साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढेमाथि पाँडे

साँढेको सवारी गर्ने पाँडे थोरैमा धेरै भन्न सक्छन् । निबन्ध, कविता, कार्टून, चित्रकला, अभिनय, सामुन्ने जुन विधा आइपरोस्, त्यसैसँग कुस्ती खेलेर जित्ने साहस राख्छन् ।

Nepal Telecom ad

मुकुन्द आचार्य :

म अहिले भैरव अर्यालको गाउँमा उछिट्टिएर बस्न आइपुगेको छु । त्यसैले अर्यालबाटै थालौं । नेपाली हास्यव्यङ्ग्यको महान खोज्दै जाँदा हामी शक्तिवल्लभ अर्यालसम्म पुग्छौं । साहित्यका खेलाडीहरू आआफ्नै पारामा साहित्य भनिने जिनिस ओकल्छन् । पूर्वेली र पश्चिमा दुवैतिरका साहित्यमा हास्यव्यङ्ग्यबारे नानाथरिका वाद, परिवाद, संवाद भएको देखिन्छ । कतिले त हास्यव्यङ्ग्य छुट्टै विधा हो भन्ने कुरै मान्दैनन् । उनीहरू भन्छन्- हास्यव्यङ्ग्य त एउटा शैली मात्र हो अभिव्यक्तिको ।

अङ्ग्रेजी कवि पी. वी. शेली भन्छन् हास्य एउटा मनोविकार हो, तथापि यसमा बौद्धिकताको अंश पर्याप्त हुन्छ । संस्कृत साहित्यमा संयम, सहानुभूति, चिन्तन र करुणाबाट पनि हास्योस्पत्ति हुन्छ भनिएको छ । नाट्यशास्त्रका आदिगुरु आचार्य भरत भन्छन् शृङ्गार रसको अनुक्ति हो हास्य । अग्निपुराण आगो ओकल्छ- शृङ्गाररसबाट हास्य, रौद्रबाट करुण, वीरबाट अद्भुत र वीभत्सबाट भयानक रसको उत्पत्ति हुन्छ ।

जे होस्, साहित्यको एक विशिष्ट शैली हो व्यङ्ग्य । व्यङ्ग्यले भाषालाई तिक्खर पार्छ र हामीभित्र लुकेका अनेक कमी-कमजोरीलाई झलमल्ल पार्छ । हास्यमा अलि हलुकापन र उच्छृङ्खलता कतैकतै देखिए पनि व्यङ्ग्यमा भने भावगाम्भीर्य पाइन्छ ।

हाम्रा प्रचण्ड हास्यव्यङ्ग्यकार भैरव भन्छन् – ‘हास्यव्यङ्ग्यमा चिन्तन पक्ष हुँदैन भन्नु संस्कृत पढ्नेले दुनियाँ बुझ्दैन भनेजस्तै थोत्रो सङ्गीर्ण विचार हो ।’ हास्यव्यङ्ग्य भाव अभिव्यक्तिको एउटा विशिष्ट कला र लोकप्रिय शैली हो ।

अब कुरोको चुरोतिर लागौं कि ? नेपालको एकमात्र चिडियाघरसँग नारिएर बस्ने रामकुमार पाँडेका महाभारतमा धृतराष्ट्रका सय छोरा भएजस्तै, झन्डैझन्डै एक सय कृतिरूपी सन्तान पुगिसकेजस्तो लाग्छ वीर्यवान् पुरुष । पहिले शीर्षकतर्फ जाऔं । ‘साँढेमाथि पाँडे’ कसरी भयो ?

समाजमा देखिने बेथिति, भ्रष्टाचार, पापाचार, दुराचार, अत्याचार, यी सबैखाले सढिलाई व्यङ्ग्यको कोर्रा हानेर सढिमाथि सवारी करन सक्ने सामर्थ्य भएका पाँडे सरलाई ‘साँढेमाथि पाँडे’ भन्दा अलिकति पनि अर्घेल्याई हुँदैन जस्तो लाग्छ । याद राख्नुस्, नेपाली हास्यव्यङ्ग्यको प्रारम्भिक कालमै ‘साँढ्याको कवित्त’ जन्मेको थियो ।

साँडेमाथि सवारी गर्ने रामकुमार पाँडे (राकुपा) को चर्तिकला यति धेरै चर्चित भयो, जसलाई भ्याउन नसकेर पाँडेपुराण नै जन्म्यो । ‘१०१ हासने कविता, ख्यालख्याल, औतारी काका, टपर्टुइँया काजी, सुकुमार, दाह्री बाजे, मास्टर साहेब, टपरइया, खप्पर, स्वामी उदयानन्द, म अग्लो भएँ, सञ्चै छ ?, लाटीको पोइ, मोज गर्नोस्, बाह्र मज्जा, बाबुको बिहे, सिङ न पुच्छर, पुतलीको घर, चरालाई जुत्ता, मायालु, श्रीमती कस्ती हुनुपर्छ ?, यसरी लेख्दै जाँदा उनका नाम र काम गन्नै नसकिने हुन्छन् । अनि त पाँडेपुराण जन्मेको हुनुपर्छ । स्वस्थानीको भाषामा भन्दा भनिनसक्नु, गनिनसक्नु ।

‘कलियुगका सम्पादकले’ मान्छे तौल्ने तरिका पनि सिकाए । ‘नेपाल परिचय’ लेखेर ‘अन्धेर नगरी’ को पोल खोले । मध्यरातमा कविता लेख्छन् । चित्रकला र अभिनयतिर पनि हातखुट्टा चाल्छन् । कति भ्याउन सकेका होलान् । त्यसैले औतारी काका भनिएका हुन् कि ? भूतले काम धेरै गर्छन् रे !?

बाबा पशुपतिनाथ बसाहालाई बाहन बनाउँछन् । त्यही बसाहा साँढे भएर उपद्रो गर्दै हिंड्न थाल्यो भने त्यसलाई कोर्रा लाउनु जरुरी हुन्छ । त्यही जरुरी काम राकुपा व्यङ्ग्यवाण चलाउन चाहन्छन् । साँढेको सवारी गर्ने पाँडे थोरैमा धेरै भन्न सक्छन् । निबन्ध, कविता, कार्टून, चित्रकला, अभिनय, सामुन्ने जुन विधा आइपरोस्, त्यसैसँग कुस्ती खेलेर जित्ने साहस राख्छन् । नत्र साँढेको सवारी गर्न सक्थे होलान् त ? त्यसैले कलम चण्डालको विशेषण पनि पाए ।

आज हास्यव्यङग्यको क्षेत्रमा या कुरुक्षेत्रमा ‘जिउँदो नेपाली’ भन्दा सुहाउने व्यक्तित्व पाँडे सरकै देखिन्छ । ए त्यसैले होला, नेपाली साहित्यका चूडामणि स्व. भैरव अर्यालले कतै ठोकुवा गरेर भनेका, ‘व्यङ्ग्यकारको हरबोली पाँडेबोली हुन्छ ।’

अर्जेलले यति भनिदिएपछि अब के नै बाँकी रह्यो र ? भैरव अर्यालले जे देखे त्यही लेखे । उनकै बीडो थाम्ने कामको उपयुक्त उत्तराधिकारी पाँडे नै देखिन्छन् । यो स्वामी १०८ श्री मुकुन्दाचार्यको सत्य वचन हो । यसमा कसैलाई शङ्का, उपशश्नश, लघुशंका, दीर्घशंका, सुदीर्घशंकाले च्याप्छ भने पाँडेले गरेझै सबै लेखन्तेहरूलाई बटुलेर, समूह बनाएर, सहकार्य गरेर हास्यव्यङ्ग्यको भण्डार भरण गरेरै देखाउन् । मेरो यस खुला चुनौतीलाई कसैले स्वीकार गरेर जुटे राम्रै हुन्छ हास्यव्यङ्ग्य क्षेत्रमा !

पाँडेपुराण जति गराए पनि सकिन्न । तसर्थ पाँडेलाई साँढेको सवारी गराएर उनकै १०१ हाँसने कविताको एक श्लोक हेरौँ-

चोर फटाहा लुटाहा कुटाहा सबको नेपाल जय नेपाल
घुस्याहा भुस्याहा मुस्याहा नेता थोत्रा नेता जय
नेपाल गलैंचा काण्ड, गाँजा काण्ड, आममाफी जय नेपाल,
हुइँया गर्ने, भुडी भर्ने, जम्बूमन्त्री जय नेपाल… ।

०००
अर्काकाे आँखामा आफू (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
प्रश्न सोझा ! उत्तर बाउँठा !! (२)

प्रश्न सोझा ! उत्तर...

मुकुन्द आचार्य
साेझा प्रश्न ! बाउँठा उत्तर !! (१)

साेझा प्रश्न ! बाउँठा...

मुकुन्द आचार्य
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
शक्ति

शक्ति

लीलाराज दाहाल
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x