, भोटाहिटी, काठमाडौँले प्रकाशित गरेको छ । यसमा ‘मपाईं’देखि ‘अमरावती कान्तिपुरी नगरी’सम्म जम्मा दशवटा हास्यव्यङ्ग्य निबन्धहरू सङ्गृहीत छन् । यो आयामका दृष्टिले अन्य पुस्तकहरूभन्दा लघु आकारप्रकारमा छ । यथार्थमा यो गोजी पुस्तिका हो । यसको प्रभाव तीक्ष्ण र प्रभावोत्पादक छ । यसलाई हास्यव्यङ्ग्यको बहुमूल्य खजाना भने हुन्छ । यसको छैटौँ निबन्ध हो – ‘जयभुँडी’ । यही शीर्षकमा कृतिको नामकरण गरिएको छ । यो अर्यालको शक्तिशाली हास्यव्यङ्ग्यको कृति हो । यसमा कोरा हास्य मात्र नभएर व्यङ्ग्यको पुट पनि छ । यसमा प्रयुक्त तुक, आनुप्रासिक छटा र अभिव्यक्ति कलाले पनि पाठकलाई निकै आकर्षित गर्दछ । यसले पाठकलाई पेट मिचिमिची हँसाउँछ । यो कृति पढेर पनि हाँस्न सकिएन भने आफूभित्र संवेदनाशून्य भएछ भनी उपचारको खोजी गर्नुपर्ने हुन्छ । कुनै कृतिहरू रुवाउने प्रकृतिका हुन्छन्, जस्तै देवकोटाको मुनामदन र मैनालीको नासो रुवाउने प्रकृतिका कृति हुन् तर यो हँसाउने प्रकृतिको उत्कृष्ट कृति हो – जयभुँडी । यसभित्र रहेका निबन्धहरूको क्रमिक विश्लेषण निम्नानुसार छ :

मपाईं : यस कृतिको शुरुको निबन्ध हो । अरूलाई होच्याएर आफू नै ठूलो बन्ने, आफ्नो महिमा आफैले गाउने र अरूका मुखबाट गाउन लगाउने, मभन्दा जान्नेसुन्ने अरू कोही छैन भन्ने र ‘म खाऊँ मै लाऊँ’को भावना राख्ने प्रवृत्ति नै मपाईं हो । यो व्यक्तिवादी हुँदै गएको प्रवृत्ति हो । यो सभ्यताको क्रमसँगै विकसित हुँदै गएको छ । समाजमा व्याप्त शोषण र भ्रष्टाचार मपाईंकै परिणाम हुन् । मपाईंकै होडबाजीमा लङ्का भष्म भयो, कुरुक्षेत्र बन्यो, विश्वयुद्ध भयो । हिरण्यकशिपु र हिटलर आदिले पनि मपाईंकै प्रदर्शन गरेका हुन् । यो युग नै मपाईंत्वले युक्त छ । वर्तमान समाज पनि मपाईंत्वले प्रदूषित छ । जबसम्म मानिसले मपाईंत्वलाई मिल्काउन सक्दैन, तबसम्म मानवता मौलाउन सक्दैन । यही नै मपाईंत्वको आशय हो । अन्तमा मपाईंत्वको वर्गीकरण गर्दै निबन्धकारले टपर्टुइँयाँ मपाईंको विशेषता प्रस्तुत गरेका छन् ।

चन्द्रलोक कसको : यसमा विश्व राजनीतिमा देखा परेका विसङ्गतिलाई व्यङ्ग्यात्मक रूपमा प्रकाश पारिएको छ । हिजोआज विश्वमा जस्तो गुटबन्दी बढ्दै गएको छ, त्यसलाई विश्लेषण गरिएको छ साथै विज्ञानको गतिलाई पनि आलोचना गरिएको छ । गौण रूपमा सामाजिक पक्षमाथि पनि प्रकाश पारिएको छ । लाहुरेको यात्रा–संस्मरण : यसमा नेपालीको लाहुरे प्रवृत्तिप्रति व्यङ्ग्य गरेका छन् । हजारौँ नेपालीहरू लाहुर जाने गर्छन् । उनीहरूको प्रवृत्तिको विश्लेषण गर्दै निबन्धकार भन्दछन् – “उसले देशमा एउटा काम गर्नुभन्दा विदेशमा सत्रोटालाई सलाम गर्नुलाई पुरुषार्थ ठान्यो, आफ्नो निम्ति पसिना दिनुभन्दा अरूको निम्ति रगत दिन जान्यो” (पृ. २३) लाहुरे बन्नु आफ्नो स्वाभिमान गुमाएर अरूको कमारो बन्नु हो भन्ने कुरा दर्शाएका छन् ।

नेता नं. एकसय एकमा राजनैतिक क्षेत्रमा देखिएका विकृति, विसङ्गतिप्रति व्यङ्ग्य गरिएको छ । दलीय व्यवस्थाप्रति पनि कडा व्यङ्ग्य प्रहार गर्दै वैयक्तिक स्वार्थमा संलग्न व्यक्ति र सिद्धान्तविहीन प्रवृत्तिप्रति कटाक्ष गरिएको छ । समाज सुधार र कल्याणको भावनाले प्रेरित भएर बनेका नेता पाउन गाह्रो छ । मुखुण्डोधारी नेता भने सर्वत्र भेटिन्छन् भन्दै नेताको भ्रमात्मक जालबाट बच्न जनचेतना जगाउनुपर्छ । यसो गरिएमा नै समाज उँभो लाग्न सक्छ भन्ने धारणा प्रस्तुत गरिएको छ ।

अर्यालको अनुप्रासयुक्त भाषाशैलीको नमुना एक ठाउँमा यस्तो छ – “व्यापारीलाई दर, सुकुम्बासीलाई घर, जागिर खानेलाई पोस्ट, खाजा खानेलाई टोस्ट, जोगीलाई जङ्कसन, रोगीलाई इन्जेक्सन, पढ्नेलाई पास खेल्नेलाई तास, गाइनेलाई भ्वाइलेन आइमाइलाई नाइलिन, पुलिसलाई डण्डा नेतालाई झण्डा, पण्डालाई भेटी गुण्डालाई केटी इत्यादि ।

महापुरुषको सङ्गतमा सामाजिक आडम्बरप्रति व्यङ्ग्य गरिएको छ । यसमा म पात्र महापुरुषको खोजीमा भौँतारिन्छ । उसले महापुरुषका नाममा अनेक थरीका पात्रहरू भेट्छ, ती सबै ठग प्रवृत्तिका हुन्छन् । सातौँ महापुरुषको सङ्गतपछि आठौँ महापुरुषको रूपमा ऊ आफैँलाई घोषित गर्छ । यसरी यस निबन्धले ॅयतै भ्रष्ट उतै भ्रष्ट, भ्रष्टैभ्रष्ट जतातता’को उत्तिलाई चरितार्थ गरेको पाइन्छ । यसले सबै शिक्षित र चतुर भएमा नै भ्रष्टहरूबाट जोगिन सकिन्छ भन्ने कुरा औँल्याइएको छ ।

जयभुँडी यो अर्यालको चर्चित निबन्ध हो । भुँडी नै जीवनकी निर्मात्री र अधिष्ठात्री हो भनी यहाँ निबन्धकारले भुँडीलाई नै सर्वश्रेष्ठ देवीको रूपमा मानी यसको महत्वमाथि प्रकाश पार्दै यसको पूजा गर्नु प्राणी मात्रको पहिलो कर्तव्य हो भनेका छन् । मानिसले भुँडी पूजाको लागि कैयौँ प्रयासहरू गर्दै आयो तर एकले अर्काको ख्याल नगर्दा मानिस–मानिसबीच सङ्घर्ष चर्कियो । बलिया मानिसका भुँडी हाँडीघोप्टे र घ्याम्पे भए, बीचका टाकनटुकन र कमजोरचाहिँ सबै ठण्डाराम हुन पुगे भनी सामाजिक विभेदमाथि प्रकाश पारेका छन् । वर्गीय समाजको तुलनात्मक रूपमा चित्रण गरी निम्न वर्गप्रति सहानुभूति दर्शाउने काम गरेका छन् ।

ब्रह्माको प्रयोशालाबाट यो लोककथामा आधारित निबन्ध हो । यसमा निबन्धकारले मानिसको सृष्टि बारेका रोचक प्रसङ्ग भित्र्याएर मानवीय कमजोरीलाई औँल्याएका छन् । प्रतीकात्मक रूपमा विश्लेषण गरिएको यसमा मानिस जस्तो हुनुपर्थ्यो त्यस्तो हुन सकेको छैन । ऊ आफैप्रति पतित र कमजोर हुँदै गएको कुरालाई औँल्याएका छन् । पख्नोस्‌मा मानवीय प्रवृत्तिको रोचक चित्रण गरेका छन् । कहाँ–कहाँ, को–को पर्खिरहेका होलान् भन्दै प्राप्तिका निम्ति पर्खनु पनि पर्छ भनेका छन् । कतिले पर्खाउन लगाएर कुराले मात्र टार्ने, झुलाउने र जालेमाले परम्परा नहोस् भन्दै असीमित इष्टसिद्धिका निम्ति पर्खनुपर्ने धारणा प्रकट गरेका छन् । मानिसले भौतिक उन्नति–प्रगति प्रशस्तै गरे पनि सर्वसामान्यले गाँसबासको निम्ति अझै पर्खनुपर्ने स्थितिप्रति लक्ष्यित गरेका छन् ।

पशु, पशुपति र मान्छेमा निबन्धकारले मान्छे मात्तिने–पात्तिने गरी उत्ताउलिएका प्रवृत्तिप्रति व्यङ्ग्य गरेका छन् । मान्छे आफूलाई सबै प्राणीभन्दा सर्वश्रेष्ठ ठान्छ । ऊ आफूबाहेक कसैलाई गन्दैन । ऊ भष्मासुरजस्तै बनेको छ । उसले अरूलाई फकाउने, छकाउने र बहकाउने जस्ता नकारात्मक प्रवत्तिप्रति व्यङ्ग्य गर्दै उसमा शक्ति छैन, आसक्ति मात्र छ । प्रेम छैन, आशङ्का र आक्रोश मात्र छ भन्दै उसले आफ्नो प्रवृत्ति सुधार गर्ने कुरामा जोड दिएका छन् । मान्छेले जति उन्नति–प्रगति गरे पनि सबैप्रति समभाव नरहेको कुराप्रति लक्ष्यित गरेका छन् । मान्छे मात्तिएर त्यसका क्रियाकलापले पशुसमेत अत्तालिएको कुरा रोचक ढङ्गबाट प्रस्तुत गरेका छन् ।

अमरावती कान्तिपुरी नगरी यो अति कल्पनात्मक शैलीमा रचिएको हास्यव्यङ्ग्यात्मक रचना हो । यसमा आधुनिक र अतिविकसित कान्तिपुरी अर्थात् अहिलेको काठमाडौँ राजधानीका विसङ्गतिको चित्रण गरिएको छ । स्वर्गीय भानुभक्त स्वर्गबाट काठमाडौँ आएको अति कल्पना गरिएको छ । प्यारोडी प्रयोगले निबन्धलाई बढी रोचक तुल्याएको छ । कान्तिपुरको सन्दर्भबाट समग्र नेपालका दुरावस्थाप्रति सङ्केत गरिएको छ । यसको भाषाशैली सरल, आकर्षक, काव्यात्मक र प्रवाहपूर्ण छ ।

सारमा, चन्द्रलोक कसको ? अन्तर्राष्ट्रिय गतिविधिसित, नेता नम्बर एक सय एक स्वदेशको राजनैतिक गतिविधिसित, लाहुरेको यात्रा संस्मरण, महापुरुषको सङ्गत र अमरावती कान्तिपुरी नगरी सामाजिक गतिविधिसित सम्बन्धित देखिन्छन् । यी सबैले मान्छेको जीवन र प्रवृत्तिलाई प्रस्तुत गरेका छन् । यिनले कहीँ आख्यानात्मकता, कहीँ संस्मरणात्मकता, कहीँ कवितात्मकता, कहीँ नाटकीयताको आस्वादन गराउँछन् । यसमा सबै निबन्ध समान स्तरका नभएर कुनै उत्कृष्ट स्तरका छन्, जयभुँडी र मपाईं उच्चस्तरका लाग्दछन् । सबैले गहन र व्यङ्ग्यपूर्ण प्रस्तुतिमा राजनीति, समाज, संस्कृति, विकृति र विसङ्गत पक्षहरूमाथि प्रहार गरेका छन् ।

०००
कीर्तिपुर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
शक्ति

शक्ति

लीलाराज दाहाल
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x