साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘भ्यागुताको श्वेतपत्र’मा हास्यव्यङ्ग्यको छटा

उनका जति पनि हास्यव्यङ्ग्य छन्, तिनका शीर्षकले नै त्यस प्रवृत्तिलाई ध्वनित गर्दछन् । उनी सामान्य कुराको थालनीबाट व्यङ्ग्य सिर्जनामा प्रवेश गर्छन् र त्यसका आन्द्रा–भुँडी केलाउँदै शीर्षककै पुष्ट्याइँमा केन्द्रित हुन्छन् ।

Nepal Telecom ad

प्रा. कपिल अज्ञात :

सबैका सबै कृति पढ्न र लेख्न सम्भव हुँदैन । दुई दर्जनभन्दा अधिक कृतिका प्रणेता नरेन्द्रराज पौडेलका कृति पढूँ र लेखूँ भन्ने अन्तर्चाहना थियो । पत्रपत्रिकामा उनका हास्यव्यङ्ग्यका लेखहरू हेरिरहन्छु, उनीबाटै एक–दुई कृति उपहारस्वरूप पाएको पनि छु । हास्यव्यङ्ग्यका खर्रांट लेखक हुन् भन्ने लाग्छ । हास्यव्यङ्ग्यका प्रखर अभियन्ता जुँगे काजीले एक साहित्यिक कार्यक्रममा संयोगस्वरूप भेट हुँदा एक झोला पुस्तक भिराइदिएर मलाई गोरुझैँ समीक्षामा जोताइदिए । उनलाई हास्यव्यङ्ग्य खेती लहलह भएको हेर्ने मन हुँदो हो । जुँगे लुइँटेलको हास्यव्यङ्ग्यप्रति सक्रिय र समर्पित भाव अनि मप्रति मित्रवत् भावले बराबर पेश हुने प्रवृत्तिले यो उनीसमक्ष म जोत्दिन भन्न सकिन । माया र सद्भावले मान्छेलाई जति पनि जोताउन सक्दो रहेछ । उनले अहर्निश हास्यव्यङ्ग्यको खोजमा नै जिन्दगी लगाएका हुन् । उनी पानीमुनि गएर भए पनि हास्यव्यङ्ग्यको स्रोत सार्वजनिक गर्छन्, उनको व्यवहारले नै त्यो साबित गर्दछ । फित्कौलीमा भूत भनौँ कि हास्यव्यङ्ग्यका दूत भनौँ उनले जारी गरेको कूत नतिरी मनले मान्दैन । त्यसैले उनले दिएको जिम्मेवारी नकार्न सकिन्न । जो हास्यव्यङ्ग्य भनेपछि मरिमेटेर लागेको, जता पनि छाएर खटेको छ, उनलाई सम्मानका साथै उत्साहबर्द्धन गर्नु आफ्नो पनि त धर्म र कर्तव्य हुन्छ । त्यही धर्म र कर्तव्यले म पनि उत्प्रेरित हुन्छु र प्रयत्नमा जुटिरहन्छु । पहिले एक–दुई कृतिको समीक्षा गर्छु र पन्छिन्छु भन्ने थियो तर पछि मैले समीक्षा गर्दागर्दै पौने एक दर्जन कृतिको समीक्षा गर्न पुगेछु । छुटेका एक–दुई छन्, तिनलाई पनि किन बाँकी राख्नू, फुर्सदमा निमिट्यान्न पार्नेछु । यो यथार्थमा जुँगे काजीकै प्रेरणाप्रसाद हो भन्ने लागेको छ ।

उनै जुँगे काजीले प्रदान गरेको एक झोलाभरिका कृतिमध्ये नरेन्द्रराज पौडेलको भ्यागुताको श्वेतपत्र (हास्यव्यङ्ग्यसङ्ग्रह, २०८०) पनि रहेछ, खुसीले गदगद भएँ । प्रिय लेखकको प्रिय कृति पाउँदा मलाई रत्न पाएझैँ लाग्दछ तर समीक्षाका लागि हत्पती आँट गर्न सकिन, किनभने यी ठूला हास्यव्यङ्ग्यका लेखक हुन् । यिनका प्रवृत्ति र विशेषता पर्गेल्न सामान्य बुद्धि–विवेकले भ्याउँदैन । यसका निम्ति मनोयोगपूर्वक पढेर मनमगज निकै खियाउनुपर्छ भन्ने कुराले भित्रभित्रै तर्साइरह्यो । सातवटा कृतिको समीक्षा गरिसकेपछि बल्ल उनको कृतिमा प्रवेश गरे । यो भ्यागुताको श्वेतपत्रमा उनका २५ वटा हास्यव्यङ्ग्य निबन्ध सङ्गृहीत छन् । कृतिको नामकरण पनि अचम्मैको शब्दावलीमा राखेका छन्‌– भ्यागुताको श्वेतपत्र । यसै शीर्षकको निबन्ध पनि यसमा सङ्गृहीत छ । ॅभ्यागुताको श्वेतपत्र’ भनेर के भन्न खोजेको हो ? त्यसबारे बुझ्न सर्वप्रथम त्यही निबन्ध पढ्न पुगेँ ।‘श्वेत’ भनेको सेतो हो र ‘पत्र’ भनेको कागज हो । अभिधा अर्थमा त यो पक्कै पनि सीमित छैन । कोशीय अर्थअनुसार कुनै सन्धिसम्बन्धी वा अरू कुनै मुख्य विषयमा भएको छलफलको सरकारी निर्णय लेखिएको कागजलाई ‘श्वेतपत्र’ भनिन्छ । ‘भ्यागुतो’ भनेको वर्षा ऋतुमा यत्रतत्र देखिने जलचर र स्थलचर जीव हो, जुन उफ्रीउफ्री र फड्की–फड्की हिँड्दछ । त्यही जीवको नामबाट भ्यागुताको श्वेतपत्र भनिएको छ ।

भ्यागुतालाई बिम्ब बनाएर भ्यागुते प्रवृत्तिमाथि लेखकले व्यङ्ग्य वर्षाएका छन् । यही भ्यागुते प्रवृत्तिले नेपाललाई आधुनिक नेपाल बन्न दिएको छैन भन्ने उनको दृष्टिकोण रहेको छ । यद्यपि भ्यागुता हाम्रा शत्रु होइनन्, मित्र हुन् । तिनको प्रवृत्ति मात्र हाम्रा लागि घातक बनेको छ । भ्यागुता नहुँदा प्रकृतिमा पनि विकृति पैदा हुन्छ । भ्यागुता धर्तीमाथि उफ्रन्छन्, कराउँछन् । तिनको जीवनचक्र समाप्त हुनुहुँदैन तर तिनले आफ्नो शैली बदल्नुपर्छ । उनले यहाँ जातिको होइन, व्यवहारको विरोध गरिरहेका छन् । सामयिक रूपमा देखिएको लोकतन्त्र वा गणतन्त्र भ्यागुताहरूको श्वेतपत्रजस्तै भएको छ ।

गणतन्त्रलाई उनले भाँडतन्त्र भनेका छन् । जता पनि लथालिङ्ग र भाँडभैलो देखिएपछि भाँडतन्त्र भन्नु स्वाभाविकै हो । कसैले यसलाई ग्रहणतन्त्र र गाँडतन्त्र पनि भनेका छन् । विघ्नबाधा आइपर्दा र गलगाँडजस्तै बन्दा त्यसो भनिएको हो । सिद्धान्तजस्तो भए पनि व्यवहारमा प्रतिकूल देखिएपछि व्यङ्ग्यकारहरूले व्यङ्ग्य गर्दछन् नै । त्यो समाजका नेतृत्ववर्गलाई सजग र सचेत गराउने प्रक्रिया हो । यसमा भागबण्डा र गठबन्धन प्रवृत्तिले पनि भाँडतन्त्रलाई बढावा तुल्याएको चर्चा गरेका छन् ।

पौडेल साहित्यिक क्षेत्रमा बहुआयामिक छन् । साहित्यका विविध विधामा उनको कलम निरन्तर चलिरहेको छ । हास्यव्यङ्ग्य, निबन्ध, समीक्षा, कथा, नियात्रा र संस्मरण गरी उनका दुई दर्जनभन्दा बढी कृति प्रकाशित भइसकेका पनि छन् । उनले साहित्यमा जताजता, जुनजुन विधामा कलम चलाए पनि मूलरूपमा हास्यव्यङ्ग्य निबन्धकारकै रूपमा उनी अधिक परिचित र प्रतिष्ठित छन् । हुन पनि अन्य विधाका तुलनामा हास्यव्यङ्ग्य निबन्धमैं उनका आधा दर्जनभन्दा बढी कृतिहरू आइसकेका छन् । उनको साधना र श्रम पनि यसैमा अधिक खर्चिएको छ । उनले नेपाली समाज, नेपालको प्रशासन, नेपालको कर्मचारी तन्त्र, नेपालको राजनीति सब बुझेका छन् किनभने उनी नेपाल सरकारका पूर्वप्रशासक पनि हुन् । प्रशासक भएर विभिन्न जिल्ला हाँकेकाले उनको अनुभवको क्षितिज बृहद् छ भन्ने बुझ्न सकिन्छ । उनी प्रशासक भएर पनि अकूत सम्पत्ति अकुत रूपमा जोर्नतिर लागेनन्, न अन्तर्दलका गुटहरू फोर्नतिर लागे, न सत्ताको लालसामा शक्तिकै पुजारी भइरहे । प्रशासक हुनुमा भन्दा उत्कृष्ट साहित्यकार बन्नुमा जीवनको सार्थकता देखे । उनी त्यसैमा गौरव पनि मान्दछन् । प्रशासक हुँदैदेखि पनि उनी साहित्यमा सक्रिय भइरहन छोडेनन् । उनको स्वभाव र प्रवृत्तिले नै उनलाई साहित्यतर्फ डोर्‍याइरह्यो । उनको अध्ययन र अनुभवको क्षेत्र बृहद् र व्यापक छ । त्यसले उनको सिर्जनात्मक लेखनमा ऊर्जा थपिरहेको पाइन्छ । विविध क्षेत्रबाट पनि उनले हास्यको सृष्टि गरिरहेका छन् । व्यक्ति, समाज र राष्ट्रलाई गहिरोसँग अध्ययन गरेका उनले हरक्षेत्रमा विकृति र आडम्बरलाई उधिन्नसम्म उधिनेका छन् ।

उनी परिहासमय शैलीबाट निबन्धको सिर्जना गर्छन् । व्यङ्ग्यका निम्ति उपयुक्त त्यसै शैलीबाट आफ्ना विचार र अनुभवलाई निबन्धीकृत गर्ने उनको प्रवृत्ति देखिन्छ । उनका हास्यव्यङ्ग्य निबन्ध कथात्मक पाराका पनि छन् । उनी कथाकार भएकाले त्यसको पनि प्रभाव परेको हुन सक्छ । त्यसले निबन्धलाई मिठासयुक्त बनाएको महसुस हुन्छ । प्रमोद प्रधानका दृष्टिमा “हाम्रा राष्ट्रिय जीवनमा देखिएका विविधखाले समस्या र सङ्कटहरू समाजमा देखिएका अर्घेल्याइँ र विडम्बनाहरू तथा व्यक्तिहरूका चारित्रिक क्षुद्रता र कमजोरीहरूका वरिपरि केन्द्रित देखिन्छन्‌”, त्यस्तै समालोचक गोपी मैनालीका दृष्टिमा “पौडेलका हास्यव्यङ्ग्यमा नेपाली समाज र शासनको संरचना र स्वरूप देखिन्छ । त्यहाँ आर्थिक वैषम्य, सामाजिक तह, सोपान, लैङ्गिक सम्बन्ध, पेशा प्रवृत्तिको पनि रूप देखिन्छ ।” समालोचक नरनाथ लुइँटेलका दृष्टिमा अकर्मण्यता, अनाचार र असङ्गतिमाथि अत्यन्त रोचक र घोचक ढङ्गले प्रहार गर्नु पौडेलको हास्यव्यङ्ग्यीय लेखनको वैशिष्ट्य हो ।

हरसमाजमा आफ्नै किसिमका विकृति र विसङ्गतिहरू रहेका हुन्छन् र लेखकहरूले सामान्य रूपमा तिनप्रति व्यङ्ग्य गरिरहेका हुन्छन्, जहाँ राज्यको मूलनीति अर्थात् राजनीति नै भ्रष्ट छ । हरनिकाय त्यसैको अनुकरणमा छन्, त्यसले लेखक–साहित्यकारको मन बढी दुख्छ । उनीहरू बढी आक्रामक बनेका छन् । पौडेलका रचनामा हास्य र व्यङ्ग्य दुवैको सन्तुलित रूप भेटिन्छ । उनी हास्यको जलप लगाउँदै व्यङ्ग्यलाई मुखर गर्दै जान्छन् । उनी हास्यव्यङ्ग्यमा रौंचिरा विश्लेषण गर्न माहिर देखिन्छन् । सामान्य विषयलाई लिएर पनि त्यसको विश्लेषणलाई व्यङ्ग्यले भरिपूर्ण गर्ने उनमा सामर्थ्य र सीप पाइन्छ । कुनै विषयमा उनले प्रवेश मात्र गर्नुपर्छ, व्यङ्ग्यको फोहोरा छुटाउन आइहाल्छन् । हास्यव्यङ्ग्य प्रवृत्ति उनको प्रकृतिप्रदत्त गुण देखिन्छ । धैरै कम लेखकमा मात्र यस्तो विशिष्ट गुण र क्षमता हुन्छ, जो उनमा देख्न पाइन्छ । उनलाई उनको प्रवृत्तिले नै हास्यव्यङ्ग्यकारको रूपमा उभ्याएको छ । उनले आफ्ना दुईवटा कुरामा बाल्यकालीन स्मृति प्रस्तुत गर्दै आफूमा हास्यव्यङ्ग्यको सिर्जनात्मक विकास कसरी हुन पुग्यो, त्यसमा समेत प्रकाश पारेका छन् । सानोमा आफू पुल्पुलिएर हुर्केको, सानैदेखि अरूसँग जिस्किने बानी परेको उल्टो अनुकरण गर्ने प्रवृत्तिले स्वभावमैं हास्यव्यङ्ग्यको बीजारोपण भएको तथा त्यसले त्यसै बमोजिमको परिवेश पाएको कुरा उल्लेख गरेका छन् ।

उनका हास्यव्यङ्ग्य प्रवृत्ति पढ्दै जाँदा यस्ता हितकारी कर्महरूप्रति पनि किन व्यङ्ग्य गरिरहेका होलान्‌जस्तो लाग्छ तर त्यसको अर्थ र आशय ठम्याउँदा उनले त्यसमा भएका पाखण्ड र आडम्बरजस्ता अर्घेल्याइँहरूलाई नै व्यङ्ग्य गरिरहेका हुन्छन् । जस्तो : भाँतीभाँतीका कपाल भाँतीमा देख्न सकिन्छ । यस तथ्यलाई शीर्षकले नै जनाएको हुन्छ । उनका जति पनि हास्यव्यङ्ग्य छन्, तिनका शीर्षकले नै त्यस प्रवृत्तिलाई ध्वनित गर्दछन् । उनी सामान्य कुराको थालनीबाट व्यङ्ग्य सिर्जनामा प्रवेश गर्छन् र त्यसका आन्द्रा–भुँडी केलाउँदै शीर्षककै पुष्ट्याइँमा केन्द्रित हुन्छन् । मानूँ उनको स्वभाव र प्रवृत्तिमैं हास्यव्यङ्ग्यको खानी छ । आफ्नै प्रवृत्तिबाट हास्यव्यङ्ग्यको प्रवाह छुटाउँदै जान्छन् र सामान्य वस्तुबाट पनि हास्यव्यङ्ग्यको सृष्टि गर्ने उनको क्षमता अद्भुत देखिन्छ । आफ्ना कथ्यलाई तिख्खर र ओजिलो तुल्याउन प्रसङ्गबोमिजम उनले उखान–टुक्काहरूको पनि प्रयोग गरेका छन् । शब्द खेलाउन र तुक मिलाउन पनि उनी निपुण देखिन्छन् । व्यङ्ग्यको शैली र प्रवृत्ति नै उनलाई पछ्याएर प्रस्तुत भइरहेको पाइन्छ ।

सारमा ठट्यौलो प्रवृत्ति, लाक्षणिक अभिव्यक्ति, परिहासमय शैली, सरलताबाट गहनता, शीर्षककेन्द्री विश्लेषण, सामाजिक यथार्थप्रति प्रहार, लघुसंरचना, सरल–सम्प्रेष्य भाषा, गहन स्वर–सन्देश, विकृतिप्रति तीक्ष्ण प्रहार, राजनीतिक सन्दर्भका भागबण्डा, अनियमितता र अराजकताप्रति कटाक्ष, चिबे प्रवृत्ति, कोसेली प्रवृत्ति, हेरफेर प्रवृत्ति, बण्डा प्रवृत्ति, आमस्वार्थी प्रवृत्ति, डाङडुङे प्रवृत्ति, चलखेल प्रवृत्ति, लफङ्गे प्रवृत्ति, छुल्याहा–हुल्याहा प्रवृत्ति, लुटपाटे प्रवृत्ति, भ्यागुते प्रवृत्ति आदि अनेक दुष्प्रवृत्तिप्रति व्यङ्ग्य गरेका छन् । समाजका विविध पक्षमा लेखेका भए पनि विशेष रूपमा व्यवस्थाप्रति नै व्यङ्ग्यहरू बढी मुखरित छन् । हुन पनि राजनैतिक व्यवस्थामा बढी विकृति छन् । उनको लेखनी पनि त्यतैतिर अधिक केन्द्रित छ ।

०००
कीर्तिपुर– २, मैत्रीनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
पुरेत र जजमान

पुरेत र जजमान

प्रा. कपिल अज्ञात
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x