फित्काैली डटकमसफा नगर
सफा नगरको इतिहास यही हो— जहाँ नदी बग्दैछ, तर विकास रोकिएको छ। जहाँ तर्कहरू सफा छन्, तर सडक र सोच दुवै फोहर। जहाँ सबै सही छन्, तर कसैले पनि काम गरेको छैन।

साईमन घिमिरे :
हास्यव्यङ्ग्य साहित्यको उन्नयन र प्रवर्द्धनका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापित खाइराइड हास्यव्यङ्ग्य पुरस्कार स्थापना गरेका हुन् । उक्त पुरस्कारको व्यवस्थापक बाङ्गा अक्षरले आयोजना गरेको विद्यालय तहको राष्ट्रव्यापी हास्यव्यङ्ग्य निबन्ध प्रतियोगता २०८२ मा यो निबन्ध द्वितीय भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय मात्र नभएर सहभागी विद्यार्थीहरुका राम्रा निबन्धहरुलाई फित्कौलीले नियमित प्रकाशन गर्नेछ । साथै प्रेरणाको लागि विद्यालय र कलेज तहका विद्यार्थीले लेखेका स्तरीय निबन्धलाई फित्कौलीले प्राथमिकता साथ प्रकाशन गर्नेछ ।
००
सफा नगर भन्ने एउटा सहर थियो, नाम सुन्दा नै सफा लाग्थ्यो, तर सहरमा पस्दा जुत्ताले नै प्रश्न गर्थ्यो, “सफा भनेको कहाँ ?” सहरको बीचबाट बग्थ्यो सेती खोला, जसले कहिल्यै आफ्नो नाम बदल्न पाएन, तर रंगचाहिँ धेरैपटक बदल्यो —पहिले निलो, पछि खैरो, अहिले कालो । त्यहाँ पहिले मानिसहरू नुहाउँथे, पानी पिउँथे, बच्चाहरू पौडी खेल्थे। तर अहिले त्यहाँ माछा होइन, प्लास्टिकका बोतलहरू पौडिन्छन्। खोला बोल्दैन, तर कहिलेकाहीँ गन्धले नै कुरा गर्छ— त्यो भनिरहेको हुन्छ, “मलाई बिर्सिएको होइन त ?”
सफा नगरका नेताहरू भने त्यो खोला आफ्नो गर्वको विषय ठान्थे। चुनाव नजिकिँदा उनीहरूको बोलीमा खोला पनि चकचके देखिन्थ्यो। मेयर उम्मेदवार मञ्चमा ठाडो भएर भन्थे, “हामीले सेती खोलालाई फेरि स्वच्छ बनाउनेछौं ! यी हाम्री आमा हुन् !” जनताले ताली बजाउँथे । केहीले मनमनै भनिरहेका हुन्थे, “आमाको हालत हेर्नु त।” तर ताली बजाउन उनीहरूलाई मन पर्थ्यो, किनभने ताली बजाउँदा आफूले पनि केही योगदान गरेको अनुभव हुन्थ्यो। भाषण सकेपछि सबै चोकमा सुकुटी खाँदै, जुस पिउँदै, बोतल खोलामा फ्याँक्दै घर फर्कन्थे। खोला त्यसैबेला बोल्थ्यो—गुलुगुलु, जस्तो हाँसिरहेको होस्, “धन्यवाद, तपाईंहरूको माया पाएँ ।”
पत्रकारहरूले प्रश्न गर्दा मेयर सधैं एउटै उत्तर दिन्थे, “हामीले सफा अभियान सुरु गरेका छौं, तर नागरिकले सहयोग गर्दैनन् । हेर न, उनीहरू फोहर खोलामा फाल्छन्। हाम्रो जनता नै असभ्य भयो।” त्यही बेला नागरिक पनि चिया पसलमा बसिरहेका हुन्थे, अनि भन्थे, “मेयरले के गरे र ? फोहर जम्मा गर्न ट्रक पठाउँदैनन्, डस्टबिन राख्दैनन्। यस्तोमा हामी कहाँ फाल्ने ?” अनि अर्को सासमा चुरोटको ठुटो खोलामा फ्याँक्थे। दोष सबैलाई थाहा थियो, तर जिम्मेवारी कसैलाई थाहा थिएन । त्यही भएर कसैले जिम्मवारी लिँदैन थियो।
एकपटक “सफा सहर, सफा खोला” अभियान सुरु भयो। ठूला ब्यानर, लोगो, रेडियोमा गीत, टिकटकमा च्यालेन्ज—सबै चले। पहिलो दिन बिहानै मेयर र वडाध्यक्षले बडा उत्साहका साथ हातमा कुचो समाएर फोटो खिचे। पत्रकारहरूले भिड बनाए, टिकटक इन्फ्लुएन्सरहरूले सेल्फी लिँदै बोले, “हामी हाम्रो सहरलाई माया गर्छौं, तिमीहरू पनि गर।” बिहानै फोटा, ह्यासट्याग, भिडियो— सबै इन्टरनेटमा भरिए । साँझभरी “CleanSetiChallenge” ट्रेन्ड भयो।
भोलिपल्ट बिहान खोला फेरि पुरानै अवस्थामा फर्कियो। वर्षाले सबै फोहर फेरि खोलामा ल्याइदियो। मेयरले पत्रकारहरूसँग बोले, “हामीले प्रयास गरेका थियौं, तर प्रकृतिले साथ दिएन।” नागरिकहरूले भने, “सरकारले राम्रो नाली बनाएको भए वर्षाले फोहर ल्याउँथेन।” सबैले सही कुरा बोले, तर गलत ठाउँमा।
स्कुलमा बालबालिकालाई “नागरिक” विषय पढाइन्थ्यो, जहाँ शिक्षकले भन्थे, “देश हाम्रो घर हो, त्यसलाई सफा राख्नुपर्छ।” स्कुलपछि त्यही शिक्षक बाटोमा धुलो भएको ठाउँमा थुक्थे। विद्यार्थीहरूले सिद्धान्त किताबमा हुन्छ भन्ने सिके, तर अभ्यास र व्यवहारमा अर्कै। शहरका युवाहरू फेसबुकमा लेख्थे, “देश हाम्रो होइन, नेताहरूको भयो।” अनि कमेन्टमा लेख्थे, “Change starts from within,” तर बाटोमा चकलेटको खोल फ्याँक्थे। परिवर्तनको कुरा सबैले गर्दथे, अभ्यास कसैले गर्दैन थिए ।
एक दिन विदेशी प्रतिनिधि आए— “सहर सुधार अध्ययन भ्रमण” भन्दै। मेयरले उनीहरूलाई सहर देखाए। उनले खोला देखाउँदै भने, “यो हाम्रो सांस्कृतिक सम्पदा हो। हाम्रो योजना छ, यसलाई पर्यटकीय आकर्षण बनाउने।” प्रतिनिधिहरू मुस्कुराए, सायद बुझेनन् कि त्यो पानी होइन, तर दुर्गन्धको बादल हो। भाषणमा सबै कुरा सुन्दर थियो— “हामीले मास्टरप्लान तयार पारिसकेका छौं, अब नागरिकहरूले सहयोग गर्नुपर्छ।” त्यो सुनेर स्थानीयहरूले ताली बजाए, ताली बजाउँदा दुर्गन्ध कम कम हुन्छ भन्ने उनीहरूको अनुभव थियो।
रामे नामको तरकारी बेच्ने मान्छे हरेक दिन खोलामा फोहर फाल्थ्यो। सोध्दा भन्थ्यो, “के गर्ने, ठाउँ छैन, सरकार डस्टबिन राख्दैन।” उनकी श्रीमतीले भनिन्, “डस्टबिन राखेको भए फाल्थ्यौं नि।” छोरोले सुन्यो, “त फोहर जथाभावी फाल्नु हुँदैन ।” त्यही छोरो अर्को दिन आइसक्रीमको खोल बाटोमै फ्याँकेर दौडिन्थ्यो । हरेक घरमा यस्तै कुरा दोहोरिन्थ्यो— एक अर्कालाई दोष लगाउँथे, तर सुधारको शुरुवात कसैले गर्दैनथ्यो।
पाँच वर्ष बित्यो। चुनाव फेरि आयो। पोस्टरहरू टाँगिए, नारा गुञ्जिए, “सेती खोला सफा गरौँ, सहरको शान बढाऔँ।” नयाँ उम्मेदवार मञ्चमा चढेर बोल्यो, “पछिल्ला मेयरले केही गरेनन्, म तीन महिनामै खोला सफा गर्छु।” भीड ताली बजाउँथ्यो, केही हुटिङ पनि गर्दथे । भाषणपछि उम्मेदवार आफ्नो गाडीमा बसेर गए, उनले पिएको पानीको बोतल ड्राइभरले गाडीको झ्यालबाट बाहिर फ्याँक्दथे। त्यो पनि खोलामा नै पुग्दथ्यो।
नयाँ मेयर बनेपछि पहिलो निर्णय भयो— “सेती खोला सुधार समिति गठन।” त्यस समितिले अर्को महिनामा “उप-समिति” बनायो । उप-समितिले अर्को महिनामा “कार्य समिति।” कार्य समितिले भन्याे, “अब हामी अर्को वर्ष अनुगमन समिति बनाउँछौँ ।” बैठकहरू भइरहे, नतिजा आएन। फाइलहरू बढे, नदी घट्दै गयो। पत्रकारहरूले समाचार लेखे, “नदी सुधार योजना अघि बढ्दै।” जनताले पढे, “अनि भोलि केही हुने होला।” भोलिपल्ट बिहान उनीहरूले फेरि फोहर खोलामा फ्याँके। तर खोला सफा गर्ने योजना र फोहर फाल्ने क्रम चक्र झै घुमिरह्यो ।
साँझपख हरेक दिन एउटा वृद्धा आउँथिन्। उनको अनुहारमा दया थियो, हातमा फूल र माला। उनले नदीलाई देवी सम्झेर फूल चढाउँथिन्, र भन्थिन्, “सेती माताले हामीलाई माफ गरुन्।” पानीले ती फूलहरू बगाउँथ्यो, सँगै प्लास्टिकका झोला, बोतल, अनि हजारौं बहाना पनि बगाउँथ्यो। वृद्धा हाँस्दै भन्थिन्, “यो नदीले सबै कुरा बिर्साउँछ।” सेती खोलाले सहरका सबै वाचा, प्रतिबद्धता, र आशा बिर्सिसकेको थियो।
नदी अब केवल पानीको धारा थिएन, त्यो शहरको चरित्रको दर्पण थियो। जसरी नागरिकले दोष फ्याँक्थे, नदीले पनि सबै कुरा बगाउँथ्यो। जसरी नेताले झूट लुकाउँथे, तर नदी पटक पटककको नयाँ रङको फोहर लुकाउँनथ्यो, जे हो त्यही देखाउँथ्यो । त्यसैले सायद त्यो सहरको सबैभन्दा इमानदार त्यही नदी नै थियो— किनभने उसले केही लुकाउँथ्यो।
समय बित्दै गयो। सहर बढ्दै गयो, सँगै घर बढ्दै गए, नालीहरू साँघुरा हुँदै गए। मेयरको कार्यकाल फेरि सकियो। नयाँ उम्मेदवारहरू फेरि आए, नाराहरू फेरि दोहोरिए, “हामीले सेती खोला सफा गर्छौं।” नारा दोह्याउन सजिलो । विश्वास गर भन्न झनै सजिलो छ, तर जिम्मेवारी पुरा गाह्रो।
अब सहरका युवाहरूले भने पनि सिकेका थिए, “यहाँ दोष लगाउनु नै नागरिकको पहिलो कर्तव्य हो।” जब पनि केही बिग्रन्थ्यो— राति बिजुली जान्थ्यो, सडकमा फोहर हुन्थ्यो, पानी आउँदैनथ्यो—सबैको पहिलो वाक्य हुन्थ्यो, “यो सरकारकै गल्ती हो।” अनि अर्को वाक्य हुन्थ्यो, “जनताले पनि सोच्नुपर्छ।” अनि कुरा त्यत्तिमै टुङ्गिन्थ्यो।
सेती खोलाले यसैबीच सबैकोआवाज सुन्थ्यो— चुनावी गीत, नाराहरू, भाषण, अनि चिच्याउने नागरिकहरू। खोला शान्त बग्थ्यो, उसलाई हतार थिएन। मानिसहरू आउँछन्, जान्छन्, सरकार बदलिन्छ, ब्यानरहरू फेर्छन्, तर फोहरको रङ उस्तै रहन्छ।
अब कहिलेकाहीँ खोला सुक्न थाल्यो। तर यो देखेर पनि सहरमा कसैलाई चिन्ता भएन। बरु मेयरले नयाँ योजना ल्याए—“खोलाको मुहानमा पार्क बनाउने।” नागरिकहरूले ताली बजाए। त्यो पार्क पनि बनेन, तर अर्को ब्यानर टाँगियो, “Clean City, Green Future.” खोला फेरि मुस्कुरायो, “मेरो भविष्य त पहिल्यै हेरि सकेको हो,, तिम्रो भने हेर्न बाँकी छ।”
सफा नगरका मानिसहरू सधैं व्यस्त छन्— दोष लगाउन, पोस्ट लेख्न, सेल्फी खिच्न, अनि अर्को सफा अभियानको पर्खाइमा बस्न। उनीहरूलाई लाग्छ, जिम्मेवारी अरु कसैको हो,, तर आफ्नो होइन। नेताहरूलाई लाग्छ, नागरिकले बुझ्दैनन्। नागरिकलाई लाग्छ, नेताले केही गर्दैनन्। खोला बिचमा बग्छ, जसले दुवैको कुरा सुन्न नचाहेको जस्तो।
राति जब सहर सुतेको हुन्छ, सडकहरू शान्त हुन्छन्, तब मात्र सेती खोलाको आवाज प्रष्ट सुनिन्छ— गुलुगुलु गर्दै, जस्तो हाँसिरहेको होस्। त्यो हाँसोमा व्यङ्ग्य छ, थकान छ, तर सत्य पनि छ। खोला भन्छ “ तपाईंहरू सफा हुन सुरु गर्नु हुन्छ भने म त सफा हुन्छु नि,।” तर त्यो कुरा सुन्ने फुर्सद कसैलाई छैन। सबै सुतिसकेका हुन्छन्— कोही सरकारलाई दोष दिएर, कोही जनतालाई। र बिहान उठ्ने बित्तिकै सबै फेरि आफ्नो जिम्मेवारीबाट भाग्न व्यस्त हुनेछन्—।
सफा नगरको इतिहास यही हो— जहाँ नदी बग्दैछ, तर विकास रोकिएको छ। जहाँ तर्कहरू सफा छन्, तर सडक र सोच दुवै फोहर। जहाँ सबै सही छन्, तर कसैले पनि काम गरेको छैन। सहर अझै सुन्दर बन्ने सपना देख्छ, तर उठ्ने बित्तिकै त्यसै सुत्छ। र सेती खोला अझै बग्दैछ—बोटल, झोला, र बहानाहरू बोकेर, शहरको दर्पण बनेर। अन्ततः, त्यो खोला नै सहरको सबैभन्दा इमानदार ठहरिन्छ—किनभने उसले कहिल्यै अरूलाई दोष दिंदैन, केवल सहरका कर्महरू बगाउँछ।
त्यो दिन जब सहरका मानिसहरूले खोलालाई हेरेर “हाम्रो प्रतिबिम्ब यस्तै त हो” भन्ने हिम्मत जुटाउँछन्, सायद त्यही दिनबाट सेती सफा हुन थाल्छ। तर त्यो दिन आउँदैन। किनभने सफा नगरमा जिम्मेवारीभन्दा दोष सस्तो छ, र सबैलाई सस्तो कुरा मन पर्छ।
र खोला हाँस्दै बगिरहेछ—शान्त, दुर्गन्धयुक्त, तर सत्य।
०००
कक्षा १२ डियरवाक सिफल स्कुल, सिफल, काठमाडौं
साइमन घिमिरेसँग संक्षिप्त कुराकानी
१. खाइराइड हास्यव्यङ्ग्य पुरस्कार प्रतियोगितामा द्वितीय/तृतीय हुँदा तपाइँलाइ कस्तो लाग्यो ?
खाइराइड हास्यव्यङ्ग पुरस्कार प्रतियोगितामा द्वितीय हुन पाउँदा मलाई अत्यन्तै रमाइलो र उत्साहपूर्ण अनुभव भयो । सामान्य हाँसखेलका लागि लेखिएको मेरो निबन्धले यति धेरै ध्यान आकर्षण गर्न सफल भएकोमा म निकै आभारी छु।
२. प्रतियोगिताको बारेमा कसरी जानकारी पाउनुभयो ?
यस प्रतियोगिताको बारेमा मलाई हाम्रो नेपाली विषयका शिक्षक श्री युवराज अर्याल सरमार्फत जानकारी प्राप्त भयो । उहाँका निर्देशन र प्रेरणाका कारण नै म यस प्रतियोगितामा सहभागी हुन सकेँ।
३. निबन्ध लेख्दै गर्दा पुरस्कार पाउँछु होला भन्ने लागेको थियो कि थिएन? अनि लेखनमा कसैले मद्दत लिनुभयो कि ?
निबन्ध लेख्दा जित्ने कुरा त परै जाओस्, मेरो लेख कसैको नजरमा पर्ला भन्ने समेत लागेको थिएन। नेपाली साहित्यप्रति मेरो रुचि त थियो, तर आफैँ लेख्न सक्छु भन्ने आत्मविश्वास थिएन । जब सरले यो अवसर प्रदान गर्नुभयो, केही समयसम्म लेखूँ कि नलेखूँ भन्ने दोधारमै थिएँ। तर “लेख्दैमा के नै जान्छ र ?” भन्ने सोचले अन्ततः लेखेँ पनि ।
४. यसभन्दा पहिले पनि यस्ता रचना लेख्ने गर्नुभएको थियो कि ?
यसअघि मैले केही साहित्यिक रचना लेख्ने प्रयास गरेकाे थिएँ । अङ्ग्रेजी भाषामा मैले गद्य कविता, कथा, निबन्ध तथा समसामयिक विषयमा लेखहरू लेख्ने गर्थें । नेपाली भाषामा भने मैले थोरै कविता र केही रचनाहरू मात्र लेखेको थिएँ ।
५. हास्यव्यङ्ग्य निबन्ध के हो जस्ताे लाग्छ ? र आगामी वर्षमा भाग लिन चाहने जुनियर कक्षाका साथीहरूलाई के भन्नु हुन्छ ?
हास्यव्यङ्ग्य भनेको सरल शब्दमा भन्नुपर्दा, पुच्छर देखाएर टाउको बुझाउने कला हो । राम्रो भनेजस्तो गरेर व्यङ्ग्य गर्ने, ठूला कमजोरीलाई साना उदाहरणमार्फत देखाउने सिप नै हास्यव्यङ्ग्य हो जस्ताे लाग्छ। हास्य र व्यङ्ग्यको सन्तुलित संयोजनले पाठकलाई हँसाउने मात्र होइन, सोच्न पनि बाध्य बनाउँछ।
हास्यव्यङ्ग्य रचनाले समाज र जीवनका त्यस्ता विषयहरू प्रस्तुत गर्छ, जुन कुरा हामी सामान्यतया खुलेर भन्न डराउँछौँ वा अप्ठ्यारो महसुस गर्छौँ। यस्ता विषयलाई रमाइलो र व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गर्नु नै यसको विशेषता हो। यदि कसैले यस विधामार्फत साहित्यको यात्रा सुरु गर्न चाहन्छ भने, सबैभन्दा पहिले साना–साना घटनामा ध्यान दिन सिक्नुपर्छ । कसैलाई गाली नगरी, अपशब्द प्रयोग नगरी कसरी व्यङ्ग्य गर्ने भन्ने कला आत्मसात गर्नुपर्छ। यसका लागि अरूले लेखेका हास्यव्यङ्ग्य रचनाहरू पढ्ने, गुरुजन वा साहित्यमा लागेका व्यक्तिहरूसँग सल्लाह लिने गर्नु अत्यन्त उपयोगी हुन्छ।
००
Subscribe
Login
0 Comments
Oldest











































